काठमाडौं । “शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छ ? हामी जेल पर्दा र आन्दोलन गर्दा कहाँ थिए उनीहरु ? यो पार्टीमा कोइराला भन्दैमा सभापति हुन पाइन्छ ? कांग्रेस कोइरालाका छोरा–नातिको होइन, बढ्ता बोल्ने ?,” नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्ज पुगेर गरेको यो सम्बोधनले अहिले कांग्रेसभित्र तरंग सिर्जना गरेको छ ।
चार दिनअघि वीरगन्जमै गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कोइरालात्रय शेखर, शशांक र सुजाताले १ सय २१ किलोको माला संयुक्तरुपमा पहिरिएर आफूहरु एक भएको भन्दै आगामी महाधिवेशनमा आफूमध्ये एकजनाले पार्टीको नेतृत्व लिन सक्ने सन्देश दिएका थिए ।
“हामी तीन कोइराला एक छौँ, अरुले टाउको नदुखाए हुन्छ,” सुजाता कोइरालाले सम्बोधनका क्रममा भनेकी थिइन् ।
शनिबार फाउन्डेसनले गरेको कार्यक्रमको चार दिनपछि वीरगन्ज पुगेर सभापति देउवाले १ सय ५१ किलोको माला लगाउँदै कांग्रेस कोइरालाका छोरा–नातिको नभएको भनेर आक्रोश पोखे ।
आफ्ना एकजना केन्द्रीय सदस्यमाथि सार्वजनिक रुपमा देउवाको यो आक्रोश किन ? नेपाली कांग्रेसभित्र अहिले सबैभन्दा बढी चासोको विषय बनेको छ । कांग्रेसभित्र केहीले यसलाई देउवाले आफ्नो लगातार आलोचना गरेका शेखरप्रति ‘इख’ राखेको भनेका छन् भने केहीले यसलाई रणनीतिक चाल भनेका छन् ।
विवाद पुरानै
शेरबहादुर देउवा र शेखर कोइरालाबीच देखिएको विवाद १३ औं महाधिवेशनताकाकै हो । त्यसअघि कोइराला परिवार र देउवाबीच विवाद हुने गरेको भए पनि शेखर परेका थिएनन् । कहिले गिरिजाप्रसाद कोइराला त कहिले सुशील कोइरालासँग नै देउवाको विवाद हुन्थ्यो । पछिल्लो पुस्तासँग देउवाको यस्तो विवाद चर्किएको थिएन ।
तेह्रौं महाधिवेशनमा जसरी पनि सभापतिमा जित्ने रणनीतिमा रहेका देउवा आफूले सोचेजस्तो नहुने आकलनमा थिए । उनले आफ्नो जित सुनिश्चित बनाउन एकजना कोइरालाको साथ खोजेका थिए । कोइरालाका तीन नेताहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालामध्ये जो भए पनि आफ्नो पक्षमा पार्न देउवाले अन्तिमसम्म प्रयास गरेकै थिए । तर, सफल हुन सकेनन् ।
देउवाले त्यसबेला शशांक र शेखरलाई छुट्टाछुट्टै भेटेर आफ्नो प्यानलबाट महामन्त्रीमा उमेदवारी दिन प्रस्ताव गरेका थिए । तर, दुवैले उनको प्रस्ताव अस्वीकार गरे ।
तैपनि, धेरै पछिसम्म देउवाले कोइराला परिवारकै साथ लिएर महाधिवेशनमा जित हासिल गरेका हुन् भनेर कांग्रेभित्र गाइँगुइँ चलेको थियो । शशांक कोइरालासँग देउवाले सेटिङ मिलाएको र कोइराला परिवारले आफूलाई सहयोग नगरेको भन्दै अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले चित्त दुखाएका थिए ।
कांग्रेसको महाधिवेशनलगत्तै सभापति देउवाको कार्यशैलीलाई लिएर आलोचना हुन थाल्यो । नेता रामचन्द्र पौडेल पक्षधरले देउवाको चर्को आलोचना गर्न थाले । आलोचना गर्नेमा शेखर पनि अग्रपंक्तिमै थिए । तर, देउवाले त्यही बेला नै शेखरको साथ खोजे । सबैलाई मिलाएर लैजान आफू प्रतिबद्ध रहेको बताउँदै अहिले नै चर्को आलोचना नगर्न शेखरमार्फत् नै उनले अर्को समूहलाई सन्देश पठाए ।
त्यसबेला देउवाले आगामी सरकारमा पार्टीको नेृतत्व गरेर पठाउने भन्दै शेखरलाई आश्वासन दिए । केही समयमै तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्यो । शेखरले परराष्ट्र मन्त्रीसहित पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहेका थिए । देउवाले आश्वासन पनि दिएका थिए । तर, देउवा आफ्नो ‘कोटरी’बाट बाहिर निस्कनै सकेनन् । उनले डा. प्रकाशशरण महतलाई परराष्ट्रमन्त्रीको रुपमा सरकारमा पठाए । शेखरलाई ‘सरी, अहिले पठाउन सकिनँ । अर्कोपल्ट चान्स दिउँला’ भने ।
कोइराला त्यसबेलासम्म पनि देउवासँग निरन्तर संवादमै थिए । एकदिन शेखरलाई बोलाएर देउवाले भने– प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको निर्णय उल्ट्याउने तयारी गरिरहेको मैले सूचना पाएको छु । यस्तो नगर्न र सरकारलाई सहयोग गर्न भनेर तपाईंले सुशीला कार्कीलाई सम्झाइदिनुपर्यो ।
प्रहरी महानिरीक्षकको दाबी गर्दै ततकालीन डीआईजी नवराज सिलवालले अदालतको ढोका ढक्ढक्याएका बेला देउवाले कोइरालासामु यस्तो सहयोग मागेका थिए ।
देउवाले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन चाहन्थे । तर, कोइरालाले अस्वीकार गरिदिए । अदालतले गरेको निर्णयलाई लिएर प्रधानन्यायाधीशसँग भेट गर्न जान आफू तयार नरहेको उनले जवाफ दिए ।
त्यसलगत्तै देउवाले कांग्रेसमा कार्यसम्पादन समिति बनाए । कांग्रेसमा महत्त्वपूर्ण मानिएको कार्यसम्पादन समितिमा आफूलाई पनि राख्न आग्रह गर्दै शेखर देउवाकहाँ पुगे । देउवाले त्यसबेला शेखरको कुरा सुने तर केही जवाफ दिएनन् । उनले पौडेललाई भेट्न पुगे । पौडेलले आफूले कार्यसम्पादन समितिमा ल्याउन पहल गरेको बताए ।
पौडेलको कुरामा आश्वस्त हुन नसकेका शेखर फेरि सभापतिलाई भेट्न पुगे । त्यसबेला भने देउवाले जवाफ दिए– वरिष्ठताको आधारमा समितिमा राख्ने कुरा भएको छ । तपाईंलाई राख्न सकिन्छ कि सकिँदैन अहिले नै भन्न सकिन्न ।
कार्यसम्पादन समिति त बन्यो तर शेखरलाई राखिएन । उनले केन्द्रीय समितिको बैठकमा खुमबहादुर खड्का (हाल स्वर्गीय) को पनि नाम कार्यसम्पादन समितिमा देखेनन् । केन्द्रीय समितिको बैठकमा कार्यसम्पादन समितिमा रहेका सदस्यको नाम पढेर सुनाएपछि शेखर आक्रोशित बने ।
उनले खड्का कुन आधारमा अन्य सदस्यभन्दा वरिष्ठ भएनन् ? भन्दै प्रश्न गरे । केन्द्रीय समितिकै बैठकमा चर्काचर्की भयो । त्यसबेला बनाइएको कार्यसम्पादन समिति पनि विधानले दिएको भन्दा ठूलो बनाइएको भन्दै आलोचित बन्यो । त्यसैबखत शेखरले सभापति देउवाको चर्को आलोचना मात्रै गरेनन्, उनीविरुद्ध उभिने प्रतिवद्धता पनि व्यक्त गरे ।
त्यसपछि भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा टिकट वितरण, स्थानीय निकायको निर्वाचनमा माओवादीसँग चुनावी तालमेल, देउवा नेतृत्वको सरकारले गरेका कामलगायतमा कोइरालाले चर्को विरोध जारी नै राखे ।
शेखरले पार्टी गिरोहले चलेको भन्दै देउवा नेतृत्वमा रहेसम्म पार्टी अघि बढ्न नसक्ने स्पष्ट पार्दै हिँडे । देउवाकै कारणले पार्टी पराजय हुनुपरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
देउवाको रणनीति !
कोइरालात्रय नेताले १ सय २१ किलोको माला लगाएको चार दिनपछि नै देउवा रणनीतिक रुपमा वीरगन्ज पुगेर १ सय ५१ किलोको माला लगाउँदै पार्टीमा आफ्नो विकल्प नखोज्न चेतावनीसहितको सन्देश दिए ।
महाधिवेशनकै तयारी हो त ?
तीनवटै तहको निर्वाचनमा नराम्रोसँग पराजित भइसकेपछि कांग्रेसमा अग्रिम महाधिवेशनको कुरा जोडदार ढंगले उठ्यो । त्यस्तो माग उठाउने युवा नेताहरुमध्येबाटै विश्वप्रकाश शर्मालाई देउवाले प्रवक्ता बनाइदिए ।
प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, गगन थापालगायतका नेताले निर्वाचनमा पार्टीको नराम्रो पराजयपछि नेतृत्वको चर्को आलोचना गर्दै आएका थिए ।
चर्को आलोचना गर्दै आएका सिंह संसदीय दलको नेतामा देउवासँग पराजित भए । त्यतिमात्रै नभएर केन्द्रीय समितिको बैठकमा पनि देउवा सिंह, केसी, सिटौलालगायतका नेताहरुविरुद्ध खनिएका थिए ।
कांग्रेसभित्रका जानकारहरु अहिले देउवा रणनीतिकरुपमा नै आफ्ना विरोधीलाई कुनै न कुनै हिसाबले ‘ठेगान’ लगाउने काममा व्यस्त रहेको बताउँछन् । कांग्रेसका एकजना नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “देउवाको यो महाधिवेशनसँग सम्बन्धित कुराबाहेक केही होइन भन्नेमा हामी स्पष्ट छौँ । देउवाको अलमल केही छैन, अर्को महाधिवेशनमा जसरी पनि सभापति बन्नुबाहेक । त्यसैको तयारीस्वरुप उनले रणनीतिक रुपमा तर्साउँदैछन् ।”
चुनावलगत्तै कमजोर देखिएका देउवाले बिस्तारै आफ्नो गुट बलियो बनाउँदै लगे । उनले पदाधिकारी चयन, विजयकुमार गच्छदारको व्यवस्थापनलगायतका सबै काम रणनीतिक रुपमा नै गर्दै आएका छन् ।
“आफ्नो गुट बलियो बनाइराख्ने अर्को गुट जसरी पनि भत्काइदिने रणनीतिमा देउवा लागेका छन्,” ती नेताले भने, “शेखरविरुद्ध लाग्दैछन् भन्ने पूर्वानुमान थियो । शेखर कोइराला नै पछिल्लो समय धेरै दौडाहामा र कार्यकर्ता भेटघाटमा छन् । पहिले रामचन्द्र पौडेल थिए । तर, महासमितिताका हाम्रो ‘डीप लभ‘ छ भनेर थामथुम पारिहाले । प्रकाशमान सिंहलाई दलको नेतामा हराए । गालीगलौज गरेर नबोल्न बाध्य बनाए । केसीलाई तर्साए । प्रकाशमान सिंह, कल्याण गुरुङलगायतका नेतालाई केन्द्रीय समितिको बैठकमै झपारे । यसो गर्दा आफ्नो गुटका कार्यकर्ता पनि बढी उत्साहित हुन्छन् । अर्को पक्ष कमजोर हुन्छ भन्ने रणनीति हो ।”
उनका अनुसार होइन भने शेखरलाई सार्वजनिक कार्यक्रममा गाली गर्नुको औचित्य के त ?
“यो सबै क्यालकुलेट गरिएको छ । अर्कोतिर ढुंगा हानेर कमजोर बनाइदिने आफू बलियो भइरहने,” ती नेताले भने, “देशमा केपी ओलीको अवस्था कस्तो छ, पार्टीमा देउवाको अवस्था त्यस्तै हुन्छ । चरित्रका हिसाबले पनि यी दुवै एकै छन् ।” जसरी पनि पार्टी कब्जामा राखिराख्ने रणनीतिअनुसार नै देउवा चलेको उनको आरोप छ ।
उनले सम्भावित घटनाको यसरी विश्लेषण गरे–
अर्को गुटलाई एकपछि अर्को व्यक्तिमाथि प्रहार गर्दै कमजोर बनाउने । अब महाधिवेशनका लागि क्रियाशील सदस्यमा सकेसम्म पेल्ने । त्यतिबेलासम्म अनुशासन समिति पनि बनाउने । अनुशासन समिति देखाएर सकेसम्म तर्साउने । अनुशासन समितिसँग तर्सिएन भने कुनै पनि बहानामा कारबाही गर्ने र कमजोर बनाइदिने । पार्टी जति कमजोर भए हुन्छ मतलब नगर्ने तर आफ्नो पकड कायमै राख्ने ।’
अहिलेसम्म नेपाली कांग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कोइराला परिवारबाट शेखर नै सभापतिका लागि बलिया दाबेदार रहेको उनको तर्क छ ।
के भन्छन् शेखर ?
देउवाको आक्रोशपछि शेखर केही मत्थर भएका छन् । बिहीबार संक्षिप्त प्रतिक्रिया दिँदै शेखरले पार्टीका लागि कोइरालाहरुले मात्रै राजनीति नगरेको बताए । ‘‘कोइरालाहरुले मात्रै राजनीति गरेको होइन । आजसम्म कांग्रेसका लागि कोइरालाबाहेक अरुले पनि राजनीति गरेका छन्,’’ उनले भने, ‘‘सबैले गरेका छन् । तब त नेपाली कांग्रेस यहाँ पुगेको हो ।’’
सभापति देउवाको अभिव्यक्तिबारे उनले भने, ‘‘उहाँ मेरो आदरणीय सभापति हो । पार्टीको सभापति हो । म राजनीतिक संस्कार बोकेको परिवारको मानिस हो । त्यसकारण मलाई यो विषयमा केही भन्नु छैन । जे सोध्ने हो, उहाँले बोलेको कुरो हो, उहाँलाई नै सोध्नुस् ।’’