site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पारिश्रमिकमा कहिल्यै बार्गेनिङ गर्दिनँ
Sarbottam CementSarbottam Cement

 नेपाली रजतपटमा अभिनेता दयाहाङ राईको प्रवेश ‘दासढुङ्गा’बाट भयो । यो चलचित्रले उनलाई रजतपटभित्र सम्भावना बोकेका कलाकारको रूपमा चिनायो । ‘लुट’ले आम दर्शकमाझ चिनायो । ‘कबड्डी’सम्म आइपुग्दा उनको स्टारडम बिक्ने भइसकेको थियो । उनको अनुहारमात्रै देखाए पनि चलचित्र चल्छन् भन्ने निर्माता तथा निर्देशकले उनलाई आफ्ना चलचित्रमा लिन तँछाडमछाड गर्न थाले । डेढ दशकको सेतो पर्दा र त्यसअघिको थियटर यात्राको अनुभव, अभिनय कौशलले उनलाई तिखार्दै लगे । दयाहाङअभिनीत चलचित्रले अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाली सहभागिताको ढोका खोल्यो । अहिले पनि उनका चलचित्र निरन्तर आइरहेकै छन् तर बक्स–अफिसमा त्यति राम्रो उपस्थिति छैन । के नेपाली दर्शकले उनको विकल्प खोज्न थालेका हुन् ? के कारणले कमजोर चलचित्र बने, जसका कारण सेतो पर्दाको यात्रा बलियो हुन सकेन ? यी र यस्तै प्रश्न अभिनेता दयाहाङसँग ‘बाह्रखरी’कर्मी नरेश फुयाँलले गरेका छन्—

दर्शक भएर हेर्दा तपाईंले कलाकार दयाहाङ राईलाई १० मा कति अंक दिनुहुन्छ ?

नम्बर कसरी भन्न सक्छु र म ! म दर्शकमात्रै होइन, कलाकार पनि हुँ । अभिनयको विद्यार्थी पनि भएकाले जुनसुकै अवस्थाबाट हेर्दा पनि जिरोबाटै शुरु हुन्छ । त्यसैले म अंकमा राख्न सक्दिनँ, जिरो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो प्रश्न किन शुरुमै गरिएको हो भने तपाईंको शुरुवाती चमक अहिले खिइँदै गएको आरोप लाग्ने गरेको छ । तपाईंलाई नयाँ राजेश हमाल पनि भन्ने गरिन्छ । राजेश हमाल आफैंले औपचारिक रूपमै भनेका छन् कि सयौं फिल्म खेलेर पनि सम्झिरहने फिल्मको नाम लिनुपर्दा केही छैन । तपाईं पनि त्यही बाटोमा हिँड्नुभएको आरोपमा कति सत्यता छ ?

संख्यात्मक हिसाबले हेर्दाचाँहि सत्य पनि होला । किनभने मैले धेरै चलचित्रमा काम गरिसकेको छु । करिब १६ वर्षको यो अवधिमा मैले कति चलचित्रमा काम गरें भनेर हिसाब गर्दा ३५ वटा रहेछन् । १६ वर्षलाई हेर्दा त त्यस्तो धेरै पनि होइन । तर, कुनै वर्ष धेरै पनि आए होला, कुनै समय लामै ग्याप पनि भयो होला । संख्या कति भन्दा पनि प्रकारमा भर पर्छ होला ।

Global Ime bank

मैले योबीचमा कुन–कुन र कस्ता–कस्ता प्रकारका चलचित्र खेलें भन्ने कुराले अर्थ राख्छ ।

तपाईं धेरै चलचित्रमा अभिनय गर्नुको कारण बाँच्न नै हो भन्नुहुन्छ, प्रस्ताव आएजतिका फिल्ममा आँखा चिम्लेर हामफाल्नुमा त्यही अवस्थाले काम गरेको हो ?

सत्य भन्नु पर्दा मलाई अफर आएका मध्ये ७–१० प्रतिशतमात्रै चलचित्रमा अभिनय गर्छु । तीमध्ये सबैभन्दा मन परेका चलचित्रमात्रै गर्छु । कुनै बेला आफूलाई आर्थिक रूपमा ब्यालेन्स गर्नु पनि पर्‍यो होला तर त्यस्तो अवस्थामा पनि मैले छानेर मात्रै काम गरेको छु ।

यसको अर्थ पारिश्रमिक कम छ, त्यसैले पनि अभिनेताहरूले चलचित्रको संख्या बढाइरहेका छन् भन्न मिल्छ ?

पारिश्रमिककै आधारमा मैले चलचित्र खेलें भन्ने लाग्दैन । मेरो पारिश्रमिक यति हो र यतिबिना खेल्दिनँ भनेर पनि कहिल्यै भनिनँ ।

पारिश्रमिकमा सौदाबाजी गर्न नसक्नु तपाईंको कमजोरी हो ?

पारिश्रमिकमा कसरी बार्गेनिङ गर्नू । के आधारमा गर्नू ?

कामका आधारमा पारिश्रमिक माग्न सकिँदैन ?

पैसाले मात्रै काम राम्रो हुँदैन । पैसाले काम राम्रो हुने भए मलाई एक करोड रुपैयाँ दिनुस्, म शतप्रतिशत दिन्छु भन्न सकिहालिन्थ्यो नि ! कामको गुणस्तर पैसाले दिन सकिने कुरा होइन ।

‘दासढुंगा, ‘लुट’ र ‘कबड्डी’मा बाहेक तपाईंको उल्लेखनीय काम खासै देख्न पाइएन । होइन र ?

त्यसो भए तपार्ईंले गलत बुझ्नु भयो । 

तपाईंलाई आफूले गजब काम गरे पनि त्यसले सफलता नपाएको भनी लाग्ने चलचित्र कुन/कुन हुन् त ?

‘हाइवे’, ‘साँघुरो’, ‘तान्द्रो’, ‘ह्वाइट सन’ । यी चलचित्र मलाई मन परे पनि बजारमा राम्रो चलेनन्, व्यापारिक हिसाबले । तर, यी दुबै चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको यात्रा गरे र टाइटल पनि जिते ।

तपाईंका उल्लेखनीय ३ फिल्मबाहेक अरु सबैजसो पिटिए । समस्या केमा थियो ? तपाईंको काममा कि निर्देशक र लेखकको काममा ? वा दर्शकमा ?

दर्शकमा भन्ने कुरामा म सहमत छैन । यो बजारको कुरा भयो । बजारले मन पराएका तर मैले नखेलेका अरु चलचित्र पनि धेरै होलान् । हिट सिनेमा सबै राम्रा हुन्छन् भन्ने मान्यता राख्दिनँ म । पहिलो कुरा पर्फेक्ट चलचित्र बनेकै छैनन् ।

किन बन्न सकेनन् ?

हामीसँग केही न केहीको प्रभाव अझै पनि छ । अघिल्लो चरणको कुरा गर्दा हामीसँग प्राविधिक पक्षको अभाव छ भनिन्थ्यो, अब त्यो पनि कुरा रहेन । पछिल्लो समय हाम्रो पहुँच विश्व चलचित्रमा पुग्यो । विश्व चलचित्र बजारमा पुगेपछि कतै न कतै हामीलाई मनपर्ने चलचित्रबाट प्रभावित भयौं । त्यसमा काम गर्न थाल्यौं तर पनि हाम्रो आफ्नै कथा, आफ्नै चरित्र, आफ्नै शैलीचाहिँ खोज्न सकेनौं । पछिल्लो समय केही चलचित्र आफ्नै माटोअनुसारका निर्माण गर्न थालेका छौं । तर, कथा भन्ने आफ्नै अब्बल शैली निर्माण गर्न सकेका छैनौं । केहीले प्रयास गर्नुभएको छ । तर, त्यसलाई पनि राम्रो तरिकाले हेरिएको छैन कि ! त्यसलाई पनि राम्रो तरिकाले हेरिनुपर्छ भन्ने लागेको छ । त्योचाँहि दर्शकले होइन, तपाईं (पत्रकार)हरूले हेरेर भनिदिनुपर्छ । आफ्नै आँखाअगााडि देखेको चरित्रमा दर्शकले विश्वास गर्न सक्छन् तर कथा भन्ने शैली हामीमा विभिन्न छन् । हाम्रा आफ्नै संस्कृति छन्, ती संस्कृतिको नजिक रहेर शैली निर्माण गर्न सकिन्छ, त्यसलाई पनि केही निर्देशकले प्रयोग गरिरहनुभएको छ तर त्यो दर्शकसामु जोडिन सकेको छैन । निर्माणको खोजी हो । त्यसमा दर्शकले विश्वास नगर्न सक्छन् । त्यसमाथि बहस हुनु जरुरी छ ।

फिल्ममा अनुबन्धित हुनुअघि तपाईंले सबैभन्दा पहिले कुन पक्ष हेर्नुहुन्छ ? निर्देशक, ब्यानर, कथा, चरित्र वा पारिश्रमिक ? तपाईंले बढीजसो काम गर्ने निर्देशक र ब्यानरप्रति तपाईं आँखा चिम्लेर हामफाल्नुहुन्छ भन्ने टिप्पणी चलिरहन्छ । हो ?

सत्य होइन । मेरो पहिलो शर्त भनेकै कथा हो । म शतप्रतिशत सहमत भएका धेरै कथा छैनन् । तर, पनि कथा मन प¥यो भने यसलाई यसरी गरौं न त भन्ने हुन्छ । त्यो कथालाई भन्न सक्ने निर्देशकमा क्षमता कति छ, मूल कथालाई चलचित्रमा उतार्ने क्षमता निर्मातामा कति छ भन्ने हेर्छु । त्यसपछि मात्रै अरू पक्ष हेरिन्छ ।

कुनै समय चल्तीका कलाकार कालान्तरमा हराएर गए । कारण थियो, उनीहरूको हिरोइक शारीरिक बनोट र अन्दाज उमेरसँगै मुर्झाउँदै गयो । ठीक त्यतिबेला अनुहार ठीकठाक हुने थिएटरका कलाकारको उदय भयो । तपाईंहरूजस्ता कलाकारको वर्चश्व भयो । तर, अहिले फेरि पुरानै प्रवृत्ति दोहोरिन थालेको आभास हुन्छ । दयाहाङ राई, सौगात मल्लको फिल्मी करिअर ओरालो लाग्दै गरेको र अनमोल केसी, प्रदीप खड्का, पल शाहजस्ता चिटिक्कका कलाकारको स्टारडम बढ्दै गरेको । यो कस्तो खाले परिवर्तन हो ? कि हाम्रो दृष्टिभ्रममात्रै हो ?

यो कुरा त म मान्दिनँ । सबैसँग आ—आफ्नै विशेषता हुन्छन् । मसँग भएका गुण अरूसँग नहुन सक्छन् भने अरूसँग भएका गुण मसँग नहुन सक्छन् । कुनै समय मेरा चलचित्र राम्रा भए होला, केहीले नयाँ माहोल सिर्जना गरे होलान् । आम मान्छेले नयाँ–नयाँ स्वाद खोज्छ । एउटै अनुहार रेगुलर आउँदा विरक्त पनि लाग्यो होला । नयाँ–नयाँ टेस्ट लिन खोज्नु नौलो कुरा होइन ।

नेपाली फिल्मका मूलभूत समस्या १, २, ३ गरेर भनिदिनुस् न । समस्या कहाँनेर छ ?

पहिलो त सोच नै मुख्य कुरा हो । राज्ले चलचित्रलाई कसरी हेरिरहेको छ भन्ने कुराले पनि ठूलो अर्थ राख्छ । चलचित्रमैत्री नीति छ कि छैन भन्नेले महत्वपूर्ण भूमिका खेल्छ । अर्को कुरा— मैले माथि भनेजस्तो सोचको कुरा आउँछ । चलचित्र मेकरले ‘म आफ्नो चलचित्र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउँछु’ भन्ने उद्देश्य राख्नुपर्छ । चलचित्र केका लागि बनाउँदैछु भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । अर्को पक्ष— हामीसँग फिल्म कल्चर छैन ।

नेपालमा केका लागि चलचित्र निर्माण भइरहेका छन् त ?

मनोरञ्जनबाहेक अन्य केहीमा पनि ध्यान छैन निर्माताको । अधिकांश निर्माताले मनोरञ्जनका लागि मात्रै चलचित्र निर्माण गरिरहनुभएको छ ।

यो गलत ट्रेन्ड हो कि सही ?

गलत हो । चलचित्रले समयलाई देखाउने हो । समय भनेको जहाँ चलचित्र निर्माण भइरहेको छ, त्यो समाज, देश, कला, साहित्य, संस्कृति, चेतनालाई भन्ने हो तर नेपालमा त्यो भइरहेको छैन ।

हामी पहिले प्रविधिलाई दोष दिएर उम्किन्थ्यौं । कथा राम्रो भएर पनि प्रविधिकै कारण पर्दामा परिस्कृत रूपमा देखाउन सकिएन भन्दै बस्थ्यौं । अहिले त प्रविधि पनि उन्नत आइसक्यो । कथा पनि मौलिक उठान भइरहेका छन् । र, पनि वर्षमा ८÷१० वटाबाहेक अरू फिल्मले पानी पनि पाउन सकिरहेका छैनन् । अब दोष केलाई दिने ?

मेकरको सोच र चलचित्र भन्ने शैली सबैभन्दा मुख्य कुरा हुन् । प्रविधि हामीसँग छैन भनेर अब उम्किने समय छैन । तर, प्रविधिले मात्रै पनि राम्रा चलचित्र बन्दैनन् भन्ने देखिसकियो । प्रविधिमात्रै सबै कुरा भए सेक्सपियर र देवकोटाका पालामा भन्दा अहिले राम्रा पेन र कपी होलान् नि, त्योभन्दा राम्रो साहित्य अहिले देखिन्थ्यो होला !

नेपाली मेकर नाफा कमाउने मात्रै सपना देखेर यो क्षेत्रमा आइरहनुभएको छ, यो सोचमा फिल्टर हुनुपर्छ ।

हलिउड कलाकार विल स्मिथ भन्ने गर्छन्, “पहिले एउटा आफ्नो रहरको फिल्म खेल । त्यसपछि पैसा कमाउने फिल्म खेल । अनि त्यसपछि पैसा जम्मा भयो भने फेरि आफ्नो रहरको फिल्म खेल ।” तपाईंले आफ्नो रहरको फिल्म कहिले खेल्नुहुन्छ अब ?

मैले रहर लागेका चलचित्रमा पनि काम गरें र पैसाका लागि पनि काम गरें । म आफैंले आफूलाई प्रशंसा गर्नु पक्कै पनि राम्रो हुँदैन । मैले चलचित्रमा आएर के गरें र मेरो योगदान के हो भनेर कहिलेकाहीँ घोत्लिँदा सोच्छु । त्यो बेला मैले केही कुरा पाउँछु, मैले गरेँ भन्ने खालको । तर, मैलेमात्रै गरेको भने होइन । चलचित्र भनेको टिमवर्क हो । समग्र टिमले गर्‍यो ।

शुरुमा रहरले चलचित्र गरें होला । ‘लुट’मा आउँदा आफ्नो कथा र चरित्र भन्ने प्रयास गरियो । ‘कबड्डी’ आइपुग्दा दूरदराजका गाउँमा पनि कथा हुँदारहेछन् भन्ने जानकारी दिइयो । ‘हाइवे’ले पहिलोपटक नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको ढोका खोलिदियो । ‘तान्द्रो’ पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल घुम्यो । ‘ह्वाइट सन’ले त धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलबाट टाइटल नै जित्यो । ‘साँघुरो’ सबटाइटलमा लन्डनको टेलिभिजनबाटै प्रसारण भयो । यी चलचित्रसम्म आइपुग्दा नेपाली चलचित्रले ठूलो फड्को मारेको छ । भलै गर्न अझै धेरै बाँकी छ । सन्तुष्टिका हिसाबले गन्दा पनि ३५ वटा चलचित्र गर्दा ७ वटा त राम्रा रहेछन् नि ! बीचमा मैले आफ्नो स्किल विकास गर्न र आर्थिक रूपमा सुरक्षित हुनका लागि पनि केही चलचित्रमा काम गरें । ‘लुट’ र ‘कबड्डी’ले डायस्पोरा मार्केट खुला गरिदियो । यी चलचित्रपछि अरू पनि अन्तर्राष्ट्रिय बजारमा जान थाले । मैले सिनेमा धेरै गरेर बिगारेको पनि रहेनछु, कहिलेकाहीँ काम गर्दागर्दै हामीले र नेपाली बजारले सोचेजस्तो चलचित्र बन्न सकेनन् होला । तर, यो राम्रो चलचित्र होइन भन्न त पाइएन नि ! ‘तान्द्रो’, ‘ह्वाइट सन’, ‘साँघुरो’ हाम्रो बजारमा व्यावसायिक रूपमे राम्रा मानिएनन् । के त्यसो भए ती चलचित्रलाई नराम्रो भन्ने त ?

तपाईंले निर्माताको सोच पनि राम्रो चलचित्र नबन्नुको एउटा कारण हो भन्नुभयो । तपाईं आफैं पनि अब मेकिङमा आएर भनेजस्तो चलचित्र बनाउने सम्भावना होला कि नहोला ?

त्यो सम्भावना छ । कहिले, म भन्न सक्दिनँ । किनभने मैले सोचेजस्तो कथा पनि हुनुपर्छ । सँगै चलचित्रको क्याप्टेन भनेको निर्देशक हो । अभिनेता त माध्यममात्रै हुन् । ऊसँग पनि सोच मिल्नुपर्छ । पैसा कमाउनकै लागि त मैले अभिनय गरेर नै कमाइरहेको छु, मैले भनेजस्तो चलचित्र बनाउने हो भने मैले खोजेजस्तो, मलाई भन्न मन लागेको कथा पनि भेट्टाउनुपर्छ ।

अहिले नेपाली चलचित्र नेपाली भएका ठाउँमा मात्र देखाइन्छ । यसलाई नेपाली चलचित्रले विश्वबजार पाए भन्न मिल्छ ?

मिल्दैन । शो बुक गरेर नेपाली दर्शकलाई देखाइन्छ । केही प्रतिशत (चलचित्रका विद्यार्थी, केही साथीहरू) आएर हेर्लान्, त्यो फरक कुरा भयो । अझै पनि नेपाली दर्शकलाई लै लक्षित गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC