हरेकपल्ट देशमा केही हुँदा एउटा जमात उठ्छ, कराउँछ, ठूला कुरा गर्छ, भाषण र नारा ठोक्छ । पंचायत कालदेखि नै एउटा समूहले लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता आदिका लागि सधैँ आवाज बुलन्द गर्दैआएको छ । जब जब यो समूह उठ्छ तब तब केही न केही परिवर्तन भएको छ ।
तर, त्यस परिवर्तनलाई संस्थागत गर्न भने यस समूहले न त कोसिस गरेको छ न सफलै भएको छ । अचम्म त के छ भने २०६३ सालको आन्दोलन सफल पार्न भूमिका खेल्ने सबैभन्दा सशक्त नागरिक समाज अहिले व्यवहारमा समाप्त प्रायः भएको छ । अहिले कुनै नागरिक समाज छैन, कुनै सशक्त समूह छैन, कुनै भरपर्दो आवाज छैन ।
अहिले आवाजको स्वर सुकेको छ, शक्तिको बल क्षीण भएको छ र जोसको जाँगर हराएको छ । आवाज सायद काँतर भयो कि ? नभए पनि उदासीन त पक्कै छ । काठमाडौं मर्दैछ तर कहीँ कतै कोलाहल, चिच्याहट, खबरदारी केही पनि छैन । चुपचाप चुपचाप मर्दैछ मेरो काठमाडौं ।
माओवादी ‘जनयुद्ध’मा १७ हजार २१९ मानिसको मृत्युले भयातुर बनेका कनक दीक्षितले ती आत्माको संझनामा माइतीघर मण्डलामा हजारौं मैनबत्ती बाले तर अहिले घरघरमा क्यान्सर, दम, निमोनिया र श्वासप्रश्वासका समस्याले एकपछि अर्को लास थुप्रिदै गरेको कथा सायद उनले सुनेका छैनन् । हुनसक्छ, गोली नहानी मारिएका लास उनले गन्दैनन् न त सुशील वा सुबोध प्याकुरेल यस्ता मृत्यु गनेर वार्षिक प्रतिवेदन बनाउँछन् ।
फोहोरको समस्यालाई लिएर ‘भकुण्डे भूत’ बनाउने मदनकृष्ण र हरिवंशको जोडीलाई धुलोको समस्याले राजधानीलाई समाप्त पार्यो भन्न कुनै ‘प्रोजेक्ट’ नै चाहिने त पक्कै थिएन होला । राजधानीका गल्ली र गल्छेँडोमा गाडीमै घुमे पनि यिनले पनि धुलोको कुइरीमण्डल त देखेकै होलान् । श्वासप्रश्वासको समस्याले मानिस बिस्तारै ढल्दै गएको त मनन गरेकै होलान् । अनि किन त मौन ?
कुनै बेला लामा दाह्री भएका पराजुली कवि हुने गर्थे, कलिलैमा दारी फुलेका पितवस्त्रधारी पहाडी मानव अधिकारवादी नेता हुने गर्थे । कुनै बेला सरकारसँग टक्कर लिने सचिव डा. देवेन्द्रराज पाण्डे हुने गर्थे । कुनै बेला नेतालाई बेवास्ता गर्दै राजाले खोसेको जनताको अधिकार आफँै फिर्ता लिन कम्मर कस्ने कपिल श्रेष्ठ, निलाम्बर आचार्य, डा.महेश मास्के आदि अनेक नाम हुने गर्थे । के २०६३ सालको आन्दोलनपश्चात् दलले दिएका पद र नदिएका कुण्ठाले यी सबैको वाकशक्ति चुँड्यो ?
आज सहरमा दलाल ठेकेदार र आमालाई बेचेर धन कमाउने सरकारी कर्मचारीले जथाभावी सबैतिर सडक खनेका छन् । यिनलाई भोलिको सन्ततिलाई के होला, को अकालमा नै मर्ला, औषधोपचारमा देशको कति खर्च होला, मानिस बिरामी भएर गर्न नसकेको कामको घाटा कति होला भन्नेसँग केही मतलब छैन । एक महिनाअघि पिच गरेका बाटा सबै खनिसके ।
मानिसका घरजाने सबै बाटो फरक फरक ठेकेदारले थुनिसके । मान्छेलाई निकास दिने, गाडीको बाटो छाड्ने वा एउटा सडक सकिएपछि मात्र अर्को खन्ने भन्ने कुनै संयोजन छैन । खन्ने काम पाएकाले खनिदियो, पाइप राख्नेको पाइप ढुवानी नै भएको छैन । पुर्नेले पुरिदियो तर पुनः पिच गर्न कसैलाई वास्ता छैन ।
यो विभिन्न मन्त्रालयले गर्ने विकास कार्यक्रमको संयोजन गर्ने एउटा कार्यकारी निकाय छ भन्ने मुख्य सचिव सोमलाल सुवेदीलाई थाहा होला कि नहोला ? लिलामणी पौडेल त्यस स्थानमा हुँदा त अलिकति थाहा पाएझैँ गर्थे, हाटहुट गर्थे, कतिपय ठाउँमा आफैँ स्थलगत भ्रमण गर्थे । पौडेल चीनमा भएपनि अध्यात्मवादी गुरु एलपी भानु शर्मा त यतै एसयुभीमा गुडेको देखिन्छन् । अरूले नसके वाग्मती सफाइजस्तै धुलोविरुद्ध पनि उनी अघि आउनुपर्ने हो कि ?
अहिले सर्वत्र खनेरमात्र काठमाडौंमा सबै समस्याको सुरु भएको भने होइन । काठमाडौंको धुलो र धुँवाको उपचार गर्न खासै ध्यान कहिले पनि गएको छैन । धुलो उठाउने मेसिन अहिलेसम्म कति अर्बको आयो र त्यो कहाँ थन्कियो त्यसको आफ्नै हिसाब होला । काममा मन भएका पत्रकार पनि होलान्, तिनले कुनैबेला खोज्लान् । मोटरले गर्ने धुँवाको प्रदूषण स्टिकरको कुनै मूल्य भएन । गाडी जतिसुकै थोत्रो होस्, रु. ५०० सय तिर्नुस्, घरमै आइपुग्छ हरियो स्टिकर ।
हामी देशको लागि ठूला कुरा बोल्नेले धुलो र धुँवाजस्तो साधारण कुरा बोल्नु नहुने हो कि ? कि हामीलाई पनि विदेशी पैसा नआई यस्तो विषयमा बोल्दा घाटा लाग्ने महसुस भएर हो कि ? तर पख्नुस, नागरिक समाजका सदस्यले यस्तो विषयमा फेसबुक वा टुइटरमा केही पनि नलेखेका भने होइनन् । बडो मज्जाले लेख्नुहुन्छ, चिन्ता जताउनु हुन्छ । नारायण वाग्लेजस्तो सधैँ पैदल हिँड्नेले त सधैँ नै बाटो र वातावरणको विकृतिका विषयमा केही न केही लेखिरहेका हुन्छन् ।
आफूले सामाजिक सञ्जालमा लेखेको कुराले समस्या समाधान भएन भने चुप लागेर बस्ने हो र ? हिजो पिच गरे आज खन्ने दुई वर्ष त्यसै छाडिदिने र अनि पिच भएको अर्को साता फेरि खन्ने दुश्चक्र त सधैँ चलिरहेकै छ । धुँवावाल गाडी त निर्बाध चलिरहेकै छन् । अनि प्रदूषणमा काठमाडौं विश्वकै सातौं अति प्रदूषित सहरमा झरिसकेको छ । यस्तो अवस्थामा टुइटर र फेसबुके असन्तोषले पुग्ला त ?
लोकमान सिंह कार्कीविरुद्ध मुद्दा हाल्ने ओमप्रकाश अर्याललाई धुलो विरुद्ध मुद्दा हाल्न आएन भने रिट न्यौपाने भनेर चिनिने बालकृष्ण न्यौपानेलाई त आउनुपर्थ्यो । यसमा राजनीतिक रंगको कुनै कुरो नहुनुपर्ने हो । संविधानविद् डा. भीमार्जुन आचार्य पनि सधै धुलो, धुँवा र चिसोले ग्रस्त भएर औषधि खाँदै काममा जान्छन् ।
यिनलाई त थाहा हुनुपर्ने हो को हुन् नेपालीको ज्यान लिने फटाहा र तिनलाई कसरी जाक्नुपर्छ जेलमा भनेर । कहाँ वकिलमात्र, ठूला पत्रिकाका सम्पादकहरू पनि डा. गोविन्द केसीको ज्यानको परवाह गरेर उनलाई भेट्न जान सक्छन् तर सम्पूर्ण जनताको ज्यान जोखिममा पार्ने धुलो र धुँवाको प्रदूषणविरुद्ध प्रधानमन्त्रीकोमा प्रतिनिधिमण्डल जान सक्दैनन् । लाग्छ, हामीलाई व्यक्तिको मृत्युसँग चासो छ तर सामूहिक मृत्युसँग डर छैन ।
दुःखपूर्वक भन्नुपर्छ, काठमाडौं उपत्यका बिस्तारै मर्दैछ । काठमाडौंका जनता मर्दैछन्, यो एउटा भुत्याहा सहर बन्दैछ । मानौं काठमाडौंमा चेतना मरिसक्यो, मानौं यहाँ हरेक व्यक्ति अर्काको मृत्युमा रोमाञ्चित बन्छ । अरू कसैको अन्तिम संस्कारमा मलामीले बजाएको एकोहोरो शंखको कर्कश ध्वनि उसको कानका लागि मधुर संगीत बन्दैछ ।
यहाँ हरेक क्षण मानिस जसरी पनि पैसा थुपार्ने कर्ममा लागेका छन् । मानौ, करोडपतिलाई क्यान्सर लाग्दैन, लखपतिलाई ल्युकेमिया हुँदैन, अर्बपतिलाई अस्पताल जानु पर्दैन । तर, पैसा थुपार्ने कामबाहेक आफू बाँच्ने र भविष्यका सन्ततिका लागि एक स्वस्थ सहर निर्माण गर्ने चाहिँ हाम्रो जिम्मेवारी होइन ?
कतिलाई लाग्ला सरकारको के काम ? तर, सरकार त हामीले छानेको होइन नि ! सरकारमा जाने व्यक्ति त भ्रष्ट दलका भ्रष्ट नेताले छानेका हुन् । हामीले त तिनले छानेका व्यक्तिलाई आफ्नो राजनीतिक आस्था अनुरूप भोट हालेका न हौं ।
जब नेताले छानेको व्यक्तिले शासन गर्छ तब उसले जनताको हितमा होइन नेताको बैंक ब्यालेन्स बढाउने र आफ्नो भविष्य सुधार्ने काममात्र गर्छ भन्ने हामीलाई बोध नभएकोमात्रै हो ।
जसरी २००७, २०४६, २०६३ सालमा अधिकारका लागि लगातार लडेर जनताको अधिकार बहाल ग¥यौँ त्यसैगरी धुलो र धुँवाबाट आफू र भविष्यका सन्ततिलाई बचाउन लगातारको संघर्ष चाहिन्छ । एकजुट भएर लड्नुपर्ने अवस्था आइसकेको छ । म सडकमा उत्रन तयार छु । आफू नि ?