काठमाडौं । “निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै उन्मुक्ति मिल्छ ?,” संसदीय समितिमा सांसद चक्र स्नेहीले प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सोमबार गरेको प्रश्न हो यो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँचमहिना बित्न लाग्दासमेत प्रहरी अनुसन्धानले गति लिन नसकेपछि संसदीय समितिमा प्रहरी प्रमुखलाई बोलाएर सांसदहरुले यसरी प्रश्न गरेका हुन् ।
समितिकै बैठकमा सांसद रमेशजंग रायमाझीले निर्मला हत्याकाण्डलाई ‘नमिता सुनिता काण्ड’ जस्तै बनेको टिप्पणी गरे । उनले यस घटनामा ठूलै व्यक्तिको हात रहेको हुन सक्ने भन्दै आक्रोश व्यक्त गरे ।
आईजीपी खनाललाई नै आरोप लगाउँदै सासंद रायमाझीले प्रश्न गरे, “शक्तिशाली व्यक्तिलाई बचाउन सरकारले आईजीपीमार्फत काम गरिरहेको छ । आईजीपीले सीआईबीका अधिकारीलाई दबाब दिएको भन्ने आरोप छ । यस्तो अवस्थामा न्याय कसरी पाइन्छ ?”
समितिमा एकपछि अर्को गरी प्रहरी प्रमुखमाथि प्रश्न तेर्सिए । संसदीय समितिमा एक सांसदले त निर्मला हत्याकाण्डमा लापरवाही गरेको भन्दै प्रहरी प्रमुखकै राजीनामा माग गरिन् । सासंद प्रमिला यादवले आईजीपी खनालले सुरक्षा दिन नसके राजीनामा दिन भनिन् ।
उनले भनिन्, “निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्मजस्तो भयो । तपाईँले सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् । हामी अर्को सक्षम मान्छे ल्याउछौं ।” संसदीय समितिमा प्रहरी प्रमुखलाई नै बोलाएर प्रहरीले गरेका कामप्रति जनताका प्रतिनिधिले राखेका प्रश्न थिए यी ।
यी मात्रै होइन, अहिले हरेक नागरिकले ‘हत्यारालाई प्रहरीले नै संरक्षण दिएको त छैन ?’ ‘होइन भने किन समात्न सकेको छैन त ?’ भन्दै प्रहरीमाथि नै प्रश्न गरेका छन् । तर प्रहरीले यसको जवाफ कामबाट मात्रै दिन सक्छ । अहिले प्रहरीमाथि र प्रहरीले गरेको अनुसन्धानप्रति सर्वसाधारणले लगातार प्रश्न किन उठाइरहेका छन् त ?
निर्मला हत्यामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरामा ल्याएका दुई युवाका परिवारले समेत प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै आफूहरुका छोरा निर्दोष रहेको दाबी गरेका छन् ।
कतिसम्म भने प्रहरी हिरासतमा हत्या स्वीकार गरेका भनिएका विशाल चौधरीका बुबाले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो छोरालाई नसा दिएर बयान लिइएको दाबी गर्दै आएका छन् । नसामा रहेको छोराले हत्या स्वीकार गरेको बताएका छन् ।
निर्मला हत्यामा दिलिपसिंह विष्ट र जीवन घर्तीमगरलाई प्रहरीले पक्राउ गरेदेखि नै स्थानीय जनता प्रहरीको कामप्रति आक्रोशित छन् ।
यति हुँदाहुँदै पनि गत साउन ११ गते मृत अवस्थामा फेला परेकी कञ्चनपुर भीमदत्तनगर–२ कि निर्मला पन्त प्रकरणको अनुसन्धान जारी राखेको छ ।
तर प्रहरी अनुसन्धानमाथि भने अनेक किसिमले प्रश्न उठिरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो बनेको निर्मला हत्याकाण्डमा दुई प्रहरी अधिकारी नै बर्खास्तीमा परेका छन् भने अनुसन्धानमा लापरवाही गरेको केही प्रहरी अधिकारीमाथि छानबिन हुँदैछ ।
भदौ ४ गते प्रहरीले हत्यामा संलग्न रहेको भन्दै स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्यो । तर दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वाव’ सँग मिलेन । दिलिपलाई पक्राउ गरेपछि स्थानीय प्रहरीविरुद्ध आन्दोलित भए । आन्दोलनले अप्रिय रुप लियो । प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक शनि खुनाको ज्यान गयो । अन्य कयौं घाइते भए । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डाराले गोली लागेको खुट्टा नै गुमाउनुपर्यो । अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उनको उपचार जारी छ ।
हालसम्म ९ जनाको डीएनए परीक्षण गरिएको छ । तर कसैको मिलेन । प्रहरी निर्मला हत्याको अनुसन्धानका लागि फेरि दुईजनामाथि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानबारे प्रहरीले आधिकारिक रुपमा त केही बोलेको छैन तर पक्राउ परेका भीमदत्तनगर–१८ का प्रदीप रावल र विशाल चौधरी पनि निर्मलाको हत्यामा संलग्न युवक नभएको स्थानीयको धारणा छ ।
प्रहरीको यस्तो कामले कञ्चनपुरमा फेरि आन्दोलन चर्किने संकेत देखा परेको छ । अनुसन्धानमा अब्बल भनिएको नेपाल प्रहरी निर्मला हत्याकाण्डमा किन आलोचित बनेको छ त ?
किन विश्वासको संकट देखियो ? नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्र सिँह भण्डारी प्रहरीप्रति नागरिकको विश्वास कम हुनुका पछाडि विभिन्न कारण औल्याउँछन् । भण्डारी भन्छन्– “गृह मन्त्री र गृह प्रशासन सम्हालेनेहरु नै गम्भीर भएनन् । जस्तो कि साढे ३३ किलो सुन प्रकरणको कुरा गरौं । गृह मन्त्रीले आफैँले भने ‘ठूला माछा, ठूला माछा’ कहाँ गए त अहिले ठूला माछा ?”
निजामती कर्मचारीबाट फौजदारी कसुरका घटनाको अनुसन्धान गर्नै नहुने उनको भनाई छ । निर्मला प्रकरणको अनुसन्धानमा साधनस्रोत र संयन्त्रको परिचालनमा त्रुटि देखिएको भण्डारी बताउँछन् ।
विकसित मुलुकमा पनि कतिपय घटनाको अनुसन्धानमा समय लागेको बताउँदै भण्डारीले भने, “कतिपय घटनाको अनुसन्धानमा समय लाग्छ नै । तर निर्मला प्रकरणमा जनता र प्रहरीबीचको सम्बन्ध जसरी बिग्रियो यो चिन्ताको विषय हो ।”
तत्काल नतिजा खोज्ने सरोकारवाला सबैको प्रवृत्तिले पनि अनुसन्धान प्रभावित भएको हुनसक्ने भण्डारीको बुझाइ छ । तत्काल नतिजा खोज्न प्रहरीमाथि दबाब दिन नहुने बताउँदै भण्डारीले सीमित स्रोत साधनका बाबजुत प्रहरीले उदाहरणीय कार्य गरेको बताए ।
प्रहरी संगठनमा व्यावसायिक अधिकृतको वृत्ति विकासमा ध्यान नदिदा पनि प्रहरीभित्र बिचलन आएको भण्डारी बताउँछन् । प्रहरी नेतृत्वले पनि संगठनका विषयमा कठोरताका साथ प्रस्तुत हुनुपर्ने भण्डारीको सुझाव छ ।
कुनै पनि घटनाको अनुसन्धानमा नागरिकको विश्वास जित्नैपर्ने बताउँदै भण्डारीले भने, ‘‘अनुसन्धान नटुंगिएसम्म पहिल्यै कुरा बाहिर ल्याउने र निर्दोषलाई फसाउने नियत राख्नुहुँदैन ।’’ कतिपय घटनामा प्रहरी चुकेको बताउँदै भण्डारीले आफूमाथि लागेको आरोपबाट मुक्त हुन व्यावसायिकतामा ध्यान दिनुपर्ने बताए ।
पूर्वडीआईजी हेमन्त मल्ल निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी–स्थानीय–नागरिक सम्बन्ध बिग्रनुको ४ कारण यसरी औल्याउँछन् ।
पहिलो कारण– प्रहरीले पीडितका गुनासा समयमै सुन्नुपर्थ्यो । पीडितले उठाएका प्रश्नको सम्बोधन प्रहरीले नगर्दा पनि सुरुदेखिनै शंकामाथि शंका बढ्दै गयो ।
दोस्रो कारण–सामाजिक सञ्जालका कारण पनि केही समस्या भयो । घटनास्थलमा दक्ष जनशक्ति नभएको हो कि भन्ने लाग्छ । पछिल्लो समय मिडियाभन्दा सामाजिक सञ्जाका कारण नागरिकले घटनाप्रति धारणा बनाउने क्रम बढ्दा पनि केही असहजता भएको हो । मिडियासँगको सहयोग र सम्बन्धसँगै जनताको मनोविज्ञान बुझ्न प्रहरी चुकेको हो कि भन्ने देखिन्छ । यस्तो घटनाको अनुसन्धानमा प्रहरी निकै सतर्क हुनुपर्छ ।
तेस्रो कारण– स्थानीय अर्थात त्यही क्षेत्रका अधिकारीलाई आफ्नै क्षेत्रमा खटाउनु । यस्तो गर्दा विभिन्न प्रकारका दबाब हुन्छन् । यो घटनामा पनि स्थानीय अधिकारी नै हुँदा जनताको आक्रोश बढेको हो की ? त्यसकारण कार्यक्षेत्रमा पठाउँदा यी पक्षमा पनि ध्यान दिन आवश्यक हुन्छ ।
चौथो कारण –प्रहरी र जनताको दुरी बढ्दै गयो । यस्तोमा स्थानीय प्रशासन, सरोकारवाला सबै निकायले दुरी बढाउनेभन्दा घटाउनेतर्फ लैजानुपर्छ । प्रहरीले अनुसन्धानमा पुराना अवकाशप्राप्त अधिकारीको सहयोग लिन सक्थ्यो । नेपाल प्रहरीमा कयौं अवकाश पाएका राम्रा दक्ष अधिकृतहरु छन् । यस्तोमा प्रहरी संगठन, सम्बन्धित मन्त्रालयले सोच्नुपथ्र्यो । अहिले नै सबै बिग्रिएको छ भन्ने त होइन तर जनताको विश्वास भने जित्नैपर्छ ।