काठमाडौं । नेपाली रजतपटमा वार्षिक करिब डेढ सय चलचित्र बन्न थालेका छन् । यसमा अधिकांश लगानीकर्ता नेपाली नै हुन्छन् ।
तर, तिनैमध्ये अधिकांश निर्माता भने नदोहोरिएको पाइएको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ८० प्रतिशतभन्दा बढी निर्माता दोहोरिँदैनन् ।
यद्यपि, चलचित्र निर्माणका लागि इजाजत लिनेको संख्या भने घटेको छैन, अपवादबाहेक बढ्दै गएको छ । हरेक वर्ष नयाँ निर्माता आइरहेका छन् ।
किन दोहोरिँदैनन् निर्माता ?
चलचित्र बुझ्ने मान्छेले लगानी नगरेका कारण निर्माता नदोहोरिने गरेको निर्देशक, निर्माता तथा वितरकहरु बताउँछन् ।
चलचित्र उद्योगलाई नबुझी रहरका भरमा निर्माता आउनु निर्माता विस्थापन हुनु एउटा कारण रहेको निर्माता छविराज ओझाको ठहर छ । “हलहरू दुई किसिमका छन्, सिंगल थिएटर र मल्टिप्लेक्स । यी हलमा कुन खालका चलचित्र चल्छन् भन्ने कुनै निश्चित छैन,” निर्माता ओझा भन्छन्, “अनुमानका भरमा चलचित्रलाई हलहरू उपलब्ध गराउने गरिएको छ । आशा गरेको चलचित्र पनि चल्दैन, यो अर्को कारण हो लगानीकर्ता विस्थापन हुनुको ।”
उनले आफू ३० वर्षदेखि यही क्षेत्रमा रहेको बताए पनि धेरै निर्माता नदोहोरिने धारणा राखे ।
चलचित्र निर्देशक तथा निर्माता विकास आचार्य अरुको उक्साहटमा लागेर लगानी गर्ने नै डुब्ने गरेको बताउँछन् । “चलचित्र भनेको के हो नबुझी लहडका भरमा आउने नै विस्थापित भइरहेका छन्,” आचार्य भन्छन्, “सुरुबाट आजसम्म टिकिरहने २० प्रतिशतमात्रै हो, यो क्रम रहिरहन्छ ।”
यो संख्यामा निर्माता विस्थापित हुनुमा राज्य तथा चलचित्र उद्योग जिम्मेवार नरहेको उनको भनाइ छ । “उद्योग भएपछि सबैले लगानी गर्न पाउनुपर्छ । यसमा कुनै सीमा तोकिनु हुँदैन,” आचार्य भन्छन्, “कसैलाई विशेष सुविधा दिने अथवा प्राथमिकतामा राख्ने नीति ल्याएर पनि हुँदैन । बुझेर आउने दोहोरिन्छन्, साइड बिजनेस सम्झेर आउने जान्छन् ।”
युवा निर्देशक दिपेन्द्र के खनाल चलचित्रबारे ज्ञान नभएको व्यक्ति नै यो क्षेत्रबाट विस्थापन भइरहेको बताउँछन् । “चलचित्रबारे नबुझी लहडका भरमा लगानी गर्नेहरू फेरि चलचित्र बनाउँदैनन्,” खनाल भन्छन्, “चलचित्र बुझ्ने मान्छेले छोडेको छैन । छवी ओझा, निश्चल बस्नेत, रामबाबु गुरुङ छँदैछन्, म अहिले पनि छु । जसको रगतको नशामा चलचित्र छ र लगाव छ, उसले छोड्न सक्तैन ।”
नयाँ निर्मातालाई काउन्सिलिङको व्यवस्था पनि आवश्यक रहेको निर्देशक खनालको ठहर छ । कस्तो चलचित्र बनाउँदा कति खर्च लाग्छ, कति चल्दा निर्मातालाई कति आउँछ, कसरी चलचित्र बनाउने जस्ता कुरामा पनि चलचित्र विकास बोर्ड अथवा सञ्चार मन्त्रालयले काउन्सिलिङको व्यवस्था मिलाउनुपर्ने निर्देशक खनालको जोड छ ।
निर्देशक तुलसी घिमिरे पनि चलचित्र बुझेर नआउनु नै यो क्षेत्रबाट विस्थापित हुनुको मुख्य कारण ठान्छन् । “चलचित्र बुझेर भन्दा पनि लहडका भरमा आउनेको संख्या धेरै भयो,” निर्देशक घिमिरे भन्छन्, “हुनत संसारभर यस्तै हो । कोही आउने र कोही जाने भइरहन्छ ।”
चलचित्रको बिजनेस पारदर्शी नहुनु निर्माता पलायन हुनुको अर्को कारण रहेको घिमिरे बताउँछन् । बक्स अफिस लागु हुने हो भने यो समस्या केही हदसम्म घट्ने उनको विश्वास छ ।
चलचित्र वितरक गोपाल कायस्थ चलचित्रमा निर्माताका रूपमा बस्नेले ‘अनसिन’ निर्माताबाट पैसा लिएर लापरबाही गर्ने निर्माताका कारण निर्माता नदोहोरिने गरेको बताउँछन् । “चलचित्रबारे नबुझेको तर लगानी गर्न चाहने व्यक्तिलाई पैसा हाल्न लगाउने र आफ्नो लगानी उठाएर ‘सेफ’ भएपछि चलचित्र निर्माणदेखि प्रचार र प्रदर्शनसम्ममा हुने लापरबाहीले डुबेपछि कोही दोहोर्याएर लगानी गर्दैन,” वितरक कायस्थ भन्छन्, “यहाँ बाहिर देखिने एउटा भए पनि चलचित्रमा लगानी अर्कैको हुन्छ ।”
चलचित्र निर्देशक निश्चल बस्नेत कथा नबुझी लगानी गर्ने निर्माताको लगानी डुब्नु नै निर्माता नफर्किनुको कारण ठान्छन् । “चलचित्र स्क्रिप्टले बलियो हुन्छ भनेर थाहा नपाई सस्तोमा स्क्रिप्ट खोज्नु नै मुख्य कारण हो,” बस्नेत भन्छन्, “कथा नै चलचित्रको आत्मा भनेर नबुझेसम्म चलचित्र राम्रो बन्दैन ।”