काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरमा राखिएको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेला विभिन्न स्थानमा बम विस्फोट गराएको, चन्दा असुली व्यापक बनाएको, धम्की लगायतका उजुरी विप्लव माओवादीका विभिन्न नेता तथा कार्यकर्ताविरुद्ध परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध यी विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
तस्बिर विश्वकर्माको फेसबुकबाट
यो पनि
विप्लवलाई जहाँ भेट्यो त्यहीँ समात्नू
‘विप्लव’को घरमा पक्राउ पुर्जी टाँसियो
यसैबीच विप्लव नेतृत्वके नेपाल कम्युनिष्ट पार्टीले भने मंगलबार बेलुका नै प्रवक्ता प्रकाण्डसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । विप्लवले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हिजो बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ ।”
उनले सरकारको दमनले आफूहरु विचलित नहुने भन्दै आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
यस्तो छ विज्ञप्ति