देश
काठमाडौं । ०७२ असोजमा गोरखाका सिजन अधिकारी, काभ्रेका ज्ञाना लामा र सरोज लामालाई प्रहरीले पक्राउ ग¥यो । उनीहरू काठमाडौंका विभिन्न रेस्टुरेन्टमा काम गर्थे । होटलमा काम छाडेर उनीहरू एकाएक नक्कली सुन देखाएर रकम ठगी गर्ने काममा लागे र केहीलाई ठगे पनि ।
उनीहरुले काठमाडौंका केही व्यापारीलाई नक्कली सुनका ढिक्का देखाउँदै लाखौं रकम ठगी गरे । भारतबाट मिस्त्री नै बोलाएर काठमाडौंमा राखी उनीहरुले बाहिर सुन, भित्र फलाम हाल्दै सुनजस्तै गरी केही व्यापारीलाई ठगेका थिए ।
यो गिरोहबाट १२ लाख ठगिएका एक व्यापारी भन्छन्, “ती केटाहरु मैले चिनेकै हुन् । माडेसँग चोरेको सुन छ, सारै आपत् प¥यो, कि बेचिदिनुप¥यो कि २ दिनलाई यो सुन राखेर १२ लाख दिनुप¥यो भन्दै पैसा लिएर फरार भए ।” यस्तो प्रलोभनमा ठगिएका धेरै व्यापारी भएको उनले बताए । “दुई नम्बरीको सुन कारोबार गर्ने भन्दै आफ्नै लाज हुने भएका कारण ठगिएका व्यापारीहरु मौन बस्छन्,” उनले बाहखरीसँग भने ।
अर्को घटना हो ०७२ वैशाख २१ गतेको । दोलखा भीमेश्वर नगरपालिका–७ जिलुकी मेनुका चौलागाईंको कपडा पसलमा दुई जना ग्राहक आए । कपडा किन्न खोजे तर मोल नमिलेर फेर्केर गए । साँझ फेरि तिनै व्यक्ति आए सामान किने अनि चिनजान पनि गरे । कुरा गर्दै जाँदा उनीहरुले चौलागाईलाई आफूसँग भएको सुन कारोबार गर्ने अफर गरे । ‘भूकम्पताका चीनबाट ल्याएको सुन साथीसँग छ, बेच्नुपर्ने छ, तर त्यो साथीबाट सुन ल्याउन १५ लाख रकम चाहिन्छ’ भन्दै चौलागाईंसँग १५ लाख लिन सफल भए । रकम लिएको केही दिनमा सुन ल्याउँछौं भन्दै कुराए तर केही दिनपछि उनीहरु फरार भए । चौलागाईंबाट १५ लाख ठगी गरेको उक्त समूहले दोलखाकै एक अर्का व्यापारी ठग्न सुरु गरेको थियो । त्यो कुरा चौलागाईंलाई थाहा भयो र उनीहरुको राज खुल्यो । चौलागाईंकै सूचनाका आधारमा नक्कली सुन देखाएर ठगी गर्ने सिन्धुपाल्चोक गाती–७ का दावा ग्याल्जेन शेर्पा, गोपाल श्रेष्ठ, बाह्रबिसे–४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ ग¥यो ।
काठमाडौंको पुरानो बसपार्कमा पनि गएको असार २९ गते नक्कली सुन देखाएर सक्कली सुनका गहना लिएर एक व्यक्ति फरार भए । सिन्धुपाल्चोक चौताराकी २९ वर्षीया लक्ष्मी थापालाई एक जना अपरिचित व्यक्तिले एक किलो नक्कली सुन देखाएर दुई तोलाबराबरको सक्कली सुनका गहना लगेका थिए । थापालाई ठग्ने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
महानगरीय प्रहरी पसिर काठमाडौंका प्रमुख एसएसपी विक्रम थापाले नक्कली सुनको बिगबिगी रहेको भन्दै सुनको कारोबारमा ध्यान दिन आग्रह गरेका छन् । “चोरी निकासी गरी ल्याएको सुनको कारोबार गर्नु आफैंमा अपराध हो । ठगहरूले सुनजस्तै धातुका वस्तु देखाएर ठगी गर्ने गरेको धेरै गुनासा आउन थालेका छन्,” थापाले भने, “ठगिनेहरूले खुलेर उजुरी गर्दैनन् । तर पनि फाट्टफुट्ट उजुरी आएका छन्, हामी अनुसन्धान गर्दैछौं ।
प्रकाशित मिति: आइतबार, साउन २, २०७३ १२:०४
प्रतिक्रिया दिनुहोस्