काठमाडौं । गायक तथा संगीतकार राजनराज शिवाकोटीले बुधबार बिहान आफ्नो गीतबारे लेखिएको ‘राजनको अर्को रेकर्ड’ शीर्षकको समाचारको कटिङ पोस्ट गर्दै आफ्नो फेसबुक पेजमा पोस्ट गरे ।
कमेन्टको वर्षा लाग्यो । कमेन्टको भीडमा वरिष्ठ गीतकार तथा नेपाली सेनाका पूर्वरथी राजेन्द्र थापाले यस्तो प्रतिक्रिया पोस्ट गरे, “जनअदालतमाथि अर्को सर्वोच्च अदालत हुन्न । राजन, दीपा, दीपकलाई जनअदालतले नै फैसला दिएर कला भनेको आम मान्छेको मन छुनका लागि मात्र हो भनी फैसला दिइसक्यो । पछाडि बसेर यो र त्यो हुनुपर्छ वा हुनु हुन्न भन्ने पण्डितेहरुको इष्र्यालु गनगनलाई ध्यान नदिई यसरी नै नेपाली कलाले हिन्दी कला सरह जनताको मन जितिरहोस् । मेरो भावना र प्रतिभाको पनि साथ हुनेछ ।”
नेपाली सांगीतिक जगतको इतिहासमा पहिलोपटक राजनराज शिवाकोटीका दुईवटा गीत ‘सुर्के थैली खै’, र ‘पूर्व पश्चिम रेल’ ले लगातार युट्युबमा एक करोड भ्युअर्स कटाएर नयाँ रेकर्ड बनाए ।
अन्य केही गीत पनि एक करोडको छेउछेउ पुगेपनि करोडको आंकडा क्रस नगरेको अवस्थामा उनका गीतले कसरी यो सफलता पाए त ?उनका गीतमा के छ जुन अरुका गीतमा छैन ?
राजन सुरुमै भन्छन्, “म मेरा गीतमात्रै राम्रार दर्शक तथा स्रोताले मन पराएको भन्दिनँ । अरु धेरै साथीहरुका गीत पनि लोकप्रिय छन् । ‘निर जैले रिसाउनी’, ‘ठमेल बजार’, ‘वारी जमुना पारी जमुना’ पनि हिट गीत हुन् । मेरा तुलनात्मक रूपमा केही बढी हेरिएको मात्रै हो ।”
अरु गीत पनि राम्रो भएको र दर्शक तथा स्रोताले मन पराएको बताएपछि बल्ल हाम्रो प्रश्नको जवाफतिर लाग्छन् उनी । “चलचित्रकोविधा (जनरा) छुट्टिए जस्तै अहिले नेपालमा गीतको पनि विधा छुट्टिएको छ । कुन विधाको गीत सुन्ने स्रोता तथा दर्शक कति छन् पत्ता लगाउनुपर्छ । यहाँ लोक, आधुनिक र पप तीनै खालमा गीत सुन्ने स्रोता तथा दर्शक हुनुहुन्छ । मेरा गीतपनि सतप्रतिशत लोक, आधुनिक र पप छैनन् । ‘सुर्के थैली खै’ र ‘पूर्व पश्चिम रेल’मा तीनवटै फ्लेभर छ । अर्को, गीतको महत्वपूर्ण पक्ष शब्दमा सभ्यता हुनुपर्छ । शब्द शक्तिशाली भयो भने त्यसले मेलोडी आफैँ खोज्छ । त्यस्तो गीतले सर्वव्यापीकरणका लागि आफैं बोटो खोज्छ ।”विस्तारै लोप हुन लागेका मौलिक शब्दलाई आधुनिक तरिकाले प्रस्तुत गर्नसक्नुपर्ने उनको भनाइ छ ।
“शब्दमा ध्यान दिनुपर्छ । द्विअर्थी शब्द प्रयोग नगरी बच्चादेखि युवा र वृद्धवृद्धासम्मलाई छुने खालका शब्द प्रयोग गर्नुपर्ने रहेछ,” राजन अगाडि भन्छन्, “काठमाडौंमा पानी पिउन नपाएर ४० लाख मान्छे बसेका छन्, पूर्व पश्चिम रेल चले हुन्थ्यो भन्ने तीन करोड नेपाली छन् । सोचेअनुसारको काम सरोकारवाला निकायले गरेनन् भनेर भन्ने पनि धेरैको असन्तुष्टि छ, तर यसो भन्दैमा गाली नै गर्नुपर्छ भन्ने छैन । त्यही असन्तुष्टिलाई सभ्य शब्दमार्फत गीतमा व्यक्त गर्दा त्यसलाई सबैले मन पराइदिनु भयो ।”
माया–प्रेमसँगै एउटै गीतबाट सामाजिक सन्देशदिँदै विकासको कुरा पनि गर्न सके त्यो जनजिब्रोमा झुण्डिने राजनको तर्क छ । सिधै घोचपेच गर्नुभन्दा त्यसलाई घुमाउरो तरिकाले भन्न सके त्यसले व्यंग्य गरिएको पक्षले पनि चित्त नदुखाउने उनले बताए ।
प्रतिभा देखाउन उपयुक्त ठाउँ पनि चाहिने राजन बताउँछन् । सिर्जना राम्रो भएर मात्रै नहुने भन्दै त्यसलाई लक्षित वर्गसम्म पुर्याउन सशक्त माध्यम पनि चाहिने उनको बुझाइ छ ।
“तामा होस् या फलाम अथवा पित्तल होस् वा सुन नै किन नहोस्, त्यसलाई सिरानीमा राखेर हुँदैन । त्यसलाई देखाउन भिडियो राम्रो माध्यम हुन्छ । हाम्रो गीतमा पनि सुन्दर भिडियो अर्को माध्यम बनेर आयो,” उनले थपे, “सँगै चर्चित चलचित्रको ब्यानर सहयोगी बनेर आइदियो । शब्द, संगीत, स्वर र भिडियोको सुन्दर संयोजन भयो भने स्रोता तथा दर्शकको रुचीमा पर्दोरहेछ । यिनै चार चिजको सुन्दर संयोजन नै ‘सुर्के थैली’ र ‘पूर्व पश्चिम रेल’को लोकप्रियताको मुख्य कारण हो ।”
राजनको ‘पूर्व पश्चिम रेल’ले यो हप्ता सात महिनामा युट्युब च्यानलमा १ करोड भ्युअर्स कटाउँदा उनकै ‘सुर्के थैली खै’ करिब डेढ करोडको आंकडा नजिक पुगेको छ ।