site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
\'गद्दीबाट तल आएपछि राजा पनि हाम्रो सहकर्मी\'
SkywellSkywell

युवावय थियो । गीतसंगीत र नाट्यप्रतिको रुचीले उनलाई साहित्य कलातिर डोर्‍याउँदै लग्यो । उनले सानै उमेरदेखि कविता कोर्न थाले । 

वरिष्ठ गीतकार तथा साहित्यकार रत्नशमशेर थापा (८१)ले २०१० सालमा एसएलसी पास गरे । त्यसो त उनले ०९ सालमै एसएलसी सिध्याउनु पर्ने थियो । तर स्वास्थ्यले उनलाई साथ दिएन । र एक वर्ष ढिलो एसएलसी पास भए ।

साइन्स पढ्न उनी त्रिचन्द्र कलेजमा भर्ना भए । पढाइ सुरु भयो । जाँच आयो । तर उनको स्वास्थ्यले उनलाई आइएससी पढ्दा पनि धोका दियो । परीक्षा बिग्रियो । फलतः साइन्सको पढाइ उनले छोड्नुपर्‍यो । 

KFC Island Ad
NIC Asia

आइएससी पढ्दा उनी परीक्षामा राम्रो गर्न झम्सिखेलमा रहेको मामाघर बसेर पढे । उनका मामाका छोरा पनि सँगै पढ्थे । ‘कम्बाइन्ड स्टडी’ गर्दा राम्रो हुने भएकोले मामाघर गएका थिए उनी । तर स्वास्थ्यका कारण उनले पढाइ रोक्नैपर्‍यो । 

उनको तीन चार वर्ष पढाइ रोकियो । त्यही समयमा उनले सानेपामा रहेको मिडिल स्कुल टीका विद्याश्रममा पढाउने काम पनि गरे । त्यसैबेला उनको मामाघरमा कुरा चल्यो, विराटनगरको । रत्नशमशेर थापालाई सल्लाह दिइयो । भनियो, विराटनगर जाऊ, पढ पनि । मोरङ सुगर मिलमा काम पनि गर । सर्भिसको अनुभव पनि हुन्छ । उनलाई यो सल्लाह ठिक लाग्यो । 

Royal Enfield Island Ad

मामाघरतिरै बसिरहेका थापा घरमा खबरै नगरी विराटनगर हान्निए । उनले जोगवनी नजिक रहेको मोरङ सुगर मिलमा अधिकृतको जागिर पनि खाए । विराटनगरको कलेजमा रात्रीकालीन समयमा आइए पनि पढ्न थाले ।

मंगलबार कमलपोखरीस्थित आफ्नै निवासमा उनी भन्दैथिए, “म नाइट कलेजमा पढ्थें । मिलको साइकल लिएर पढ्न जान्थेँ । विराटनगरबाट पढेर फर्किँदा रात पर्दथ्यो । बाटोमा करिब एक सय पचास मिटर जति बाँसको घना झ्याङ थियो । राती बाँसको झ्याङमा लुटेराहरु पनि बस्थे । डर लाग्नु स्वाभाविक थियो । मिलको साइकल नै लुटेर लगिदिए भने त बिजोग हुन्छ । मलाई यसो गर्नु रिस्की लाग्यो र सात दिनको बिदा लिएर म काठमाडौं आएँ । त्यस पछि फर्किन । मैले फेरि त्रिचन्द्र ज्वाइन गरेँ, आर्टस् पढ्नलाई ।”

त्यसैबेला उनको भेट भयो प्रेमध्वज प्रधान, माणिकरत्न, नातीकाजी, नारायण गोपालहरुसित । यहीबाट उनको गीति लेखन मौलाउँदै गयो । त्यहीबाट उनले सयौं कालजयी गीतहरु रचना गर्दै स्रोताहरुको हृदयमा घर बनाउँदै गए ।


\"\"गीतकार तथा साहित्यकार रत्नशमशेर थापाको मूलथलो कमलपोखरी नै हो । उनको चार पुस्तादेखि यही क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । सय वर्ष पुरानो घर थियो, जुन ०७२ सालको भैचालोमा भत्कियो । 

उनका पिताजीका सात जना दाजुभाइ थिए । पिताजी माहिलो । सातै जना कमलपोखरीकै घरमा जन्मिएका । उनको पिताजीका साथीहरु थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा, शिक्षासेवी शंकरदेव पन्त, फणिन्द्रप्रसाद लोहनीहरु । 

किशोर उमेरदेखि नै सिर्जनशीलतामा रमाउने थापालाई ‘एक्सपेरिमेन्ट’ गर्न खुबै आनन्द आउँथ्यो । यसैले पनि उनले दश कक्षा पढ्दा भूगोल र अप्सनल म्याथ लिएर पढे र एसएलसी पास गरे । त्रिचन्द्र कलेजमा दोस्रो पटक भर्ना भएर आर्ट्स पढ्दा इतिहास र सिभिक्स लिएर पढे । बीएमा नेपाली र राजनीतिशास्त्र लिए । 

उनी हाँसे । भन्दै थिए, “इतिहास छोड्नुको कारण छ । इतिहासको मितिले सधै झुक्याउँथ्यो । इतिहासको कथा त सुन्न र पढ्न मजा आउँछ । तर परीक्षा दिँदा मिति उल्लेख गर्नु जरुरी हुन्छ । त्यसैले इतिहास लिइन । यसरी बीए पास गरें ।”

पछि उनलाई धेरैले ‘तिमी कवि मानिस नेपालीमा एमए गर’ भनेर सल्लाह दिए । तर उनले अंग्रेजी साहित्य लिएर एमए पढे । एमएको पहिलो पार्टको परीक्षा पास पनि गरे । तर दोस्रो पार्टमा तीन पेपर सिद्धिएपछि उनकी आमाको निधन भयो । उनले परीक्षा दिन सकेनन् । एउटा विषय बाँकी थियो । 

तर उनले जति विषयको परीक्षा दिएका थिए, त्यसले पास नम्बरलाई कभर गरेको थियो । उनी सम्झिन्छन् त्यो क्षण । भने, “मेरो पास नम्बर तीन पेपरले नै कभर गर्दथ्यो । तर उनीहरुले मलाई पास गरेनन् । पहिले कतिपय विद्यार्थीलाई राजीखुसीले नै पास गरिदिएका थिए तिनले । एउटा पेपर बिग्रिँदा पनि । किनभने उनीहरुको पास नम्बर अरु विषयका पेपरले पूरा गरेको थियो । मेरो पनि नम्बर पूरा थियो । तर मलाई पास गरेनन् । किन गरेनन्, मैले आजसम्म बुझ्न सकेको छैन् ।”

अरु पास हुने, आफू नहुने । उनले यो विषयलाई जोडतोडका साथ उठाए । सारा प्रमाण जुटाएर दरबार अगाडिको जाँचबुझ समितिमा पनि निवेदन दिए । त्यसले सत्र महिनापछि केही गर्न नसक्ने भनेर खबर पठायो । त्रिविविका अंग्रेजी विभागीय प्रमुख ब्रिटिश नागरिक डाक्टर डेभिजलाई पनि उनले भने । उनले थापाको प्रशंसा पनि गरेका थिए । तर उनले पनि सहयोग गरेनन् । बरु आफै भागे । अर्थात, कहिँ कतैबाट पनि थापाको पक्षमा सुनुवाइ भएन ।  

उनी भन्छन्, “त्यसपछि मलाई विश्वविद्यालयदेखि घृणा लागेर आयो । कि त मैले त्रिविविका विरुद्धमा कालो झण्डा लिएर हिँडेको हुनुपर्‍यो ? कि त मैले प्रोफेसरहरुलाई तथानाम गाली गरेको हुनुपर्‍यो । जब केही गरेकै छैन, त्यसमा पनि ममाथि इवि साँध्ने काम भयो । त्यसपछि मैले एमएको परीक्षा नै दिइन ।” यसरी जिन्दगीका विभिन्न मोडहरुबाट उनी गुज्रिए । आइएससी बिग्रिएपछि नै उनको जीवनमा अनेकन मोडहरु आएका हुन् । 

उनले डिल्लीबजारमा रहेको कोचिङ सेन्टरमा करिब दुई वर्ष अंग्रेजी विषयको कोचिङ पनि पढाए । त्यहाँ आइए, बीए, आइकम, विकमलाई कोचिङ पढाईन्थ्यो । यो कार्यबाट उनी आफूलाई आत्मसन्तुष्टि मिलेको बताउँछन् । 


\"\"गीतकार रत्न शमशेर थापाले एमए पढ्दासम्म उनी गीतकारका रुपमा चर्चित भइसकेका थिए । उनका गीत बजिसकेको थियो । गीत हिट भइसकेको थियो । 

उनले आइएससी पढ्नेताका गाना बजाना गर्ने साथीहरु खासै थिएनन् । विषय पनि त्यस्तै परेकोले होला उनले त्यता ध्यान पनि दिएका थिएनन् । तर पनि उनले नाटक लेखे र निर्देशन गरे ।

२०१६ सालमा आइएमा भर्ना भएपछि उनका साथी बने नातीकाजी र नारायण गोपालहरु । त्यसपछि उनले गीत लेख्न थाले । नारायण गोपालले उनका केही गीतहरु गाए, ‘स्वर्गकी रानी’, ‘भो भो न सोध अब केही मलाई’, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो...’।

उनका गीत रुचाइँदै गए । उनले पनि गीत लेख्दै गए । यसैक्रममा उनको भेट प्रेमध्वज प्रधान र माणिकरत्नसँग भयो र प्रेमध्वजले गाए रत्नको त्यो कालजयी गीत, जुन आज पनि चर्चित छ, ‘घुम्तीमा नआउ है आँखा तिमी जुधाउन..’।

यो गीत बन्दाकोे प्रसंग उनले सुनाए, “जमलको एउटा सानो कोठामा प्रेमध्वज र माणिकरत्न थिए । तिनैले हा हा हा गरेर हमिङ गर्दै मलाई धुन सुनाए । तिनको हमिङ मलाई मन पर्‍यो । तत्काल मैले ‘गोरेटो त्यो गाउँको आज’ लेखेँ ।’ 

उनी गीत दुई किसिमबाट लेख्छन् । कहिले यतिकै गमेरै पनि गीत सिर्जना गर्छन् । कहिले संगीतकारले बनाएको धुन सुनेरै गीत लेख्छन् । उनले अम्बर गुरुङको कोयार पनि धुन सुनेरै लेखेका छन् । 

उनले एउटा प्रसंगको चर्चा गरे । रत्नशमशेर बेलाबेलामा रेडियो नेपाल गइरहन्थे । एकदिन चार बजेतिर उनी रेडियो नेपाल पुगे । साथी नातीकाजीसँग भेटे । नातीकाजीले उनलाई देख्नासाथ भने ‘ए रत्न एउटा धुन छ, गीत लेख्छस् ।’ 

उनी पनि के कम । ‘लु सुना न त’ भने । नातीकाजीले रत्नलाई स्टुडियोमा लिएर गए । हारमोनियममा धुन सुनाए । रत्नलाई धुन आकर्षक लाग्यो । उनले नातीकाजीसँगै कागज मागे । र धुनमाथि गीत लेख्न थाले ।

आँखैमा रात गली शीतमा तार डुबे, 
बाटैमा आँधी चली आशाका मुना उडे ।
धुपी पिपल अनि लहरा पात झुके
जुही सिमल पनि छहरा साथ सुके...

 

गीत लेख्दै गर्दा योगेश वैद्य पनि आए । गीत लेखेर सकियो । योगेशले म गाउँछु भने । केही दिनमै त्यो गीत रेकर्ड भयो । जुन गीत आज पनि आम स्रोताको मनमा छाएर बसेको छ । 
यसरी उनले धुनमा धेरै गीत लेखे । कहिले धुन नभए पनि गीत लेखे । उनले जति गीत लेखे सबै स्रोताका लागि लेखे । ती गीत स्रोताले मनपराए पनि । यही नै उनको सन्तुष्टिको आधार बन्यो ।

एक पटक कवि श्यामदास वैष्णवले थापालाई हाजिरी जवाफमा सोधेको प्रश्न झैं सोधे, “रेडियोमा दश हजार पटक बजेको कुन गीत हो थाहा छ तिमीलाई ?” थापाले आफूलाई थाहा नभएको बताए । बैष्णवले भने, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो..’ वैष्णव त्यसबेला रेडियोमा नै जागिरे थिए । त्यसैले पनि उनलाई यो कुरो थाहा थियो । 

कुराकानीकै सिलसिलामा वैष्णवले थापालाई यो गीत दश हजार पटक बजिसकेको भनेर आफ्ना पत्रकार साथीहरुलाई भन्न र प्रचार गर्न सुझाए । तर थापा पनि खरा, वैष्णवलाई सिधै भने, ‘म पत्रकारहरुको पछि लाग्ने मानिस होइन’ । 

थापा भन्दैथिए, “मेरा स्रोता र पाठकको शुभेक्षाका कारण नै मैले पाउनु पर्ने पुरस्कारहरु पाइसकेको छु । यो भन्दा बढी के चाहियो र । मेरा लागि सारा नेपालीले दिनुभएको माया नै ठूलो कुरा हो । र अर्को कुरो, तीन मिनेटको मेरो त्यो गीतका लागि दस मिनेट फर्माइस हुनु, आफैंमा ठूलो कुरा थियो । यो भन्दा बढी के चाहियो मलाई ।’

उनले अर्को एउटा गीतको प्रसंग पनि उठाए । गायक माणिक रत्नले पनि थापाका केही गीत गाएका छन् । त्यसै मध्येको गीत होे, ‘त्यो खोलाको सङ्लो पानी खाइजाउ खाइजाउँ लाग्छ’, र ‘नआउ जुन कोठामा राती मसँग लाडिन..’।


\"\"गीतकार तथा साहित्यकार रत्नशमशेर थापाले धेरै विधामा कलम चलाए । उनले कविता र गीत मात्रै लेखेनन्, कथा र नाटक पनि लेखे । गीति कथा पनि लेखे । तर उनले समीक्षा गर्न कलम चलाएनन् । 

उनले एक पटक रेडियोका लागि १५–१५ रुपैयाँमा नौ वटा गीति कथा लेखे । गरिमामा उनको कथा छापियो । कैयन संस्मरणहरु पनि लेखे । आफ्ना मित्र कवि भूपी शेरचनका विषयमा लामो लेख नै लेखे । 

भूपी शेरचनसँग थापाको गहिरो मित्रता थियो । भूपीसित थापा रातरात भर हिँडेका छन् । भूपी खुबै पिउने । थापा चिया कफीमात्रै पिउने । तर पनि मिल्थे । थापा आफूले आजसम्म पनि रक्सी नछोएको बताउँदै थिए । केही नपिए पनि उनी साथीहरुसित रातरात भर हिँड्थे ।

एकपटक भूपीले थापाप्रति फरक व्यवहार देखाए । भूपी अथाह धनी थिए । रमाइलो गर्नुपर्ने मानिस थिए । तर जब उनको व्यवहार आफूप्रति फरक पाए थापाले, शेरचनसँग सम्बन्ध टुट्यो । 

थापा भन्दै थिए, “मैले भूपीलाई सिधै भनेँ, हेर भूपी, तिमीजस्तो करोडपति मैले धेरै देखेको छु । मलाई कसैले छुन सक्दैन । पछि भूपीले आफ्नो गल्ती स्वीकारे ।” 

०००
केही वर्षअघि रत्नशमशेर थापा मदन पुरस्कार गुठीबाट जगदम्बाश्री द्वारा सम्मानीत भए । मदन पुरस्कारका कमलमणि दीक्षित आफै रत्न शमशेर थापाको घरमा पुगे । जगदम्बा श्री उनले पाएको खवर दिए । र दीक्षितले भने, ‘मलाई औधी खुशी लागेको छ ।’ 

थापा सुनाउँदै थिए आफ्नो खरोपनाको उदाहरण, “त्यसैबेला दीक्षितले कुनै पत्रिकामा भनेका रहेछन् मेरो विषयमा, ‘रत्न शमशेर थापाको योगदान हेरेर नै उहाँलाई जगदम्बा श्री पुरस्कार प्रदान गरिएको हो’ भनेर । मैले पनि त्यो भेटमा उनलाई भने, ‘कमलमणिजी, तपाईको विचार मैले पत्रिकामा पढेको थिएँ । तपाईलाई पनि मेरो योगदानका बारेमा केही ज्ञान भएछ । मलाई पनि खुशी लागेको छ ।’ त्यस पछि त उनी बस्नै सकेनन् । मेरो कुरा सुनेर हिँडिहाले ।”

उनी खरो कुरा नै गर्छन् । उनलाई कसैलाई रिझाउनु पनि छैन । कसैलाई खुशी तुल्याउनु पनि छैन । बस आफ्नो काम गर्नुछ । त्यसैले पनि उनी स्वाभिमानी छन् । खरा छन् । जे बोल्छन्, सिधा सिधा बोल्छन् । 

कुनैबेला रेडियो नेपालबाट एउटा गीतको ६ रुपैयाँ पाउने थापा रेडियो नेपालले कलाकारहरुको शोषण गर्नुसम्म गरेको बताउँछन् । रेडियोले आर्थिक शोषणमात्रै होइन, भएका टेपहरु पनि चुँडाएर, हराइदिएर शोषणको पराकाष्टा नाघेको उनको तर्क छ । 

उनी भन्दैथिए, “रेडियो नेपालले यति ठगेको छ, भनेरै सकिन्न । तर रेडियो बाहेक अरु माध्यम नभएकोले हामी रेडियोको लागि गीत लेख्न बाध्य थियौं ।” 

उनीसँग कुरा हुँदा गायक नारायण गोपालको कुरा पनि उठ्यो । रत्न शमशेरले आफ्नो नारायणसँग कहिल्यै खटपट नभएको बताए । उनी भन्दै थिए, “म साथीलाई साथीको रुपमा हेर्छु । तल पनि राख्दिन । माथि पनि राख्दिन । नारायण मबाट आफैं पर गएको हो । उसँग मेरो कुनै वादविवाद भएको छैन । मलाई चित्त नबुझेको कुरामा आफ्नै बाउलाई त टेर्दिन म । मैले नारायण गोपालकै पत्नी पेमलालाई भनिदिएको थिएँ, तिम्रो श्रीमान् आफ्नो बाटो लाग्यो । म आफ्नो बाटो लागेँ ।” 

उनलाई कतिले भन्छन्,  नारायण गोपालको स्वरले रत्न शमशेर माथि उठेका हुन् भनेर । उनी यसलाई स्वीकार्दैनन् । उनी भन्छन्, “रत्न शमशेर जहाँको त्यहीँ छ । मेरो गीत सय जनाभन्दा बढीले गाएका छन् । नारायण गोपालको कृपा छुटेपछि त रत्न उहिले हराउनु पर्ने होइन् र ? तर मेरा गीतहरु त चलेकै छन् ।” 

\"\"एकपटक चितवनमा राजा महेन्द्रसँग रत्न शमशेरको भेट भयो । कविहरुलाई लाइनमा राखेर भेट गराइएको थियो । उनको पालो आएपछि केदारमान व्यथितले उनको परिचय दिँदै भने, ‘कवि रत्न शमशेर थापा’ । महेन्द्रले भने ‘नाम त धेरै सुनेको हुँ । चिनेको थिइन । चिनेँ, खुसी लाग्यो ।’

त्यसबेला उनले बीए पास गरिसकेका थिए । उनले त्यसबेला ‘सरकार म बीए पास छु’ भनेको भए सायद उनले त्यसैबेला जागिर दिन्थे होलान् । तर उनी आफ्नै स्वभावका । राजालाई केही भनेनन् । उनलाई अरु कुराको मतलब पनि थिएन । 

उनले त्यहाँको एउटा अर्को प्रसंग सुनाए । भने, “राति होटलमा एउटै कोठामा परेका पुण्यप्रसाद सुवेदीले सोधे, ‘तिमीसित त राजाले साथीभाइ जस्तो कुरा गरे नि’ । मैले भने ‘हेर, राजगद्दीमा बस्ता उनी राजा हामी प्रजा । राजगद्दीबाट तल आएपछि उनी हाम्रो सहकर्मी । उनी पनि लेख्छन् हामी पनि लेख्छौ । मेरो कुरा सुनेर पुण्य चकित परे ।”
रत्नशमशेर थापाको खरो स्वभाव भएपनि मिल्नेसँग उनी लपक्कै मिल्छन् पनि । तीन वटा गीतको किताब र दुई वटा कविताको किताब प्रकाशित गरिसकेका थापा भन्दै थिए, “जुन बेलासमम मेरो कलममा तागत हुन्छ । त्यसबेलासम्म म कसैसँग झुक्दिन । आजसम्म आत्मसन्तुष्टिका लागि नै मैले लेख्दै आएँ । कसैले केही देला भनेर मैले लेखेको हुँदै होइन ।”

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro