उत्तर कोरियाली नेता किम जोङ उनले आणविक कार्यक्रम अन्त्य गर्नका लागि रणनीतिक निर्णय गरेका हुन् वा आणविक परमाणु निषेधका बहानामा उनको अभावग्रस्त मुलुकलाई भौतिक लाभ पुर्याउने कपटी कूटनीतिको अर्को पाइला चालेका हुन् ?
किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीत सिंगापुरमा जुन १२ मा हुने शिखर बैठकको सबैभन्दा मुख्य प्रश्न सायद यही हुनेछ । त्यस बेलासम्म यसको उत्तर कसैले दिन सक्तैन सायद किम स्वयंले पनि सक्तैनन् ।
आशावादीहरू परमाणु निषेधको किमको घोषित चाहना भरपर्दो भएको ठान्छन् । उनीहरू किमका पिता किम जोङ इलको सन् २०११ मा मृत्यु भएपछि उत्तर कोरियाको अर्थतन्त्रमा आधारभूत परिवर्तन भएको यथार्थको स्मरण गर्छन् । अहिले उत्तर कोरियाली अर्थतन्त्र सन् १९९० को दशकको मध्यतिरबाट थालिएको क्रमिक बजारीकरण प्रक्रियाको परिणाम स्वरूप बढी खुला भएको छ, कुल गार्हस्थ्य उत्पादनको करिब आधा जति विदेश व्यापार हुन्छ । तर, यस खुलापनले जोखिम पनि निम्त्याएको छ र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण यसमा गहिरो असर नपरोस् भनेर त्यसलाई रोक्ने किमको सक्रिय कूटनीतिक प्रयासबाट पनि उनको गम्भीरता बुझ्न सकिन्छ ।
बाबुभन्दा बेग्लै ३४ वर्षीय किम सन् १९७० को दशकमा चीनको सुधारका अगुवा देङ स्याओपिङको अनुकरण गर्दै बजारमुखी आर्थिक वृद्धिको पैरवी गरिरहेका छन् । किमले हालै सेनाका तीन जना पुराना अधिकारीहरूलाई हटाएर उनी आर्थिक विकासमा केन्द्रित हुनका लागि उपयुक्त कूटनीतिक वातावरण तयार गर्न केही महत्त्वपूर्ण सुधारको तयारीमा रहेको संकेत दिएका छन् । मुख्य प्रश्न के हो भने के ट्रम्प राष्ट्रपति रिचार्ड निक्सनले देङको चीनलाई आलिंगन गर्न तयार भएजस्तै किमको उत्तर कोरियालाई अपनाउन तयार छन् ?
शंकालुहरू भने किम परमाणु निषेधका पक्षमा इमानदार छन् भन्ने विश्वास गरिहाल्न नहुने ठान्छन् । उनीहरू के भन्छन् भने अन्तर्राष्ट्रिय सन्धि सम्झौता पालना गर्न किम उनका बाबु र अझ हजुरबाबु किम इल सुङभन्दा फरक छन् भन्ने कुनै प्रमाण छैन । उनीहरू मूलतः तीनवटा प्रमुख सबालमा उत्तर कोरियाले पूर्ण सहयोग गर्ला भन्नेमा शंका गर्छन् ।
पहिलो, किमले घोषणा गरे पनि उत्तर कोरियाको आणविक हतियार कार्यक्रम ‘पूर्ण पुष्टि गर्न र पुनःनिर्माण हुन नसक्ने गरी विघटन‘ (सीवीआईडी) गर्न उनी सहमत भएका हुन् कि हैनन् भन्ने स्पष्ट छैन । उनको प्रतिबद्धता आकांक्षाका रूपमा रहेको छ र यसमा ठोस व्यावहारिक पक्षको अभाव छ । दोस्रो, उत्तर कोरियाको पुरानो खराब उदाहरण हो । शंकालुहरू किमले छड्के परमाणु निरीक्षणका लागि अनुमति दिनेमा पनि सन्देह गर्छन् । पूर्ण विघटनका लागि यस्तो नीरीक्षण महत्त्वपूर्ण पक्ष हुन्छ । अर्को चाहिँ उत्तर कोरियाले उसको परमाणु निषेधको सर्त के हो भनेर अझै स्पष्ट पारेको छैन । उसका पुराना आधिकारिक सर्त दक्षिण कोरियाबाट अमेरिकी सेनाको फिर्ती तथा दुई पक्षीय सम्झौताको अन्त्य कायम रहेमा अगाडि बढ्नै सकिनेछैन ।
परन्तु, आशावादी र शंकालुहरू दुवैको चित्त बुझ्नेगरी परमाणु निषेध हुने उपाय हुनसक्छ । यो उपाय पहिल्याउन विगत तीन दशकका कूटनीतिक विफलताको सबैभन्दा मुख्य आधारभूत कारणमा ध्यान दिएर एक कदम पछाडि हट्नु आवश्यक छ । उच्चस्तरमा विद्यमान परस्परमा गम्भीर अविश्वासले गर्दा ठूला शक्तिहरूबाट घेरिएका सानो र कमजोर मुलुक उत्तर कोरियालाई आफ्नो सुरक्षाप्रति एकोहोरो बनाइदिएको छ । यस समस्याको जड नै पन्छाउन अमेरिकाले संकीर्ण सैनिक तथा सुरक्षा उपायमा अडिरहनुको साटो राजनीतिक बाटो अपनाउनुपर्छ ।
उदाहरणका लागि सोभियत साम्राज्यको पतनले किम इल सुङको असुरक्षाको भावना उच्च तहमा पुगेको बेला सन् १९९१ ÷९२ मा कूटनीतिक सम्बन्ध स्थापना गर्ने उत्तर कोरियाको प्रस्ताव राष्ट्रपति एच डब्लु बुसको प्रशासनले अस्वीकार गरेको थियो । यस्तै, सन् १९९४ को जेनेवा सहमतिका सम्बन्धमा उत्तर कोरियाको मुख्य गुनासो अमेरिकाले उत्तर कोरियासँग राजनीतिक सम्बन्ध सुधारको प्रतिबद्धता पूरा गरेन भन्ने रहेको छ । क्लिन्टन प्रशासनले सन् २००० मा राजनीतिक अवधारण अपनाउन खोजेको थियो तर यो निकै ढिलो र कम भयो ।
ट्रम्प र किमको पहिलो शिखर बैठक एकैपटमा अमेरिका र उत्तर कोरियालाई विभाजन गर्ने प्रमुख तीनवटा विवाद समाधान गर्न सफल नहुनसक्छ । तर, यसको अर्थ शिखर बैठक विफलै हुन्छ भन्ने अवश्य पनि हैन । पहिलोपटक अमेरिकाले उत्तर कोरियाली समस्याको लक्षणमा केन्द्रित हुनुको साटो त्यसको आधारभूत कारणलाई सम्बोधन गर्ने प्रयास गर्दैछ । यसैले किमसँग प्रत्यक्ष वार्ताका लागि भेट गर्ने ट्रम्पको त्वरित निर्णय सार्थक र फलदायी हुनसक्छ । विशेषगरी ट्रम्पले आणविक हतियार बिना पनि उत्तर कोरिया सुरक्षित रहन्छ र अन्तर्राष्ट्रिय समुदायले आर्थिक विकासमा मद्दत गर्छ भन्ने आत्मविश्वास किममा जगाउन सके वार्ता सफल र फलदायी हुनेछ ।
ट्रम्पले परमाणु निषेध प्रक्रियाका विस्तृत विवरण उत्तर कोरियासँग वार्ताको अनुभव भएका कूटनीतिज्ञहरूको जिम्मामा छाड्नु बुद्धिमानी हुनेछ । यसका साथै, उनले आर्थिक प्रतिबन्ध प्रभावकारी बनाउन उनले अन्तर्राष्ट्रिय साझेदारी पुनः कायम गर्नुपर्नेछ । किमलाई परमाणु निषेध स्वीकार गर्न लगाउने सबैभन्दा शक्तिशाली उपाय यही नै हो । यसमा चीनसँगको निकट सहयोग आवश्यक हुनेछ । यसबाहेक उत्तर कोरियाले अन्र्तराष्ट्रिय निरीक्षकहरूलाई परमाणु निषेध सम्झौतमा सहमति जनाउनुभन्दा पहिले नै उसको आणविक कार्यक्रमको आकस्मिक निरीक्षण गर्न दिएमा अमेरिकाले त्यसलाई पुरस्कृत गर्नुपर्छ ।
पक्कै पनि यो सफल नै हुन्छ भन्ने कुनै प्रत्याभूति छैन । तैपनि, सफल परमाणु निषेधका लागि कोरियाली युद्धको आधिकारिक अन्त्य, सम्पर्क कार्यालयहरूको स्थापना, आर्थिक प्रतिबन्ध खुकुलो बनाउने यथार्थपरक विवेकको प्रयोगजस्ता दृढ राजनीतिक निर्णयहरू आवश्यक छन् भन्ने चाहिँ स्पष्ट भइसकेको छ ।
(दक्षिण कोरियाका पूर्व विदेश मन्त्री तथा सिओल नेसनल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका मानार्थ प्राध्यापक )
बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य
Copyright: Project Syndicate, 2018.