site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्योलमा राष्ट्रिय खेलकुदको \'मिसन\', मिति तोक्न दबाब
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७३ साल पुस १५ गते धरान रंगशालामा आठौं राष्ट्रिय खेलकुद आयोजकको झण्डा लिँदा मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीलाई ठूलै युद्ध जितेजस्तो लागेको थियो । आफू नेतृत्वमा हुँदा नेपालगञ्जमा राष्ट्रिय खेलकुद फर्काउने उनको योजना सफल भएको थियो । पोखराको दाबीलाई पछि पार्दै प्रत्येक दुई वर्षमा हुने नेपाली खेलकुदको सबभन्दा ठूलो मेला मध्यपश्चिम लान उनले कम पापड बेल्नु परेको थिएन । त्यही क्षेत्रका तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले अन्तिम अवस्थासम्म अडान लिइदिएका कारण राष्ट्रिय खेलकुद २०५५ सालपछि पहिलो पटक मध्य पश्चिम फर्किने पक्का भएको थियो । 

२० वर्षपछि नेपालगञ्जमा राष्ट्रिय खेलकुद फर्काउने रस्साकस्सीमा सफल हुनेबित्तिकै धरान रंगशालामा ओलीले पत्रकारहरुसँग भनेका थिए, ‘अब आठौं राष्ट्रिय खेकलुदको मिसन सुरु भएको छ ।’

दुई वर्षपछि २०७५ को मंसिरमा भव्यताका साथ नेपालगञ्ज र पश्चिमका विभिन्न सहरमा आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने अठोटसहित ओलीले जोशका साथ पछिल्ला संस्करणहरुमा जस्तो ढिला सुस्ती नेपालगञ्जले नगर्ने बाचा गरेका थिए । ‘निर्धारित समयमै, राम्रो पूर्वाधारमा राष्ट्रिय खेलकुद सम्पन्न गर्ने मिसनमा आजैबाट सिंगो मध्य पश्चिम लाग्नेछ,’ उनले घोषणा गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

घोषणाअनुसार नै झण्डा लिएयताका प्रत्येक दिन ‘मिसन’मा सक्रियताका साथ लागेका ओलीको अनुहारमा अहिले दुई वर्षअघिको जस्तो तेज देखिन्न । मन्द मुस्कानका साथ सबैसामु प्रस्तुत हुने ओलीको मुहार आजकाल स्वभाविक छैन । निरिहता र आक्रोश लुकाउन सक्दैनन् । कारण, उनले घोषणा गरेजस्तो नेपालगञ्जले तोकिएको मितिमा राष्ट्रिय खेलकुदको आठौं संस्करण आयोजना गर्न सकेन । मंसिर ८ गतेबाट हुने भनिएको राष्ट्रिय खेलकुद माघ २५ का लागि सारियो । दोस्रो पटक तोकिएको मितिमा पनि आयोजना गर्न नसक्ने पक्का भइसकेको छ । तेस्रो मिति राष्ट्रिय खेलकुद परिषद्ले अझै तोकेको छैन ।

समयमा भौतिक पूर्वाधार तयार नहुने कारण आठाैं वृहत राष्ट्रिय खेलकुद दोस्रो पटक पनि सरेको हो । ओली र उनी नेतृत्वको क्षेत्रीय खेलकुद विकास समिति ‘मिसन’ प्रति पूर्ण रुपमा समर्पित भएर काम गरे पनि राष्ट्रिय खेलकुद दोस्रो पटक सर्यो । केन्द्रले २०७५ मंसिरमा आबौं बृहत् राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय दुई वर्षअघि नै गरे पनि समयमा बजेट नपठाएका कारण पूर्वाधार तयार हुन सकेनन् । उद्घाटन र समापन गर्ने योजनामा रहेको नेपालगञ्ज रंगशाला निर्माण कहिले सम्पन्न हुने भन्ने टुंगो अझै नलागिसकेका कारण तेस्रो मिति तय गर्न सकिएको छैन ।

Global Ime bank

‘अब दुई हप्ता पछि रंगशाला निर्माणको कामले एउटा आकार लिन्छ । त्यसपछि कहिलेसम्म बनिसक्छ भन्ने अनुमान लगाउन सजिलो हुन्छ । त्यो हेरेर परिषद्को बोर्ड बैठकले नयाँ मिति निर्णय गर्नेछ,’ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बाह्रखरीसँग भने, ‘यो मैले भन्ने विषय होइन । मिति तोक्ने काम परिषद् बोर्डको हो । सदस्यसचिव वा मन्त्रीले पनि मिति तोक्ने होइन ।’

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओली केन्द्रले गम्भीरतापूर्वक नलिएका कारण समयमा पूर्वाधार निर्माण हुन नसकेको बताउँछन् । भन्छन्, ‘२०७३ सालमा हामीले झण्डा लिए पनि बजेट भने यो वर्षमात्र आयो । अझै पनि ४३ करोड रुपैयाँ बजेट अपुग छ । गतवर्ष नियमित केही योजनाका लागि सिमित रकम निकासा भए पनि राष्ट्रिय खेलकुद लक्षित कामलाई पैसा आएन । २०७४मा मात्र पनि बजेट निकासा गरेको भए मंसिरमै भव्यताका साथ राष्ट्रिय खेलकुद सम्पन्न हुन्थ्यो ।’

\"\"राष्ट्रिय खेलकुद आयोजनाको विषयमा राखेप र युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारी तथा सत्ताधारी नेकपा नेतृत्वबीच मत मतान्तर रहेकाले पनि नेपाली खेलकुदको सबभन्दा ठूलो मेला अन्योलमा परेको हो । आउँदो असारमा कार्यकाल सकिने तयारीमा रहेका राखेप सदस्यसचिव केशवकुमार विष्ट तथा ओलीलगायत जसरी पनि यसै वर्ष राष्ट्रिय खेलकुद गर्ने योजनामा छन् । जवकि मन्त्री जगतबहादुर विश्वकर्मा, उपाध्यक्ष तिम्सिना तथा अन्यचाहिँ केही समय पछि सार्ने योजनामा छन् ।

‘हामी राष्ट्रिय खेलकुदलाई लिपपोत गरेर सम्पन्न गर्ने पक्षमा छैनौं । आठौं राष्ट्रिय खेलकुद हुँदा यसकै कारण यो क्षेत्रले केही राम्रा पूर्वाधार पाउनुपर्छ । अहिले झारो टारेर गर्ने हो भने दुई वर्षपछि अहिले ठूलो रकम खर्चेर बनाएका पूर्वाधारको अस्तित्व नदेखिने अवस्था आउँछ,’ भौतिक पूर्वाधार निर्माणको अवस्था अवलोकन गर्न गतसाता नेपालगञ्ज पुग्दा परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले भनेका थिए, ‘हामीले पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदमा पनि राज्यको ठूलो धनराशी पूर्वाधार बनाउन भनेर खर्च गर्यौं । तर अहिले तिनको उपभोग गर्ने अवस्था छैन । त्यसैले अब गरिने हरेक कामको जवाफदेहिता हुनुपर्छ । अहिले आठौं राष्ट्रिय खेलकुदका लागि बनाएका पूर्वाधार यो क्षेत्रले भविष्यसम्म उपयोग गर्न पाउनुपर्छ ।’ 
जबकि दुई साताअघि नेपालगञ्ज पुगेर माघ २५ देखि फागुन ३ गतेसम्मको घोषित मितिमा १५ दिन सर्ने घोषणा गरेर फर्किएका सदस्यसचिव विष्ट फेरि अहिले पूर्वाधार निरिक्षण भनेर उतै पुगेका छन् ।

सदस्यसचिव विष्टले माघ २५ मा नेपालगञ्ज रंगशालामा राष्ट्रिय खेलकुदको उदघाटन घोषणा गरे पनि ठेकेदार कम्पनी सुनकोसी वल्र्डवाइड जेभीसँग भने परिषद्ले रंगशाला बनाउनका लागि माघ २८ सम्मको समय दिएको थियो । तर झण्डै तीन हजार दर्शक क्षमताको भिआइपी प्यारापिट निर्माणका लागि गत बुधबारबाट जग खन्न सुरु गरिएको नेपालगञ्ज रंगशाला माघ मसान्तसम्ममा पनि तयार हुने सम्भावना छैन । रंगशाला निर्माणको त्यही अवस्थालाई संकेत गर्दै उपाध्यक्ष तिम्सिनाले दुई सातापछि निर्माणको कामले आकार लिएपछि नयाँ मिति तोक्ने बताएका थिए ।

\"\"बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा, दाङको लमही र घोराही, रुपन्देहीको बुटवल र भैरहवा, बर्दियाको भुरीगाउँ बासगढी र ठाकुरद्धारा, बढैया ताल र गुलरिया लगायतका विभिन्न स्थानमा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ३५ खेलमा ३ हजारभन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ओलीका अनुसार उदघाटन र समापनका साथै पुरुष फुटबल र एथलेटिक्सका खेल गराउने नेपालगञ्ज रंगशालाबाहेक अन्य खेल गराउन पूर्वाधारको समस्या हुने छैन । 

नेपालगञ्ज रंगशाला परिसरमै निर्माणाधिन पौडी कम्प्लेक्स, सुटिङ रेन्ज, भारोत्तोलन एकेडेमी, जुडो एकेडेमीलगायतका निर्माण फागुनअघि नै सम्पन्न भइसक्ने ओलीले बताए । यसैगरी कोहलपुरको क्रिकेट मैदान, बासगढिको कबड्डी कभर्डहल पनि माघ मसान्तसम्ममा बनिसक्नेछन् । महिला क्रिकेट गराउने तयारीमा रहेको दाङको मैदानमा पनि अन्तिम चरणको काम भइरहेको छ । गुलरियामा निर्माणाधिन सेपाक ताक्रोको कभर्डहल बन्न नभ्याए विकल्प तयार गरिएको आयोजकले बताएको छ । 

‘मुख्य रंगशालावाहेक बनाउन थालेका अरु सबै पूर्वाधार निर्माण अन्तिम चरणमा छन् । माघ मसान्तसम्ममा सबै ठेकेदारले हामीलाई हस्तान्तरण गर्ने सम्झौता छ,’ ओलीले भने, ‘मुख्य रंगशालाका लागि पनि ठेकेदारले फागुन दोस्रो हप्तासम्मको समय मागेको छ । त्यसकारण अब फागुनमै उदघाटन गर्ने गरी नयाँ मिति तोक्नुपर्छ र केन्द्रले बाँकी कामका लागि तत्काल बजेट निकासा गर्नुपर्छ ।’
‘प्रि फेब्रिकेटेड’ प्रविधिबाट बनाइन लागेको भिआइपी प्यारापिटका सामाग्रीहरु मलेसियाबाट ल्याउनुपर्छ । जुन मलेसियाबाट अझै पठाइएको छैन र ठेकेदारले पुसको मसान्तसम्ममा उताबाट सामान हिड्ने जानकारी राखेपलाई गराएको छ । सामान मलेसियाबाट हिँडेपछि नेपालगञ्ज पुग्न ४० देखि ४५ दिन लाग्ने बताइएको छ । नेपालगञ्ज पुगिसकेपछि पनि त्यसलाई फिट गर्नमात्र अर्को ४० देखि ४५ दिन लाग्ने प्राविधिकहरु बताउँछन् । 

फागुनपछि नेपालगञ्जको मौसम खेलमैत्री नहुने भन्दै स्थानीय नेतृत्वले फागुनभित्रै राष्ट्रिय खेलकुद गरिसक्नुपर्नेमा जोड दिँदै आएको छ । ‘चैत लागेपछि गाह्रो हुन्छ । गर्मी खपिनसक्नु हुन्छ, हावा र हुरीले पनि दुःख दिन्छ । त्यसैले हामीले फागुनभित्रै जसरी पनि गरिसक्नु पर्छ,’ ओलीले भने, ‘आठौं राष्ट्रिय खेलकुद नेपालगञ्ज, मध्य पश्चिम वा प्रदेश नम्बर ५ कोमात्र चासोको विषय होइन । यो राष्ट्रिय गौरवको योजना हो । त्यसैले राखेप, मन्त्रालय र सम्पूर्ण सरकार गम्भीर भएर लाग्नुपर्छ । त्यसो भए यही वर्ष राष्ट्रिय खेलकुद गर्न सकिन्छ ।’

अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने चलन थियो । यसपाली देश संघीय संरचनामा गइसकेकाले राष्ट्रिय खेलकुद पनि त्यहीअनुसार गर्दा टिम संख्या बढेर १० पुगेको छ । त्यसमा गैह्र आवासीय नेपाली (एनआरएन) को एउटा टिम पनि समावेश गर्ने भएपछि मध्य पश्चिममा कुल ११ टिमले सहभागिता जनाउनेछन् । 

प्रत्येक दुई वर्षमा बृहत् खेलकुद मेला गर्ने अवधारणाअनुसार राखेपका तत्कालिन सदस्यसचिव सरदचन्द्र शाहले २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरेका थिए । सबै खेलका खेलाडीलाई नियमित रुपमा प्रतिस्पर्धाको अवसर दिन प्रत्येक संस्करण फरक ठाउँमा गर्ने र यसैको बहानामा भौतिक पूर्वाधार बनाउने राष्ट्रिय खेलकुद सुरु गर्दा राखिएका अन्य मुख्य उदेश्य थिए । काठमाडौंमा पहिलो संस्करण भएपछि दोस्रो बृहत राष्ट्रिय खेलकुद २०४० सालमा पोखरामा भएको थियो । २०४२ सालमा तेस्रो संस्करण वीरगञ्जमा भएपछि राष्ट्रिय खेलकुद नियमित हुन सकेन । 

पञ्चायतको समाप्तिपछि झनै अनियमित बन्ने क्रममा राष्ट्रिय खेलकुदले चौथो संस्करणका लागि २०५५ सम्म कुर्नुपर्यो । नेपाल भारोत्तोलन संघका वर्तमान अध्यक्ष रतन टण्डनले सम्पूर्ण स्थानीय व्यवस्थापनको जिम्मेवारी व्यक्तिगत रुपमा उठाउने वाचा गर्दै चौथो राष्ट्रिय खेलकुद १२ वर्षपछि नेपालगञ्ज लगेका थिए । त्यही संस्करणबाट १४ अञ्चलका टिमहरुले सहभागिता जनाउने गरेको राष्ट्रिय खेकलुदमा पाँच विकास क्षेत्र र दुई विभाग नेपाल प्रहरी र नेपाली सेनाको सहभागिता सुरु भएको थियो । काठमाडौंमा त्यसको १० वर्षपछि २०६५मा सम्पन्न पाँचौं संस्करणमा सशस्त्र प्रहरी बलको टिम पनि थपियो । राखेपका पदेन संरक्षक तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबका कारण उद्घाटन भइसकेपछि पाँचौं राष्ट्रिय खेलकुदमा माओवादी सेनाको पिएलए स्पोर्टस क्लबलाई पनि सहभागी गराइयो । जसका कारण पिएलए सहभागी भएका खेलबाट नेपाली सेनाले आफ्ना खेलाडी फिर्ता गराएको थियो । 

छैटौं संस्करण तीन वर्षपछि सुदूरपश्चिमाञ्चलमा भयो भने सातौं राष्ट्रिय खेकलुद २०७३ सालमा पूर्वाञ्चलका विभिन्न स्थानमा भएको थियो । ‘प्रजातान्त्रिक कालमा नियमित हुन नसकेको राष्ट्रिय खेलकुदलाई निर्धारित समयमै गरेर फेरि नियमित बनाउने पनि हाम्रो मिसन हो । अन्तिम समयसम्म पनि यसमा डटेरै लाग्नेछौं,’ ओलीले भने । 

कुन खेल कहाँ ?

\"\"फुटबल महिला (दाङ, निर्माण सम्पन्न)
फुटबल पुरुष (नेपालगञ्ज रंगशाला, निर्माण बाँकी)
एथलेटिक्स (नेपालगञ्ज रंगशाला, निर्माण बाँकी)
बक्सिङ (बाँके, खजुरा ज्ञानोदय मावि चउरमा)
भारोत्तोलन (भेरी प्राविधिक शिक्षालय वा भारोत्तोलनको आफ्नै निर्माणाधिन हल)
टेबल टेनिस (परिषद्को ११ लाख ५० हजार बजेटमा मर्मत गरिएको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज)
क्रिकेट महिला (दाङ, मैदान निर्माण अन्तिम चरणमा)
क्रिकेट पुरुष (कोहलपुर, मैदान निर्माण अन्तिम चरण)
लन टेनिस (बुटवल, निर्माण सम्पन्न)
पौडी (नेपालगञ्ज पौडी कम्प्लेक्स, निर्माण अन्तिम चरणमा)
सुटिङ (नेपालगञ्ज सुटिङ रेञ्ज, निर्माण अन्तिम चरणमा)
भलिबल महिला (खजुरा, निर्माण सम्पन्न)
भलिबल पुरुष (खजुरा, निर्माण सम्पन्न)
स्क्वास (बुटवल, मर्मतको काम सुरु)
तेक्वान्दो (नेपालगञ्ज कभर्डहल, मर्मत अन्तिम चरणमा)
जुडो (जुडो एकेडेमी, कारकाँदो, निर्माण अन्तिम चरणमा)
आर्चरी (ठाकुरद्धारा, बर्दियाको खुला मैदान)
कबड्डी (बाँसगढी, निर्माण अन्तिम चरणमा)
खोखो (खोखो कभर्डहल, भुरीगाउँ निर्माण अन्तिम चरणमा)
उसु (नेपालगञ्ज कभर्डहल, निर्माण अन्तिम चरणमा)
बास्केटबल महिला (दाङ, घोराही, कोर्ट निर्माण सम्पन्न)
बास्केटबल पुरुष (दाङ घोराही, कोर्ट निर्माण सम्पन्न)
ब्याडमिन्टन (घोराही, निजी कभर्डहल)
साइक्लिङ (बाँके, ट्रयाक चयन भइसकेको)
कराते (दाङ, कभर्डहल निर्माण नसकिने कारण खुला मैदानमा गर्ने तयारी)
कुस्ती (कपिलबस्तुको मायादेवी खेल मैदान, निर्माण सम्पन्न)
फेन्सिङ (बुटवल)
ट्रायथलन (बर्दिया, बडैया ताल)
प्याराग्लाइडिङ (पोखरा)
गल्फ (निर्णय हुन बाँकी)
ह्यान्डबल महिला (नेपालगञ्ज, रंगशाला परिसरमा खुला मैदानमा)
ह्यान्डबल पुरुष (नेपाल प्रहरी तालिम केन्द्र, नेपालगञ्ज)
बुद्धिचाल (कोहलपुर गोर्खा बोर्डिङ स्कुल)
सफ्ट टेनिस (बुटवल)
आइटिएफ तेक्वान्दो (नेपालगञ्जको प्रहरी गुल्ममा)
सेपाक ताक्रो (गुलरियामा सेपाक ताक्रो हल निर्माणकार्य समयमा नसकिने सम्भावना, खुला चउरमा गर्ने तयारी)
जिम्न्यास्टिक (रुपन्देही)
शारीरिक सुगठन (बुटवल)
फुलकन्ट्याक्ट कराते (दाङ)
हक्की (नेपालगञ्जको मंगलप्रसाद मावि)

(केही खेलमा सम्बन्धित राष्ट्रिय संघसँगको समन्वयमा आयोजना स्थल सार्न सकिने निर्णय भएको तथा निर्माणको अवस्थाअनुसार कतिपय खेलको आयोजना स्थल सर्न सक्ने मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष ओलीले बताएका छन् । उनैले दिएको जानकारीअनुसार विभिन्न खेलका आयोजनास्थल र निर्माणको अवस्था उल्लेख गरिएको हो)

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय