मरेको बिरालोलाई उपियाँले पनि छोड्छ भन्ने उखान त दिपेन्द्र के खनालले गाउँमै सुनेका थिए तर भोगेका भने थिएनन् ।
सम्बन्धको परिभाषा दुई खालको हुन्छ भन्ने त उनले सोचेका पनि थिएनन् ।
तर, हुँदोरहेछ । जिन्दगीको एक कालखण्डमा उनी आफैंले भोगे । सम्बन्धका परिभाषाहरु फरक फरक हुँदारहेछन् ।
हुँदा एउटा परिभाषा, नहुँदा अर्कै परिभाषा ।
सम्बन्धको परिभाषा उनले त्यति बेला थाहा पाए, जतिबेला उनलाई साहुको ऋण लाग्यो ।
उनलाई केही फरक गर्नु थियो । अरु नहिँडेको बाटोमा पाइला उचाल्नु थियो । जोखिम मोलेरै पाइला उचाले । खुकुरीको धारमा हिँडे ।
र, बन्यो ‘भिजिल्यान्ते’
नेपालको पहिलो थ्रिलर चलचित्र ।
उनलाई ‘भिजिल्यान्ते’ को ट्रेलर हेरेर आफ्नै साथी भाइले किन जिस्किएको ? प्रश्न गरे ।
कतिले खिसिट्युरी गरे । केही वितरकले भिडियो चलचित्र भने । दिपेन्द्रलाई भिडियो चलचित्र निर्देशकको उपमा दिए ।
‘भिजिल्यान्ते’ थ्रिडी चलचित्र थियो । नेपालमा जम्मा दुईटा थ्रिडी हल थिए । साथीभाइले उनलाई टु डी बनाएर सबै हलमा लगाउन सल्लाह दिए ।
तर, उनलाई त्यो सल्लाह मन्जुर थिएन ।
किनकि उनलाई थ्रिडी चलचित्रको सुरुवात पनि गर्नु थियो ।
चलचित्र रिलिज भयो । दुइटा हलमा मात्रै चलचित्र प्रदर्शनमा आयो । एफक्यूब र क्यूएफएक्सको एकएक वटा पर्दामा ।
चलचित्रले लगानी उठाएन ।
दिपेन्द्रलाई जिन्दगीमा पहिलोपटक ऋण लाग्यो ।
५० लाख सानो रकम थिएन । ऋण कसरी तिर्ने ?
कुनै उपाए थिएन । चलचित्र नगरी छोडेर पलायन हुने दिपेन्द्र सोच्न पनि सक्तैन थिए ।
पैसा, साहु अनि समयसीमा ।
उनलाई सम्झ्यो कि तनाव हुन्थ्यो । पैसा जसरी पनि तिर्नु थियो । रजतपटमा जसैगरी पनि टिक्नु थियो । तर, उपाय थिएन ।
‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी ।’
यो उखान उनको जीवनमा लागु भइसकेको थियो ।
साथीभाइ टेढिइसकेका थिए ।
बलेको आगो ताप्नेहरुको समाज हो यो ।
अघिल्लो दिनसम्म आफ्नो अगाडि–पछाडि लाग्ने साथीहरुले उनको साथ छोडिसकेका थिए । देखे पनि नचिनेझैं गर्न थालिसकेका थिए । उनलाई साथ दिने कोही भएन । उनी नितान्त एक्लो महसुस गर्दैै थिए ।
जिन्दगी भन्नु नै वास्तवमा बक्ररेखाहरुको हिँडाइ रहेछ । कहाँ सधैं फाँटमात्रै भेटिँदोरहेछ र ? कति पट्यारिला तरेलीहरु पनि तर्नु पर्दोरहेछ ।
काटे उनले ती तरलीहरु, हिँडे अप्ठ्यारा उकालीहरु ।
० ० ०
ऋणले दिपेन्द्रका साथीहरु खोस्यो । उनी एक्लो भए । पशुपति जान थाले । पशुपतिको एकान्त नै उनको सहृदयी मित्र बन्यो । पशुपति नै घर जस्तो भयो । त्यहाँको वातवरण नै उनको संसार जस्तो भयो ।
कैयौं रात उनले पशुपतिमा बिताए । त्यहाँ उनी विगत सम्झिन्थे, वर्तमान हेर्थे । मथिंगलमा साथीभाइको छाया घुम्थ्यो । आफन्तको झझल्को आउँथ्यो ।
र, खोज्थे सम्बन्धको परिभाषा । त्यहीँ हो उनले खुट्याएको सम्बन्धको परिभाषा दुइटा हुन्छन् भनेर । मोटो खल्ती हुँदा एउटा परिभाषा अनि रित्तो खल्ती हुँदा अर्कै परिभाषा ।
० ० ०
सुनको गजुरसहितको पशुपतिनाथको मन्दिर, छेवैमा आर्यघाट । पारिपट्टि जंगल । त्यही जंगलमा जीवन चलाइरहेका जंगली जनावर । मान्छे, बाँदर, साधुसन्त, घाटे वैद्य अनि बेसहारा वृद्धवृद्धा पनि । आकारमा सानो त्यो पशुपतिमा ठूलो संसार अटेको छ ।
आखिर फिल्म निर्देशन कला हो । निर्देशकमात्रै न व्यक्ति हो । कलाकारको मन बडो सेन्सिेटिभ हुन्छ । सानो–सानो कुराले पनि छुन्छ, सानै कुराले दुख्छ र हाँस्छ पनि ।
दिपेन्द्रले त्यहीँ जीवन देख्न थाले । मान्छेको हुर्किरहेका सपना देख्न थाले । फूल्न खोज्ने तर निमोठिरहेका सपना पनि त्यहीँ देखे । उनलाई लाग्न थाल्यो, यहीँ छ चलचित्रको बडो आकर्षक कथा । उनले त्यहीँ देखे सपना चलचित्रको ।
दिपेन्द्र भन्छन्, –“म उल्टो हिँड्ने मान्छे । म सधैं उल्टै हिँड्दै आएको छु । र, ‘पशुपतिप्रसाद’मा पनि उल्टै हिँड्न मन लाग्यो ।”
उनले आफ्नो विगतलाई यसरी सम्झिए–
“भिजिल्यान्ते थ्रिडी बनाएपछि मेरो थाप्लोमा ५० लाख ऋण थियो । त्यो ऋणसँगै साथीभाइ र आफन्तको सम्बन्धको परिभाषालाई नजिकबाट नियालें ।”
सम्बन्धहरू भर्याङ चढ्छन् र ओर्लन्छन् । त्यसलाई नजिकबाट महसुस गरेका दिपेन्द्रले अगाडि भने, “त्यो बेला म पशुपति जान्थें । धेरै रातहरू अभाव र छटपटीमा त्यहीँ बिताएको छु ।
जिन्दगीलाई नजिकबाट अनुभूत गर्ने र चलचित्र बुझ्ने दर्शकलाई सायद थाहा हुनुपर्छ, ‘पशुपतिप्रसाद’को निर्देशक र कथाकार कस्तो खालको मान्छे होला भनेर । यो चलचित्रका धेरै कथा मेरो आफ्नै भोगाइ हो ।
चलचित्रमा पशुपतिप्रसादले ‘बा... म ५० हजार ऋण नतिरी तिम्रो अस्तु पनि सेलाउँदिन’ भनेर आकाशतिर फर्किएर भन्छ, त्यसमा मेरो ऋणको पनि कथा जोडिएको छ ।”
दिपेन्द्रले फेरि थपे, “म कसरी भनुँ तिमीलाई ती क्षण । मसँग कुनै शब्दै छैन व्यक्त गर्न । यो जीवन क्षणभंगुर छ । को कति बेला नरहन पनि सक्छ । तर, किन यति लोभी पापी छ हाम्रो मन ?
पशुपति ५० हजारको सपना देख्छ । एउटा औंठीका लागि बागमतीमा औंठीको वेगसँगै निसाना लगाएर हामफाल्छ । तर, त्यही औंठी नै उसको मृत्युको कारण बन्छ । सपनासँगै उसको जीवन पनि समाप्त हुन्छ । यही न हो हाम्रो जिन्दगी । यो कथा जन्मनुमा मेरो जिन्दगीको भोगाइ, समाजको दृष्टिकोण र हेराइ छ ।”
० ० ०
दिपेन्द्र आफैं भन्छन् ‘म उल्टो हिँड्ने मान्छे ।’
उनी पटक पटक उल्टो हिँडिसकेका थिए । खगेन्द्र लामिछानेको ‘टुल्के’ दिपेन्द्रको पपकर्न कम्पनीले वितरण गर्दा खगेन्द्र र रविन्द्रसिंह बानियाँसँग उनको भेट भएको थियो ।
दिपेन्द्र एक मध्य दिउँसो अफिसको छतमा टहलिरहेका थिए । खगेन्द्र र रविन्द्रसिंह बानियाँ आइपुगे ।
उनीहरूले हामीसँग एउटा कथा छ, तपाईंसँग काम गर्नुपर्यो भने ।
दिपेन्द्रले मसँग पनि एउटा कथा छ, जसको राम्रो हुन्छ त्यहीमा काम गरौं भने ।
खगेन्द्रले एउटा गाउँको कथा सुनाए । कथा राम्रो थियो । व्यावसायिक थियो । तर, खर्चालु थियो ।
खगेन्द्रपछि कथा सुनाउने पालो आयो दिपेन्द्रकोे । आफूले लेखिरहेको पशुपतिप्रसादको कथा दिपेन्द्रले सुनाए । खगेन्द्रलाई कथा मन पर्यो । ल, यही पहिला गरौं । म तयार छु भने ।
स्क्रिप्ट तयार भयो । तर, स्क्रिप्ट तयार हुँदासम्म सबैले हात निकाले । पपकर्नकै कति साथीहरूले पनि यस्तो चलचित्र नगर्न दिपेन्द्रलाई सल्लाह दिए । अन्तिममा जम्मा दुई जना बाँकी भए, दिपेन्द्र र खगेन्द्र ।
यसमा दिपेन्द्रको आफ्नो इमोसन कथा थियो । उनलाई चलचित्र जसरी पनि बनाउनु थियो । तर, सबैले छाडेको देखेर खगेन्द्रलाई भने, “तपाईंको पनि मनमा कतै शंका लागेको छ भने नगर्नुस् । म आफैं बनाउँछु तर अभिनयचाहिँ गर्दिनुुस् ।”
खगेन्द्रले ‘होइन, म कन्भिन्स छु, बनाउन तयार छु बराबरी लगानी गरेर बनाऊँ’ भने ।
र, बन्यो ‘पशुपतिप्रसाद ।’ दिपेन्द्रको अनुहारमा सन्तुष्टिको भाव देखियो ।
“बजार एकातिर दौडिरहेको हुन्छ, म त्यसको ठिक विपरीत ध्रुवमा हिँडिरहेको हुन्छु । तर, मैले यसमा आफ्नो कुरा भन्न पाएँ । पहिला चलचित्रमा आफू नै कन्भिन्स हुन सकियो भने त्यो दर्शकलाई पनि मन पर्छ भन्ने मेरो मान्यता हो,” उनको ठम्याइ छ ।
० ० ०
अब बन्न लागेको फिल्म ‘लब लब लब’ मा पनि उनले ‘रिस्क’ लिएका छन् । यहाँ पनि उल्टै हिँडेका छन् ।