site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मला हत्याकाण्ड : कसलाई बचाउन चाहन्छ प्रहरी ! जनतासँग किन बढ्दैछ विश्वासको संकट ?
SkywellSkywell

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना बितिसक्दा पनि उत्तिकै चर्चामा छ । प्रहरीले हत्यामा संलग्नताको आशंकामा पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले रिहा गरिसकेको छ ।

प्रहरीसँगको बयानका क्रममा उनीहरुले हत्या अभियोग स्वीकार गरेको भनिएपनि उनीहरुको डिएनए निर्मलाको ‘भेजाइनल स्वाब’ सँग मेल खाएन ।  तर रिहा भएका दुवै जनाले प्रहरीको निर्मम यातनाका कारण आफूहरुले हत्या स्वीकार गरेको बताएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार हालसम्म १८ जना बढीको डीएनए परीक्षण भइसकेको छ । यसबीचमा प्रहरीले ९ हजार जनाको कल डिटेल हेरिसकेको छ ।

KFC Island Ad
NIC Asia

विभिन्न आपराधिक समूहमाथि निगरानी र अनुसन्धान गरिसकेको जनाएको छ । प्रहरी आईजीपी सर्वेन्द्र खनाल इमान्दारिताका साथ अनुसन्धान जारी रहेको बताउँछन् भने स्थानीय भने प्रहरीकै अनुसन्धान ठिक तरिकाले नभएको बताउँछन् ।

‘‘कतिपय कुरा हतारमा गर्न खोज्दा सकारात्मक नतिजा नआउन पनि सक्छ । निर्मला प्रकरणका सानो ठूलो भन्नुभन्दा पनि अपराधी जोसुकै भएपनि छाडिन्न,” आईजीपी खनालले केही दिनअघि प्रहरी प्रधान कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

Royal Enfield Island Ad

आईजीपी खनालकै शब्दमा भन्ने हो प्रहरीको ‘निद्रा नै लुटेको’ निर्मला हत्याकाण्डको अनुसन्धानमा कयौं जटिलताहरु छन् । निर्मला हत्याको १ सय ६० दिन बितिसक्दा प्रहरी अनुसन्धानले किन गति लिन सकेन ? प्रहरीकै काम कारवाही किन विवादमा परिरह्यो ?  यसबीचमा के–के भए त ? 

प्रहरी र स्थानीयबीच विश्वासको संकट 

निर्मला हत्याकाण्डको स्थलगत रिपोर्टिङका लागि बाह्रखरीको टोली दुईपटक कञ्चनपुर पुगिसकेको छ । पछिल्ला ५ महिनामा कयौं घटनाक्रम फेरबदल भएका छन् । तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्वले अनुसन्धानमा गम्भीर कमजोरी गरेको भन्दै उनीमाथि कारवाही भएको छ । घटनाको अनुसन्धानमा जोडिएका सबै प्रहरी विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ ।

हाल कञ्चनपुर प्रहरीको नेतृत्व एसपी कुवेरसिंह कडायतले गरिरहेका छन् भने सीआईबीको पनि नयाँ टोली कञ्चनपुरमा क्रियाशील छ । तर कञ्चनपुरमा प्रहरी र स्थानीयबीच विश्वासको संकट गहिरिँदो छ ।

अनुसन्धानमा संलग्न प्रहरी जनताको साथ नपाएको गुनासो गर्छ भने जनता प्रहरीप्रति विश्वास नै गर्न तयार छैनन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘‘हामीलाई आफन्त र स्थानीयकै सहयोग छैन । प्रहरीसँग कोही बोल्न चाहन्नन् । जनताले आफूले बुझेको कुरामात्रै बताइदिँदा पनि अनुसन्धानमा ठूलो सहयोग हुन्थ्यो ।’’

स्थानीयले भने प्रहरीले वास्तविक अपराधी बचाउन खोजेको आरोप लगाउँदै आएका छन् । स्थानीयको आरोप छ,‘‘प्रहरीले हाइप्रोफाइल हत्यारा बचाउन खोज्दैछ । त्यसैले सबै प्रमाण नष्ट गरिएको हो ।’’ 

जनता र प्रहरीका आ–आफ्नै आरोप प्रत्यारोप छन् । पूर्वडीआईजी हेमन्त मल्ल जनता र प्रहरीको सम्बन्ध सकारात्मक हुनुपर्ने तर्क गर्छन् । मल्ल भन्छन्,‘‘कतिवय घटनामा जनताको भावना एकातिर अनुसन्धानको पाटो अर्कैतिर हुन्छ । प्रहरीले सबै पक्षबारे सचेत रहनुपर्छ ।’’ 

समाजमा अपराध र अपराधीको न्युनीकरण प्रहरी–जनता सँगसँगै भएर मात्रै गर्न सकिने मल्लको तर्क छ । 

व्यक्तिपिच्छे फरक–फरक धारणा

निर्मला हत्याकाण्डबारे स्थानीयका फरक–फरक तर्क र धारणा छन् । हत्याराका विषयमा पनि फरक–फरक अनुमान छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरी खुल्न मान्दैन । सुरुदेखि निर्मला हत्याकाण्डको विषयमा चासो राख्दै आएका स्थानीय तथा पत्रकार अम्बादत्त तिवारी राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिहरुको अभिव्यक्ति नै गैरजिम्मेवार भएको तर्क गर्छन् । ‘‘प्रहरीले हल्लाको पछि भन्दापनि वास्तविकताको पछि सुक्ष्म तरिकाले लाग्नुपर्छ । अहिले कञ्चनपुरमा प्रहरी र स्थानीयबीच शितयुद्ध छ,’’ तिवारीले भने । 

लामो समयदेखि कञ्चनपुर सदरमुकाममा मेडिकल चलाउँदै आएका स्थानीय बीरेन्द्र तिवारी निर्मला हत्याकाण्डबारे तत्कालीन एसपी,अन्य सुरक्षा अधिकारी,प्रमुख जिल्ला अधिकारीलाई थाहा भएको दाबी गर्छन् । उनी भन्छन्,‘‘निर्मला हत्या उखुबारीमा होइन अन्तै भएको हुनसक्छ । यसका सीसीटीभीको फुटेजदेखि अन्य कयौं कुरा छन् ।’’ प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार्न नसकेको उनको आरोप छ ।

निर्मला हत्याका पछाडि कसैले भीआइपीका छोराको संलग्नता भएको दाबी गर्छन त कसैले चिनजानकै भएको । कतिपयले सुरक्षा निकायकै संलग्नता हो कि भन्ने तर्क पनि गर्छन् । चियापसलदेखि हरेक चोकमा निर्मला हत्यारा र हत्यारा को हुन सक्छ भन्नेबारे आ–आफ्नै तर्क छन् । 

डीएनए नमिले के हुन्छ ?

प्रहरीकै अनुसार हालसम्म १८ जनाबढीको डीएनए परीक्षण गरिसकिएको छ । कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टदेखि उनका छोरासम्मको डीएनए परिक्षण गरियो । तर कसैको पनि डीएनए निर्मलाको ‘स्वाव’ सँग मेल खाएन । प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने निर्मलाले मोवाइल लगायतका प्रविधि प्रयोग नगर्ने भएकाले अनुसन्धान प्रक्रिया निकै जटिल बन्दै गएको छ । डीएनए परिक्षणमात्रै निर्मलाको हत्यारा पत्ता लगाउने एकमात्र विधि हो त ? भन्ने प्रश्नको जवाफमा प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने,‘‘डीएनए मात्रै अन्तिम विकल्प होइन । अभियुक्तको साविति बयान,त्यसलाई पुष्टि गर्ने अन्य आधार पनि मुख्य कुरा हो । अहिले समातिएर छाडिएकाहरु पनि अनुसन्धानको दायरामै छन् । आवश्यक परेमा जोमाथि पनि अनुसन्धान हुन सक्छ ।’’

निर्मला हत्याकाण्डको अनुसन्धानमा कतिपय जटिलता थपिएको बताउँदै प्रहरी विभिन्न कोणबाट घटनाको अनुसन्धानमा जुटेको उनको तर्क छ । निर्मला हत्याको अनुसन्धान अधिकृत रहेका कञ्चनपुरका डीएसपी कृष्णराज ओझा अनुसन्धान जारी रहेको बाहेक अरु कुरा बोल्न चाहदैनन् । ‘‘हामी निरन्तर अनुसन्धानमा खटिएकै छौं । नतिजा छिटोभन्दा छिटो आओस भन्ने हाम्रो पनि चाहना हो,’’ डीएसपी ओझाले भने । 

केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीका छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । कतिपय प्रमाण नष्ट भएकाले अनुसन्धान निकै जटिल बन्दै गएको प्रहरीले बताउँदै आएको छ ।  प्रहरीले कल डिटेल, शंकास्पद फेसबुकको अध्ययन, डीएनए लगायतमै टेकेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले थप केही व्यक्तिको रगत संकलन गर्ने तयारी गरेको छ डीएनए परिक्षणका लागि । जसमा सुरक्षा निकायसँगै जोडिएका केही व्यक्ति पर्ने प्रहरी स्रोत बताउँछ । प्रहरीले डीएनए परिक्षण गर्नुअघि शंकास्पद व्यक्तिको गतिविधि, पछिल्ला घटनाक्रममा उनीहरुको भूमिका तथा व्यवहार अध्ययन गरेको जनाएको छ । 

कसलाई बचाउन चाहन्छ प्रहरी ?

गत महिना राष्ट्रियसभाको संसदीय समितिमा आईजीपी सर्वेन्द्र खनाल उपस्थित थिए । खनाललाई सासंदहरुले निर्मला हत्याकाण्डमा कसलाई बचाउन खोजेको हो भन्दै प्रश्न गरेका थिए । राष्ट्रियसभा सदस्यहरुको पनि घटनाबारे आ–आफ्नै जिज्ञासा र बुझाइ थिए । आइजीपीमात्रै होइन प्रहरीका सबैजसो अधिकारीलाई निर्मलाको हत्यारा को हो ? भन्ने प्रश्नले घोच्दै आएको छ । कतिपयले घटनाबारे तत्कालीन कञ्चनपुर प्रहरीका अधिकारीलाई सबै थाहा भएको तर्क गर्छन् भने कतिपयले सत्तारुढ दलका नेता–कार्यकर्ताबाटै घटना भएकाले ढाकछोप गर्न खोजिएको दाबी गर्दै आएका छन् । 

संसदीय समितिमै आईजीपी खनालले अनुसन्धानबारे कसैको दबाब र प्रभाव नभएको बताएका थिए । ‘‘कपितय घटनाको अनुसन्धान जटिल प्रकृतिको हुन्छ । समय लाग्नसक्छ तर अपराधी उम्किन पाउँदैनन्,’’ खनालले भनेका थिए । 

प्रहरीले नै औँल्याएका प्रहरीका कमजोरी

एआईजी धिरु बस्न्यात नेतृत्वकै छानबिन टोलीले प्रहरीले नै निर्मलाको हत्यापछि गम्भीर गल्ती गरेको भन्दै कारवाहीका लागि १८ जनालाई सिफारिस गरिएको छ ।

एसपी दिल्लीराज विष्टसहित १८ जना प्रहरीलाई कारवाहीको सिफारिस गरेको हो । स्थानीय स्तरबाटै हत्यापछि अनुसन्धानमा प्रहरीले गम्भीर गल्ती गरेको भन्दै विरोध भएपछि प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले प्रहरी प्रधान कार्यालयमा बुझाएको प्रतिवेदनमा एसपी १, डीएसपी २, इन्स्पेक्टर २, सई ४, हवल्दार  ३ र प्रहरी जवान ५ जनालाई कारवाहीको लागि सिफारिस गरेको छ । 

निर्मला  पन्तको हत्यापछि घटनास्थलको राम्रो सुरक्षा गरेको नगरेको, घटनास्थल जाँचमा प्रकृया नपुगेको, झुठो प्रमाण बनाउने प्रयास गरेकोलगायतका निष्कर्ष छानबिन समितिको छ । 

समितिले प्रहरीले झुटो प्रमाण जुटाउन सटको टुक्रा जम्मा गरेको, घटनास्थल जाँचमा कुकुर नझिकाएको, प्रमाण संकलनमा ‘चेन अफ कस्टडी मेन्टेन’ नभएको, मृतकको सुरुवाल, पेन्टी, अम्बा बरामद नगरेको भन्दै अनुसन्धानमा खटिएका प्रहरीमाथि कारवाहीको सिफारिस गरेको छ । 

त्यसैगरी अपराधको सूचना प्राप्त हुनासाथ घटनास्थलमा नखटिएको, कार्यालय प्रमुख तत्काल घटनास्थल नपुगेको, दिलिप विष्टलाई जबर्जस्ती हत्या कबुल गर्न लगाएको, यातना दिएकोलगायतका कार्य गरेको भन्दै प्रहरीमाथि नै कारवाहीको सिफारिस भएको हो । 

गत साउन १० गते साथीको घरमा निस्किएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । साउन १० गते निर्मला हराएको खबर गर्दा पनि प्रहरीले चासो नदिएको पाइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro