देश
काठमाडौं । चोरी गर्न दुनियाँ चहार्ने दक्षिण अमेरिकी राष्ट्र पेरुका तीन जना चोर नेपालको विमानस्थलमा पक्राउ परेका छन् । असार २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरेका ती चोरको देखाउने उद्देश्य नेपाल भ्रमण भए पनि उनीहरू चोरी गर्नै नेपाल आएको प्रहरीले जनाएको छ ।
संसारका पाँचवटा विमानस्थल पेरु, ब्राजिल, तान्जानिया, दक्षिण अफ्रिका र मस्कट हुँदै नेपाल आएका तीन जना चोर अहिले महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरी हिरासत कक्षमा छन् ।
उनीहरूले चोरी गरेको सबुत प्रमाण प्रहरीले जम्मा गरिसकेको छ । तर पनि उनीहरूले सहजै मुख खोलेका छैनन् ।
पेरुबाट चोरी गर्ने उद्देश्यले नै उनीहरू नेपाल आएको पुष्टि भएको त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले बताए । निरौलाका अनुसार असार २४ गते नेपाल प्रवेश गरेका उनीहरूले २५ गते भारतीय नागरिक सुनन्दा अंकिताको लगेजमा रहेको दुई लाख भारतीय रुपैयाँ चोरी गरेका थिए । “कसैले नपत्याउने गरी तिनीहरूले अंकिताको लगेजबाट रकम निकाले, जुन हामीसँग कैद भएको सीसीटिभी फुटेजमा स्पष्ट देखिन्छ,” डीआईजी निरौलाले भने ।
पेरुका नागरिकहरू जेभियर फ्रान्सिस्को, लुइस अल्बर्टो र अलिपियो ओर्टिजपेना चोर्नकै लागि नेपाल आएको प्रहरीले बताएको छ । उनीहरू असार २६ गते नेपालबाट इन्डोनेसिया जाने तयारीमा थिए । २५ गते चोरी गर्न सफल भएका उनीहरू २६ गते नै पक्राउ परे ।
कसरी पक्राउ परे ?
असार २५ गते शनिबार दिउँसो विमानस्थल परिसरबाट भारतीय नागरिक अंकिताको लगेजबाट दुई लाख भारतीय रुपैयाँ चोरी गर्न सफल भएका तीन चोर भोलिपल्ट इन्डोनेसिया जाने तयारीमा थिए । नेपालको पहिलो खेप सफल भएको ठान्दै उनीहरू इन्डोनेसिया पुगेर फेरि नेपाल आउने योजनामा रहेको प्रहरीले जनाएको छ ।
अंकिताले लगेजबाट रकम चोरी भएको भन्दै विमानस्थल प्रहरीलाई उजुरी गरिन् । २५ गते बिहानैदेखिको सीसीटिभी फुटेज हेर्दै जाँदा पेरुबाट आएका तीन यात्रुको शंकास्पद गतिविधि देखेपछि विमानस्थल प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । २६ गते बिहान विमानस्थलमै उनीहरू पक्राउ परे ।
कसरी आए नेपाल ?
प्रहरी वृत्त गौशालाको थुनामा रहेका चोरहरूले खुलेर बयान दिन मानेका छैनन् । पक्राउ परेलगतै उनीहरू आफूहरू नेपाल गुम्न आएको र प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै जंगिएका थिए । तर, प्रहरीले सीसीटिभीको फुटेज देखाएपछि चोरी नगरेको तर झोला हेरेको भन्दै बयान फेरेको प्रहरीले जनाएको छ ।
जुलाई दुई तारिखमा उनीहरू पेरुको विमानस्थलबाट ब्राजिल आएका थिए । त्यसपछि उनीहरू तान्जानिया पुगे । चार दिन तान्जानियामा बसेर जुलाई आठ तारिखमा उनीहरू नेपाल आएको प्रहरीले जनाएको छ । विमानस्थलमा ओर्लिनेबित्तिकै तीनैजनाले एनसेलको सिम कार्ड लिए र सिधै काठमाडौंको ज्याठामा गएर दुईवटा स्कुटर भाडामा लिए ।
बा ६५ प ३०५६ र बा ६८ प ७७५२ नम्बरको स्कुटर भाडामा लिएर उनीहरू २५ गते विमानस्थल प्रवेश गरे र उनीहरूले चोरी गर्ने सम्भावित व्यक्तिको लगेजको ‘रेकी’ गरे, जसमा भारतीय महिला परिन् ।
उनीहरूले जुन–जुन देशको विमानस्थल प्रयोग गरे, त्यहाँको मुद्रा उनीहरूको साथबाट बरामद भएको छ । यसबाट उनीहरू चोरी गर्दै नेपाल आइपुगेको प्रहरी बताउँछ । आफूहरू जुन देशमा चोरी गर्न जाँदैछन्, पहिले त्यहाँको बारेमा पूरै जानकारी लिने गरेको प्रहरीको ठहर छ ।
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३ १२:४१
प्रतिक्रिया दिनुहोस्