काठमाडौं । चार अर्ब लगानीमा नयाँ धरहरा बन्ने भएको छ । पुरातत्व विभागका अनुसार नयाँ धरहरा निर्माणका लागि अनुमानित चार अर्ब लाग्ने र निर्माण अवधि करिब तीन वर्ष लाग्ने छ ।
गोस्वारा हुलाक र टक्सार विभागको जग्गासमेत गाभेर करिब ३० रोपनी जग्गामा आधुनिक धरहरा बनाउन लागेको पुरातत्व विभागका सूचना अधिकृत दामोदर गौतमले जानकारी दिए ।
“सुरुमा पहिलाको धरहरा रहेकै स्थानमा बनाउने योजना थियो,” गौतमले भने, “पछि हामीले आधुनिक धरहराको कन्सेप्ट लिएर आयौं यो सरकारलाई पनि मन पर्यो । त्यसैले आधुनिक धरहरा निर्माणका लागि काम भइरहेको छ ।”
आधुनिक धरहराको डिजाइन निर्माणका लागि केजे–एमआरबी–जेबी नामक कम्पनीलाई जिम्मा दिइसकेको पुरातत्व विभागले डिजाइन प्राप्त भएपछि थप प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
आधुनिक धरहरा व्यापारिक प्रयोजनका हिसावले पनि सुविधासम्पन्न हुने पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले बताए ।
उनका अनुसार अन्डर ग्राउन्ड पार्किङको समेत सुविधा हुने धरहरा परिसरमा ४ सय कार र ३ सय मोटरसाइकल अट्ने पार्किङ हुनेछ भने भूकम्प आएको बेलासमेत बस्न मिल्ने खुला स्थान पनि धरहरा परिसरमै हुनेछ ।
टक्सार विभागमा रहेकोपैसा छाप्ने मेसिन तथा पूराना सिक्काहरु राखिएको संग्रहालय पनि रहने उक्त परिसरमा भूकम्पले भत्काएको धरहरालाई यथास्थितिमा राखिनेछ । यसको खाका पुरातत्व विभागले तयार पारिसकेको छ ।
“सानो तर आकर्षक टक्कार म्युजियम पनि रहनेछ” विभागका सूचना अधिकृत गौतमले भने, “भूकम्पले भत्काएको धरहरा पनि त्यहीँ राख्ने छौं तर त्यो अहिलेकै अवस्थामा रहनेछ । त्यसलाई सड्न र मक्किन नदिन केमिकल हालेर राखिने छ ।”
गौतमका अनुसार धरहरासँगै गोरखा भूकम्पले पुर्याएको क्षतिलाई प्रतिविम्बित गर्ने खालको म्युजियम रहनेछ । धरहरा निर्माणको कार्य सुरु हुन अझै कम्तीमा तीन महिना लाग्ने गौतमको भनाइ छ ।
विसं. २०७२ वैशाख १२ गते गएको भूकम्पले भत्काएको धरहरा लामो समय बितिसक्दा पनि निर्माण कार्य सुरू हुन सकेको छैन ।