काठमाडौं । सुरुआत जिम्नाष्टिक, करियर एथ्लेटिक्स र फुटबल अनि रहर रेफ्री । जिम्नाष्टिकबाट खेलकुदको दुनियाँमा प्रवेश गरेकी विना श्रेष्ठले बितेका तीन दशकमा एथलेटिक्स खेलाडी र फुटबलको रेफ्रीका रुपमा आफूलाई मज्जाले प्रमाणित गरिन् ।
उमेरले ४५ औं वसन्त काट्ने क्रम सुरु गरिसक्यो । त्यसैले सक्रिय खेलाडीका रुपमा उनका हात–खुट्टा चल्दैनन् । तर रहर कहाँ मर्न सक्छ र ? त्यसैले फुटबल मैदानको टचलाइनमा झण्डा बोकेर दौडिने सहायक रेफ्रीको रुपमा उनी अझै पनि सक्रिय छिन् । अब्बल छिन् । रहरलाई बिट मारेकी छैनन् । दुई वर्षअघि फिफा सहायक रेफ्रीको मान्यता पाएकी उनले ताजिकिस्तानमा ओलम्पिक छनोटअन्तर्गत महिला फुटबलको खेल खेलाएर फर्केको पनि धेरै भएको छैन ।
घरेलु महिला फुटबलका हरेक प्रतियोगितामा झण्डा बोकेर मैदानको उत्तर–दक्षिण गरिरहने फिफा एलिट हैसियतकी सहायक रेफ्री विनाको फिटनेस अझै उच्च स्तरको छ । सानैदेखिको खेलमैत्री पारिवारिक माहोल, आफ्नो समयको उम्दा एथलेटिक्स खेलाडी तथा फुटबलमा पनि गर्जो टार्न टिमको आवश्यकताअनुसार मैदान उत्रिएको अनुभवले करियरको उत्तरार्धमा निर्णायकको भूमिकामाथि न्याय गर्न विनालाई सहज भयो ।
‘खेलकुदमा सफल हुन सानैदेखि परिवारको साथ सबभन्दा महत्वपूर्ण हुन्छ । त्यसमा आफूभित्र लगाव र मेहनत गर्ने बानी भयो भने झन् सजिलो हुन्छ,’ भक्तपुरको थिमीजस्तो प्राचिन सहरमा परम्परागत नेवार परिवारमा २०३१ सालमा जन्मिएकी विना सफलताको रहस्य खोल्छिन्, ‘म भाग्यमानी थिएँ । मलाई परिवारले राम्रो साथ दियो ।’
विनाका बुवा प्रेमकृष्ण श्रेष्ठ त्योबेला थिमीका प्रधानपञ्च थिए । खेलकुदप्रति समाजको धारणा राम्रो थिएन । अझ छोरीका लागि त समाजले झनै ठूल्ठूला पर्खाल खडा गरेको थियो । छोरीका लागि घरको चुलो–चौकाभन्दा बढी दुनियाँ नै थिएन । सीमित घरका भाग्यमानीले स्कुलसम्म जाने मौका पाउँथे । विनालाई भने बाबु प्रधानपञ्च भएकाले अली सजिलो थियो । हजुरआमाले छेकबार गर्न खोजे पनि उनी एकाबिहानै कराते र बक्सिङ खेल्ने काकाहरुको संसर्गमा मैदान पुग्थिन् । काकाहरुले छोरीलाई ‘मदर अफ अल स्पोर्टस’ मानिने जिम्न्यास्टिकतिर डोर्याए । शरीर फुर्तिलो बनाउन जिम्न्यास्टिक खेल्नैपर्छ भन्ने चेत काकाहरुलाई थियो ।
‘१० वर्षको हुँदा भक्तपुरमा भएको जिम्नास्टिक प्रतियोगितामा भाग लिएँ । त्यसपछि खेलप्रतिको मोह थपिँदै गयो,’ विनाले भनिन्, ‘हामी काकाहरुसँगै हरेक दिन थिमीबाट दौडिएर सल्लाघारी जान्थ्यौं । दौडँदाको मेरो स्पिड देखेपछि एथ्लेटिक्स प्रशिक्षक मुकुन्दहरि श्रेष्ठले ओपन च्याम्पियनसिपमा भाग सुझाव दिनुभयो । त्यही सुझावले मेरो खेल करियरलाई सुखद् मोड दियो ।’
दशरथ रंगशालामा जुनियर एथलेटिक्स च्याम्पियनसिपको क्षेत्रीय छनोट प्रतियोगिता हुँदै थियो । जहाँ विनाले आफूभन्दा सिनियर विमला राना लगायतका खेलाडीलाई पछि पार्दै प्रथम स्थान हासिल गरिन् । त्यसपछि एथ्लेटिक्समा उनले कहिल्यै पछाडि फर्किनु परेन । लगत्तै वीरगञ्जमा भएको राष्ट्रिय जुनियर च्याम्पियनसिपमा उनले सहभागिता जनाइन् । तर घर छोडेर जिल्लाबाहिर जान उनले फेरि संघर्ष गर्नुपर्यो । घरबाट एक्लै जान नदिएपछि काकाको साथ लागेर उनले जीवनको अर्को महत्वपूर्ण मोड पार गरिन् । ‘त्यसपछि त अरु साथीहरु पनि भए, जता गए पनि सजिलो हुन थाल्यो,’ उनले सम्झिइन् ।
एथ्लेटिक्स यात्रा
२०४५ सालमा वीरगञ्जको जुनियर च्याम्पियनसिपबाट सुरु भएको विनाको एथलेटिक्स यात्राले १९९४ मा पोर्चुगलको लिस्वनमा भएको पाँचौं विश्व च्याम्पियसिपबाट अन्तर्राष्ट्रिय स्पर्धाको राजमार्ग फेला पार्यो । १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलुकद (साफ)मा सहभागी भएकी उनले क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेला चार वर्षपछि काठमाडौंमा हुँदा दुई रजत पदक जितिन् । जसबापत उनी २००० मा तत्कालिन राजा विरेन्द्र शाहबाट गोर्खा दक्षिणबाहुबाट विभूषित भएकी थिइन् ।
दशरथ रंगशालाको एथलेटिक्स ट्रयाकमा विनाले दक्षिण एसियाली स्तरको दुई रजत पदक भिरिरहँदा उनी आमा भएको तीन महिनामात्र बितेको थियो । तीन महिनाकी सुत्केरी हुँदा जितेको कारण विनालाई ती दुई रजत पदक निक्कै विशेष लाग्छन् । ‘छोरी जन्मिएको तीन महिनापछि जितेको भएकाले मलाई ती पदक विशेष लाग्छन् । विवाहपछि परिवारको सहयोगले खेल जीवनलाई निरन्तरता दिन पाउनु मेरा लागि ठूलो कुरा थियो । परिवारकै भूमिकाले गर्दा छोरी जन्मिएको तीन महिनामा आफूलाई पूर्ण फिट बनाउन सकेँ,’ उनी भावुक भइन् ।
२००४ मा पाकिस्तानको इस्लामवादमा भएको नवौं साफमा पनि सहभागि विनाको अन्तर्राष्ट्रिय अनुभवमा भारतको नयाँ दिल्लीमा प्रथम राजबहादुर साफ च्याम्पीयनसिप, २००० मा इन्डोनेशियाको जकार्तामा भएको १३औं एशियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा पनि समावेश छन् । राष्ट्रिय स्तरमा ३० र ३१औं एथ्लेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडीको अवार्ड जितेकी विनाले २७ देखि ३५औं संस्करणमध्ये २८औं संस्करणवाहेक सबैमा सहभागिता जनाइन् । २०६३ मा काठमाडौंमा सम्पन्न ३५औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपपछिउनले खेल जीवनबाट बिदा लिएकी थिइन् ।
२०४५ सालमा कञ्चनपुरको महेन्द्रनगरमा भएको २७औं राष्ट्रिय खेल, २०४९ सालमा काठमाडौंमा भएको २९ औं राष्ट्रिय खेल र पोखरामा आयोजना भएको ३० औं राष्ट्रिय खेल, २०५७ मा काठमाडौंमा भएको ३३ आैं राष्ट्रिय एथ्लेटिक्स खेल, २०६० मा काठमाडौंमा भएको ३४ औं राष्ट्रिय खेल तथा २०६३ मा काठमाडौंमा नै भएको ३५ औं राष्ट्रिय खेलमा सहभागी भएकी थिइन् उनी । त्यसपछि उनले अन्तराष्ट्रिय रुपमा एथ्लेटिक्सबाट सन्यासब लिएकी थिइन् ।
फुटबल खेलाडी
२०५१ सालमा नेपाल पुलिस क्लबमा जागिर खाएपछि विनाले एथ्लेटिक्ससँगै फुटबल पनि खेल्ने मौका पाइन् । ‘त्यसबेला खेलाडी थोरै थिए । राम्रो खेल्नेलाई टिम गेममा सहभागी गराइन्थ्यो । मेरो स्पीड देखेर फुटबलमा पनि सहभागी गराइयो,’ विनाले सम्झिइन्, ‘अहिले महिला फुटबलमा प्रतियोगिता बढेका छन् । त्यो बेलामा खासै प्रतियोगिता हँुदैनथे । हामी मोफसलका सामान्य प्रतियोगिता खेलेरै चित्त बुझाउँथ्यौं ।’
पुलिस क्लबबाट उनले विराटनगरमा भएको सातौं राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पहिलो खेल खेलेकी थिइन् । २०५५ मा आठौं राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि सहभागिता जनाइन् । १९८८ मा पहिलो मेयर कप महिला फुटबल खेलेकी विनाले २०५६ मा मंगलादेवी कपमा पनि सहभागी हुने अवसर पाएकी थिइन् । २०५५ सालमा फिलिपिन्समा भएको एशियन च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी विनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा त्यसभन्दा बढी अनुभव जुरेन ।
रेफ्री मोह
खेलाडीका रुपमा उमेरले साथ नदिएपछि के गर्ने ? विनालाई यो प्रश्नले धेरै सताउँथ्यो । खेलुकद छोड्ने विषयमा उनी सोच्न पनि सक्दिनथिइन् । विवाह भइसकेको थियो । घर परिवार सम्हाल्ने जिम्मेवारी थियो । छोरी जन्मिसकेकी थिइन् । घरको कामसँगै खेलकुदलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर घोत्लिँदा रेफ्री बन्ने योजनाले सोचेजस्तै बाटो दियो । ‘फिफा रेफ्री ज्ञानीराजा श्रेष्ठ दाइहरुसँग हामी रंगशालामा सँगै अभ्यास गथ्र्यौं । उहाँहरुकै सल्लाह र प्रेरणाले मलाई पनि सहायक रेफ्री बन्न प्रेरित गर्यो,’ उनले भनिन्, ‘एन्फामा त्यो बेला स्कुल स्तरका खेलहरु भइरहेका थिए । दाइहरुले सुरुमा रिजर्भ रेफ्री राखेर सिकाउनुभयो ।’
२००७ मा राष्ट्रिय रेफ्री कोर्स पास गरेकी विनाले त्यसयता नेपालमा हुने सबै महिला प्रतियोगिताका साथै ‘बी’ र ‘सी’ डिभिजनका पुरुष फुटबल खेलहरु पनि खेलाइसकेकी छन् । २०१० मा फिफामा आबद्ध भएकी उनले २०१७ मा एलिट रेफ्रीको हैसियत पाइकी थिइन् । ‘सकेसम्म रेफ्री नै गर्छु । फिफामा महिलालाई उमेर तोकेको छैन । आफूलाई फिट राख्ने मात्र चुनौती छ,’ उनले भनिन् ।
उनले श्रीलंकामा भएको दोस्रो महिला साफ च्याम्पीयनसिप, भारतमा भएको चौथो साफ च्याम्पीयनसिप, भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद, मलेशियामा भएको २९औं सी खेल, भुटानमा भएको यु–१५ महिला साफ च्याम्पीयनसिप, श्रीलंकामा भएको एएफसी यु–१६ छनोटमा पनि सहायक रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । २०७२ मा रुपक स्मृति उत्कृष्ट महिला रेफ्रीको अवार्ड पनि जितिन्।
रेफ्रीमात्र गरेर बाँच्न सक्ने अवस्था नभएपछि विना अहिले एक विद्यालयमा फुटबल प्रशिक्षण गराउँदै आएकी छन् ।