काठमाडौं । सरकारले पत्रकारका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५०० कार्यान्वयन भए/नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मंसिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ ।
समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन बारे गुनासो आएपछि अनुगमन गर्ने तयारी गरिएको समितिका अधयक्ष पोषण केसीले जानकारी दिए । “न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन गर्न सञ्चार मन्त्रालय, पत्रकार महासङ्घ, प्रेस काउन्सिल लगायत पेसागत सङ्घसङ्गठनको सहभागितामा रेडियो, टिभी र छापामाध्यम गरी तीनवटा अनुगमन समिति गठन गरिएको छ, मङ्सिर सुरू भएसँगै अनुगमन थालिनेछ,” अध्यक्ष केसीले भने । सरकारले न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको जनाउँदै आएपनि नेपाल मिडिया सोसाइटीलगायतका निजी सङ्घसङ्गठनले भने कार्यान्वयन गर्न नसक्ने जनाउँदै आएका छन् । रासस