विश्वेश्वरप्रसाद कोइराला (बीपी) माथि सबैभन्दा पछिल्लो आरोप सायद ‘राजासँग मिलेको’ अर्थात् ‘समर्पणवादी’ भए भन्ने हो । उनलाई आफ्नै पार्टीका नेता, राजनीतिक विपक्षी, राजदरबार र हिन्दुस्तानले समेत आआफ्नै स्वार्थका आँखाले हेरेर अनेकौं आरोप लगाएका छन् । बीपीलाई पञ्चहरूले ‘अराष्ट्रिय तत्त्व’ भने । कम्युनिस्टहरूले ‘भारतीय दलाल’ र सम्झौतापरस्त तथा विसर्जनवादी भएको आरोप लगाए । भारतले उनलाई चीन र पश्चिमसँग बढी नजिकिएको भारत विरोधी भन्यो । यी सबै आरोप गलत हुन् भन्नेमा अहिले धेरै सहमत भइसकेका छन् । बीपीलाई देशभित्र हिँडडुल गर्न खोज्दा ढुंगामुढा गर्नेहरूले समेत अहिले उनको महिमा गाउन थालेका छन् ।
बीपीलाई उदार लोकतन्त्रवादी, लोकतान्त्रिक समाजवादी, मानवतावादी, देशभक्त, (राष्ट्रवादी हैन नि ! राष्ट्रवाद संकीर्ण हुन्छ) भन्ने गरिन्छ । (साहित्यमा त उनी आफैँले आफूलाई ‘अराजक’ भनेका छन् । यथार्थमा बीपी थिए के ?
सम्भवतः संसारमै सबैभन्दा बढी चर्चित नेपाली भएर पनि विश्वेश्वरप्रसाद कोइरालालाई राम्ररी व्याख्या अझै कोही पनि सफल छैन । (सिद्धार्थ गौतमको त कसैसँग तुलनै हुँदैन नि !) समग्रमा बीपीलाई के भन्दा उनीमाथि अन्याय हुँदैन र उनको व्यक्तित्वका सबै पक्ष खुल्छन् ? पत्रकार जगत नेपालले यसको उत्तर दिएका छन् । बाह्रखरी बुक्सको पहिलो प्रकाशनका रूपमा शुक्रवार सार्वजनिक हुनलागेको पुस्तकबाट । पुस्तको शीर्षक छ – ‘बीपीको विद्रोह‘ । बीपीलाई बुझाउने सम्भवतः सबैभन्दा उपयुक्त शब्द ‘विद्रोह’ नै हो ।
बीपी आजीवन विद्रोही थिए । पुस्तक सार्वजनिक भएपछि उत्सुक पाठकले खोजेर पनि पढ्ने नै छन् । सार्वजनिक नहुँदै पुस्तकको चर्चा धेरै नगरौँ । यसैले म यहाँ बीपीका विद्रोहका केही पक्ष प्रस्तुत गर्ने जमर्को गर्दैछु ।
बीपीले ‘आफ्नो कथा’ मा आफू विद्रोही हुनुको कारण जन्मसँग जोडेका छन् । आमाको गर्भबाट जबर्जस्ती (शल्यक्रियाद्वारा) बाहिर निकालिएकाले उनी विद्रोही भएका हुन् कि भनेर रमाइलो तर्क गरेका छन् । गर्भका कारण त कुन्नि पिता कृष्णप्रसाद कोइरालाको विद्रोही स्वभावको प्रभाव भने अवश्यै परेको हुनुपर्छ ।
उनको विद्रोह भारतीय स्वतन्त्रता संग्राममा होमिन सरकारी विद्यालयको पढाइ छाडेकै दिनदेखि सुरु भएको देखिन्छ । जीवनको उत्तरार्धमा उनले ‘आफू एक्लो बृहस्पति’ भएको खुलासा गरेका छन् । विद्रोह त्यसमा पनि देखिन्छ । आखिर प्रचलन वा धेरैको मतभन्दा बेग्लै धारणा राख्नु वा मार्ग अपनाउनु नै त विद्रोह हो ।
भारतीय स्वतन्त्रता संग्राममा सहभागी हुनुसँगै उनले पढाइ त जसोतसो चालु नै राखे । कानुनमा स्नातक गरेपछि दार्जिलिङमा वकालतको अभ्यास गर्न थाले । राम्रै कमाइ गरेर सुखपूर्वक जीवन बिताउन वकालतमै सजिलो हुन्थ्यो । तर, जीवनवृत्तिको सहज बाटो छाडेर उनी राजनीतिमा होमिए । यो उनको अर्को विद्रोह थियो ।
नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका लागि बीपीले आह्वान गरे । राणाहरूविरुद्ध संस्थागतरूपमा संगठित र समर्पित हुने उनको अठोट पछिल्ला विद्रोहहरूको पहिलो खुड्किलो थियो ।
नेपाली राष्ट्रिय कांग्रेस ‘शान्तिपूर्ण आन्दोलन’को माध्यमबाट राणा शासन हटाउन चाहन्थ्यो । तर, सुवर्ण शमशेरको राणाहरू बन्दुकको आवाजमात्र सुन्छन् भन्ने तर्कमा बीपी सहमत भए । राष्ट्रिय कांग्रेसका अरू साथीहरू स्वयं उनका दाजु मातृकाप्रसाद कोइरालालाई समेत ‘सशस्त्र जनक्रान्ति’को नीति मन परेको थिएन । बीपीले फेरि विद्रोह गरे – शान्तिपूर्ण आन्दोलनको मार्ग छाडेर सशस्त्र जनक्रान्तिको बाटो समाते ।
क्रान्ति सकियो । राणा कांग्रेस संयुक्त मन्त्रीमण्डलमा बीपी गृहमन्त्री भए । उनका पछिल्ला नीतिमा चिन्तनमा यो मन्त्री पद कोसे ढुंगो हुनपुग्यो । दरबार र भारतसँग बीपीको दूरी बढ्न थाल्यो । अर्थात्, त्यति बेलाको नेपालको राजनीतिमा सबैभन्दा बढी प्रभाव भएका शक्तिहरूसँग बीपीले विद्रोह गरे । मन्त्रीपदबाट राजीनामा त यही विद्रोहको अभिव्यक्तिमात्रै हो ।
बीपीले नेपालको सामन्ती संरचना र संस्थापनाविरुद्ध गरेको अर्को महत्त्वपूर्ण विद्रोह उदार लोकतन्त्रको भ्रूणबाट जन्मेको नेपाली कांग्रेसलाई औपचारिकरूपमै ‘समाजवादी’ घोषणा गर्नु पनि हो । यो तत्कालीन समाजका लागि ठूलै झड्का थियो । कांग्रेसमा गरिब सुकुम्वासीदेखि मध्यमवर्गीय किसान र धनाड्यहरूसमेत संगठित थिए । अधिकांश पढेलेखेका व्यक्तिहरू यही मध्यमवर्गका थिए । यी सबैको स्वार्थ ‘समाजवाद’ले हैन यथास्थितिबाट पूरा हुन्थ्यो । बीपीले भने यो सबैलाई बेवास्ता गरेर पार्टीलाई समाजवादी बनाए र न्यायोचित वितरणको नीति अपनाए । यो तत्कालीन समाजमा ठूलै विद्रोह थियो ।
नेपाली कांग्रेसले चुनावको माग गरेर भद्र अवज्ञा आन्दोलन गरेपछि राजा संसद्को चुनाव गर्न तयार भए । संविधान सभाको माग कांग्रेसले थाती राख्यो । पहिलो संसदीय निर्वाचनमा कांग्रेसको दुई तिहाइ बहुमत आयो । बीपी प्रधानमन्त्री भए । उनका प्रगतिशील नीतिहरू सामन्तहरूलाई मात्र हैन कांग्रेसकै पनि ठूलो समूहलाई मन परेको थिएन । उनले घरभित्र र बाहिर जताततै विरोधको सामना गरे । तर, संस्थापनसँग नझुक्ने र सम्झौता नगर्ने विद्रोही प्रवृत्ति बीपीले प्रधानमन्त्री हुँदा पनि देखाए । सत्तामा पुगेपछि बीपीका उत्तराधिकारीहरू किसुनप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले संस्थापनासँग सम्झौता गरे । (किसुनजीले सम्झौता गरेर संविधान जारी गराए तर गिरिजाबाबु संस्थापनसँग बढी नै लहसिन थालेपछि गणेशमान सिंहको चित्त दुखेको हो ।)
चीनसँगको मित्रता र पश्चिमी लोकतान्त्रिक मुलुकसँगको हार्दिकताले बीपी नेहरूभन्दा बेग्लै भए । इजरायललाई मान्यता दिएर बीपीले अन्तर्राष्ट्रिय सम्बन्धमा तेस्रो विश्व र असंलग्न आन्दोलनका नेताहरू भन्दै बेग्लै छवि बनाएका थिए । त्यति बेलाको नेपाल र भारतसँगको निकटताका दृष्टिले यो पनि विद्रोह नै त थियो ।
राजा महेन्द्रले प्रधानमन्त्री छँदै बीपीलाई कैद गरेर ८ वर्ष जेलमा राखे । त्यस अवधिमा सुवर्णजीले सशस्त्र आन्दोलन थालेर पनि भारतको दबाबमा स्थगित गरिसकेका थिए । नेपाली कांग्रेसले आधिकारिकरूपमा हतियार छाडेपछि बीपी कैदबाट मुक्त गरिए । तर, विद्रोही स्वभावले बीपीलाई छाडेन । पार्टीको शान्तिपूर्ण जनआन्दोलनको नीतिविरुद्ध विद्रोह गरेर उनले दोस्रो सशस्त्र आन्दोलन सुरु गरे । (यो विद्रोह भने उनका लागि प्रत्युत्पादक बन्न पुग्यो । मूलतः टिम्बुर बोटेको घटनाबाट भएको ठूलो क्षतिपछि सशस्त्र विद्रोह शिथिल भयो ।)
नेपालमा बीपीविरुद्ध थुप्रै मुद्दा चलाइएका थिए । उनैलाई सजाय दिन भनेजस्तै गरेर राष्ट्रिय पञ्चायतबाट २०३० को दशकको थालनीतिरै ‘ज्यानमारा कानुन’ बनाइएको थियो । गैरसरकारी विधेयकका रूपमा मरिचमान सिंहले प्रस्तुत गरेको त्यस कानुनमा लालमोहर लागिसकेको थियो । उता भारतमा संकटकाल लगाइएको थियो । इन्दिरा गान्धी बीपी र राजा दुवैलाई दबाब दिँदैथिइन् । सिक्किम भारतमा विलय गराइ सकिएको थियो । इरान र अफगानिस्तानमा राजाहरू विरुद्धको आन्दोलन चर्किँदै थियो । अर्थात्, दक्षिण एसिया अस्थिर हुँदैगएको देखिएको थियो । बीपीको विद्रोही स्वभावले उनलाई सशस्त्र जनआन्दोलन चटक्कै त्यागेर ज्यान हत्केलामा राखेर स्वदेश फर्कन लगायो ।
सहयोद्धाहरू सहमत भएका थिएनन् । गणेशमानजीले समेत असहमति जनाएका थिए । तर, सबैले हुन्न भन्दाभन्दै पनि ‘मेलमिलाप’को नीति लिएर बीपी नेपाल फर्केर जेल गए । कम्युनिस्टहरू यसलाई बीपीले राजासँग आत्मसमर्पण गरेको ठान्छन् । यथार्थमा यो उनको देशभक्तिबाट उत्प्रेरित आफैँसँगको विद्रोह नै थियो ।
माथिका सबै घटनाका बारेमा विस्तारमा बुझ्न सकिने अनेकौं पाठ्य सामग्री प्रकाशित भइसकेका छन् । ‘बीपीको विद्रोह’मा भने लगभग सबै एकै ठाउँमा संयोजित छन् ।
आर्थिक नीतिमा विद्रोहको बीउ
बीपीको विद्रोही चरित्रको थप उदाहरण उनको विकास चिन्तनमा पनि पाइन्छ । उनले आर्थिक नीतिमा विशेषगरी समाजवादको न्यायोचित वितरणको गुण अपनाउन खोजेका छन् । र, आफूलाई राजनीतिमा समाजवादी भनेका पनि छन् । तर, उनको विकास सम्बन्धी मान्यता र चिन्तन भने परम्परागत समाजवादीको जस्तो छैन ।
वितरणमा न्यायपूर्ण हस्तक्षेपको नीतिबाहेक परम्परागत समाजवादी र पुँजीवादीहरूको अभ्यास र चिन्तनमा खासै अन्तर देखिँदैन । यसैले त रुसका कट्टर कम्युनिस्ट अधिनायक जोसेफ स्टालिनले पनि अमेरिकी पुँजीपति हेनरी फोर्डकै विकास शैलीको अनुसरण गरे । तर, बीपी राष्ट्रियता जनतामा हुन्छ भन्थे भने ठूला संरचना हैन जनताको जीवनमा पर्ने सकारात्मक प्रभावलाई विकास मान्थे । ईएफ सुमेकरको ‘स्मल इज ब्युटिफुल’ को चर्चा विश्वव्यापी हुनुभन्दा केही वर्ष पहिले नै उनले ‘दिगो र मानवमुखी’ विकास चिन्तन प्रकट गरिसकेका थिए । जेल जर्नलमै त्यसको बीउ देखिन्छ । नेपालमै बीपीको विकास र अर्थतन्त्रसम्बन्धी विचारको चर्चा नहुँदै उनका मित्र विली ब्रान्टले भने त्यसको सराहना गरेका छन् ।
विकाससम्बन्धी चिन्तनका आधारमा हेर्दा बीपीले समाजवाद र पुँजीवाद दुवैबाट विद्रोह गरेको देखिन्छ । बीपीको विद्रोहको यस पक्षको विशद अध्ययन भने भएको छैन । (त्रिभुवन विश्वविद्यालयका रत्नमणि नेपालले विद्यावारिधिका लागि गरेको अध्ययनले बीपीको विकास चिन्तनमा थप प्रकाश पार्ने अपेक्षा राख्न सकिन्छ । )
वैयक्तिक जीवनमा त बीपी यसै विद्रोही हुन् । बाबुको किरिया त गर्न पाएनन् तर आमाको पनि परम्परागत शैलीमा किरिया गरेनन् । सायद, कुनै रुढी पनि उनले मानेनन् । अर्थात्, राजनीति, अर्थतन्त्र, विकाससम्बन्धी धारणा र वैयक्तिक जीवनका यावत् पक्षमा बीपी विद्रोही रहे । बीपीलाई सुहाउने सबैभन्दा सही विशेषण ‘विद्रोही’ नै हुने देखिन्छ ।