Skip Advt.
ad

घटना क्रम

बाबुराम भट्टराईको प्रश्न–माओवादी जनयुद्धलाई प्रचण्डले धोका दिए की मैले ?

बाबुराम भट्टराईको प्रश्न–माओवादी जनयुद्धलाई प्रचण्डले धोका दिए की मैले ?

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई धोका दिएको बताएका छन् । उनले प्रचण्डले सुरिलो धुन बजाएर कार्यकर्तालाई ढाँटेको आरोप समेत लगाए ।
बुधबार राजधानीमा पार्टी स्थापना दिवसलाई सम्बोधन गदै संयोजक भट्टराईले प्रचण्डले नै माओवादी जनयुद्धलाई धोका दिएको बताएका हुन् ।

“मैले माओवादी पार्टीबाट राजीनामा दिएको भोलिपल्ट प्रचण्डजीलाई माओवादी आन्दोलनलाइ विर्सजन गरेर समाजवादी धारमा जाउँ भनेको थिएँ,” भट्टराईले भने, “उहाँले मान्नुभएन । प्रचण्डजीले माओवादी आन्दोलनलाई एमालेको पाउमा लगेर बिर्सजन गरिदिनुभयो । फोहोरमा मिसाइदिनुभयो । उहाँले सुरिलो बाँसुरी बजाएर कार्यकर्तालाई ढाँट्नुभयो । तपाईंहरु आफै भनिुदिनुहोस जनयुद्ध र माओवादी आन्दोलनलाई कसले धोका दियो, बाबुरामले या प्रचण्डले ?”

नेता भट्टराईले तत्कालिन एमाले र माओवादीबीचको एकता सत्ता र स्वार्थको लागि भएको भन्दै केही वर्षमै अन्त्य हुने दाबी समेत गरे । 

“एमाले र माओवादी केन्द्रबीचको एकता सत्ता र स्वार्थको  लागि मात्र भएको हो । यसको कुनै भविष्य छैन । डाइनोसर जस्तो छ नेकपा । नेकपाले कम्युनिष्टको खोल ओढेर जनतालाई ढाँट्ने र छल्ने मात्र काम गर्छ, त्यसको असली रुप जनताले केही वर्षमै थाहा पाउनेछन् । युवाहरुले सचेत गराउनुहोला । हिजो केपी शर्मा ओलीलाई तराई झर्न गाह्रो थियो । मधेसका जनतालाई ढाँट्ने दलहरु पनि सत्ता बाहिर रहन सकेनन्,” उनको भनाइ थियो ।

उनले आफूहरुले नेपालमा वैकल्पिक शक्ति निर्माण नगरेसम्म विश्राम नलिने जिकिर समेत गरे । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विश्वले ज्ञानको खोजी गरिहेको बताउँदै नेपालबाट आफूहरुले दिने दाबी पनि गरे ।
उनले मुलुकको विकास र समृद्धि चाहनेहरु नयाँ शक्तिमा आउन आग्रह समेत गरे । 

“माओवादीभित्र परिवर्तन चाहने साथीहरु हुनुहुन्थो प्रचण्डले झुकाउनुभो । सुरुमा नयाँ शक्तिमा आउनुभएका साथीहरु पनि प्रचण्डकहाँ जानुभयो । म नेकपा, कांग्रेसलगायतका दलमा रहेका र परिवर्तन चाहने साथीहरुलाई नयाँ शक्तिमा आउन आग्रह गर्छु । छोडेर गएका साथीहरु अहिले पनि सम्पर्कमा हुनुहुन्छ, मलाई विश्वास छ ती साथीहरु आउनुहुन्छ,” बाबुरामले भने ।

संयोजक भट्टराईले युवालाई अहिलेको मुख्य समस्या भ्रष्टाचार रोक्न, शिक्षामा भएको सिन्डिकेट अन्त्य गर्न र रुढीवादी परम्परा हटाउन विशेष पहल गर्न आग्रह गरे । उनले जात धर्मले मुलुकको विकासमा अवरोध पुग्ने बताए । “नेकपासँग हाम्रो कुनै पनि समृद्धिको कुरा मिल्दैन, उनीहरुले जनतालाई ढाँट्ने काम गरिरहेका छन् । समाजवाद र पुँजीवाद ल्याउनका लागि सबैले सीप सिक्नुपर्छ,” उनले भने । 

तपाईंको मत