site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताको करमा भीआईपीको घुमघाम
SkywellSkywell

काठमाडौं । कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न अनेक प्रयास गरे पनि विशिष्ट व्यक्ति (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री) को विदेश भ्रमणलाई रोक्न सरकारले कुनै चासो देखाएको छैन । जनताको करबाट मन्त्रीदेखि राष्ट्रपतिसम्मले धमाधम विदेश भ्रमण गरिरहेका छन् र रोकिने कुनै संकेत छैन । विदेशमा हुने सम्मेलनदेखि प्रदर्शनी जेबाट निम्तो आए पनि मन्त्रिपरिषद्ले अनुमति दिन्छ र विशिष्ट व्यक्ति (भीआईपी) पुगिहाल्छन् । 

“भीआईपीको विदेश भ्रमण धेरै हुन थाल्यो । जानैपर्ने ठाउँमा त जानुपर्छ, तर निम्तो आयो भन्दैमा जस्तो पायो त्यस्तै कार्यक्रममा जानु हुँदैन । आफ्नो र देशको मर्यादाको पनि ख्याल गर्नुपर्छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक उच्च अधिकारी असन्तुष्टि व्यक्त गर्छन् । 

पछिल्लो तीन महिना (भदौ, असोज र कात्तिक) महिनामा मात्र १५ जना विशिष्ट व्यक्तिले ३७ पटक विदेश भ्रमण गरेका छन् । विशिष्ट व्यक्तिको विदेश भ्रमणको खर्च प्रायः आयोजक राष्ट्र वा संस्थाले व्यहोर्ने भएपनि पछिल्लो तीन महिनामा मात्र विदेश भ्रमणमा जनताको करबाट संकलित राज्यकोषबाट २ करोडभन्दा बढी रुपैयाँ उनीहरुले सकेका छन् । 

KFC Island Ad
NIC Asia

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली छन् । पछिल्लो तीन महिनामा जापान, थाइल्याण्ड, बेल्जियम (२ पटक), अष्ट्रिया, लक्जेम्वर्ग, पोर्चुगल, अमेरिका, कोस्टारिका र कतार गरी उनले ९ वटा देशको भ्रमण गरेका छन् । 

केही साता अघिमात्र परराष्ट्रमन्त्री ज्ञवाली जापान र थाईल्याण्डको भ्रमणबाट फर्केका थिए । जापानमा औपचारिक भ्रमण भने पनि थाईल्याण्डमा भने उनी घुम्नैको लागि गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भनाइ छ । उनी जापानबाट फर्कने क्रममा थाईल्याण्ड छिरेका थिए । गत असोज पहिलो साता उनले अष्ट्रिया र बेल्जियमको भ्रमण गरेका थिए । यसको एक महिनाअघि उनले पोर्चुगल, लक्जेम्वर्ग र बेल्जियमको भ्रमण गरेका थिए । 

Royal Enfield Island Ad

परराष्ट्र मन्त्री ज्ञवाली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गत असोजमै अमेरिकाको न्यूयोर्क पुगेका थिए भने त्यहीँबाट उनी प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा दक्षिण अमेरिकी राष्ट्र कोस्टारिका पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्दा पनि उनी सँगै थिए । अर्थ मन्त्रालयका अनुसार उनको एक पटकको युरोप भ्रमणमा २८ लाख ४९ हजार १ सय ४० रुपैयाँ खर्च भएको थियो । 

बढी विदेश भ्रमण गर्ने विशिष्ट व्यक्तिको सूचीमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा पनि छन् । दुवै मन्त्रीले पछिल्लो तीन महिनामा चार–चार वटा देशको भ्रमण गरेका छन् । यादवले कतार, बेलायत, काजकस्तान र स्वीट्जरल्याण्डको भ्रमण गरेका थिए भने बाँस्कोटाले इथोपिया, युनाइटेड अरब इमिरेट्स (युएई), भारत र दक्षिण कोरियाको भ्रमण गरेका छन् । 

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले पछिल्लो कात्तिक अन्तिम साता कतारको भ्रमण गरेका थिए । उनी वर्ल्ड इनोभेटिम समिट फर हेल्थमा सहभागी हुन कतार पुगेका थिए भने कात्तिक पहिलो साता उनी प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन काजकस्तान पुगेका थिए । यादव असोज अन्तिम साता मानसिक स्वास्थ्य सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन बेलायत पुगेका थिए भने कात्तिक दोस्रो साता उनी वायु प्रदूषण र स्वास्थ्य सम्मेलनमा सहभागी हुने क्रममा स्वीट्जरल्याण्ड पुगेका थिए । 

“एउटा कर्मचारी सहभागी भए पुग्ने सभासम्मेलनमा मन्त्री सहभागी हुँदा त्यसले राष्ट्रको इज्जत बढाउँदैन । यस्ता कुरामा सरकारले ख्याल गर्नुपर्छ । कर्मचारीलाई आएको निम्तोमा मन्त्री गएपछि के होला ?,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भदौ तेस्रो साता इथोपियाको भ्रमण गरेका थिए । त्यहाँ उनी विश्व हुलाक संघको कार्यक्रममा सहभागी हुन पुगेका थिए । त्यसको लगत्तै उनी एशिया प्रशान्त क्षेत्रको सूचना तथा प्रविधि बैठकमा भाग लिन दक्षिण कोरिया पुगे । कात्तिक दोस्रो साता भारतमा आयोजित इण्डिया मोबाइल कंग्रेसमा सहभागी बनी स्वदेश फर्केका उनी कात्तिकको तेस्रो साता इन्टरनेसनल टलिकम्युनिकेसन युनियनको बैठकमा भाग लिन युएई पुगेका थिए । 

अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले इथोपिया भ्रमणमा जाँदा दैनिक भक्तावापत एकमुष्ट २ लाख १ हजार ५ सय २८ रुपैयाँ र हवाई टिकटको लागि २ लाख ८८ हजार ४ सय रुपैयाँ प्रदान गरेको थियो । यस्तै, कोरिया भ्रमण गर्दा दैनिक भत्ताबापत एकमुष्ट १ लाख १२ हजार ८ सय ६६ रुपैयाँ अर्थले बाँस्कोटालाई उपलब्ध गराएको थियो । 

पछिल्लो तीन महिनामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र अर्थ मन्त्री युवराज खतिवडाले तीन–तीन वटा देशको भ्रमण गरेको देखिन्छ । पोखरेलले चीन, लेबनान र पोल्याण्डको भ्रमण गरेका थिए भने खतिवडाले इटाली, इन्डोनेसिया र अमेरिकाको । अर्थमन्त्री खतिवडा विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन असोज अन्तिम साता इन्डोनेसिया र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको कार्यकारी बोर्डको बैठकमा सहभागी हुन मंसिर दोस्रो साता इटाली पुगेका थिए ।

उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले लेवनान र पोल्याण्ड भ्रमण गर्दा १३ लाख ४९ हजार २ सय ८४ खर्च गरेका थिए । उनी चीनको बेइजिङमा आयोजना भएको बेइजिङ सिन्जीयान फोरममा सहभागी हुन जाँदा १३ लाख ४ हजार १० रुपैयाँ खर्च भएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पछिल्लो तीन महिनामा दुई देशको भ्रमण गरेकी छन् । कात्तिक १२ देखि १५ सम्म उनले कतारको भ्रमण गरेकी थिइन् भने हाल उनी जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन पोल्याण्ड पुगेकी छन् । यही मंसिर १५ गतेबाट सुरु भएको उनको पोल्याण्ड भ्रमण मंसिर २० गते सकिनेछ ।

उपराष्ट्रपति नन्बहादुर पुनले पछिल्लो तीन महिना एक देश चीनको मात्र भ्रमण गरेका छन् । उनी ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन गत असोज पहिलो साता चीन पुगेका थिए । उनले ६ दिन चीनमा बिताएका थिए । चिनियाँ सरकारको निमन्त्रणामा मेला हेर्न जाँदा राज्यकोषबाट ५ लाख ४१ हजार ६ सय ६० रुपैयाँ खर्च भएको थियो । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पछिल्लो तीन महिनामा अमेरिका र कोस्टारिका गरी २ देशको भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी गत असोज महिनामा अमेरिकाको न्यूयोर्क पुगेका थिए भने त्यहीँबाट उनी दक्षिण अमेरिकी राष्ट्र कोस्टारिका पुगेका थिए । विद्यावारिधीको उपाधी पाउने लोभमा उनी कोस्टारिका पुगेको बताइएको छ । 

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत पनि यो अवधिमा बेलायत र पोल्याण्ड पुगेका छन् । वन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी सम्मेलनमा सहभागी हुन उनी असोज अन्तिम साता बेलायत पुगेका थिए भने हाल उनी राष्ट्रपति भण्डारीसँगै पोल्याण्ड भ्रमणमा छन् । 

सभामुख कृष्णबहादुर महरा भदौ तेस्रो साता चीनको ल्हासा पुगेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव कात्तिक तेस्रो साता चीन पुगेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि यो बीचमा चीनको भ्रमण गरेका थिए । पण्डितको चीन भ्रमणमा ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ खर्च भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले असोज अन्तिम साता एशियाली–अफ्रिकी कानुन परामर्श दातृ संगठनको अधिवेशनमा सहभागी हुन जापानको भ्रमण गरेका थिए भने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा इन्डोनेशिया पुगेका थिए । 

यस्तै, कृषी तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी ब्राजिल पुगेकी थिइन् । ग्लोबल एग्रिबिजनेस फोरममा भाग लिन ब्राजिल पुगेकी राज्यमन्त्री चौधरीको प्रतिनिधिमण्डलले ६ लाख १४ हजार ४ सय ५८ रुपैयाँ खर्च गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro