सायद त्यो बिहानी नै उनका लागि खराब बनेर आएको थियो । ‘जात्रै जात्रा’को सुटिङ बालाजुस्थित एनएफडीसी स्टुडियोमा भइरहेको थियो । सधैँ प्रोडक्सनकै गाडी घरमा लिन आउँथ्यो । विपिन त्यसमा जान्थे । अघिल्लो दिन नै उनले भोलि मलाई लिन आउनु पर्दैन भनेका थिए ।
भर्खरै किनेको रोयल इनफिल्ड बाइक चढेर कोटेश्वरबाट बिहान सबेरै निस्किए विपिन । “बाइकको प्रि–सर्भिसिङ बाँकी थियो । सर्भिसिङ गर्न छोड्दिन्छु, साँझ आउन आफ्नै बाइक भयो भने छिटो पनि हुन्छ भनेर आफ्नै बाइक चढेर निस्किएँ,” मंसिर ४ गतेको घटना सोमबार साँझ आफ्नै निवासमा बाह्रखरीसँग विपिनले सुनाए, “घरबाट निस्किएको करिब १० देखि १२ मिनेट भएको थियो । टेकुमा पुगेको थिएँ । अगाडिबाट एउटा बाइक लेन मिचेर करिब ८० देखि ९० को स्पिडमा आएको देखेँ । म २० देखि २५ को स्पिडमा थिएँ । म जति साइड लागिरहेको थिएँ, त्यति मतिर बत्तिएर आएको त्यो बाइक अनकन्ट्रोल थियो । त्यो देखेर मलाई लाग्यो, त्यसले मलाई हान्दैछ र मेरो दुर्घटना हुँदैछ । नभन्दै मलाई हानेर उछिट्याइदियो । म उछिट्टिएर ट्याक्सीमा गएर ठोक्किएँ । त्यो बाइक भने मलाई हानेर उसैगरी बत्तिएर फरार भयो ।”
सहरियामा आजकल संवेदना सायद कम हुँदै गएको छ । दुर्घटनामा परेका व्यक्तिको उद्धार होइन, मान्छे रमिते बन्छन् । मोबाइलमा भिडियो–फोटो खिच्न हतार हुन्छ । घाइतेसँग सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्न भ्याईनभ्याई हुन्छ । त्यहाँ पनि त्यस्तै भयो ।
ट्याक्सीको ढोका समाएर बसेका विपिनले आफ्नो खुट्टा त देखेनन् तर भाँच्चिएर हड्डी बाहिर निस्किएको उनलाई थाहा भयो । पाइन्ट माथि तानेर हेर्ने उनलाई आँट आएन । खुट्टो चलेन । औंलाहरु चलेनन् । मान्छेको भीड लाग्यो तर कसैले उपचार गर्न हस्पिटल पठाउनुपर्छ भनेनन् ।
“वरिपरि उभिएका मान्छेसँग मैले मेरो जिन्दगीको भिख मागेँ,” विपिन नोस्टाल्जिक हुन्छन्, “आँखामा आसुँ भरिए । मैले भनेँ, मेरो खुट्टो भाँचिएको छ । मलाई हस्पिटल पठाइदेऊ ।”
करुणाले भरिएको उनको आवाज सुनेपछि प्रहरीले आफूसँगै रहेको अर्को साथीलाई खुसुक्क भन्यो, “...यो त फिल्मको 'भस्मे डन' पो र’छ त ।”
उनले आफूलाई हस्पिटल पठाइदिन याचना गरेपछि प्रहरीले ट्याक्सीमा हालेर बयोधा पठाइदियो । भस्मे डन भनेर चिनेपछि प्रहरी अझ बढी संवेदनशील भएको विपिनले महसुस गरे । प्रहरीले भन्यो, “तपाईं हस्पिटल गएर उपचार गराउनुस्, तपाईंको बाइक हामी सुरक्षित साथ राखिदिन्छौं ।”
ट्याक्सीमा उनले खुट्टाको औँला चलाए, चल्यो । लाग्यो, भाँचिए पनि उपचार हुन्छ जस्तो छ । आशाको स्वास फेरे ।
उनले ट्याक्सीबाट पहिलो कल ‘जात्रै जात्रा’को प्रोडक्सनलाई गरे र खुट्टो भाँचिएर हस्पिटल जाँदैछु भने । दोस्रो कल कोठामा श्रीमतीलाई गरे । तेस्रो कल दिदीलाई गरे । उनकी दिदी विपिनभन्दा पहिला बयोधा पुगिसकेकी थिइन् ।
त्यो करिब १० मिनेटको क्षण सम्झन विपिनलाई एक महिनापछि पनि निकै सकस हुन्छ । सोमबार साँझ ५ बजे कोटेश्वर पुग्दा उनी सोफामा बसिरहेका थिए । सोफामा उनी मात्रै होइन, सँगै एक जोडी वैशाखी पनि थिए । जाडोको पारो माथि उक्लिएको दिन छेउमा हिटर बलिरहेको थियो । “मेरा लागि यस्तो घटना पहिलो थियो । फिल्ममा सानो दुर्घटना हुँदा या यस्तै केही घटना हुँदा आँसु आएको देखेर ए त्यतिकैमा पनि त्यस्तो हुन्छ र ? यो त ओभर एक्टिङ भएन र भनेजस्तो लाग्थ्यो तर होइन रहेछ । जति बेला बाइकले हानेर म पछारिएँ, मेरो आँखाभरि आँसु भयो । मैले रुँदै भनेँ, मलाई ट्याक्सी बोलाएर अस्पताल पठाइदेऊ । त्यो बेला आँसु आएर रुँदा ठीक त्यही बेला मेरो दिमागमा आयो– ए हामी ओभरएक्टिङ भन्थ्यौं तर अनायासै आँसु त आउँदो रहेछ त !” विपिनले अनुभूति सुनाए ।
अस्पताल पुगेपछि विपिनले भने, “मेरो खुट्टो भाँचिएको छ, अप्रेशन गरिदिनुस् ।” चिकित्सक थिएनन् । आधा घण्टा लाग्यो डाक्टर आउन । अप्रेशन सुरु भयो । आफ्नो अप्रेशन गरेको उनी आफैँले देखे । खुट्टा चिरेको नदेखियोस् भनेर काखमा केही राखेर छेक्ने प्रयास गरे पनि विपिनले अगाडिको सिसामा आफ्नो खुट्टा चिरेको स्पष्ट देखिरहेका थिए । रगत बगेको देखिरहेका थिए । उनी चिकित्सकसँग ठट्टा गर्दै थिए, “डा साब, तपाईं काठ चिर्दै हुनुहुन्छ कि अप्रेशन गर्दै हुनुहुन्छ ?” चिकित्सक मुसुक्क हाँस्दै आफ्नै काममा व्यस्त थिए । विपिनले खुट्टामा स्टिलको रड राखेको पनि देखे ।
एकैछिनमा अस्पतालमा चलचित्रकर्मीको भीड लाग्यो । त्यसैले त्यहाँ भने विपिनलाई सुरुमै सबैले चिने । म बेडमै भएका बेला स्टाफ नर्सले एप्रोनमै सेल्फी खिचे ।
“डक्टरले हिँड्ने प्राक्टिस गर्नु भनेको छ । यो (वैशाखी) टेकेर हिँड्दाहिँड्दै खुट्टाले हिँड्नै बिर्सिएला जस्तो पो हुँदारहेछ त,” भन्दै विपिन एकछिन कोठाभित्रै गफ गर्दै विस्तारै हिँडे ।
करिब एक महिना भयो, विपिन दुर्घटनामा परेको । बाहिरी संसारबाट टाढिएको पनि त्यति नै भयो । हलमा उनकै चलचित्र ‘प्रसाद’ दोस्रो हप्तामा हाउसफुल व्यापार गरिरहेको छ । तर उनले हेर्न पाएका छैनन् । “डाइरेक्टर साब (दिनेश राउत)ले हेर्नुपर्छ भन्नु भएको छ । आफ्नो कमीकमजोरी पत्ता लगाउन पनि एक पटक हेर्न मन लाग्छ आफ्नै चलचित्र भए पनि । भोलि हेर्न जान्छु होला,” अन्तिममा विपिन काममै फर्किएर, कलाकारिताकै कुरा गरे ।
पछि प्रहरीले दुर्घटना गराउने व्यक्ति र बाइक पत्ता लगायो । “विचरा गाईघाटको दिनेश काफ्ले नाम गरेको भाइ रहेछ २२ वर्षको । पछि त दुई पटक भेट्न नै आयो । म आफैँलाई उसको माया लाग्यो,” क्षमाशील देखिए विपिन ।