बीबीसी । क्रिस्टियानो रोनाल्डोले युभेन्टस क्लबमा प्रवेश गरेसँगै रियल म्याड्रिडमा उनको स्थान खेलाडी ग्यारेथ बेलले लिने भएको स्यानिस तर्फका कोच तथा क्लबका व्यवस्थापक जुलेन लोपेत्गीले बताएका हुन् ।
वेल्सका फर्वाड खेलाडी बेलले यसअघिका कोच जिनेडिन जिडेनको कार्यकालमा पहिलो टिमबाट खेल्न पाएका थिएनन् । तर ९ करोड ९० लाख पाउन्डको बदलामा रोनाल्डो युभेन्टस क्लबमा संबद्ध भएपछि अब बेलले प्रमुख भूमिका निर्वाह गर्ने मौका पाउने भएका हुन् ।
यसबारे लोपेत्गीले भने, ‘ग्यारेथ अहिले रियल म्याड्रिडमा धेरै खुसी साथ खेलिरहेका छन् । क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडको पछिल्लो इतिहासमा मुख्य खेलाडी रहँदै आएका थिए । तर उनले क्लब छोड्ने चाहाना व्यक्त गरे र हामीले पनि उनलाई जान दियौँ । त्यसैले अहिले उनको कमी ग्यारेथ बेलले पूरा गर्नेछन् । उनी पनि उत्कृष्ट खेलाडी हुन् र उनमा धेरै प्रतिभा छ ।’
२९ वर्षीय बेल आठ करोड ७० लाखमा रियल म्याड्रिसँग आबद्ध भएका थिए । उनले २०१३ मा क्लबबाट खेलेदेखि रियल म्याड्रिडले चारपटक च्याम्पियन लिगको उपाधि हासिल गरिसकेको छ । गत मेमा मात्र उनले लिभरपुल विरुद्धको खेलमा दुईपटक स्कोर गरि ३–१ को अन्तरले आफ्नो टिमलाई जित दिलाउन सफल भएका थिए ।
लोपेत्गी भन्छन्, ‘बेलले टिमका अर्का खेलाडी, फ्रान्सका फर्वाड करिम बेन्जेमासँगको ट्रेनिङमा पनि अत्यन्तै प्रभावशाली प्रस्तुती देखाइरहेका छन् । त्यसकारण सिजन १ को सुरुवातमा मसँग यो टोली हुनेमा म धेरै खुसी छु ।’ मंगलबार म्यान्चेस्टरसँग मायामीमा अन्तराष्ट्रिय च्याम्पियन कपको मैत्रीपूर्ण गेम खेल्नुपूर्व लोपेत्गी पत्रकार सम्मेलनमा सहभागी भएका थिए । यस क्रममा प्रिमियर लिग क्लबमा बेललाई समावेश गराउने सम्बन्धी प्रश्न गर्दा उनले भने, ‘म कुनै भविष्यवाणी गर्न चाहान्न । ग्यारेथ अहिले रियल म्याड्रिडमै खुसी भएर खेलिरहेका छन् । यो उनको प्रतिभा प्रदर्शन गर्ने निकै ठूलो मौका हो । त्यसैले अहिले उनी टिमसँग हाम्रो लक्ष्यलाई पूरा गर्न लागिरहेका छन् । यो हाम्रा लागि उत्साहजनक यात्राको सुरुवात हुनेछ ।’
https://www.bbc.com/sport/football/45016474