site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सकसपूर्ण ‘रेस
Sarbottam CementSarbottam Cement

यो ‘रेस’ जिन्दगीको ‘रेस’ हो, कसैको ज्यान लिएर मात्रै सकिन्छ । चाहे त्यो दर्शककै ज्यान किन नहोस् । यति धेरै ‘स्टार’हरूको फिल्ममा दर्शकले केही उल्लेखनीय चिज हेर्ने अभिलाशा राख्छन् । तर विडम्बना ! निराशाबाहेक अर्थोक केही हात लाग्दैन ।

‘रेस’का अघिल्ला दुई हिट संस्करणभन्दा यसमा स्टारकास्ट धेरै फेरिएको छ । पछिल्ला दुवै फिल्मबाट अनिल कपुरमात्रै छन् । ज्याकलिन फर्नान्डिस ‘रेस–२’बाट यसमा पनि अटाएकी छन् । अघिल्ला दुई संस्करणमा अब्बास–मस्तान निर्देशक थिए, यसमा रेमो डिसुजा छन् । भनिहालौं, अघिल्ला दुवै सिक्वेलसँग ‘रेस ३’को कुनै सम्बन्ध छैन ।

फिल्मको कथा शमशेर सिंह (अनिल कपुर)बाट शुरु हुन्छ, जो करिब २५ वर्षअघि एउटा षड्यन्त्रको शिकार भएर आइसल्यान्ड जान्छ । ऊ अवैध हतियारको डिलर हो । उसको दाइ रणछोड सिंहको छोरा सिकन्दर (सलमान खान) शमशेरको दाहिने हात हो । दुर्घटनामा दाइको मृत्युपछि शमशेरले भाउजूसँग बिहे गरेको हुन्छ, जसबाट जुम्ल्याहा सन्तान सुरज (साकिब सलिम) र सञ्जना (डेजी शाह) जन्मिन्छिन् । फिल्मको अर्को पात्र यश (बबी देओल) सिकन्दरको अंगरक्षक हो । जेसिका (ज्याकलिन फर्नान्डिस) पहिले सिकन्दरकी प्रेमिका हुन्छे, पछि यशसँग आउँछे ।

Prabhu Bank
Agni Group
NIC Asia

सिकन्दर परिवारका लागि ज्यानसम्म दिन तयार हुन्छ । तर, सौतेनी भाइ–बहिनीहरू उसलाई घृणा गर्छन् । यशलाई पनि भड्काएर उनीहरूले आफूतिर तान्छन् । शमशेर आफ्नै घर भारत जान चाहन्छ । भाग्यवश उसलाई एउटा मौका पनि प्राप्त हुन्छ । उसको यो मिसन पूरा गर्न सिकन्दरसँग सुरज, सञ्जना, यश र जेसिका कम्बोडिया जान्छन्, जहाँ सबै (जेसिकाबाहेक) मिलेर सिकन्दरलाई फसाउँछन् । जेसिकाको सहयोगले ऊ यो षड्यन्त्रबाट जोगिन्छ । त्यसपछि खुल्छन् केही त्यस्ता रहस्छ, जसबारे थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

सलमानले यो फिल्ममा सैफ अली खानको ठाउँ लिएका छन् । निःसन्देह उनी धेरै स्मार्ट पनि देखिन्छन् । उनले थुप्रै एक्सन सिन पनि दिएका छन् । तर, सैफलाई चाहनेहरूले यसमा उनलाई पक्का ‘मिस’ गर्नेछन् । इदका बेला सलमानका फ्यानलाई उनका जबर्जस्त एक्सनको डोज चाहिन्छ । उनीहरूका लागि शुरुवात र अन्तिममा केही दृश्य छन्, तर कथाको दृष्टिबाट फिल्म एकदम बकवास छ । फिल्म अघि बढ्दै जाँदा दर्शकलाई लागिरहन्छ— अब पक्का केही धमाका हुन्छ । तर, त्यो धमाका कुर्दाकुर्दै दुई घण्टा बितिसक्छ । पहिलो हाफ हेरेपछि नै दर्शकलाई आफू ठगिएको महसुस हुन्छ । मध्यान्तरपछि पक्कै केही ‘ट्विस्ट’ छन् तर त्यस्तो होइन, जसले दर्शकलाई रोमाञ्चित गरोस् । बुझ्न सकिन्न— दुई घण्टाको फिल्मलाई रेमो डिसुजाले पौने ३ घण्टाको बनाउने जोखिम किन लिएका हुन् !

Global Ime bank

बाँकी कलाकारको कुरा गर्दा अनिल कपुर सदाझैं शानदार छन् । ज्याकलिन र डेजी शाहले ठीकठाक स्टन्ट गरेका छन् । साकिब सलीमले आफ्नो भूमिकालाई न्याय गरेका छन् । लामो समयपछि ठूलो पर्दामा देखिएका बबी देओलले सर्ट फुकालेर केही एक्सन दृश्य दिएका छन् तर उनको भावहीन अनुहारले अभिनयलाई साथ दिँदैन । खलनायकको भूमिका निभाउने फ्रेडी दारुवालाले किन यो फिल्ममा काम गरे, बुझ्न सकिन्न । ‘रेस’ परिवारमा स्वयं यति धेरै खलपात्र छन् कि फ्रेडीको कामै छैन । त्यसमाथि कलाकारले भोजपुरी भाषामा कुरा गरेको देख्दा दर्शकलाई झन् सकस हुन्छ । इलाहाबादबाट आएको शमशेरको हकमा त ल ठीकै पनि होला, तर पेइचिङमा हुर्किएको सिकन्दर किन भोजपुरीमा बोल्छ, मेसो पाउन सकिन्न ।

यति हुँदाहुँदै पनि फिल्मको छायांकन उत्कृष्ट छ । ब्यांकक र अबुधाबीका सुन्दर लोकेशन चित्ताकर्षक छन् । थ्रीडीमा एक्सन र फाइट सिन राम्रा देखिन्छन् । तर, एक–दुईबाहेक बाँकी गीत जबर्जस्ती थोपरिएका छन् । ‘सेल्फिस सङ’ भन्ने गीत त झन् बुझिनसक्नु छ ।

अर्को सिक्वेलका लागि ठाउँ राखेर ‘रेस ३’ अन्त्य गरिएको छ । दर्शकले यत्ति बुझ्न जरुरी छ— यो फिल्म सलमानका फ्यानका लागि मात्रै हो, जुन हेर्न त हेरिन्छ तर हेरिनसक्दै बिर्सिइन्छ । यो फिल्म हेर्न जानुअघि दुई पटक त पक्का सोच्नुपर्छ । जोखिम तपाईं आफ्नै हो ।

(‘नवभारत टाइम्स’बाट साभार)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०७५  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !