विदेश
काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको नतिजा घोषणा भएको एक हप्ता पुग्न लागेको भए पनि मानिसहरूमा डोनाल्ड ट्रम्पको जीतप्रतिको असन्तुष्टि अझै कम हुन सकेको छैन । हालै एक उडिरहेको विमानभित्र दुई यात्रुबीच भएको झगडाले पनि यसलाई पुष्टि गर्छ ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टका अनुसार अमेरिकाको सान फ्रान्सिस्कोबाट मेक्सिकोको पुएर्ता भालार्टा गइरहेको युनाइटेड एयरलाइन्सको विमानमा यात्रुहरूबीच ट्रम्पको विषयलाई लिएर व्यापक बहस भयो । बहस यति अगाडि बढ्यो कि ती दुई यात्रुबीच हात हालाहालको अवस्था आयो । अन्त्यमा गएर झगडा सुल्झाउनका लागि पाइलटले हस्तक्षेप नै गर्नुपरेको थियो ।
वासिङ्टन पोस्टका अनुसार उक्त झगडाको एक भिडियो विमानमै रहेका जोन बौएर नामका अर्का एक यात्रलेु रेकर्ड गरेर युट्युबमा पोस्ट गरेका थिए ।
पाइलटले कसरी झगडा सुल्झाएका थिए भन्ने उक्त भिडियोमा देख्न सकिन्छ । घटना हुँदा विमान ३५ हजार फिटमाथि रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३ १३:२५
प्रतिक्रिया दिनुहोस्