विदेश
काठमाडौं । सिरियाका राष्ट्रपति बसार अल असदले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आतंकवादविरुद्धको लडाइँका लागि सिरिया सहयोगी हुन सक्ने आशा गरेको तर उनको अहिल्यै मूल्यांकन गर्ने कामप्रति आफू सतर्क भएको बताएको बीबीसीले जनाएको छ ।
असदले ट्रम्पले चुनावी प्रतिबद्धता पूरा गरेको खण्डमा आतंकवादविरुद्ध लड्न सिरियाको एक ‘प्राकृतिक मित्र’ हुन सक्ने पनि बताएका छन् ।
तर उनले आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्छन् भन्नेमा शंका रहेको बताएका छन् ।
ट्रम्पले यसअघि सिरियाको सैन्य बल तथा इस्लामिक स्टेट दुवैको विरोध गर्नु बहुलठ्ठीपन भएको र सिरियाविरुद्धको युद्ध अन्ततः रसियाविरुद्धको युद्धमा परिणत हुने बताएका थिए ।
यसैबीच सिरियाको अलेप्पोमा सरकारी सेनाको बमबारी जारी रहेको बताइएको छ । मंगलबार पनि सरकारी युद्धक विमानहरूले व्यापक बम वर्षा गरेका थिए ।
सन् २०११ मा सुरु भएको सिरियाको गृहयुद्धमा अहिलेसम्म तीन लाख मानिसहरूको मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३ १२:१८
प्रतिक्रिया दिनुहोस्