काठमाडौं । गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ । कलाकार हरिवंश आचार्य लगायतले उक्त एल्बम विमोचन गरेका छन् । सानैमा दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् ।
गीतमा रुपाको एकल स्वर रहेको छ । गीतमा सरला गह, तेजप्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्णहरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ ।
कार्यक्रममा निर्माण भएको दुई भिडियो पनि देखाइएको थियो भने मेरी आमा बोलको गीतलाई रुपाले गाएकी थिइन् ।
‘लेख्दै छु’ बोलको गीतमा प्रविन खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको छ । सार्वजनिक शिर्ष गीत ‘हिम्मत भाकी छोरी’लाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । यसमा भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।
“रुपा बहिनिको स्वरले मन छुन्छ । उहाँको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक भैयो । गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाँको जीवन बोल्छ,” कलाकार हरिवंश आचार्यले भने, “उहाँको हात त छैन तर त्यसलाई गलाले अगाडि बढाउनेछ जस्तो लाग्छ । रुपा बहिनिको प्रतिभा आज हामीले देख्यौं, सुन्यौं यसलाई छिटैनै विश्वले पनि बुझ्न पाओस ।”