काठमाडौं । निर्देशकहरूले नेपाली चलचित्र उद्योगलाई पारदर्शी र व्यवस्थित गर्न ‘बक्स अफिस’ लागु गर्नुपर्नेमा जोड दिइएका छन् । नेपाली चलचित्र उद्योग ‘बक्स अफिस’ लागु नहुँदा ‘भद्रगोल’ को अवस्थामा रहेको उनीहरूको भनाइ छ ।
“बक्स अफिस भयो भने धेरै व्यवस्थित हुन्छ । अहिले सबैलाई थाहा छ, वितरकहरूले ‘बक्स अफिस’ नहुँदाको फाइदा उठाइरहेका छन् ।” निर्देशक तुलसी घिमिरेले भन्छन्, “बक्स अफिस लागु हुने हो भने र लुप होलहरू नछोड्ने हो भने समग्र उद्योगमा ठूलो परिवर्तन आउँछ ।”
भारतमा बक्स अफिस रहेका कारण पनि त्यहाँ चलचित्र क्षेत्रमा लगानी गर्न आकर्षण देखिएको उनको भनाइ छ । “हरेक टिकटको हिसाब हुन्छ, लगानीकर्ताको पनि चित्त बुझ्छ,” निर्देशक घिमिरे भन्छन्, “बक्स अफिस लागु भयो भने सरकारलाई कति कर तिर्नु पर्ने हो त्यो पनि स्पष्ट हुन्छ । निर्माताले कति पाउने हो तोकिएको पाउने अवस्था हुन्छ । यति भयो भने नेपाली चलचित्र उद्योगमा क्रान्ति नै आउँछ ।”
निर्देशक दीपेन्द्र के खनाल पनि बक्स अफिस लागु गर्नुपर्ने विचार व्यक्त गर्छन् । प्रायः अधिकांश देशमा लागेको यो प्रणाली नेपालमा ढिलो चाँडो लाग्ने उनको भनाइ छ ।
“हुन त बक्स अफिस लागु हुँदैमा क्रान्ति नै आउँछ भन्ने होइन । यो टिकटमा फेयर गर्ने मात्रै हो,” निर्देशक खनाल भन्छन्, “जसरी अहिले बक्स अफिस लागु भयो भने चलचित्र उद्योग नै माथि पुग्छ भनिएको छ यो भने होइन ।”
आफ्नो बिजनेशको प्राइवेशी सबैलाई हुने भन्दै उनले ‘बक्स अफिस’ रिपोर्ट निर्माता, वितरक र हलबाहेक कसैलाई पनि थाहा नहुने उनले बताए । “चलचित्र विकास बोर्डमा सरोबर राखेर सबैलाई जानकारी हुने व्यवस्था मिलाउने भनिएको छ तर सरकारी निकायले अरुको प्राइभेसी भङ्ग गर्न पाउँदैन,” उनले भने, “के चौधरी ग्रुपको विजनेश रिर्पोट मागेर हामीले पाउँछौं ? ।”
निर्देशक विकास आचार्य ‘बक्स अफिस’ लागु भए चलचित्रको व्यापार व्यवस्थापन राम्रो हुने बताउँछन् । “बक्स अफिस लागु भए व्यापार पारदर्शी हुन्छ,” निर्देशक आचार्यले भने, “तर, यो प्रणाली लागु हुँदैमा चलचित्र उद्योगमा लगानी बढ्छ र आकर्षण बढ्छ भन्ने चाहिँ होइन कहाँ कति व्यापार भयो स्पष्ट सबैले जानकारी पाउने मात्रै हो ।”
चलचित्र उद्योगमा लगानी बढ्न र आकर्षण बढ्न राम्रा चलचित्र बन्नु पर्ने उनको धारणा छ । ‘बक्स अफिस’ लागु नहुँदा नेपालमा कुन चलचित्रले कतिको ‘बिजनेश’ गर्छन् यकिन तथ्यांक आउने गरेको छैन । निर्माता तथा चलचित्र वितरकले जति दाबी गर्छन् त्यसैलाई ‘कलेक्सन’को आधार मान्नु पर्ने अवस्था छ ।
यसैबीच, चलचित्र विकास बोर्डले ‘बक्स अफिस’ प्रणाली लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा आफ्नो मुख्य ‘एजेन्डा’ नै बक्स अफिस बनाएका बोर्डका अध्यक्ष राजकुमार राईले आफ्नो कार्यकालभित्र प्रतिबद्धता पूरा गर्ने अभियानलाई तीव्र पारेका हुन् । अध्यक्ष राईको कार्यकाल आगामी जेठमा सकिँदैछ ।
यसका लागि बोर्डले सम्भाव्यता अध्ययन तथा कार्यक्षेत्रगत शर्त र बोलपत्र कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरिसकेको छ । एक महिनाभित्र बोलपत्र सम्बन्धि कागजात बोर्डमा पेश गर्ने गरी कार्य अघि बढिसकेको छ ।
एक महिने सूचना निकालेर बोलपत्र आह्वान गरेपछि आवेदन दिने मध्येबाट मूल्यांकन समितिले मूल्यांकन गरेर अन्तिम टुङ्गो लगाउने बोर्डको तयारी छ ।
‘बक्स अफिस’ लागु गर्न हलहरूले अनिवार्य ‘ई–टिकट’ प्रणाली लागु गर्नुपर्छ । पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरुमा यो प्रणाली लागु गरिए पनि पूराना हलमा भने ‘ई–टिकेटिङ’को व्यवस्था छैन ।
नेपालभर ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । ३६७ हलमा १८३ वटा हल सञ्चालनमा छन् ।