विचार

बालुवाको थुप्रोमा पानीजहाज ! 

बालुवाको थुप्रोमा पानीजहाज ! 

गंगामा जलमार्ग बनाउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सगुफा‘ गंगामै बगेको एउटा रोचक समाचार २५ जुनको भारतीय टेलिभिजन च्यानल एनडीटीभीमा देखाइएको छ । यु ट्युबमा भेटिने यो समाचार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं नभए कम्तीमा पनि उनका निकट विश्वस्त सहयोगीले हेर्नु उचित होला । प्रधानमन्त्री ओलीले सन् २०१८ को आखिरमा ‘पानी जहाजबाट कलकत्ता जान’ विपक्षीहरूलाई दिएको कटाक्ष मिसिएको निम्तासँग यो समाचार जोडिएको छ । त्यसो त समाचार भारत सरकारकै योजनामा केन्द्रित छ तर त्यसमा गंगामा पानी जहाज चलाउने योजनाको मूर्खता उजागर भएको छ । नेपालबाट कलकत्ता जलमार्गबाट जान त गंगाकै बाटो जानुपर्ने होला । नेपालका सबै ठूला नदी अन्ततः पुग्ने गंगामै हो क्यारे !  

भारतका चर्चित पत्रकार रवीशकुमारले सञ्चालन गर्ने त्यस कार्यक्रममा उनले गरेको एउटा कटाक्ष उल्लेख गरौँ – ‘‘गंगाको सतहमा थुप्रिएको बालुवा र माटो देखेपछि त्यहाँ पानी जहाज चलाउने हैन डन्डीबियो (गुलीडन्डा)खेल्न मनलाग्छ ।’’ अर्थात्, गंगामा पानी फोहोरमात्र भएको छैन सुक्तैै पनि गएको छ । गंगाको पानी पवित्र बनाउने योजना त विफल भइसकेको छ । अब, जलमार्ग बनाउने योजनाको पैसा पनि गंगामै बगाए बराबर हुने देखिन्छ । बनारसमा गंगाबाट पानी पम्प गरेर वितरण गरिँदो रहेछ । जलस्तर निकै घटेकाले पम्प गर्न पनि कम गर्नुपर्ने भएछ । त्यसैले बनारसवासीलाई पानीको खपत कम गर्न २१ जुनमा सरकारले निर्देशन जारी गरेको रहेछ ।   

गंगामा थुप्रिएको माटो र बालुवा नहटाई जलमार्गको विकास हुनसक्तैन भन्ने भारतकै बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमारको भनाइ (बाइट) पनि समाचारमा समावेश गरिएको छ । इनल्यान्ड वाटर वे अथोरिटी अफ इन्डिया नामको सरकारी प्राधिकरणको मालवाहक जहाज बक्सरमा गंगाको पुल नजिकै जनबरी २०१८ मा फसेको जानकारी पनि बिहारका मुख्यमन्त्रीले दिएका छन् । रामरिखा घाटको नजिकै रवीन्द्रनाथ टैगोर नामको मालवाहक जहाज फसेको ठाउँमा नदीको गहिराइ एक मिटर चानचुनमात्रै भएकाले चल्न नसकेको रहेछ । मालवाहक जहाजलाई उतार्न पठाएको अर्को उद्धारक जहाज त झन् त्यसभन्दा १० किलोमिटर पहिले नै फसेछ । बक्सर र आराको बीचमा दुईवटा जहाजहरू फसेका छन् । वर्षामा पानी बढेपछि निकाल्न सकिने आशा गरिएको छ । यी दुवै जहाज अलि ठूला डुंगाजस्ता रहेछन् – मध्यमश्रेणीका । उत्तरप्रदेशको इलाहाबादबाट बंगालको हल्दियासम्म जलमार्ग बनाउन भारत सरकारले सन् २०१४ मा ५ हजार ३ सय ६९ करोडको योजना तर्जुमा पनि गरेको रहेछ । तर, सरकारी योजना लगभग कागजमै सीमित भएछ । समाचारमा भनिएअनुसार गंगालाई जलपरिवहनका लागि योग्य बनाउन ४३ वर्षदेखि जम्मा हुनथालेको बालुवा र माटो हटाउन एउटा ट्रकको पछाडि अर्को ट्रक राख्ने हो भने पृथ्वीको परिक्रमा गर्न पुग्ने लमाइ हुनेछ । अर्थात्, असम्भव प्रायः छ । नदी सतहमा थुप्रिएको माटो र बालुवा सफा नगरी गंगामा मालवाहक जहाज चलाउन सकिँदैन भन्ने निष्कर्ष समाचार हेरेपछि निस्कन्छ ।

 

नेपालको बजेटमा यस वर्ष अध्ययनका लागि रकम विनियोजन गरिएको र अध्ययन थालिएको बताइएको छ । तर, गंगामा अहिले पानी जहाज हैन स्टिमर पनि निर्बाध चल्ने सम्भावना नभएको माथिको समाचार हेर्दा स्पष्टै थाहा हुन्छ । गंगामै जहाज नचले नेपालले भारतसँग गरेको जलमार्गको (इन ल्यान्ड वाटर वे)को प्रयोगसम्बन्धी सम्झौता पनि मोदीका सगुफा र ओलीका टुक्काजस्तैै मनोरञ्जनका लागिमात्र हुनेछन् । प्रधानमन्त्री केपी ओलीले कुन जानकारीका आधारमा कलकत्तासम्म पानी जहाजमा सयर गर्ने निम्ता दिए त्यो उनैलाई थाहा होला । भारतीय समकक्षी नरेन्द्रभाइ दामोदरदास मोदीकै भरमा प्रधानमन्त्री ओलीले यो गुड्डी हाँकेका हुन् भने यो दाबी पनि चिनियाँ रेलजस्तै हुने देखिन्छ । समृद्धि किन यति निष्ठुरी बन्दै गएकी होली ? (चिनियाँ रेलको ऐना देखाई दिने डा. रामेश कोइरालाले कम्युनिस्ट नेताहरूबाट ‘विकास विरोधी’को पदवी पनि पाएका छन् क्यारे ! अब पानी जहाजको सपना तुहाइदिएको भन्दै एनडीटीभीलाई सराप्न नथालियोस् । मैले त उता देखेको सामग्री आफ्ना पाठकका लागि पनि रोचक होला भनेर यता प्रस्तुत गरिदिएको मात्र हो । गाली सराप जे हो उतै जाओस् !)          

ऋणको पासो : विकासको अर्थ 

श्रीलंका चीनको ‘ऋण पास‘मा परेको अनुसन्धनात्मक समाचार न्युु योर्क टाइम्सले छापेको थियो । त्यसले संसारमा धेरैको आँखा खोलेको थियो । तर, त्यो समाचारले श्रीलंकाका केही सांसदलाई भने धेरै नै आक्रोशित बनाएछ । न्यु योर्क टाइम्समा जुलाई ३ को अनलाइन संस्करणमा आक्रोशित सांसदहरूले समाचारको खण्डन गरेको समाचार छ । श्री लंकाले चीनसँग ऋण लिएर समुद्री बन्दरगाह बनाएको रहेछ । त्यसलाई सञ्चालन गरेर ऋण तिर्न नसक्ने भएपछि चीनलाई बन्दरगाह नै सुम्पनु परेछ । द हम्बान्टोटा पोर्ट नामको बन्दरगाह चाइनिज हम्बान्टोटा इन्टरनेसनल पोर्ट ग्रुपले सञ्चालन गर्दोरहेछ । यही घटनालाई टाइम्सले ‘ऋणपास’ भनेको रहेछ । 

यो ऋणको पासोमा फसेको भन्ने समाचारको खण्डन सरकारी पक्षले गरेको हैन । पूर्व राष्ट्रपति महेन्द्र राजपक्षेका समर्थकहरूले २ जुलाईका दिन पत्रकार सम्मेलन गरेर समाचार तयार गर्ने दुई जना पत्रकारलाई दोष लगाउँदै समाचार प्रकाशित गर्ने न्यु योर्क टाइम्समाथि पनि रिस पोखेका छन् । समाचार तयार गर्न श्री लंकाली पत्रकारहरू आर्थर वामानान र धारिसा बास्टियनले सहयोग गरेका रहेछन् । एक जना सांसदले त महिला पत्रकार बास्टियनको तस्बिर हातमा लिएर टेलिभिजनमा पनि देखाएका थिए रे ! विपक्षले आरोप लगाएपछि सरकारलाई छाड्ने कुरा पनि भएन । सामाजिक सञ्जालमा वर्तमान सरकारले पत्रकारहरूलाई पैसा दिएर त्यो समाचार लेखाएको हल्ला फैलाइएको छ । त्यसमा एकजना सांसदसमेत सहभागी भएका छन् । टाइम्सका अन्तर्राष्ट्रिय समाचार सम्पादक माइकल स्लाकम्यानले सांसदहरूको आरोपलाई झुटो भनेका छन् । उनले श्री लंका सरकारसँग पत्रकारहरूको सुरक्षाको व्यवस्था मिलाउन आग्रह पनि गरेका छन् ।

यता पनि चीन वा कसैसँग पनि ऋण लिँदा विचार नपुगे ऋणको भासमा फसिन्छ भनेर सजग गराउन खोज्नेहरूलाई विकास विरोधी र ‘चारतारे’ भन्न थालिएको छ । ठूला परियोजनालाई मात्र विकासको आधार ठान्नेहरूले त्यसबाट देशमाथि पर्ने बोझका बारेमा कहिल्यै चिन्ता गरेको देखिँदैन । गरून् पनि किन ? अहिले समर्थन गर्दा केही न केही त हात पर्छ । विशेषज्ञका रूपमा घुमघाम नै सही !

यहाँ नेपाल वायुसेवा निगमले चीनसँग किनेका जहाजहरूले निगमलाई बोकाएको ऋणको भारीको सम्झना हुन्छ । कुनै दिन तिनै चिनियाँ जहाजको ऋणले निगम फेरि थला बसे आश्चर्य हुनेछैन । नेपालले चीनसँग किनेका र अनुदानमा पाएकोगरी सबै जहाज बेचे पनि सायद ती विमान किन्दा लागेको ऋण तिर्न पुग्दैन ! सन् १९९३ तिर हुनुपर्छ बंगलादेशको एउटा रेशम कारखाना हेर्न जाँदा बन्द कारखानका मेनेजरले भनेका थिए – यो कारखाना चलाए वर्षको ३० लाख घाटा हुन्छ नचलाए १५ लाखले पुग्छ । चिनियाँ विमानले निगमलाई लगभग त्यस्तै अवस्थामा पुर्याएको देखिन्छ । चीनसँग ऋण लिएर केरुङ काठमाडौं रेल मार्ग बनाउने र भारतीय जलमार्गमा चलाउने जहाज किन्न भारतसँग ऋण लिने गरे त सजिलै होला तर त्यो ऋण बोझ के दिएर चुक्ता गर्ने ? कि श्री लंकाले जस्तै ‘डोको बिसाए जगात लाग्दैन’ भन्ने उखार सम्झेर जोसँग ऋण लिएर बनाएको हो उसैलाई सुम्पने ? 

अन्त्यमा
 

भारतीय विदेशमन्त्री सुषमा स्वराजविरुद्ध अहिले सामाजिक सञ्जालमा निन्दा अभियान चलाइएको समाचार छ । भारतमा मूलतः भारतीय जनता पार्टीका नेताहरूले नै ‘मायावी सेना’को निर्माण र प्रयोग गर्न सुरु गरेका हुन् । विपक्षीमाथि प्रहार गर्नका लागि निम्ति खडागरिएको सञ्जाल अहिले आफैँविरुद्ध खनिएकोमा बिचरी सुषमा स्वराज दिक्क भएकी छन् । उनलाई जथाभावी गाली गर्नेहरू आफ्नै पार्टीले प्रयोग गर्ने गरेको मायावी सेना (ट्रोल आर्मी) रहेको थाहा पाउँदा उनको दिक्दारी अझ बढेको र प्रतिरक्षामा सहकर्मी कोही पनि अगाडि नसर्दा झन् मन पोलेको समाचार द वाएरमा दिइएको छ । नेपालमा मायावी सेना खडा गर्ने र चलाउनेहरूका लागि सुषमा स्वराजको घटना पाठ हुनसक्छ । हेक्का रहोस्, भष्मासुरको नयाँ अवतारजस्ता यी मायावी सैनिकले कसैलाई बाँकी राख्नेछैनन् !  

तपाईंको मत