site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखापत्र १२५औँ वर्षमा, राज्यको मिडिया बनाउन सुझाव 

काठमाडौं । नेपाली पत्रकारिताको इतिहासमा सबैभन्दा पुरानो अखबार ‘गोरखापत्र’ प्रकाशन सुरु भएको १२५ वर्ष पुगेको छ ।

विभिन्न शासन व्यवस्थामा आरोह अवरोह खेप्दै गोरखापत्रले आज अर्थात् वैशाख २४ गते आफ्नो १२५औँ वार्षिकोत्सव मनाउँदैछ । 

“गोरखापत्रको १२५औँ वार्षिकोत्सव र गोरखापत्र संस्थानको ६३औँ वार्षिकोत्सवलाई यसपटक ‘शताब्दी रजत’ भनेर मनाउँदै छौं,” गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बाह्रखरीसँग भने, “यो वर्षैभरी हामी विभिन्न कार्यक्रम गरी शताब्दी रजत मनाउने योजनामा छौँ ।”

गोरखापत्रको प्रकाशन राणा शासनको पालाबाट सुरु भएको हो । राणा प्रधानमन्त्री श्री ३ देवशमशेरको शासनकालमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो । गोरखापत्र पहिलो पटक १९५८ वैशाख २४ गते प्रकाशन भएको थियो, जति बेला यसको नाम ‘गोर्खापत्र’ थियो । १९८३ जेठ ४ गतेबाट यसको नाम ‘गोरखापत्र’ गरिएको थियो । 

गोरखापत्रको प्रकाशनसँगै नेपाली पत्रकारिताको सुरु भएको मानिन्छ । यसअर्थमा नेपाली पत्रकारिताको जन्म गोरखापत्रसँगै भएको हो । गोरखापत्र प्रकाशन हुनुअघि नेपालमा ‘सुधासागर’ पत्रिका छापिन्थ्यो, तर यो साहित्यक पत्रिका थियो । 

सुरुमा गोरखापत्र साप्ताहिक रुपमा सोमबार छापिन्थ्यो । यो पाशुपत छापाखानमा छापिन्थ्यो । पण्डित नरदेव पाण्डे यसका मुद्रक र प्रथम व्यवस्थापन थिए । १९९१ वैशाख ९ गतेदेखि यो प्रत्येक हप्ताको शुक्रवार प्रकाशित हुन थाल्यो । 

व्यवस्थापकीय भूमिका रहने दोस्रो तालुकवालको रुपमा १९६० भदौ २२ गतेबाट भाषासाधक जयपृथ्वीबहादुर सिंहलाई तोकिएको थियो । सिंह बझाङ्ी राजा थिए । उनी राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको ज्वाईं पनि थिए । 

गोरखापत्रले पहिलो तस्बिर १९८४ वैशाख १३ गतेको अंकमा वीरगन्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो काटिरहेको प्रकाशन गरेको थियो । गोरखापत्रले पहिलो विशेषाङ्क १९९८ भदौ १७ छापेको थियो । 

गोरखापत्रले १९९१ सालबाट आफ्नो सम्पादकको नाम छाप्न सुरु गरेको थियो । १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलोपटक ‘सम्पादक प्रेमराज’ भनी छापिएको थियो । गोरखापत्रको पहिलो प्रधान सम्पादक बालकृष्ण सम थिए । उनी २०१२ भदौ ३० गते देखि २०१४ असोज २३ गतेसम्म प्रधान सम्पादक रहेका थिए । 

गोरखापत्रले २००० असोज २९ गतेबाट अर्ध साप्ताहिकको आरम्भ गरेको थियो । अर्थात् हप्ताको दुई दिन मंगलवार र शुक्रबार गरी दुईपटक प्रकाशन हुन थालेको थियो । २००३ साल पुस ८ गतेबाट गोरखापत्र सातामा तीनपटक प्रकाशित हुन थालेको थियो । 

प्रकाशनमा आएको ५९ वर्षपछि अर्थात् २०१७ फागुन ७ गतेबाट गोरखापत्र दैनिक प्रकाशन हुन थालेको थियो । 

१९५८ देखि २०८२ सालसम्मको १२४ वर्षको यात्रामा गोरखापत्र जहानीया निरकुंश राणा शासन, प्रजातन्त्र, निरकुंश पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्था र गणतन्त्रको एउटा साक्षी बनेको छ । 

स्थापनाकालदेखि नै सरकारी नियन्त्रणमा रहेको गोरखापत्र आजसम्म पनि त्यसबाट बाहिर निस्कन सकेको छैन । राणा शासनमा राणाहरुले, पञ्चायती व्यवस्थामा राजा र प्रशासकले, प्रजातन्त्र र गणतन्त्रमा सरकारमा सहभागी राजनीतिक दलहरुले यसलाई आफ्नो ‘मुखपत्र’ बनाएको आरोप धेरैले लगाउने गरेका छन् । 

गोरखापत्रले सरकारको ताबेदारी र भजन मात्र गाउने भन्दै स्थापनाकालदेखि हालसम्म नै यसको व्यावसायिकता र विश्वसनीयतामाथि धेरैले प्रश्न उठाउँदै आएका छन् । 

“गोरखापत्र सरकारको मुखपत्र भयो भन्ने भाष्य नेपाली समाजमा कुनै न कुनै रुपमा रहेको छ । हामी यसलाई अस्वीकार गर्न सक्दैनौँ,” महाप्रबन्धक ऐरीले भने, “अब हामी यो भाष्य बदल्छौँ । यसको लागि पछिल्लो समय हामीले तीनवटा कुरामा रुपान्तरण गर्ने प्रयास गरिरहेका छौँ ।” 

पहिलो, गोरखापत्रमार्फत दिइने सम्पादकीय सामग्री, विषयवस्तु र प्रस्तुतलाई नागरिकमैत्री बनाइएको छ । 

यसको लागि ‘पहिला नागरिक आवाज’ भन्ने नीति अपनाउने उनले जनाए । सर्वसाधारणको आवाजलाई पहिलो प्राथमिकता राखेर सामग्रीहरु प्रस्तुत गरिने दाबी उनको छ ।

“त्यस किसिमको संरचना, पूर्वाधार हामीले निर्माण गरेका छौँ । पछिल्ला समयका कन्टेन्ट तपाईंहरुले विश्लेषण गर्नुभयो भने कुनै न कुनै रुपमा त्यस्तो किसिमले हामीले अभ्यास गरेको पाउनुहुन्छ । नागरिकको आवाज पहिलो भनेर नै प्रस्तुत भइरहेको छ । पहुँच पनि त्यही किसिमले विस्तार गरिरहेका छौँ,” महाप्रबन्ध ऐरीले भने । 

दोस्रो कुरा, गोरखापत्रलाई प्राविधिक रुपमा पनि युग सुहाउँदो बनाइएको छ । यो प्रक्रिया चलिरहने छ । उनले थप स्पष्ट पारे, “प्राविधिक क्षमतामा अभिवृद्धि गर्ने, जसको कारणले गर्दा नागरिकको पहुँच बढोस् र अपनत्व फिल होस् भन्ने हो ।” 

तेस्रो सुधार भनेको राज्यको नीति, कानूनसँग सम्बन्धित छ । “हामीले कानुनी संरचनाहरु, कानूनी नीतिगत अवधारणा परिवर्तन नगर्दासम्म सरकारको ताबेदारी गर्ने, सरकारको मुखपत्र भन्ने जुन भास्य छ, त्यो स्थापित भास्य परिवर्तन गर्न सक्दैनौं । अवधारणगत रुपमा, नीतिगत रुपमा र प्राविधिक रुपमा पनि रुपान्तरणको प्रयास गरेका छौँ,” महाप्रबन्ध ऐरीले भने ।

यसैअनुरुप ऐरीको नेतृत्वमा ऐनको मस्यौदाको लागि सुझाव दिने समिति बनेको थियो । सुझावमा औपचारिक रुपमा गोरखापत्र संस्थानलाई अब ‘सार्वजनिक प्रकाशन’को रुपमा विकास गर्नुपर्छ भन्ने कुरा समेटिएको छ ।

यसो गर्नुको कारण गोरखापत्र सरकारको भन्नेभन्दा पनि राज्यको मिडिया, राज्यको सञ्चारगृह भनेर चिनियोस् भन्ने हो ।

बजेटको विषयमा गोरखापत्र संस्थान स्वतन्त्र रहेको भनाइ उनको छ । गोरखापत्र संस्थानको आफ्नै बजेटको प्रणाली छ । आम्दानीको पनि आफ्नै स्रोत छ, खर्च त्यही आम्दानीबाट गर्छ । पछिल्लो समय संस्थान तीन वर्षयता नाफामा छ । यसैकारण अब गोरखापत्रलाई फरक शैलीमा अघि बढाउनुपर्ने बेला आएको उनी बताउँछन् । 

गोरखापत्रको १२५औँ वार्षिकोत्सव मनाउँदा यसैकारण गोरखापत्र दैनिकको भूमिका, योगदान, विश्वास, नेपाली समाजमा खेलेकोको भूमिकाको स्मरण गर्ने मात्र होइन समीक्षा गर्ने उनले जनाए । 

“गोरखापत्र प्रकाशनलाई नेपाली पत्रकारिताको प्रारम्भ भएको रुपमा लिने हुनाले यो प्रकाशनको १२५औँ वर्षको अवसरमा समग्र नेपाली पत्रकारिता, गुणस्तर, प्रभाव र जानुपर्ने बाटोको विषयमा पनि समिक्षा होस्, बहश होस् र छलफल होस् भनेर त्यस्ता खालका कार्यक्रम र गतिविधि गरिरहेका छौँ,” महाप्रबन्धक ऐरीले बताए ।

गोरखापत्र देशका ७७ वटै जिल्लामा पुग्छ । देशको तीन ठाउँ– काठमाडौं, विराटनगर र इटहरीबाट प्रकाशन हुन्छ । गोरखापत्रले ४५ भाषामा समाचार सामग्री दिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro