काठमाडौं । दशरथ रंगशाला आजकाल सुनसान छ । फुटबल नभएर होइन, आफूले गर्न नसकेर । २०७२ सालको महाभूकम्पमा चिरा परेपछि जोडिन नसकेर । नेपाली फुटबलको ‘होम’ खेलाडीकै लागि बिरानो भएको छ । समर्थकको ध्यान त्रिपुरेश्वरबाट सातदोबाटो र हल्चोकतिर मोडिएको छ । खेलाडी र फुटबलकर्मीको गन्तब्य पनि एन्फा कम्प्लेक्स र सशस्त्र प्रहरी बलका कामचलाउ मैदान बनेका छन् । त्रिपुरेश्वरमा ट्राफिक प्रहरी १० औं हजार समर्थकको भीडका कारण सडक व्यवस्थापनको चुनौतीबाट मुक्त छन्, आजकाल ।
क्लब, खेलाडी र फुटबलकर्मीले जसोतसो सातदोबाटो र हल्चोकबाट फुटबलकर्म गरिरहेका छन् । खाँटी प्रशंसक मैदानसम्म धाए पनि फुटबल मन पराउने सामान्य दर्शक जित, हार, बराबर र अंकतालिकाको समिकरणमा टाउको दुखाउन छोडेर आफ्नै दैनिकीमा व्यस्त छन् । देशको फुटबल हाँक्ने सर्बोच्च निकाय एन्फा पनि कागजी व्यस्तता थप्न प्रतियोगिता गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय स्वर्णकालको सुगा रटानमै मस्त छन् । मानौ नेपाली फुटबलमा सबथोक ठिकठाक छ । स्वर्णकालमै छ, नेपाली फुटबल ।
कानमा तेल हालेर सुतिरहेका खेल पदाधिकारीहरुको हर्कतले यस्तो देखिए पनि यथार्थ त्योभन्दा धेरै पीडादायी छ । असह्य छ । जताततै फुटबल भए पनि, लामो समयपछि ‘ए’ डिभिजन लिग भए पनि लिगको मुख्य प्रायोजक पल्सर मोटरसाइकलको विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भनेजस्तो देशकै नम्बर एक खेलले ‘बज क्रिएट’ गर्न सकिरहेको छैन । पदाधिकारीले सब ठिकठाक भने पनि, एन्फाले सबै सरोकारवाला उत्साहित छन भने पनि नेपाली फुटबल खुसी छैन । समग्रमा फुटबल हास्न सकेको छैन ।
“रंगशालामा फुटबल हुनु र सातदोबाटोमा हुनुबीचमा धेरै फरक हुन्छ । यहाँजस्तो २० हजार दर्शक त्यहाँ अटाउन्नन् । नेपाली समर्थकलाई फुटबल हेर्न बानी लागेको ठाउँ भनेकै यही रंगशाला हो । दशरथ रंगशालामा भए चाहिँ फुटबल, अन्यत्र भए औपचारिकता जस्तोमात्र हुन्छ । फुटबलको साँचो रोमाञ्च, जुन यो रंगशालाले दिन्छ, त्यो अरुले दिँदैन,” रंगशालाको गेटैमा भेटिएका पूराना खेलाडी एवं नेपालकै पहिलो खेल पत्रकार श्याम चित्रकारले गोल्छाले भनेजस्तो ‘बज क्रिएट’ नहुनुको कारण खोतले ।
नेपाली फुटबलमा दशरथ रंगशालाको महत्व चित्रकारले बयान गरेजस्तै छ । हिन्दुहरुलाई चारधाम गरेजस्तो । मुसलमानलाई मक्का पुगेजस्तो । बेलायतीले वेम्बलीलाई प्रेमपूर्वक ‘होम अफ फुटबल’ भनेजस्तो । “नेपाली फुटबलरका लागि रंगशाला भनेको एउटा पवित्र मन्दिर हो । त्यहाँ पुग्दा साक्षात पशुपतिनाथ पुगेजस्तो लाग्छ,” राष्ट्रिय फुटबल टोलीका पूर्व उपकप्तान राजेश शाही भन्छन् ।
भुइँचालोले भत्काएपछि पनि दशरथ रंशगालाले केही खेल आयोजना गर्यो । नेपाल पत्रकार महासंघको आयोजनामा भएको हाई प्रोफाइल खेलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत देशका सबै शीर्ष नेताको उपस्थिति भयो । सबै दलका शीर्ष नेतृत्व जर्सी लगाएरै मैदान उत्रिए ।
तत्काल अत्यधुनिक पारामा पुनर्निर्माणको आश्वासन सबै नेताले दिए । तर नेपाली फुटबलको ‘होम’ अझै पनि ठडिइसकेको छैन । खेलाडी, समर्थक र खेलकर्मीलाई ओत दिन नेपाली फुटबलको ‘घर’ अझै लायक भइसकेको छैन । २०६७ सालमै नेपाल सरकारले घोषणा गरेको १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको मिति पटक–पटक यही रंगशाला तयार नभएको कारण देखाउँदै सारिएको छ । पछिल्लो पटक तोकिएको मिति आगामी भदौसम्ममा रंगशाला तयार भइसक्ने अपेक्षा छ ।
“अन्तिम चरणको काम भइरहेको छ । भीआईपी प्यारापिटको छानो हाल्ने र मैदान बनाउने काममात्र बाँकी छ । त्यो अबको केही महिनामा तयार हुन्छ,” राष्ट्रिय खेलकुद परिषद निर्माण शाखाका इन्जिनियर अरुण उपाध्याय भन्छन् ।
युवराज लामाको नेतृत्वमा रहँदा परिषदले भुइँचालोअघि नै रंगशाला पुनर्निर्माणको काम थालेको थियो । तर कहिले प्यारापिटमा सिट राख्ने, कहिले उप्काउने जस्ता अदूरदर्सी कामले पनि ढिलो भइरहेको रंगशाला पुनर्निर्माणमा सरकारले साढे चौध करोड खर्चिइसकेको छ । झारा टार्ने पारामा जस्ताको छानो हालेर भइरहेको पुनर्निर्माणले देशकै एकमात्र अन्तर्राष्ट्रिय रंगशाला बनिसक्दा पनि त्यसले नेपालको समृद्धिलाई प्रतिनिधित्व गर्ने छैन । तथापि नेपाली फुटबलका सरोकारवालालाई आतिथ्य दिन भने दशरथ रंगशाला फेरि तयार हुनेछ ।
एन्फाका लिग निर्देशक सञ्जिव मिश्र दशरथ रंगशाला तयार नहुँदा नेपाली फुटबल पछि धकेलिएको गुनासो गर्छन् । “फुटबलमा सबैभन्दा बढी अधिकार दर्शकको हुन्छ । दर्शकबिनाको फुटबलको अर्थ रहन्न । हामीले काठमाडौंमा अत्यन्तै लोकप्रियता भए पनि दर्शकलाई खेल हेर्न खुला हृदयले बोलाउन सकेका छैनौं । रंगशाला नभएपछि हामीसँग ठूलो संख्यामा दर्शक अटाउने अरु विकल्प छैन,” मिश्रले बाह्रखरीसँग भने, “नेपाली फुटबल दर्शकले खेल हेर्न आउँदा काटेको टिकटबाटै पनि चल्न सक्छ । तर रंगशाला नहुँदा त्यसको प्रभाव परिरहेको छ । रंगशाला भएको भए थ्री स्टार, मनाङ, पुलिस र आर्मीजस्ता टिमको खेल हुँदा एउटै खेलबाट करोड रुपैयाँ उठ्न सक्थ्यो । त्यो पैसा ग्रासरुटमा लगाउन सके नेपाली फुटबल अगाडि बढन सक्थ्यो ।”
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि दर्शकलाई फुटबलको सबभन्दा महत्वपूर्ण सरोकारवाला मानेको छ । नतिजामा समेत दर्शकको उपस्थितिले असर गर्ने भएकाले विदेशमा ठूला गल्ती गर्दा कारवाहीस्वरुप सम्बन्धित टिमलाई घरेलु मैदानमा खेल्न दिइन्न । ठूलो समस्या हुँदा ‘क्लोज डोर’ (खाली रंगशाला) मा खेलाइन्छ । नेपाली फुटबलमा आजकाल सबैजसो खेलहरु अर्ध ‘क्लोज डोर’मा खेलाइन्छ । रंगशाला नबन्नुको सजायस्वरुप क्लब र राष्ट्रिय टोलीसमेत आफूले नगरेको गल्तीको सजाय भोगिरहेका छन् ।