काठमाडौं । केही समयअघि प्रहरीलाई गोप्य सूचना आयो, काठमाडौंमा तिहारअघि ठूलै हत्याको योजना बन्दैछ । सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोली सूचनाको पुष्टि गर्न लागि पर्यो ।
गतवर्ष निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संग्लन समीरमान सिंहको समूहका फरार अभियुक्त अमर बहादुर राना, लोप्साङ भनिने सोम तामाङ र रोशन बुढाथोकीले काठमाडौंमा एक चर्चित पत्रकार तथा मिडिया उद्यमी र एक चिकित्सकको हत्या योजना बनाएको सूचना प्राप्त गरेको प्रहरी बताउँछ ।
एकातिर प्रहरी र प्रशासनको काममा औँला उठिरहेको अर्कोतिर यत्रो ठूलो आपराधिक घटना हुने अवस्थामा पुगेको, प्रहरीले ति अभियुक्त तथा अपराधीको खोजी तीव्र बनायो । प्रहरीको टोली भारतका विभिन्न स्थानमा पुगेर उनीहरूको विषयमा सूचना एकत्रित गर्न थाल्यो ।
नभन्दै महानगरीय अपराध महाशाखाको टोलीले ति अभियुक्तलाई आइतबार झापाको काकडभिट्टाबाट पक्राउ गर्यो । स्रोतले भारतमै पक्राउ गरेर ल्याइएको बताए पनि प्रहरीले भने पत्रकार सम्मेलनमा झापाबाट पक्राउ गरिएको जानकारी गरायो ।
पक्राउ परेपछि बयानका क्रममा ति अभियुक्तले केही महिना अघि प्रहरीलाई प्राप्त भएको सूचना सही भएको स्वीकार गरेका छन् ।
उनीहरुको योजना पछिल्लो केही समयदेखि सुस्ताएको ‘डनतन्त्र’ को त्रास फेरि कायम गर्नु थियो । एक प्रतिष्ठित पत्रकार र ठूला चिकित्सकको हत्या गरेपछि आन्तरिक रुपमा र अन्तर्राष्ट्रिय रुपमै सनसनी मच्चिने र त्यसपछि आतंकित व्यक्तिबाट सहजै धेरै पैसा कमाउन सकिने उनीहरुको बुझाई थियो । त्यही योजनाअनुसार उनीहरुले तिहार अघि वा लगत्तै दुईजनाको हत्या योजना बनाएको प्रहरी उच्च स्रोत बताउँछ ।
यस विषयमा कुरा गर्दै महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बाह्रखरीसँग भने, ‘‘उनीहरुले हाइप्रोफाइल व्यक्तिलाई निशाना बनाएका रहेछन् । सुरक्षा संवेदनशीलताका कारण नाम सार्वजनिक गर्न मिल्दैन । घटना घट्नुअघि नै पक्रन सफल भएका छौं, यो प्रहरीले प्राप्त गरेको ठूलो सफलतामध्येको एक हो ।’’
समीरको योजना गुण्डाराजको पुनरुत्थान !
२०७४ साल असोज २३ गते सोमबार नयाँ बानेश्वरस्थित ठूलो खरिबोट नजिकै निर्माण उद्यमी शरदकुमार गौचनको गोली हानी हत्या गरेपछि काठमाडौं अत्यन्त असुरक्षित मानियो । गौचनको हत्या समीरमानसिंह बस्नेत र मनोज पुनको समूहले गरेको अनुसन्धानबाट पुष्टि भयो ।
गौचनको हत्यामा संलग्न भनिएका मनोज पुनको रुपन्देहीमा प्रहरी ‘इन्काउन्टर’ मा ज्यान गएको थियो भने बस्नेतलाई प्रहरी अधिकारीकै संरक्षणमा दिल्लीबाट काठमाडौं ल्याएको थियो ।
बस्नेत पूर्पक्षका लागि मुस्ताङ कारागारमा छन् । यसअघि नै बस्नेतसहित गौचन हत्यामा राजिव स्याङताङ, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी पक्राउ परिसकेका छन् । समीरमान पक्राउ परेपनि हत्यामा संलग्न लोप्साङ राई, रोशन बुढाथोकी, अमर राना र गंगा लिङ्देन फरार रहेका थिए ।
नख्खु कारागारमा रहेका बस्नेतले कारागारबाटै गुण्डाहरुको परिचालन गरेर आतंक मच्चाउन थाले । उनले जेलमै बसेर ठेकदारहरुलाई धम्क्याएर रकम असुल गर्दै आएको सूचना प्रहरीसम्म पुग्यो । कारागारमा समीरमानलाई भेट्न हरेक दिन जसो अपरिचित मान्छेहरु पुग्न थाले । समीरलाई भेट्न कारागार पुग्नेहरुको सूची गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालसम्म पुगेको स्रोत बताउँछ ।
कारागारबाट समिरमानले आफ्ना एजेन्टमार्फत गौचनमाथि गोली प्रहार गरी फरार भएका सुटरहरुसँग सम्पर्क गर्न थाले । प्रहरीको स्रोतका अनुसार समीरले भारततिर बसिरहेका भगौडा अपराधीलाई प्रयोग गरेर ‘डनतन्त्र’को बिगुलै फुकिनेगरी गरि ठूलै हत्याको योजना बुने । व्यापारीभन्दा उनीहरुले सञ्चार उद्यमी र चिकित्सकको हत्या गर्ने निष्कर्ष निकालेको प्रहरी स्रोत बताउँछ ।
दुई ठूला व्यक्तिको हत्यापछि आफूहरुसँग व्यापारी र हाईप्रोफाइल व्यक्तिहरु डराउने उनीहरुको निष्कर्ष थियो । प्रहरी र गृहमन्त्रालयले यस्तो डरलाग्दो सूचना पाएपछि समीरलाई नियमित सम्पर्कबाट बाहिर राख्न मुस्ताङ सरुवा ग¥यो । स्रोतका अनुसार समीरका सहयोगीले केही व्यापारीलाई फोन गरेर करोडौं रकम माग्न शुरु गरिसकेका थिए । व्यापारीले टेर्न छाडेपछि उनीहरुले केही धनी व्यक्तिलाई आफ्ना एजेन्ट भेट्न पठाएर धम्काएका समेत थिए ।
हत्या गर्न भारतबाटै नेपाल !
गौचनको हत्यामा संग्लन भएको आरोपमा समीरमानलगायत अन्य केही व्यक्ति पक्राउ परेपनि हत्यामा संलग्न चारजना फरार भई भारतमा बस्न थालेका थिए । खोजीका क्रममा महाशाखाको टोली गोप्य रुपमा भारतको गोवा तथा बैंङलुरु समेत पुगेको थियो । प्रहरीका एक अधिकारीका अनुसार ‘यी व्यक्ति एकपटक प्रहरीको हात लागिसकेका थिए तर जंगलमा भागेर बाँचे ।’
अहिले गिरफ्तार भएका व्यक्तिको साथबाट भारतीय सीमकार्ड बरामद भएको छ । उनीहरु भारतमा स्थान परिवर्तन गर्दै बस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । एक स्थानमा बढिमा एक महिना बस्थे । भारतबाट उनीहरुले व्यवसायीलाई टेलिफोनमा थर्काउँदै चन्दा माग्ने गरेका थिए ।
अनुसन्धानका क्रममा उनीहरुलाई केही व्यापारीले चन्दा दिएको खुलेपनि उनीहरुले ठूलो रकम भने हात पार्न सकेका थिएनन् । त्यही ठूलो रकमकै लागि उनीहरुले ‘हाइप्रोफाइल मर्डर’को योजना बुनेका थिए । महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुले प्रविधिको चलाखीपूर्ण प्रयोग गर्दै आएका थिए । भारतीय नम्बरबाट कल आउँदा नम्बर नदेखिने तथा कलर एपहरू इमो, भाइबर, ह्वाट्सएप आदि प्रयोग गर्ने गरेको पाइएको प्रहरी उच्च स्रोत बताउँछ । तिहारकै वरिपरि ठूलै घटना घटाउनका लागि उनीहरु केही दिनअघि मात्रै झापा प्रवेश गरेको प्रहरी बताउँछ ।
पक्राउ परेका राना नेपाली सेनाका भगौडा र ‘सिरयल सुटर’ समेत हुन् । रानाले नै गौचनमाथि गोली प्रहार गरेका थिए । पक्राउ परेका लोप्साङले यसअघि ०७३ साल पुस ४ गते रुपन्देहीमा युवासंघका नेता दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेका थिए भने ०७३ चैत २९ गते बौद्धमा रहेको जिम क्लबमा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार गरेका थिए ।
(बाह्रखरीलाई प्रहरी उच्च स्रोतले बताएका सम्भावित टार्गेटका नाम सुरक्षा संवेदनशीलताका कारण (सञ्चारकर्मी र चिकित्सकको )नाम गोप्य राखिएको छ ।)