काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा पदकको आशासहित सहभागिता जनाउने सबभन्दा ठूलो खेल मेला एसियाली खेलकुद हो । यसै वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदको १७औं संस्करण नेपालका लागि लज्जाजनक रह्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले इतिहासकै सबभन्दा सफल हुने दाबीसहित हचुवा पारामा २९ खेलमा १ सय ८५ खेलाडीको जम्बो टोली सहभागी गराए पनि इन्डोनेसियामा राज्यको लगानी नै नभएको प्याराग्लाइडिङबाहेक अरुले पदक जित्न सकेनन् । खेलाडी आफैले दशौं लाख खर्चेर खेल सामग्री किनेको प्याराग्लाइडिङले जितेको एउटा रजत पदकबाट नेपाली खेल प्रशासनको नालायकी छोपिएन ।
एसियाली खेलकुदमा जम्बो टोली सहभागी गराउँदा यसै वर्ष हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी भनेर राखेप तथा एनओसीले आफ्ना नालायकी ढाकछोपको प्रयास गरे पनि साग आयोजनामा देखिएको उदासिनताबाट खेल नेतृत्वको नियत छर्लङ्ग भएको छ । २०१८ को फेब्रुअरीमै हुनुपर्ने सागका लागि आयोजक नेपालको तयारी नहुँदा अर्को वर्ष पनि क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेला हुनेमा शंका छ । २०१६ मा भारतको गुवाहटी तथा सिलोङमा भएको सागको समापन समारोहमा तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १३औं संस्करणको झण्डा बोकेका थिए । २०१८ फेब्रुअरीमै नेपालमा गर्ने बाचासहित झण्डा बोके पनि त्यसयता तयारीमा ‘माखो नमार्दा’ १३ औं साग अनिश्चित बनेको छ ।
यसैगरी गत महिना नेपालगञ्जसहित मध्य पश्चिमका विभिन्न स्थानमा सम्पन्न भइसक्नुपर्ने वृहत राष्ट्रिय खेलकुद पनि पटक पटक मिति सरेर थप अन्योलपूर्ण अवस्थामा पुगेको छ । पछिल्लो पटक राखेपले पूर्वाधार निर्माणमा ढिलाई हुने भन्दै माघ २५ देखि फागुन ३ सम्म हुने भनेर मिति सारे पनि सदस्यसचिव केशवकुमार विष्टले थप दुई साता सर्ने बताएका छन् । विष्टले भनेजस्तो निर्धारित मितिबाट दुई साता पछि पनि राष्ट्रिय खेलकुद हुने व्यवहारिक वातावरण नभएको राखेपकै नेतृत्व तहमा रहेका पदाधिकारीहरुले बताएका छन् ।
स्थानीय स्तरदेखि खेलाडी पहिचान गर्दै तिनलाई राष्ट्रिय तहसम्म प्रतिस्पर्धामा पुर्याउन सकिने देशको खेलकुदकै सबभन्दा महत्वपूर्ण खेल मेलाको आयोजनालाई खेल नेतृत्वले आर्थिक तथा राजनीतिक दुनो सोझ्याउने माध्यमका रुपमा मात्र लिँदा राष्ट्रिय खेलकुदको भविश्य तथा औचित्यमाथि नै प्रश्न उठेको छ ।
मुलपानीको निर्माणाधिन क्रिकेट मैदानको जग्गा समस्या समाधान भए पनि बन्ने क्रमले भने गति लिन सकेको छैन । सरकारी निकायका कछुवा गतिको कारण भुइँचालोले चिरा पारेको देशकै एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पनि अझैसम्म खण्डहरकै रुपमा छ । एक वर्षभित्र नयाँ बनाइसक्ने भनेर राखेप नेतृत्वले गत वर्ष जबर्जस्ती भत्काएको पोखरा रंगशाला निर्माणका लागि टेण्डरसमेत भएको छैन ।
मैदानभित्र फुटबल, क्रिकेटलगायतका केही खेलले उपलब्धि दिएको सन् २०१८मा व्यक्तिगत रुपमा पनि महेश्वर महर्जन, सन्दीप लामिछाने, रोहित चन्द र किरण चेम्जोङहरुले नेपालीलाई खुसी दिए । तर मैदानवाहिर राखेप, एनओसी, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेल संघहरुको प्रशासनिक तथा आर्थिक नालायकीका कारण देशको समग्र खेलकुद यथास्थितिभन्दा माथि उठ्न सकेको छैन । केही खेल र खेलाडी विशेषका उपलब्धि विर्सने हो भने समग्रमा वितेको वर्ष नेपाली खेलकुदको अवस्था अधोगतिमै रहेको वर्षका रुपमा चिन्नु पर्ने भएको छ ।
क्रिकेटमा ऐतिहासिक उपलब्धि
एक समय थियो, नेपाल क्रिकेट संघका पूर्व अध्यक्षद्धय जयकुमारनाथ शाह र विनयराज पाण्डेहरुले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँछ भन्दा मानिसहरु हाँस्थे । दशकौं नेपाली क्रिकेटको श्रीवृद्धिमा लागेका शाह र पाण्डेहरुले सायद आजको दिन देखेका थिए । त्यसैले १५ वर्षअघिसम्म नेपाल कुनै दिन एकदिवसीय मान्यताप्राप्त देश बन्छ भन्दा हाँसोको पात्र बन्नु परे पनि उनीहरु धक मान्दैनथे । निर्धक्कसँग भन्थे, ‘नेपाली क्रिकेटको भविश्य उज्ज्वल छ । हामीसँग क्रिकेटको संस्कारसँगै प्रतिभा पनि विश्वस्तरका छन् । यसलाई उजागर गर्नमात्र चुनौती हो । हामी चाँडै एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट मान्यताप्राप्त देश बन्नेछौं ।’
कीर्तिपुरको कामचलाउ रंगशालामा घस्रिइरहेको नेपाली क्रिकेटले यति ठूलो अन्तर्राष्ट्रिय मञ्च पाउने कुरा त्यतिबेला मै हुँ भन्ने क्रिकेटका पण्डितहरुका लागि पनि अपत्यारिलो कुरा थियो । त्यसैले शाह र पाण्डे मञ्चमा भाषण गरिरहँदा पण्डितहरु हाँसेरै उडाउँथे, ‘बुढा भए । सुद्धि हरायो । बोलीको ठेगान छैन ।’
बन्द हुँदै चल्दै गर्ने बिग्रिएको घडीजस्तो नेपाली क्रिकेटले वर्ष २०१८ मा शाह र पाण्डेले दशकौं अघि गरेका भविश्यवाणी प्रमाणित गर्यो । अर्थात यही बर्षबाट नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भयो । २०१४ मै छनोट चरण पार गरेर ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाइसकेको नेपाली क्रिकेटले विकासको यात्रा अगाडि बढाउनेक्रममा यसपाली एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको हो । यसअघि नेपालले छोटो स्वरुपको ट्वान्टी–२० क्रिकेटमा पनि दुई वर्षका लागि अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । तर त्यो नेपालका लागि विना उपलब्धि सकियो ।
नेपाली क्रिकेटका लागि पछिल्ला केही वर्ष अत्यन्तै पीडादायी रुपमा वित्दै आएका छन् । आर्थिक अपारदर्शिता, कुशासन, आन्तरिक शक्ति संघर्ष, राजनीतिक हस्तक्षेपलगायतका रोगले गाँजिदा अघिल्लो वर्ष आइसिसीले नेपाली क्रिकेटको सदस्यता समेत निलम्बनमा राखेको थियो । आइसिसीको निलम्बन फुकुवाका लागि धेरै प्रयास भए पनि यो वर्ष त्यसले सार्थकता पाउन सकेन । प्रशासनिक फाँटमा नेपाली क्रिकेटको पीडा यो वर्ष पनि २० बाट १९ भएन । तर मैदानभित्र भने राष्ट्रिय टोलीले ऐतिहासिक सफलता हासिल ग¥यो । अत्यन्तै उपलब्धिमुलक भएर बित्ने क्रममा वर्ष २०१८ ले दिएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको उपहार ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यताजस्तो क्षणिक हुन नदिने चुनौती भने अहिले पनि विद्यमान छ ।
“यो इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो । धेरै वर्षदेखिको सपना पूरा भएको छ । फन्डिङदेखि लिएर क्रिकेट खेलाडीको जिविकोपार्जन र यो खेलको भविष्य सुनिश्चित गर्ने आधार पाएका छौं । अगाडि चार वर्षमा अझ राम्रो क्रिकेट खेलेर नेपाली क्रिकेटलाई झनै माथि पु¥याउनुपर्छ । यो भन्दा खुशीको क्षण केही छैन,” नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका थिए, “खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरिरेहकै छौं । अब जिम्मेवारी सबै (खेलाडी, पदाधिकारी, राज्य)माथि थपिएको छ । अब राज्यले पनि क्रिकेटलाई कसरी हेर्ने भनेर कार्ययोजना बनाउनु आवश्यक छ । घरेलु क्रिकेटको संरचना, पूर्वाधार तथा खेलाडीको सुविद्यामा सुधार गर्नै पर्छ । अब व्यवसायिक हुनै पर्छ । राम्रो संचरना बनाएर अघि बढ्ने हो भने एकदिवसीय स्टाटस जोगाइराख्न सक्छौं । अबको १०÷१२ वर्षमा टेस्ट राष्ट्र बन्ने हो । मैदानबाहिर अब आफूलाई सुधार्ने मौका पाएका छौं । व्यक्तिभन्दा माथि उठेर क्रिकेटलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नु आवश्यक छ ।”
उपलब्धि र भद्रगोलको बीचमा फुटबल
फुटबलमा पनि वितेको वर्षमा आशा गर्ने केही ठाउँ देखिए । एन्फाको निर्वाचनबाट नयाँ नेतृत्व चयन भयो । २०७० यता पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग भयो । पहिलो पटक ओलम्पिक छनोटमा महिला टोलीलाई सहभागी गराउँदा दोस्रो चरणको यात्रा तय गर्न नेपाली चेलीहरु सफल भए । किशोरीहरुको टिमले महिला यु–१८ साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्यो । यसैगरी एएफसी यु–१९ महिला च्याम्पियनसिपमा पनि नेपाली टोलीले दोस्रो चरणको टिकट काट्यो ।
यु–१८ महिला साफ च्याम्पियनसिपमा पाकिस्तानलाई १२–० को नतिजामा पराजित गरेपछि बंगलादेशसँग २–१ ले पराजित भए पनि नेपाल सेमिफाइनल पुगेको थियो । भुटानमा दुई महिनाअघि सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा भारतमाथि टाई–ब्रेकरमा ३–१ को जित हासिल गर्दै फाइनलमा पुगेको नेपाली टोलीले प्रतियोगितामा दोसो पटक बंगलादेशसँग निराशा भोग्यो । उपाधि भिडन्तमा बंगलादेशसँग १–० को हार भोग्दा नेपाल उपविजेतामा सिमित भएको थियो ।
यसैगरी एएफसी यु–१९ च्याम्पियन्सिपको छनोट पहिलो चरणमा पनि नेपालले समूह ‘बी’ बाट उपविजेताको हैसियतमा दोस्रो चरणमा स्थान पक्का गर्यो । बैंककमा सम्पन्न प्रतियोगितामा आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भए पनि पाकिस्तानलाई ९–० तथा भारतलाई २–० को नतिजामा हराउँदै नेपाल दोस्रो चरणलाई छानिएको थियो ।
दुई वर्षपछि जापानमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबलको छनोटमा पनि नेपाली टोलीले सफलता हासिल गर्यो । ओलम्पिक छनोटमा पहिलो पटक सहभागिता जनाउँदा नेपालले दोस्रो चरणको टिकट काट्यो । म्यानमारमा भएको प्रतियोगितामा म्यानमार, भारत र बंगलादेशसँग बराबरी खेल्दै नेपाल दोस्रो चरणको लायक भएको थियो ।
पुरुषतर्फ यसै वर्ष भएको साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन उच्च रह्यो । सेमिफाइनलमा माल्दिभ्ससँग अनपेक्षित हार भोगेपछि नेपाली टोली फाइनलमा पुग्ने अवसरबाट बञ्चित भयो ।
मैदानभित्र उल्लेख्य सफलता हासिल गरे पनि नेपाली फुटबलले यो अवधिमा धेरै विवादको पनि सामना गर्नुपर्यो । पाँच वर्षपछि लिग सुरु गरेको जस लिन खोज्दा एन्फाले फुटबलभित्रको राजनीतिक प्रभावमा पर्दा रेलिगेसनविनाको लिग गरेको भन्दै आलोचना व्यहोर्नुपर्यो । चुनावमा आफूलाई सहयोग गरेको आधारमा एन्फा नेतृत्वले लिगको मर्ममा प्रहार गर्दै विना रेलिगेसनको लिग गरेको थियो । जुन सम्पन्न हुने चरणमा पुगेको छ । यसैगरी सहिद स्मारक लिग पिरामिडको शीर्ष डिभिजनलाई झारो टार्ने पारामा गरेको एन्फाले ‘बी’ र ‘सी’ डिभिजनमा भने अझै लिग गर्न सकेको छैन । यसैगरी २०७२ सालमा पछिल्लो पटक भएको राष्ट्रिय लिग ब्युताउने विषयमा पनि एन्फाले व्यवहारिक कदम चालेको छैन । राष्ट्रिय लिगकै लागि भनेर आफैँले स्थापना गरेर करोडौं खर्च गराएका चार क्लब झापा ११, सुदूर पश्चिमाञ्चल ११, मोरङ एफसी र रुपन्देही ११ लाई एन्फाले कोमामा पुर्याएको छ ।
महिला फुटबलमा उल्लेख्य सफलता हासिल गरेकै वर्ष एन्फाले भने पाँच दिनमा महिला लिग सकेर हाँस्यास्पद कामको नमुना पेश गर्यो । मैदानभित्रको खेलमा मिश्रित रहेको वर्ष मैदानवाहिरका विवादमा भने उत्कर्षतिर अघि बढ्यो ।
प्रशिक्षक र प्राविधिक निर्देशकको कोटामा उपाध्यक्षहरु विदेश सयर गरेको विषयदेखि निर्वाचनमा भएका घोटालाका प्रकरणहरु सार्वजनिक हुन थालेका छन् । विवादास्पद रुपमा वैशाखमा सकिएको निर्वाचन अध्यक्ष पदका एक उम्मेदवारले अनियमितता भएको आरोपमा बहिस्कार गरेका थिए । अहिले चुनावताका वर्तमान नेतृत्वले निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, न्यायालय तथा मतदातालाई आर्थिक प्रभावमा पारेको लगायतका थुप्रै तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।
व्यक्तिगत सफलता
व्यक्तिगत रुपमा केही खेलाडीले यही वर्ष नेपाली खेलकुदलाई गौरवमय रुपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरे । महेश्वर महर्जनले दुई साताअघिमात्र थाइल्यान्डको च्याङमाईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमिा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेर नेपाली खेकलुदको हैसियत विश्व रंगमञ्चमा प्रस्तुत गरे । कुनै पनि खेलमा नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो ।
क्रिकेटका युवा लेग स्पिनर सन्दीप लामिछानेका लागि पनि वितेको वर्ष सम्झन लायक रह्यो । विश्वकै सबभन्दा ठूलो क्रिकेट प्रतियोगिता भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा उनले इतिहास लेखेका थिए । दिल्ली डेयरडेभिल्सबाट गएको सिजन आइपिएल खेल्ने क्रममा उनले डेब्यु सिजनमै तीन खेल खेलेर पाँच विकेट लिएका थिए । त्यसपछि क्यारेबियन प्रिमियर लिगमा सेन्ट पिट्स एन्ड नेभिस प्याट्रियोटस तथा अफगानिस्तान प्रिमियर लिगमा नानघरहार लियोपार्डसबाट खेलेका उनी अहिले मेलबर्न स्टार्सबाट अस्ट्रेलियन बिग बास लिग खेलिरहेका छन् ।
अर्को सिजनको लागि उनी बंगलादेश प्रिमियर लिगको सिलेट सिक्सर्स तथा पाकिस्तान प्रिमियर लिगको लाहोर कलन्दर्समा आबद्ध भइसकेका छन् । अस्ट्रेलियामा जारी बिग बास लिगमा उनी तीन खेलबाट सात विकेट लिएर सर्बाधिक विकेट लिने खेलाडीको सूचीमा सबभन्दा अगाडि छन् ।
रोहित चन्द नेपाली फुटबलले वर्तमानमा सबभन्दा बढि आशा गरेका खेलाडी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित एकेडेमीका उत्पादन रोहितले मैदानभित्र सधै आफूलाई अब्बल खेलाडीका रुपमा प्रमाणित गर्दै आएका छन् । व्यावसायिक फुटबल करियरलाई दक्षिण एसियाकै घेराभन्दा फराकिलो बनाउने क्रममा मलेसिया तथा इन्डोनेसियाको लिग खेलिसकेका रोहितले वितेको सिजन इन्डोनेसियाली लिग वानको टोली पेरसिजा जकार्ताबाट खेलेका थिए ।
बक्स टु बक्स मिडफिल्डरको भूमिकामा मैदान उत्रिएका उनले टोलीलाई इन्डोनेसियाली च्याम्पियन बनाउन ठूलो योगदान गरे । जसका कारण उनी इन्डोनेसियाली लिगकै सर्बोत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत भएका थिए ।
यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङका लागि पनि वर्ष २०१८ सुखद् रहयो । माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका उनले गतसाता माल्दिभियन फुटबल सिजन सम्पन्न हुँदा उत्कृष्ट गोलकिपरको पुरस्कार पाए । लिगका १६ खेलमध्ये ११ खेलमा उनले पोष्ट सुरक्षित राखेवापत सर्बोत्कृष्ट गोलकिपरको पुरस्कार पाएका थिए ।