site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
बीपी युगको आवश्यकता अनुसार हिँडेका छन् 

संस्कृतमा एउटा भनाइ छ–  ‘कवि करोति काव्यानी, रसं जानन्नि पण्डिताः’
अर्थात् कविहरूले कविता लेख्छन्, पण्डितहरूले त्यसको अर्थ लगाउँछन् र रसस्वादन गर्छन् । आस्वादित हुन्छन् । बीपीले इतिहास निर्माण गरे । अहिले उनका गुणका, उनले गरेका कार्यहरूका अर्थ लगाउँदैछौँ । स्वभाविक हो यो । यस सन्दर्भमा म तपाईंहरूको ध्यानकर्षण गराऊँ– एक जना प्रशिद्ध इतिहासकार भन्छन्– इतिहास भनेको आफूलाई आवश्यक पर्ने तथ्यहरूको माला उनेर प्रस्तुत गरिने बस्तु हो ।

इतिहासमा धेरै तथ्य हुन्छन् । हामीले चर्चा गर्दा, त्यो सन्दर्भ या आजको सन्दर्भमा कुन बढी उपयुक्त छ र हामीले के सिक्न जरुरी छ भन्ने कोणबाट बस्तुहरूको खोजबीन र छानबीन गरिन्छ । मालामा उनिन्छ । सिद्धान्त तथा विचार निर्माण गरिन्छ  ।  र, विचारले बाटो निर्माण गर्छ ।

भौतिक जगत विज्ञानको तथ्य भनेकै विपरित्वबीचको एकत्व हो ।प्रत्येक चिजमा गुण÷दोष, राम्रो/नराम्रो, ठीक÷बेठीक, सुन्दर÷कुरूप, अँध्यारो÷उज्यालो सँगै हुन्छन् । यी नभइ बस्तुको अस्तिव असम्भव छ । अतः कसैको पनि मूल्याङ्कन गर्दा समग्रतामा गरिनुपर्छ । सापेक्षतामा गरिनुपर्छ, निरपेक्षतामा होइन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्योसँगै हाम्रो लक्ष्य के हो ? त्यसका आधारमा हामीलाई खाँचो परेको चीजहरूलाई टपक्क टिपेर माला उन्छौँ । त्यसर्थ पनि किताबको नाम राखिएको हुनुपर्छ– ‘बीपीको विद्रोह’ । बीपीले कुन सन्दर्भमा, कहाँकहाँ विद्रोह गरे, त्यसको संकलन पनि हो यो । र, मेरो रूचीको विषय पनि हो यो ।

यस सन्दर्भमा अल्बर्ट कामुको भनाइ ज्यादा उपयुक्त होला । उनले एउटा सन्दर्भमा भनेका छन्– म विद्रोह गर्छु । अतः म अस्तित्वमा छु । यसै सन्दर्भमा माओत्सुङको भनाइ पनि उपयुक्त हुन्छ । उनले पनि भनेका छन्– माक्र्सवादमा अनेकौं सत्यहरू छन् । सबै तथ्य र सत्यको सार एउटै छ– त्यो हो, विद्रोह गर्ने अधिकार ।

Royal Enfield Island Ad

अतः विद्रोह सबै सचेत र सामाजिक प्राणीहरूका निम्ति एउटा अस्तित्व र कर्तव्यबोधको परिचायक हो । त्यसकारण पनि बीपीको यो चिन्तन र चेतसँग हामीले चिनापर्ची पाउनै पर्छ । जान्नै पर्छ । त्यसो त हाम्रो जीवनमा विद्रोह निरन्तर भइरहने प्रक्रिया हो । हिजोसँग आजले विद्रोह गर्छ । आजसँग भोलिले विद्रोह गर्छ । यसले सत्यताको विकास गर्दैजान्छ । र, विकासको नियम पनि यही हो ।

बीपीको जन्म हुँदा प्रथम विश्वयुद्धको समय थियो । उनको देहावसान हुँदाको समय बीसौँ शताव्दीको उथलपुथलकारी समय थियो । युद्ध, क्रान्ति र सङ्घर्षको अवस्था थियो । प्रथम विश्वयुद्धपछि उपनिवेशबाट मुक्त भएको अवस्था थियो । यो प्रशवयुगको चेतना पनि बीपीमा छ । नेपाली समाज हजारौँ वर्षदेखि पिछडिएको मध्ययुगीन अवस्थाबाट बाँचिरहेको थियो । त्यो अँध्यारो युगमा प्रकाश छर्ने र ज्योति फिँजाउने बीपी थिए ।

त्यसैले पनि म हमेसा आग्रह गर्छु– बीपीलाई पार्टी विशेषको मात्रै नठानियोस् । बीपी युगका प्रवर्तक, विचारक थिए । आर्थिक–सामाजिक–राजनीतिक र आधुनिक चेतनाको प्रवर्तक थिए । 
पुरानो सोच र शक्ति तथा  सामथ्र्य र सत्ताका विरुद्ध उनको विद्रोह थियो ।

त्यसकारण हामी जसलाई गुरु मान्छौँ, तीनै गुरुका चेलाहरूमा दुईथरी प्रवृत्ति देखिन्छ । एउटा कन्जरभेटिभ प्रवृत्ति जसले गुरुका विचारलाई धर्मशास्त्रजस्तै मान्दछ । कहाँ, कुन सन्दर्भमा भनेको हो, आज भएको भए उनी के भन्थे? भन्ने कोणबाट विवेचना गर्न उचित ठान्दैन ।

अर्को प्रवृत्ति भनेको आजको सन्दर्भमा उनको विचारको उपादेयता के हुन्छ ? आजको अन्तर्राष्ट्रिय भूराजनीतिको सन्दर्भमा उनको दृष्टिकोण के हुन्थ्यो ? कस्तो भूमिका खल्थे? भन्ने सन्दर्भमा विचार–मन्थन गर्ने ।

शुरूको प्रवृत्तिले धर्मको रूप धारण गर्छ र विचार चिन्तकको मर्म सूत्र बन्छ । दोस्रो प्रवृत्ति वैज्ञानिक हुन्छ । त्यसले नूतन खोज, नवीन चिन्तन र नयाँ आविस्कार गर्दै विचारलाई विकसित गराउँदै लान्छ । बुद्ध धर्ममा बज्रयान र महायान, मोहम्मदका सुन्नी र सिया सम्प्रदाय, क्राइस्टका क्याथोलिक र प्रोटोस्ट्यान्ट यसकै परिणती हुन् ।

बीपीबाट पाठ सिक्दा सम्वद्र्धनवादी कोणबाट हेरिनुहुन्न । प्रगतिशील, अग्रगामी कोणबाट बुझिनु, हेरिनुपर्छ । म आफैँ पनि बीपीको विद्रोही चेतको पक्षधर हुँ । म जुन आन्दोलनमा लागेँ, त्यहाँ कतै न कतै बीपीको आदर्शले काम गरेको छ ।

१८–१९ सालतिरको कुरा हुनुपर्छ । जतिबेला उनले राजतन्त्र विरुद्ध हतियार उठाउँदै थिए । उनी जेलमा थिए । सुवर्ण समशेरले हतियार उठाए । त्यतिबेला हामी भर्खर स्कुलमा भर्ना भएका थियौँ । राजतन्त्रविरुद्ध हतियार नै उठाउनुपर्छ भन्ने जागरण त्यसैले पैदा गरेको हो ।
बीपीले जन्मदै विद्रोह गरेर जन्मिएको हुँ भनेका छन् । उनको जन्म शल्यक्रियाबाट भएको हो । तत्कालीन समयमा त्यो निकै ठूलो कुरा थियो । त्यसमा बीपीको हात हुने कुरा भएन । विम्बको मात्रै कुरा हो । पछिका कालखण्डमा पनि उहाँका विभिन्न पटक विद्रोह चरित्र उद्घाटित् भएका छन् । सशस्त्र सङ्घर्ष कि शान्तिपूर्ण (अहिंसात्मक) राजनीतिक आन्दोलन भन्ने द्विविधा पनि देखिन्छ, बीपीमा ।

बीपीलाई मैले भन्दा बढी पढ्ने र बुझ्ने थुप्रै छन् । तथापि म के आग्रह गर्छु भने निरपेक्ष ढंगले कुनै पनि कुरा हेर्नुहँदैन । सात सालकै सन्दर्भमा हेर्ने हो भने त्यतिबेला पनि सशस्त्र कि शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने भन्ने द्विविधा थियो । बीपी स्वयंको झुकाव पनि कम्युनिस्टतिर रहेछ । गिरिजा त पछिसम्मै कम्युनिस्ट नै थिए ।

भारतको स्वतन्त्रता संग्रामको अवस्था पनि त्यस्तै छ । सुवासचन्द्र बोसहरूले हतियार बन्द आन्दोलन चलाइरहेका थिए, गान्धीले अहिंसात्मक आन्दोलन चलाइरहेका थिए, यी सबैको प्रभाव बीपीमा थियो । २०२५ सालमा जेलबाट छुटेर आएपछि बीपी त्यस्तै द्विविधामा थिए– अबको बाटो कता ? सशस्त्र सङ्घर्ष कि, शान्तिपूर्ण आन्दोलन ?

एकथरीले शान्तिपूर्ण सङ्घर्षको कुरा गरिरहका थिए । बीपीले त्यसबेला भने –राजतन्त्रका विरुद्ध पुनः एकपटक हतियार उठाउनुपर्छ । पछि भारतीय संस्थापन पक्ष विशेषगरी इन्दिरा गान्धीसँग उनको सम्बन्ध बिग्रियो । तिमीहरूको अनुचित दबाब सहनुभन्दा देशभित्रै बसेर सङ्घर्ष गर्छु भनेर मेलमिलापको नीति अङ्गिकार गरेको पाइन्छ ।

म बेठीक हुन सक्छु, मैले बुझेको बीपी भनेको युगको आवश्यकता अनुसार हिँडेका छन् । तत्कालीन समयको जे माग थियो, बीपी त्यहीअनुरूप चलेका छन् । नेपाली कांग्रेसमात्रै होइन, लोकतान्त्रिक आन्दोलनको शीर्ष पुरुष हो उनी । तर, उनी सत्तामा जम्मा १८ महिना बसे । यहाँ दशकौँ प्रधानमन्त्री भएका मानिस छन्, तिनको चर्चा कहाँ हुन्छ ? त्यही १८ महिने कालखण्डले नै उनको चर्चा बचाइराखेको छ ।

एउटा रोचक प्रसंग उद्धृत गर्न चाहन्छु–
सात सालको आन्दोलन सकिएर मोहन शमशेरको नेतृत्वमा मन्त्रिमण्डल बन्यो । त्यस मन्त्रिपरिषद्मा मोहन शमशेर शीर्ष वरीयतामा, विद्रोहीको तर्फबाट दोस्रो वरीयतामा बीपी थिए । तर, बबर शमशेर जो रक्षामन्त्री थिए । उनले भनेछन्– विश्वेश्वर बाबु, म बूढो भइसकेँ, राणा परिवारमा हुर्किएको मान्छे, तिमी (सामान्य जनता) मुनि म कसरी बसौँ ?  म एकपटकमात्रै बैठकमा आउँछु । दोस्रो वरीयता देऊ !

बीपीले वरीयता छाडिदिए । नाइँनास्ती गरेनन् । नेतृत्वको लचिलोपन भनेको यस्तो हुनुपर्छ । राणासँग सङ्घर्ष पनि गरे । र, लचिलो पनि भइदिए ।

यस्तै प्रसंग अर्को पनि छ । हामी सबैलाई थाहा छ । भरत शमशेरहरूको खुकुरी दलको आतंक । दलबलसहित खुकुरी दलका मान्छेहरू बीपीलाई आक्रमण गर्न आए । मञ्चमा रहेका गणेशमान लगायत नेताहरू आतंकित भए । सबैमा त्राश छायो । तर, बीपी हडबडाएनन् । संयमित हुँदै खुकुरी लिएर काट्छु भनेर आएकालाई सम्झाउन पो थाले ।

तर, आक्रमण नै गर्न आएकाले उनीहरू के रोकिन्थे ? आक्रमण नै गर्न तम्सिएपछि बीपीले त्यहीं गोली चलाए । मञ्चमै ढलाइदिए । लचकमा हदै लचक, जब्बरमा गोली नै चलाउने । त्यही घटनाबाट उद्वेलित भएर गणेशमानले पछिसम्म भन्थे रे !– म निडर भनेको तर बीपी अझै सुरो रहेछन् !

बीपीको सन्दर्भमा केही अनुत्तरित सबाल छन् । इतिहासमा बहस हुँदै जाला पनि । बीपीको पूजा नगर्नूहोस् तपाईंहरू । भगवान् नबनाउनूहोस् । विचार, चिन्तकको रूपमा अनुशरण गर्नुहोस् ।

सातसाल यता मुलुकमा तीन धार देखा परे । पहिलो, उदार लोकतन्त्रवादी । दोस्रो, राजावादी । र तेस्रो, कम्युनिस्ट नेतृत्वको समाजवादी कम्युनिस्ट  । यी तीन धार मध्येबाट बीपी आधुनिक नेताको रूपमा अघि आइरहनुभएको थियो ।

यहाँहरू बुझ्नुहोला, त्यतिबेलाको सङ्घर्षले नेपाली जनतालाई धोका दियो । संविधानसभाको निर्वाचनको कुरा सात सालमै उठेको थियो । तर राजाले धोका दिए । लोकतन्त्रबादी समाजवादी धार मिलेर किन त्यतिबेला नै राजतन्त्रको अन्त्य गरिएन ? त्यसमा बीपीजस्तो महान नेता किन चुके? हुनसक्छ, कम्युनिस्टमा पनि अलगअलग धार थियो, त्यहाँ नरम, गरमपन्थी दुवै थिए । कांग्रेसभित्रको अवस्था पनि त्यस्तै थियो । तर, पुष्पलाल श्रेष्ठको नेतृत्वको कम्युनिस्ट पार्टीले पुँजीवादी क्रान्ति नभई समाजवादी क्रान्ति हुँदैन भन्दै आएका थिए ।

अतः पुँजीवादी क्रान्तिका लागि कांग्रेससँग मिलेर जानुपर्छ भन्ने धार त छँदै थियो । त्यसैले बीपी र पुष्पलालको धार किन मिलेन ? त्यतिबेला सहकार्य भएको भए २०३६ सालको जनमत संग्रह जित्न सकिन्थ्यो कि ? २०४६ सालको आन्दोलन वा  माओवादी आन्दोलनको आवश्यकता नै पर्दैनथ्यो कि ?

अन्तर्राष्ट्रियरूपमा शीतयुद्ध चलिरहेको थियो । जर्मनीमा पनि समाजवादीहरू नमिल्दा हिटलरको जन्म भयो । नेपालमा पनि कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाले ३० वर्ष टाउको उठाउने मौका पाए । शासन गरे । समीक्षाको विषय छ ।

अर्का तर्फ भारतसँगको सम्बन्ध पनि निकै पेचिलो छ । प्रष्ट भन्नुपर्दा बीपीले भारतको संस्थापन पक्षको साथ सहयोग लिएरै सातसालको क्रान्ति सफल पारेका हुन् । राजनीतिक सहयोग लिनु त पथ्र्यो तर मेरो प्रश्न कहाँनेर हो भने जहाँ भौतिक सहयोग कसैबाट लिनुहुन्छ, त्यहाँ परनिर्भरता बढ्छ ।उसले हैकम जमाउँछ । सातसालमा भारतको सत्तापक्षको सहमति गरेर आन्दोलन टुंग्यायौँ ।

एउटा प्रसंग आउँछ– बिहारका आइजीपीले नै हतियार ल्याउन सहयोग गरेका छन् । बर्माबाट ल्याएको हतियार नेपाल ल्याउन त्यहाँका मुख्यमन्त्रीले समस्या ठानेपछि आइजीपीकै सहयोगमा नेपाल भित्र्याएको खुलेको छ । बिहारका प्रहरी प्रमुखले नै हतियार ल्याएर सघाएको प्रतिफल इन्दिरा गान्धीले लिन खोजिन् । बीपीको स्वाभिमानले दिएन, उनले विद्रोह गरेर मेलमिलापको नीति लिएर स्वदेश फर्किए ।

यो प्रसंग उठाइरहँदा अघि कुरा पनि उठ्यो– माओवादीले जनयुद्धकालमा हतियार कहाँबाट ल्याए भनेर तथ्य बताएनन् ! हामीले केही लुकाएका छैनौँ । पुष्पकमल दाहाल प्रचण्ड र म जीउँदै छौँ, हामीले कुन तथ्य बाँकी राखेका छौँ र बताउन  ?

लखन थापा, टंकप्रसाद आचार्य, बीपी हुँदै, झापा सङ्घर्षको अन्तिम कडी नै माओवादी आन्दोलन हो । निरङ्कुश राजतन्त्रको अन्त्य गरेरर संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउन जनताले विद्रोह जारी राख्नुपर्छ भन्ने चेत बीपीबाट विकसित हुँदै आएको हो । म इमान्दारिताका साथ भन्छु– बीपीले अधुरो छाड्नुभएको काम उनका भाइ गिरिजाप्रसाद कोइरालाले गरे । यो परिवर्तन कांग्रेस कम्युनिस्ट मिलेरै ल्याएको हो । यो तथ्यलाई पनि आँखा चिम्लन मिल्दैन । इतिहासको नजर अन्दाज र अवमूल्यन नगरौँ ।
बीपीको विद्रोह किताबमा पनि उल्लेख छ र पूर्वराष्ट्रपति पनि यही भएकाले म अर्को एउटा प्रसंग पनि राख्न चाहन्छु– सेनाको विषय ।

राज्यको मूल शक्ति भनेको बन्दुक नै हो । जबसम्म बन्दुकको अन्त्य हुँदैन, परिवर्तन संस्थागत हुँदैन । शास्त्रीय कुराको कुनै अर्थ छैन । कुनै शक्तिले बैधानिकता पाएर हतियारमाथि एकाधिकार राख्छ, त्यतिबेलासम्म विद्रोह आन्दोलनकै अङ्ग बनिरहन्छ । भन्न के खोजिएको हो भने हतियारको शक्ति लोकतान्त्रिक शक्तिकै मातहत हुनुपर्छ ।

निर्वाचित शक्तिहरू बिग्रिएलान् कि भन्ने चिन्ता जनताबाट बारम्बार प्रकट हुन्छ । हो, हामी गालीकै लागि योग्य होऊँला । गाली गर्नु पनि पर्ला तर, हाम्रो बीचमा यस्तो पनि शक्ति छ, जो जनताप्रति कहिल्यै उत्तरदायी छैन । सुरक्षा अङ्ग, जुन निर्वाचितमात्रै होइन, निगरानीमा समेत रहँदैनन्, पर्दैनन् । निर्वाचित त हुँदैनन्, निर्वाचित जनप्रतिनिधिको मातहत हुनुपर्छ कि पर्दैन ? हतियारजस्तो खतरनाक चिज बोक्ने शक्तिलाई निगरानीमा नराखी छाड्दा के हुन्छ ? प्रश्न आज पर्यन्त उठेकै छ ।

श्री ३ राणाले सेनाकै बलमा १०४ वर्ष शासन चलाएका थिए । जब राणाशाही ढल्यो । बिजुली गारद सिंहदरबारमा थियो, राणाहरूको मातहत । त्यसलाई दरबारमा सारियो ।  सेनासहित त्रिभुवनलाई सुम्पिइयो । त्यतिबेला मोहन शमशेरले भनेका थिए रे– हामीलाई खाने बाघले तिमीलाई पनि खान्छ होस् गर्नु बीपी बाबु !

अर्थात् त्यतिबेलै कुरा उठाइएको रहेछ– यो निर्वाचित जनप्रतिनिधिको मातहत ल्याइनुपर्छ । दरबारलाई बुझाइनुहुन्न ।

आखिर भयो त्यस्तै । २०१७ सालमा राजा महेन्द्रले त्यही शक्तिको आडमा ‘कू’ गरे । हामी माओवादीले पनि नेपाली सेनालाई जनताकै मातहत ल्याउन प्रयत्न गरेकै हौँ । प्रक्रिया अलि मिलेन होला । तर सेनालाई जनप्रतिनिधिमातहत ल्याउन खोजेका थियौँ,२०६४ सालको परिवर्तनपछि ।

तर, कमजोरी कहाँ भयो ?  म दोष दिन र त्यतिबेलाको घटना केलाउनतिर लाग्दिनँ । तर हाम्रो मनशाय कलुषित थिएन । इतिहासलाई छाड्दिऊँ । राम्रो गर्न खोजेको भए मूल्याङ्कन होला । बेठीक थियो भने समीक्षा होला । दोस्रो– भारतसँगको सम्बन्ध । भारत हाम्रो छिमेकी हो, भूराजनीतिलाई बदल्न सकिँदैन । भनिन्छ– मित्र बदल्न सकिन्छ तर छिमेकी सकिँदैन ।

भारतसँगको सम्बन्ध कसरी व्यवस्थापन गर्ने ? आजको मुख्य चुनौती हो । एकले अर्कालाई दोषारोपण गर्न सकिन्छ । उन्मुक्ति पाइँदैन । रिस उठ्नेबित्तिकै ‘भारतीय दलाल !’ भन्न त सजिलो हुन्छ । तर्क पनि चाहिँदैन । तथ्य केलाउन पनि पर्दैन । आखिर त्यहीमात्रै समाधान हो त ?

बीपी लामो समय भारत प्रवासमा बसे । ब्रिटिसलाई त्यहाँबाट भगाउन उनको पनि साथ–सहयोग रह्यो । त्यसकारणले त्यहाँ उनको सम्बन्ध रह्यो होला तर आजको परिस्थिति त्यो होइन । एउटा तथ्य केलाऊँ । २००७ सालमा राजा त्रिभुवन दरबार छाडेर पाल्पा जाने भन्ने कुरा भएको रहेछ, इतिहास पढ्दा ज्ञात हुन्छ । रुद्रशमशेर त्यहाँ बडाहाकिम थिए, तीसँग सहमति पनि भएको रहेछ ।

भारतले थाहा पाएर दिल्ली पु¥याइहाल्यो । पछि राणासँग त्रिपक्षीय सम्झौता हुँदा भारतले नै अंग्रेजीमा मस्यौदा तयार पारिदियो । अतः हिजो त्रिभुवनलाई दिल्ली लैजानुको सट्टा पाल्पा पुर्‍याएको भए, यहीँ सम्झौता गर्न सकेको भए इतिहासले फरक मोड लिन्थ्यो । भारतको चङ्गुलबाट उम्कन पाइन्थो कि ?यो इतिहास हो । मेटिँदैन ।

मैले किन जोडेको हो भने बाह्रबुँदे सम्झौता भारतमै तयार पारिएको, भारतले नै गरिदिएको भन्ने आरोप छँदैछ । तर, बेकारको कुरा हो । सात सालको सम्झौता त अंग्रेजीमै थियो, पछि नेपालीमा अनुवाद गरिएको तथ्य बीपीले नै भनेका छन्– गणतन्त्र शब्द नजानेर लेखिएको थियो । डेमोक्रेसी लेखिएको थियो, ठ्याक्कै शब्द आएन, गणतन्त्र लेखियो । बीपीले नै भनेका छन् ।

२०६२ सालमा हामी सचेत थियौँ । माओवादीले नै भनेको हो– सम्झौता रोल्पामा नै गर्नुपर्छ । २०६२ साल कात्तिकमा रोल्पामै बैठक राखेर शुरूआत भइसकेको थियो । तर, गिरिजा अस्वस्थ भए रोल्पा जान सक्ने अवस्था रहेन । बाध्य भएर दिल्ली जानुपर्‍यो । तर, बाह्रबुँदेको मस्यौदाकार म स्वयं हुँ । शुरूआती खाका मसँग अहिले पनि छ । शुरूमा ६ त्यसपछि १८ र अन्तिममा १२ बुँदा तयार पारेर हस्ताक्षर भयो । दिल्लीमा पनि  त्यहाँ बस्ने साधारण नेपाली मजदुरको घरमा भूमिगत ढंगले हस्ताक्षर गरिएको हो ।
तर, मानिसहरूलाई सातसाल झैँ दिल्लीमै सम्झौता भयो भन्ने पर्‍यो । यथार्थ त्यस्तै थिएन । यसर्थ, इतिहासबाट पाठ सिकौँ ।

(बाह्रखरी बुक्सद्वारा प्रकाशित जगत नेपालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’को लोकार्पण समारोहमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले दिएको मन्तव्यको मुख्य तथा सम्पादित अंश )


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro