site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाठेघर खस्ने समस्या र यसको उपचार

पाठेघर खस्ने समस्याका कारण महिलाहरूले हेलामा बाँच्नुपरेको छ । अशिक्षा र गरिबीको कारण अधिकांश महिला पाठेघर समस्याको उपचार नगरी रोग पालेर बस्ने गरेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका महिलाहरूमा बढी समस्या छ । महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो । परिवारका सदस्यसँग कुरा गर्दा लाज र इज्जत जाने डरले सबैले रोग पालिरहेको अवस्था छ । यसले कतिपय महिलाहरू मानसिक, शारीरिक रूपमा श्रीमान्बाट समेत पीडित भएर बाँच्न बाध्य छन् ।

पाठेघर खस्नु भनेको के हो ?
पाठेघर महिलाको प्रजनन् अंग हो । बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर ‘लुज’ भएर जान्छ । पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ, सपोर्ट कम भएपछि ‘लुज’ भएर तल आउँछ । पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ । कसैको कम खस्छ भने कसैको धेरै खस्छ ।
एकचोटि बच्चा पाइसकेपछि ‘लुज’ हुन्छ, यस्तो हुनेबित्तिकै खसेको भन्न मिल्दैन । पाठेघर खसेको धेरै महिलाहरूले थाहा नै पाउँदैनन्, बढी भएपछिमात्रै थाहा पाउने गरेका छन् । 
खस्ने समस्यामा पाठेघरको दोष हुँदैन, त्यसलाई जोड्ने तन्तुहरूको हुन्छ । कति महिलाहरूले खस्नेबित्तिकै निकाल्नुप¥यो भन्छन्, तर निकाल्नु पर्दैन, मर्मत गर्नुपर्छ । 
सरकारले यसका लागि लामो समयदेखि अस्पतालदेखि लिएर गाउँ–गाउँमा शिविर चलायो । त्यसैले पहिले र अहिलेमा धेरै फरक छ, पहिलेभन्दा अहिले संख्या कम भइसकेको छ । 
दुर्गम क्षेत्रमा भने दक्ष जनशक्ति नभएका कारण समस्या छ । सुत्केरीपछि आराम नगर्ने, सुत्केरीलगत्तै गह्रँुगो काम गर्ने गर्दा यो समस्या उत्पन्न भएको हो । पहाडी भेगमा उकालो–ओरालो गर्नुपर्छ, त्यसो गर्दा पेटमा समस्या पर्छ ।

बच्चा पाएपछि पेटमा ६ हप्तासम्म असर पर्न दिनु हुँदैन । तर, सुत्केरी भएर न्वारान हुनुअगावै काम गर्छन् । त्यो प्रेसरले गर्दा पाठेघर टाइट हुनै पाउँदैन । ६ हप्तासम्म आराम गरेमा विस्तारैै पाठेघर टाइट हुँदै आउने हो । अहिले त्यो चेतना बढेकाले समस्या केही कम भएको छ । 
पाठेघरको उपचारका लागि शिविरहरू भइरहन्छन् । मैले पनि धेरै शिविरमा गएर अप्रेसन गरेको छु । सूचना प्रवाहको काम पनि भइरहेको छ । समस्या छ भने आउनुस् । अप्रेसनको लागि पैसा लाग्दैन । 
बच्चा जन्मिएकाहरूमा मात्रै पाठेघर खस्ने समस्या आउँछ भन्ने छैन । गर्भवती नभएका युवतीमा पनि समस्या आउन सक्छ । 

के छन् जटिलता ?
पाठेघर झर्नु र बच्चा पाउनु आफैंमा रोग हुँदै हैन । तर, पाठेघर खसेपछि नयाँ रोगहरू आउन सक्छन् । पाठेघर झरेपछि तन्केर जान्छ र त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् । नपुगेपछि त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ, अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर हुन्छ, त्यसपछि सेतो पानी बग्छ ।

अर्को समस्या, पाठेघर त ‘लुज’ भएर खस्ने हो, पाठेघर खस्नेसँगै पिसाब थैली पनि झर्छ । पछाडिपट्टि मलद्वारको भाग पनि झर्छ । पिसाबको थैली झर्नेमात्रै हैन, जुन नली छ त्यो खुला हुन्छ, लुज हुन्छ, त्यसपछि पिसाब रोक्न सकिन्न ।

खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ । पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । त्यसले संक्रमण हुन्छ, पिसाब गर्ने पोजिसन फरक गरेपछि मात्रै पिसाब हुन्छ । मृगौलाबाट पिसाब नली हुँदै पिसाब थैली भएर बाहिर निस्किने, युरिन आउने ठाउँहरू तन्किएर ब्लक हुन्छ ।

त्यो भएपछि बांगिएर पिसाब राम्रोसँग ‘ड्रेन’ हुन सक्दैन । पछि पछि त मृगौला पनि सुनिँदै÷फुल्दै जान्छ, अनि काम गर्न छोड्छ  । यसलाई युरोप्याथी भनिन्छ । 
सामाजिक जटिलता पनि हुन्छ । सेतो पानी बगिरहन्छ, रगत पनि बग्न सक्छ, पिसाब पनि चुहिन्छ । यस्तो हुँदा दुर्गन्ध हुने भएका कारण सामाजिक भेलामा महिलाहरूलाई जान गाह्रो हुन्छ । 
सानो उमेरमा विवाह गरेर बच्चा पाउँदा पनि पाठेघर खस्छ । यौनसम्पर्क गर्न गाह्रो हुँदा उनीहरूको दाम्पत्य जीवनमा जटिलता आउन सक्छ । यसले मनोवैज्ञानिक असर पर्ने भइहाल्यो । 

कसरी बच्न सकिन्छ ?
कारण थाहा भयो भने राम्रो हुन्छ । बच्चा पाउने नै मुख्य समस्या हो भने दक्ष जनशक्ति भएको ठाउँमा डेलीभरी हुनुपर्छ । डेलीभरी गर्न नआउनेसँग गर्यो भने साल निस्किएन भनेर पेटमा थिचेर निकाल्न खोज्छन् ।

त्यो समयमा त्यसै त पाठेघर ‘लुज’ भएको हुन्छ, झन् थिच्दा धेरै ‘लुज’ हुन्छ । साल निस्किने भनेको त बच्चा जन्मिसकेपछि ५ देखि १५ मिनेटमा हो । त्यो आफैँ उप्किएर आउने हो । हतार गरेर हुँदैन, तर कतिलाई थाहा नभएर त्यसो गरिरहेका हुन्छन् । पाठेघर त बच्चा जन्मिइसकेपछि पनि २÷३ दिन बच्चा पेटमा हुँदाजस्तै रहिरहन्छ ।

तर, मानिसहरू नबुझेर अझै केही छ भनेर थिच्छन् । त्यो पनि मुख्य कारण हो पाठेघर खस्ने । 
व्यथा लामो समयसम्म भयो भने पनि पाठेघर ‘लुज’ भएर खस्नसक्छ । सुत्केरी भएपछि ६ हप्तासम्म आराम गर्नुपर्छ । सामान्य व्यायाम गर्नुपर्छ, त्यसो गर्दा योनीमा मसल्सहरू टाइट हुन्छ । 

खसिसकेपछि के उपाय गर्ने ?
पाठेघर खसेको उपचार अप्रेसनमात्रै होइन । धेरै नै खसेको छ भनेमात्रै अप्रेसन गर्नुपर्छ । व्यायाम गर्दा पनि बढी हुन दिँदैन, बरु कम गर्छ । अर्को भनेको रिङ प्रयोग गर्ने हो । रिङ पनि दुई किसिमको हुन्छ । एउटा तीन–तीन महिनामा फेर्नुपर्ने हुन्छ भने अर्को सिलिकन हुन्छ ।

यो धेरै गन्हाउने पनि हुँदैन । लामो समयसम्म राख्न मिल्छ र त्यसैलाई फेरि सफा गरेर पनि राख्न मिल्छ । रबरको रिङचाहिँ फेरिरहनुपर्छ । त्यही सफा गरेर प्रयोग गर्यो भने इन्फेक्सन हुने सम्भावना हुन्छ । 

घरेलु उपचार के हुन्छ ?
लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो । कुपोषित छ भने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ । गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकारण पोषण दूधमा गएर महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ । त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, त्यसको पूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ । 

रोकथाम कसरी गर्ने ?
स्वास्थ्य संस्थामा डेलीभरी गर्ने
गर्भवती हुँदा र सुत्केरी भइसकेपछि पोषिलो खानेकुरा खाने 
सुत्केरी भइसकेपछि कम्तिमा ६ हप्ता आराम गर्ने
पेटमा असर पर्ने खालको गह्रुँगो काम नगर्ने 
(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत डा. बरालसँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७३  ०३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro