site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मोफसलका प्रतियोगिताको ‘झारा टराइ’ ग्रेडिङ, समस्या जस्ताको तस्तै
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने प्रतियोगितालाई दुई श्रेणीमा ग्रेडिङ (स्तर निर्धारण) गरेको छ । काठमाडौं उपत्यकाबाहिर हुने दर्जनौं नकआउट प्रतियोगितामध्ये २५ वटालाई मोफसलका प्रतियोगिता स्तर निर्धारण समितिले दुई स्तरमा विभाजन गरेको हो । 

गत वैशाखमा भएको एन्फा कार्यसमितिको चुनावअघि जिल्लाका प्रतियोगितालाई व्यवस्थित गर्ने भन्दै नारा चर्काएको एन्फाले १४ प्रतियोगितालाई ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ भने ११ प्रतियोगितालाई ‘बी’ श्रेणीको मान्यता दिएको छ । एकै जिल्लाका दुई प्रतियोगिता पनि शीर्ष श्रेणीमा पर्न सफल भएका छन् । पोखराबाट लामो इतिहास बोकेको आहा रारा गोल्डकपसँगै मनकामना केबलकार पोखरा गोल्डकप ‘ए’ श्रेणीमा पर्दा सुनसरी जिल्लाबाट पनि शीर्ष स्तरमा दुई प्रतियोगिता सूचीकृत गरिएका छन् । धरानमा हुने पुरानो बुढा सुब्बा गोल्डकपसँगै सुनसरीबाट मदन भण्डारी इटहरी गोल्डकप माथिल्लो श्रेणीमा परेका छन् । 

यसैगरी बुटवलमा हुने तिलोत्तमा गोल्डकप, बिर्तामोडमा हुने झापा गोल्डकप, मोरङमा हुने विराट गोल्डकप, धनगढीमा हुने सुदूर पश्चिमाञ्चल खप्तड गोल्डकप, बारामा हुने सिमरा गोल्डकप, मकवानपुरमा हुने इटहरी गोल्डकप, इलाममा हुने माई भ्याली गोल्डकप, त्रिशूलीमा गतवर्षबाट सुरु गरिएको नुवाकोट गोल्डकप, बाँकेमा हुने नेपालगञ्ज गोल्डकप र गाईघाटमा हुने उदयपुर गोल्डकप ‘ए’ श्रेणीमा परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक एवं एन्फाका उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले सर्लाहीको लालबन्दी गोल्डकप, चितवनको विकास रनिङ शिल्ड, झापाको सतासी गोल्डकप, नवलपरासीको राइनो गोल्डकप, झापाको दमक गोल्डकप, झापाकै काँकडभिट्टा गोल्डकप, पाँचथरको फाल्गुनानन्द गोल्डकप, सुनसरीको दुहबी गोल्डकप, उदयपुरका कटारी गोल्डकप र नारद मुनी गोल्डकप तथा सर्लाहीको राजर्षी जनक गोल्डकपलाई ‘बी’ श्रेणीमा राखेको छ । थापा संयोजक रहेको स्तर निर्धारण समितिको सदस्यमा एन्फाका सहमहासचिव एवं रुस्लान थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी र अर्का सहायक महासचिव वसन्त अर्याल तथा कार्यकारी सदस्यद्धय प्रदेशसिंह राठोर र विजय घले छन् । 

समितिले प्रतियोगिताको इतिहास, भौतिक पूर्वाधार, पुरस्कार राशी, आयोजना हुने ठाउँको फुटबल संस्कार, सुरक्षा व्यवस्थालगायतका विषय मूल्यांकन गरेर ग्रेडिङ गरेको संयोजक थापाले बताए । उनका अनुसार ‘ए’ श्रेणीमा पर्नका लागि स्तरीय खेल मैदानका साथै दर्शकलाई बस्ने राम्रो व्यवस्था हुनुपर्ने, कम्तिमा ६ ‘ए’ डिभिजनका टोलीसहित घटिमा १० टिमको सहभागिता हुनुपर्ने, एन्फाको मान्यताप्राप्त दक्ष प्राविधिक जनशक्ति हुनुपर्ने, खेलाडी, खेलकर्मी तथा दर्शकका लागि उचित सुरक्षा व्यवस्था हुनुपर्ने, व्यवस्थित चेन्जिङ रुम हुनुपर्ने, औषधि उपचारको राम्रो प्रबन्ध गर्नुपर्ने, एन्फाको खेलाडी दर्ता नियमावली नबाझिने गरीमात्र खेलाउन पाउने, कम्तिमा १० लाख रुपैयाँ पुरस्कार राशी हुनुपर्ने लगायतका सर्त पूरा गर्नुपर्नेछ । 

Global Ime bank

यसैगरी ‘बी’ श्रेणीका प्रतियोगिताले भने ‘ए’ डिभिजनका कम्तिमा ४ सहित घटिमा ८ टिम सहभागी गराउनुपर्ने, पुरस्कार राशी कम्तिमा ५ लाख भन्दा माथि हुनुपर्ने र अन्य व्यवस्था माथिल्लो श्रेणीकै जस्तो हुनुपर्ने समितिका सदस्य एवं एन्फा सहमहासचिव जोशीले बाह्रखरीलाई जानकारी गराए । जोशीका अनुसार सबै प्रतियोगिता आयोजकले टिकट बिक्रीबाट उठेको रकमको ३ प्रतिसत सम्बन्धित जिल्ला फुटबल संघलाई लेबीको रुपमा बुझाउनुपर्ने नियम तोकिएको छ । 

नेपाली फुटबलको मोफसल क्यालेन्डर अस्तव्यस्त भयो भन्दै ग्रेडिङ गरेको बताए पनि एन्फाको यो कदमबाट समस्याको सम्बोधन नभएको एक ‘ए’ डिभिजन क्लबका एक पदाधिकारीले गुनासो गरे । “सबै प्रतियोगितामा निश्चित टिमको सहभागिता र सबै टिमका लागि निश्चित प्रतियोगिता खेल्ने अवसर ग्यारेन्टी हुने गरी ग्रेडिङ गर्नुपर्छ भन्ने भावना हो । तर एन्फाले हचुवाका भरमा खाली प्रतियोगितालाई ‘ए’ र ‘बी’ ग्रेड भनेर ट्याग भिराउनेमात्र काम गरेको छ,” एन्फा कार्यसमितिमा समेत रहेका तिनले भने, “जिल्लाका सबै प्रतियोगितामा थ्री स्टार, मनाङ, आर्मी र पुलिसजस्ता टिमकोमात्र सहभागिता भयो । अरु ‘ए’ डिभिजनकै साना क्लब र तल्लो श्रेणीका क्लबहरुले मौका पाएनन भन्ने समस्या हो । तर एन्फाको ग्रेडिङले फेरी पनि सबै प्रतियोगितामा नाम चलेका क्लबकैमात्र सहभागिता निश्चित गरेको छ । क्लब र आयोजकको आपसी समझदारीमा जसले जुन प्रतियोगिता पनि खेल्न पाउने भएपछि यो ग्रेडिङको के अर्थ ?”

स्तर निर्धारण समितिका संयोजक थापाले साना क्लबले ग्रेडिङमा नपरेका अरु प्रतियोगिता खेल्ने तर्क गरे । “स्तरीय नभएकाले हामीले दर्जनौं प्रतियोगितालाई ग्रेडिङमा समावेश गरेका छैनौं । बी ग्रेडमा परेका प्रतियोगितामा खेल्न पाए पनि ठूला क्लबले अब खेल्दैनन् होला । त्यसैले क्लब र आयोजकको सहमतिमा खेल्न–खेलाउन हामीले कँही रोक लगाएका छैनौं,” अस्तव्यस्त प्रतियोगिताका कारण टिमलाई अशर गर्नुका साथै खेलाडीको फिटनेशमा खराव प्रभाव पार्न सक्ने विषयमा थापाको उत्तर थियो, “धेरै व्यस्त भए, फिट नभए प्रशिक्षकले नखेलाउलान् । हामीले खेलाडीले बढीभन्दा बढी अवसर पाउन् । खेलाडीलाई कमाई होस् भनेर बन्देज नलगाएका हौं ।”

समितिको प्रतिवेदनका आधारमा एन्फाले मंगलबार मोफसलमा हुने विभिन्न २३ प्रतियोगिताका लागि मिति तोकेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय