site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उपभोक्ता मुद्रास्फीति १३ वर्षकै कम, आर्थिक परिदृश्य मिश्रित रहने

काठमाडौं । आर्थिक वर्ष २०७४–७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति २००१–०५२ पछि सबैभन्दा कम रहेको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७३–०७४ मा ४ दशमलव ५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत वर्ष ४ दशमलव २ प्रतिशतमा सीमित बनेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०७४–७५ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो ।  प्रतिवेदनमा आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेका कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बताइएको छ ।

राष्ट्र बैंकका अनुसार २०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति भने ४ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दबाबमा रहन सक्ने जोखिमको संकेत गरेको बताएको छ । विश्व मुद्रास्फीति स्थिति लगायत विदेशी विनिमय दरमा देखिएको उतार–चढावले मुद्रास्फीतिमा चाप पार्न सक्ने जोखिम रहेको हो ।

त्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव ९ प्रतिशत, पहाडमा ४ दशमलव ६ प्रतिशत, तराईमा ४ दशमलव  ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति हिमालमा ४ दशमलव १ प्रतिशत, पहाडमा ६ दशमलव ४ प्रतिशत, तराईमा ४ दशमलव ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३ दशमलव १ प्रतिशत रहेको थियो ।

२०७५ असारमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भने भारतको भन्दा केही बढी रहेको छ । यस अवधिमा नेपालमा ४ दशमलव ६ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहँदा भारतमा भने ४ दशमलव २ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः २.७ प्रतिशत र २.४ प्रतिशत रही मुद्रास्फीति अन्तर ०.३ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा वार्षिक औसत थोक मुद्रास्फीति १ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कृषिजन्य वस्तुहरुको वार्षिक औसत मूल्य सूचकांकमा ० दशमलव ३ प्रतिशतले ह्रास आएको छ भने स्वदेशमा उत्पादित वस्तुहरुको वार्षिक औसत मूल्य सूचकांक ५ दशमलव ३ प्रतिशतले र आयातीत वस्तुहरुको वार्षिक औसत मूल्य सूचकांक ४ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

यता, पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् मौसमी अवस्थामा भएको विकासक्रमले आर्थिक वर्ष २०७५–७६ मा देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय अर्थतन्त्रतर्फ, निर्वाचन सम्पन्न भएको, तीनै तहका सरकारहरु गठन भई बजेटसमेत कार्यान्वयनमा आइसकेकाले आर्थिक गतिविधि विस्तारका लागि सकारात्मक वातावरण सृजना भएको छ । त्यसैगरी, समयमै पर्याप्त मनसुनी वर्षा भएका कारण ९५ प्रतिशत भन्दा बढी धान रोपार्इं सम्पन्न भएकोले यस वर्ष धानको उत्पादन उल्लेख्य हुने देखिन्छ ।”

यसैगरी अघिल्लो वर्ष १ दशमलव ५ प्रतिशतले ऋणात्मक रहेको धानको उत्पादन यस वर्ष उत्साहप्रद हुने अनुमानसँगै कृषि क्षेत्रको वृद्धि उच्च रहने देखिएको छ । राष्ट्र बैंकका अनुसार यी कारण अघिल्ला वर्षको उत्साहजनक आर्थिक वृद्धिले आर्थिक वर्ष २०७५–७६ मा पनि निरन्तरता पाउने देखिएको हो । 

आर्थिक वर्ष २०७४–७५ मा चालू खाता घाटा थप विस्तार भई २ खर्ब ४५ अर्ब रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको ८.२ प्रतिशत) पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १० अर्ब रुपैयाँ मात्र (कुल गार्हस्थ्य उत्पादनको ०.४ प्रतिशत) रहेको थियो । आर्थिक वर्ष २०७४–७५ मा देशको समग्र शोधनान्तर भने ९६ करोड रुपैयाँले बचतमा छ ।

यसैगरी तरलतामा उतार–चढावको स्थिति रहेतापनि कर्जा प्रवाह आर्थिक वर्ष २०७४ को १८ दशमलव २ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०७४–७५ मा २२ दशमलव ५ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कर्जा प्रवाह २२ दशमलव ५ प्रतिशतले बढेको तुलनामा निक्षेप १९ दशमलव २ प्रतिशतले मात्र बढ्नुले वित्तीय अवस्था अझै कसिलो रहेको देखाउँछ ।

विप्रेषण आप्रवाहको वृद्धिदर र पूँजीगत खर्चको अवस्थाले आगामी समयमा वित्तीय स्थितिको दिशा निर्धारण गर्ने देखिएको राष्ट्र बैंकको प्रक्षेपण छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro