site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘यो ट्रफी नेपालले एकदिन जितेरै ल्याउनेछ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकदिवसीय क्रिकेट विश्वकपको ट्रफी चारदिन नेपालमा राखेर सोमबार भारत लगिएको छ । ट्रफी नेपाली राष्ट्रिय टोलीले जितेर ल्याएको होइन । यसपालीलाई ट्रफी फगत भ्रमणका लागिमात्र आएको हो । 

अर्को वर्ष इङ्ग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको पूर्वसन्ध्यामा क्रिकेटको लोकप्रियता थप बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ‘ट्रफी टुर’ आयोजना गरेको हो । यसै क्रममा विश्व भ्रमणका लागि अगस्ट २७ मा आईसीसी मुख्यालय दुबईबाट निस्केको ट्रफी विभिन्न सात देशको यात्रा गर्दै नेपाल आइपुगेको हो । नेपालमा चार दिन बिताउने क्रममा काठमाडौंका विभिन्न स्थान तथा पोखराको समेत यात्रा गरेको विश्वकप ट्रफी सोमबार भारतका लागि प्रस्थान गर्यो । 

ट्रफी दुबईबाट ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश हुँदै नेपाल आइपुगेको हो । अब यहाँबाट ट्रफीले भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनी हुँदै बेलायत पुग्नेछ । जहाँ इङ्ग्ल्यान्ड र वेल्सका विभिन्न १ सय स्थानमा ट्रफीको भ्रमण गराइनेछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

विश्व क्रिकेटमा दबदबा कायम गरेका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता देशसँगको सानिध्यमा नेपाली क्रिकेटले पनि आफूलाई प्रमाणित गरिसकेको छ । आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको नेपाल कुनै दिन यो ट्रफी जितेरै भित्र्याउने सामथ्र्य राख्ने देश हो । 

“यसपालीको ट्रफी टुरले हामीलाई कुनै दिन जितेरै ल्याउने भोक अझै बढाएको छ । हामीले लामो समयदेखि देखेको सपना हो, यो ट्रफी । एकदिन नेपालले जितेरै ल्याउनेछ,” राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का भन्छन्, “हामीले भर्खरैमात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको बेला विश्वकपको ट्रफी आउनु हामी खेलाडीमात्र नभई सम्पूर्ण देशकै लागि गौरवको विषय हो । क्रिकेटलाई धेरै माया गरिने देश नेपालका धेरै समर्थकले विश्वकपको ट्रफी प्रत्यक्ष रुपमा देख्न पाए । समर्थकहरु पनि उत्साहित भए ।”

Global Ime bank

राष्ट्रिय टोलीको कप्तानका हैसियतमा विश्वकपको ट्रफी छुन र उचाल्न पाएका पारसले थपे, “त्यो क्षणको अनुभव मेरा लागि विशेष छ । शव्दमा वर्णन गर्न धेरै समय लाग्छ । समग्रमा ट्रफीको आगमनले क्रिकेटमा लाग्ने हामी सबै खेलाडी, क्रिकेटकर्मी, समर्थकलाई बेग्लै खालको उत्साह र जोश दिएको छ ।”

पोखरा प्रिमियर लिग (पीपीएल) का लागि पोखरामा रहेका पारसले त्यहीँ ट्रफीसँग साक्षात्कार गरेका थिए । मैदानभित्र झै व्यवस्थापनमा पनि नेपाली क्रिकेट चुस्त भए आगामी दुई देखि तीन दशकभित्र विजेताकै हैसियतमा ट्रफी देश भित्रिने उनको विश्वास छ । “मैदानभित्रको नेपाली क्रिकेट सही बाटोमा छ । मैदानबाहिरको क्रिकेट पनि व्यवस्थित भइदिए हामी यो ट्रफीका लागि चुनौती दिन सक्षम छौं । आवश्यक भौतिक पूर्वाधार र अन्य सुविधाको सही व्यवस्थापन गर्न सके अबको २० देखि २५ वर्षमा हामी विश्वकप जित्न सक्छौं,” लामो समयदेखिको क्रिकेट विवादबाट आजित कप्तानले थपे, “हामीसँग श्रीलंकाको उदाहरण छ । उनीहरुले टेस्ट मान्यता पाएको १६ वर्षमा एकदिवसीय विश्वकपको उपाधि जिते । आवश्यक पूर्वाधार र व्यवस्थापन राम्रो भयो भने हामीले पनि २०–२५ वर्षमा जित्न सक्छौं ।”

आन्तरिक विवादका कारण पछिल्लो तीन वर्षदेखि नेपाली क्रिकेट अन्तर्राष्ट्रिय प्रतिबन्धमा छ । लामो समयदेखि कुशासन, आर्थिक अपारदर्शिता र आन्तरिक शक्ति संघर्षमा रुमल्लिइरहेको क्रिकेट संघ निर्वाचनलाई अमान्य घोषित गर्दै राष्ट्रिय खेलकुद परिषदले तदर्थ समिति बनाएपछि आईसीसीले सरकारी हस्तक्षेप भन्दै नेपालको सदस्यता निलम्बनमा राखेको थियो । 

परिषदको निर्णयविरुद्ध क्रिकेट संघको निर्वाचित समितिले अदालतमा मुद्दा दायर गरेको थियो । आईसीसीले विवाद मिलाउने प्रयासस्वरुप सबै पक्ष समेटेर सल्लाहकार समिति बनाएर विधानमा सहमति जुटाइसकेको छ । त्यही विधानअनुसार संघको नयाँ निर्वाचन गर्नका लागि सबै पक्षलाई सहमत गराएर अहिले आईसीसीले स्वतन्त्र समूह बनाएको छ । स्वतन्त्र समूहको आग्रहअनुसार निर्वाचित कार्यसमितिले अदालतको मुद्दा फिर्ता लिइसकेको छ । जसबाट लामो समयदेखिको नेपाली क्रिकेट विवादले दीर्घकालिन समाधान पाउने अपेक्षा गरिएको छ । 

विश्वकपको आगामी संस्करण इङ्ग्ल्यान्ड र वेल्समा अर्को वर्ष मे ३० देखि जुलाई १४ सम्म चल्नेछ । विश्वकपको ट्रफीलाई यसपाली इतिहासमै सबैभन्दा लामो भ्रमण गराइँदैछ । जुलाई १४ मा लर्डसको मैदानमा विजेताले उचाल्ने ट्रफी पाँच महादेशका २१ देशको यात्रा गर्ने क्रममा ६० शहरमा प्रदर्शनीमा राखिनेछ । जहाँ क्रिकेटमा उदीयमान देशका रुपमा रहेको नेपाललगायत अमेरिका र जर्मनीसहित आसन्न विश्वकप नखेल्ने ११ देश पनि समावेश हुनेछन् । ट्रफीले भ्रमणको पहिलो ६ महिना विभिन्न २० देशको यात्रा तय गर्नेछ भने त्यसपछिको १ सय दिन बेलायतका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय