रोशासँग फेरि भेट भेएको छैन । रोशाका बारेमा कुनै अर्को आलेखमा तर तिनले भनेको एउटा कुराले मलाई बारम्बार उनको सम्झना दिलाइरहन्छ ।
कालो नलगाउँदा मेरो केश पूरै सेताम्यै हुन्छ, हिमालसरी । मेरा सेता केश देखेर कतिपयले मलाई सोधेका पनि छन् – ‘‘६५ त कट्नु भयो हैन ?’’ उमेर नहुँदै सेतो भएको केशलाई यस्तैयस्तै प्रश्नले ‘कालो’ बनाउने जोश जगाउँछ ।
त्यसदिन रोशासँग भेट हुँदा मेरो केश तीलचामले थियो । कालो नलगाएको विषयमा कुरा गर्दै केही समय अलमलिएँ । रोशाले हठात् भनिन् – ‘‘कहिले काहीँ आफूलाई ज्येष्ठ नागरिकको श्रेणीमा राखेर हेर्नुस् त । यति सोचिदिने हो भने ज्येष्ठ नागरिकलाई कहिल्यै कुनै सकस हुन्न । तपाईँ आफैँलाई पनि सहज हुन्छ ।’’
आज केशमा निक्खर कालो दलेरै भएपनि रोशाले भनेको विषयमाथि म घोत्लिन बाध्य छु । कारण, अचेल म जहाँ पनि ज्येष्ठ नागरिकले भोग्दै आएको बिजोग हेरिरहेको छु । हेर्न बाध्य छु ।
ज्येष्ठ नागरिक, बिरामी, अशक्तका पीडा आज काठमाडौंका सडकमा छताछुल्ल पोखिएको छ । विडम्बना, राज गर्नेहरूको दृष्टि सडकमा त्यहाँसम्म पुग्नैसकेको छैन ।
सडकमा सार्वजनिक गाडी गुड्छन् । चालकहरुको रजाईँ चल्छ । चालकले म सार्वजनिक सवारी साधन चलाउ्ँदैछु भन्ने सधै बिर्सिएको देखिन्छ ।
सडकमै रहन्छन् ट्राफिक प्रहरी । जो सार्वजनिक यातायातलाई ठाउँमै रोक्न दिँदैनन् । ट्राफिक व्यवस्थापनका नाममा ती लहरै सडक किनारमा बस्छन् । सार्वजनिक सवारीलाई अगाडि गएर रोक अगाडि गएर रोक भन्दै इसारा गर्छन् । कुनै पनि ट्राफिक प्रहरीले आफ्नो अगाडि गाडी रोक्ने अनुमति दिँदैनन् । फलतः सुन्धारा ओर्लनुपर्नेे यात्रु लैनचौरमा पुगेर ओर्लन बाध्य हुन्छ ।
यस पङ्तिकारले देखेका भोगेका केही दृश्यहरुको वर्णन गर्दा अझै स्पष्ट होला ।
दृश्य एक :
घरबाट कार्यालय हिँडेको म जडीबुटीको विशाल जाममा परेँ । जाम वडा नम्बर ३२ को छेउछाउसम्मै थियो । गाडी पञ्चमीको पाइलाजति पनि सरिरहेको थिएन ।
जाम खुल्नासाथ गाडी तुफान कुदाएर जडिबुटीपारि लैजाने कसरतमा थिए थिए गाडी चालक । उनले सहचालक (खलासी)लाई अह्राए – ‘‘कान्छा, जडीबुटीवारि ओर्लनेहरूलाई यहीँ ओराल ।’’
आज्ञा शिरोपर गर्दै सहचालक चर्को स्वरमा कराउन थाल्यो, ‘‘जडीबुटी यहीँ ओर्लनुस् है । नभए कोटेश्वर पुग्नु होला ।’’
यात्रु हल्ला गर्न थाले । यात्रुहरुको हल्लाको असर अलिकति पनि चालक र सहचालकलाई परेन् । उनीहरू यात्रु ओराल्नै कम्मर कसेर लागे । जडीबुटी चोकमा पुगेर भक्तपुरतिरको अर्को गाडी समाउनु पर्ने एक वृद्ध महिला त्यहीँ ओर्लन बाध्य भइन् । घुँडाकी रोगी ती महिलासँग कुनै उपाय थिएन वडामै ओर्लिएर खुट्टा खोच्याउँदै चोकसम्म पुग्नु बाहेक !
सायद, कसैलाई पनि पीडाबोध भएन त्यो दृश्य देखेर !
दृश्य दुई :
करिब एक महिनाअघिको अर्को प्रसंग । बसबाट कोटेश्वर चोकमा ओर्लन यात्रुहरु तम्तयार थिए । ठाउँ मिलाएर बस रोकिनासाथ बसबाट झर्न, ज्येष्ठ नागरिक मात्रै होइनन् कनिष्ट नागरिक पनि बसको ढोका छेउछाउ उभिएका थिए । तर बस रोकिएन । बस रोक्न दिएनन् ट्राफिक प्रहरीले ।
ट्राफिकहरू लहरै परेड खेले झैँ गरी दाहिनेतिर उभिएका थिए । पहिलो ट्राफिक प्रहरीले अगाडि गएर बस रोक्न संकेत ग¥यो । त्यसअगाडि पनि अर्को ट्राफिक उभिएको थियो । उसले पनि अगाडि गएरमात्रै बस रोक्न आदेश दियो । यसरी छ सात जना ट्राफिक प्रहरीलाई छिचोल्दै जाँदा बस कोटेश्वर ओह्रालोको भैरव मन्दिरपारि छेउछाउ पुग्यो । कोटेश्वर झर्नुपर्ने वृद्धवृद्धालगायतका यात्रुले चालक सहचालकलाई गाली गर्न थाले । यी वृद्धवृद्धाको पीडा ती ट्राफिक प्रहरीले न देखे, न त महसुस नै गरे ।
पछाडिको सिटमा बसेको मैले सोचेँ रोशा ठीक भन्छिन् । हामीले कहिले पनि बूढापाका भएर सोचेनौ । सोचिदिएको भए सायद बसका ती वृद्धहरूले तीनकुने नजिक ओर्लेर फेरि कोटेश्वर फर्किनु पर्नेथिएन ।
दृश्य तीन :
यसपटक म कार्यालय नजिकैको बस स्टप थापाथलीबाट ललितपुर यातायातको बस चढेँ । मलाई पुग्नु थियो जमल । गाडीमा उक्लिनासाथ गाडी गुड्यो । गुडीनै रह्यो– सुनधारा, भोटाहिटी, जमल, दरबार पश्चिम ढोका हुँदै । कतै रोकिएन् बस ।
बसबाट ओर्लन खोज्ने मजस्ता यात्रु कराउन थाले । बाहिर चढ्न खोज्नेको भिड पनि उत्तिकै थियो । तर, कसैको जोर चलिरहेको थिएन । किनभने, सबैतिर ट्राफिक प्रहरी लहरै बसेका थिए । यो स्थितिमा चालकले बस रोक्ने अवस्था नै थिएन ।
बस एकैपटक लैनचौर पुगेर रोकियो । भोटाहिटी जमल ओर्लने यात्रु सबै मुर्मुरिएका थिए । म पनि मुर्मुरिँदै जमल फर्किएँ । त्यहाँबाट पैदल फर्किनुको विकल्प थिएन ।
त्यहीँ लैनचौरमा झरेका बुढापाका कसरी फर्किए होलान् ? तिनको अवस्था के भयो होला ? त्यता कस्ले सोचिदिने ? कि तिनलाई भनिदिनु पर्थ्योे ट्राफिकले, ‘तपाईँ थापाथलीबाट लैनचौर गएर झर्नुस् । लैनचौर पारि गएर टेम्पो चढेर जमल प्ुुग्नुस् । हैन भने ट्याक्सी लिनुस् ।’
के गर्ने, लैनचौरबाट जमलसम्मको सानो दूरीमा ट्याक्सी पनि जान मान्दैनन् ! गाह्रो यहाँ पनि छ ।
दृश्य चार :
आज मंगलबार बिहान कार्यालय समयको प्रसंग हो । बसमै थिएँ । नयाँ वानेश्वरको ट्राफिक लाइटमा गाडी रोकियो । यात्रु झार्न देब्रेतर्फ रोकिनुपर्नेमा दाहिनेतिर गएर चालकले गाडी रोके । त्यसै बसबाट एकजना दृष्टिविहीन प्रौढ व्यक्ति ओर्लिए । सहचालकले पनि ओराले र त्यत्तिकै बीच सडकमा छोडिदिए । तिनले पेटीमा पु¥याउने कर्म गरेनन् । न त तिनले ती दृष्टिविहीन कसरी पारि पुग्लान् भन्ने नै सोचे ।
एक अर्का यात्रु सहृदयी रहेछन् । सडकको बीचमा अलमलिइरहेका दृष्टिविहीन यात्रुलाई समाएर उनले पारि पु¥याइदिए । यसरी नयाँवानेश्वरमा दृष्टिविहीन यात्रु पनि ओर्लनेछन् भन्ने थाहा पाएका सहचालक वा खलासीले गाडीलाई देब्रेतिर रोक्न लगाउनुपर्ने होइन ? तर, चालक सहचालकलाई त्यसबारेमा कुनै मतलब छैन । र, ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने यस्ता विषयमा कहिल्यै ध्यान दिँदैनन् । यता पनि तिनको ध्यान जानुपर्ने त हो नि !
यी मजस्तो सार्वजनिक यातायात चढ्नेले दिनहुँ भोग्ने समस्या हो । तर यसलाई न त चालक सहचालकले समस्या मानेका छन् न ट्राफिक प्रहरीले नै । मैले रोशालाई फेरि सम्झिएँ, चालक, सहचालक, ट्राफिक प्रहरी, तिनका ठूलाठूला पदधारी हाकिमले आफूलाई ७०/७५को उमेरको भएर किन सोच्दैनन् ? यतातिर अलिकति पनि सरोकारवालाहरुले सोचिदिएको भए र सकारात्मक दृष्टिकोण राखिदिएको भए आज बूढापाकाले दैनिक यस्ता समस्या भोग्नुपर्ने थिएन होला । बस चालक र ट्राफिक प्रहरीको क्रियाकलाप हेर्दा लाग्छ – वृद्ध हुनु अभिशाप हो ! त्यसो भए वृद्धवृद्धा, अशक्त र बिरामीहरूलाई सार्वजनिक यातायातमा चढ्नै निषेध गरौँ ।