site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वैंशालु बुढ्यौली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
आफू जवान छु भन्ने भ्रम हो कि वास्तविकता हो– यो पालेरै बसेको छु । आफूभन्दा ठूलाले दाइ भनिदिँदा यति रिस उठ्छ कि मानौं ऊ नै मेरो पहिलो दुश्मन हो । 
पसलको पछाडि लक्ष्मी दराज छ, ठूलो सिसा भएको । प्रत्येक पाँच÷छ मिनेटको फरकमा यही दराजको सिसामा पुलुक्क अनुहार हेर्छु ।
जस्तो बनायो, त्यस्तै बन्छ मेरो अनुहार । खिस्स हाँस्छु । आफैंले आफैंलाई हुरुक्कै ह्यान्डसम मान्छु । सलमान, साहरूखभन्दा कता हो कता सुन्दर पाउँछु । फेरि अनुहार बिगार्छु, रिसाएजस्तो बनाउँछु– पूरै भिलेनजस्तो देख्छु । मद्रासी फिलिमको गुन्डाजस्तो । हेर्दै डरलाग्दो ! छिः ! कस्तो जन्मिएछु !
यो क्रम दैनिक चल्छ । कपाल भिजाउने, आँखा तन्काएर अझ राम्रो देखिन खोज्ने अनि दाँत हेर्ने क्रम प्रत्येक घण्टा चल्छ । अहिले यो लेख्दै गर्दा पनि पाँच पटक हेरिसकें, मिलाइसकें ।
“अंकल, आधा केजी मासु दिनुस् त !”
एउटी राम्री नानीले सिधै अंकल भनेर सम्बोधन गरिन् । यति धेरै रिस उठ्यो कि सहनै सकिनँ । पसलमा अरु पनि ग्राहक थिए । प्याच्चै भन्दिएँ, “उमेरमा बराबर हौंला, केको अंकल नि ? दाइ भन्न सक्दिनौ ?”
उनी मरुन्जेल हाँसिन् । अरु पनि हाँसे । अनि फेरि लुकेर ऐना हेरें । उस्तै ह्यान्डसम मान्छु त हाँस्दा !
यो त पसलका कहानी भए ।
अर्को तनाव हुने स्थान कपाल काट्ने सलुन हो । प्रायः म अरुको सलुन जाँदिनँ । एक ठाउँ छ– जो मेरो सुख–दुःख बुझ्छ । उसको सलुनमा पस्नासाथ पहिले टाउकोदेखि पैतलासम्म आफूलाई हेर्छु । कति राम्रा लुगा लगाको छु, गोरो छु, स्लिम छु । चट्ट मिलेको शरीर छ । तर अभागी म ! गाला यति छिट्टै चाउरी परेको !
गाला यता छाम्छु, उता छाम्छु । कतै पाउरोटीजस्तो पोटिलो पाउँदिनँ, मुग्लिन–नारायणगढ बाटोजस्तै खाल्डाखुल्डीमात्रै । यहाँ पनि हाँसेको नाटक गरेर आफूलाई सकेसम्म ह्यान्डसम देखाउन खोज्छु । हाँस्दा पनि अनुहार खुम्चेर होला– चारैतिर चाउरीपनामात्र देखियो । हरे शिव ! एक पटकको जुनीमा किन यति नराम्रो भएर जन्मिएँ म !
यस्तै कुरा मनमा खेलाउँदै गालाका डन्डिफोर निचोर्दै थिएँ, सलुनवालाले भन्यो, “इसमे बस्नुस्, हामी खाली भएछु ।”
म कपाल काट्न कुर्चीमा बसें । ठाकुरले पानी छर्कियो, काइँयोले कपाल मिलायो अनि कपाल काट्दै गर्दा भन्यो, “बाल काला करे ? बहुत सफेद हो गया आपका बाल !”
छेउछाउमा कपाल कटाउँदै गरेका तन्नेरीहरूले पुलुक्क हेरे । लाज लाग्यो । आधाभन्दा बढी कपाल सेत्तै फुलेका थिए । नभनोस् पनि कसरी ! आफूलाई जवान छु भन्ने भ्रमको पर्दाफास यही कपालले गराउँदै थियो ।
“नहीँ यार, हमे सफेद बाल पसन्द हे !”
ठग्दिएँ, सफेद बाल कसलाई पसन्द होला र हुन त ! तर, मेहन्दी लगाएको कालो मलाई मन पर्दैन । ठाकुरले हल्का कमाइको आशा गरेकै रहेछ क्या हो । फेरि दिमाग चाट्न सुरु ग¥यो, “आप अभी जवान हे, पर बाल सफेद । लगालो, अच्छे दिखोगे ।”
उसले जवान भनेसि मन फुरुंग भयो । ऊ अब ५० रुपैयाँ टिप्सको हकदार भयो । कहिलेकाहीँ यस्तै मान्छे भेटिन्छन् र फेरि आफूप्रति विश्वास जाग्छ ।
“फेसवास कर्दे भैया ?” ठाकुरले कपाल काटिसकेर सोध्यो ।
नाइँ भन्ने कुरै भएन । दशथरी क्रिम र तरल पदार्थ लगाएर अनुहार रगड्यो, लास्टमा पानीले पखाल्यो । सिसामा हेरेको अझ बढी गोरो भएछु । अरे वा !! गोजीबाट २५० गयो । टिप्सको लागि ५० पनि गयो । कुल ३ सयमा अलि हेर्नलायक भएर घरमा गएँ ।
कपाल, दाह्री अनि फेसवासले गर्दा होला, बाटोमा कोही भेटिएर ‘ओहो ! क्या हेन्डसम देख्या’छस् त बड्डा !’ भन्ने मान्छे भेटिए हुन्थ्यो भन्दाभन्दै घर आइपुगें ।
सरासर गएर बूढीको ड्रेसिङ टेबुलको ऐनामा हेरें । बूढीले पछाडिबाट मलाई नियालिरही । कपाल ठाडो बनाएँ, आँखा तन्काएँ अनि मुखमा हावा भरेर गाला फुल्लाएँ । ‘हुँ हुँ’ गर्दै दुर्गेश थापाको गीत गुनगुनाएँ । पछाडि उभिएकी बूढी मस्तले हाँसी ।
“अनुहार चाउरी परेर क्यै बाँकी छैन, अझै नक्कल पार्ने है ?” बूढीले व्यंग्य गरी ।
झनक्क रिस उठ्यो । यतिबेरसम्मको खुसियालीमा बज्र प¥यो । फेरि गाला चाउरिए । निधारमा गाँठो प¥यो ।
“मेहन्दी लगाउनुपर्छ नि । कस्तो फुल्या त कपाल पनि । घरको बाभन्दा जेठोजस्तो,” बूढीले मेरो भर्खरै काटेको कपाल मुसार्दै माया पोखी ।
म फिलिङ सेन्टीमा थिएँ । उसलाई भने, “फुलेका कपाल निकाल्दे न त ।”
“कति निकाल्नु, लगभग पूरै फुल्या छन् । सेट्टी बनाइदिम् उखेलेर ?” उसले हल्का हाँस्दै मजाक गरी ।
म पनि हाँसें अनि फेरि सिसामा कपाल हेरें, अगाडिका लगभग कालै थिए, तालु र पछाडि अलि धेरै फुल्या छन् रे !
म बूढो देखिनु बूढीको पनि पीडा हो । चाउरी परेको सन्चो हुने भन्दै अनेकथरी क्रिम किनेर ल्याइदिन्छे । दुई दिन लगाउँछु, अनि केही फरक नपाएसि फाल्दिन्छु । फेरि अर्को आइपुग्छ । अस्ति पतञ्जलीको फेसवास र एन्टीरिंकल क्रिम ल्याइदिई । लगाएको थिएँ, आज नाकको टुप्पामा दुइटा डन्डिफोर निस्क्या छन् ।
नुहाउने बेला जहिले पनि पतञ्जलीको फेसवास पु¥याइदिन्छे । म हैरान छु, ह्यान्डसम भइने हैन, बेकारको दुःखमात्र । अझ नुहाइसकेर एन्टीरिंकल क्रिम नलगाई पसल गएँ भने बूढी रिसाउँछे । लगाएर गयो, सबैले उडाउँछन् । दलिएको क्रिम स्पष्ट देखिन्छ अनि ‘बुढेसकालमा जवान बन्ने रहर’ भन्दै साथीभाइ गललल हाँस्छन् । लगाउनै लाजमर्दो ।
पसलमा तनाव, सलुनमा तनाव, घरमा तनाव त छँदैछ । साथीभाइमाझ पनि तनाव हुन्छ । म जवान छु भन्ने होडबाजी सबैलाई हुन्छ । सबैभन्दा जवान हुँदाहुँदै पनि अनुहारमा आएको चाउरीपना र उमेर नपुग्दै फुलेको कपालका कारण धेरै ठाउँमा तनाव हुन्छ ।
अस्ति एकदिन रेस्टुरेन्टमा बसेर खाजा खाँदा मभन्दा तीन वर्ष जेठा दाइले केटीकै अगाडि दाइ भन्दिए । दाइ त द ठीकै पनि सुनिदो हो– कसैले अंकल भन्दियो भने त्यो दिनभर मन खुल्दैन ।
एउटा ‘हेल्थ टिप्स’मा पढेको थिएँ– मान्छे जवान देखिन र अनुहार पोटिलो बनाउन दैनिक काजु सेवन गरौं ।
आइडिया सही होला भनेर महसँगै काजु किनें । एक सय ग्राम काजुलाई १६० रुपैयाँ ।
घरमा आउँदा बूढी हल्का रिसाई, “घरमा खाने अन्न छैन, काजु किन्ने ? दिमाग नभा’को ।”
उसलाई सम्झाउँदै भने, “यसले अनुहारमा चमक ल्याउँछ रे ! चाउरीपना निर्मुल गर्छ रे ! पत्रिकामा पढ्या हुँ ।”
कुरा सुनेर बूढी पनि खुसी नै भई ।
एक सय ग्राम काजु बचाई–बचाई खाएँ । छोराले नखाइदेओस् भनेर लुकाएर राखें । पायो भने उसलाई पनि दैनिक चाहिन्छ । लुकाएर राखेको काजु एक साता खाएँ । अनुहारमा चमक त परैको कुरा, बरु ग्यास्ट्रिकले सतायो ।
पछि एकजना आयुर्वेदिक औषधि विक्रेतालाई सोधें । ग्यास्ट्रिक भएको मान्छेले काजु नखाँदा राम्रो भने । एक सातासम्म खाएको काजुले दिनभरि पसलमा ड्वाँ–ड्वाँ डकार्ने बनायो तर ह्यान्डसम बनाएन ।
तन्नेरी देखिने रहर हरेकलाई हुन्छ । पल्लो छेउमा पसल गर्ने खनाल बाजेले ६० काटे, तर अझै पनि जुँगामा कालो मेहन्दी लगाउँछन् । जुँगामात्र हैन, नाकको प्वालमा भएका दुई–चारवटा भुत्लासमेत रंगाउँछन् उनी । कसैले बाजे भने यसरी रिसाउँछन् कि मानौं त्यो उनको जन्मजात दुश्मन हो । अलि पर ब्युटीपार्लर गर्ने कृष्टि अन्टी ५० कटिन् । तर, तिनको नक्कल देख्दा लाग्छ– उनी भर्खर जवान हुँदैछिन् । कसैले अन्टी भन्नुपर्छ, घुरेर हेर्छिन् अनि बेतालको रिस पोख्छिन् ।
जवानीमा बूढो अनुहार भएर मलाई निक्कै समस्या परेको छ । चाउरिएको गालालाई हेरेर अंकल भन्नेहरू मेरा सबैभन्दा ठ्ूला दुश्मन हुन् । हर्मोनको गडबडीले कपाल सेतै देखेर उमेरको अड्कल गर्नेहरूप्रति म कहिल्यै सकारात्मक छैन ।
अस्ति फेसबुकमा एउटी नानीको फ्रेन्ड रिक्वेस्ट आयो । आहा क्या राम्ररी ! तत्काल एसेप्ट गरें । उनले साथी बन्न अनुरोध गरिन् । पहिले म बोल्न त भएन भनेर चार दिनसम्म बोल्दै बोलिनँ । कुर्दाकुर्दै साता बित्यो । चौबीसै घण्टा अनलाइन बस्ने ती नानी नबोलेपछि आफैं बोलाएँ, “हेल्लो !”
चिन्नु न जान्नु सिधै ‘नमस्ते अंकल !’ भनेर रिप्लाई गरिन् । म्यासेज हेर्दै रुन मन लाग्यो । झनक्क रिस उठ्यो, कन्सिरी ताते । उनको प्रोफाइल खोलेर हेरें । ‘मी एन्ड माई लभ्ली हब्बी’ भनेर फोटो हालेकी रै’छिन् । बिहे भइसकेकी युवतीले अंकल भन्ने उमेर भयो होला त मेरो ? धेरैबेर घोत्लिएँ । गएर फेरि अनुहार हेरें । अहँ– सात कोश परसम्म बूढोको लक्षण देखिनँ ।
“अंकलजस्तो छु र ? उमेर कति भो तिम्रो ?” हल्का रिसाएको पारामा सोधें ।
उनले हाँस्दै भनिन्, “हाहाहा २१ !”
“सँगैका रहेछौं, केको अंकल नि फेरि ?” उनलाई रिप्लाइ गरें ।
पठाएको दुई सेकेन्डमै लेखिन्, “अनुहार हेर्दा मेरो बाबा बराबरको मानेर अंकल भनेको नि !”
अब बोल्नु केही बाँकी थिएन । हाँसेर म्यासेज पठाइदिएँ अनि फेसबुकै लगआउट गरें ।
किनमेलमा पनि निक्कै सास्ती हुन्छ । गएको महिना जुत्ता किन्न पसल गएँ । दुकानदारले बूढापाकाले लगाउने जुत्ता देखायो । मैले ‘अरु’, ‘अरु’ भन्दै गएँ । उसले ¥याकै खाली हुने गरी जुत्ता देखायो । मन पर्ने एउटा पनि नदेखाएपछि मैले आफैं भने, “कन्भर्स जुत्ता देखाऊ न यार । के बूढाले लगाउने देखाको ?”
ऊ ट्वाँ प¥यो । हाँस्दै भन्यो, “उमेरको पनि ख्याल गर यार दीपक, बुढेसकालमा कन्भर्स सुहाउँदैन । बरु स्पोर्ट्स सुज लगाऊ !”
अब ट्वाँ पर्ने पालो मेरो । रिस उठ्यो । गोजीबाट नागरिकता निकालेर त्यसको मुखैमा बजारूँझैं भयो । नागरिकता देखाएर सोध्न मन लाग्यो, “कसरी भएँ बूढो ?” 
जुत्ता नकिनी फर्किएँ ।
आफूभन्दा बूढाले ‘दाइ नमस्कार’ भन्दा पनि रिस उठ्छ । अस्ति यही कुरा एक जना दाइलाई गरें । उनले भने, “केटीले दाइ भने पो पीर गर्नू । कसैले आदर गर्छ, नमस्ते गर्छ अनि ढोग्छ भने गजब !”
“तर यहाँ केटाले दाइ भन्छन्, केटीले सिधै अंकल भन्दिन्छन् र पो पीर लाग्छ,” मैले पनि दाइको कुरा ठीकै मानें । 
हुन त मान्छे सबै एकपटक बूढो हुनैपर्छ, मर्नैपर्छ । तर, समयभन्दा अगाडि अनुहार बूढो हुनु निकै पीडादायी हुन्छ । मन जवान हुनु, शारीरिक अवस्था जवान हुनु तर अनुहारचाहिँ ६० काट्या’जस्तो देखिनु कसैको श्राप नै हो कि जस्तो लाग्छ । सबैले ‘हेल्लो सर’ भनून्, आफूलाई मिल्ने युवतीले ‘हेल्लो दीपकजी’ भनून् भन्ने आशा हुँदाहुँदै पनि दादा, अंकल बन्नुपर्दा निकै हेपिएको महसुस हुन्छ ।
कसम ! ‘दाइ नभन्नू ल’ लेखिएका धेरै पोस्ट फेसबुकमा सेयर गरेको छु । अस्ति त एउटा निवेदनै भेट्टाएँ, दाइ नभनिदिन अनुरोध गरेर लेखिएको ठट्यौली निवेदन । चार पटक फेसबुकमै सेयर गरें । खुबै मन छोयो । अलि अस्ति ‘बाह्रखरी’मै एकतारलेले ‘दाइ नभन्नू ल’ ब्लग लेखेर मेरै मनको कुरा भनिदिए ।
पीडालाई जति तन्काउन खोजे पनि त्यस्तै हो । मेरो एउटा मात्रै आग्रह छ–
उमेर सोधेर मात्र दाइ र अंकलको नाता लगाइदिनुहोला । खुम्चिएको अनुहार हेरेर प्याच्च दाइ अथवा अंकल नभनिदिनुहोला । विन्ती ।
– घोराही, दाङ
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC