विद्यालय निजी, सार्वजनिक गुठी आदि विभिन्न प्रकारका हुन्छन् । सरकारी वा निजी जसले सञ्चालन गरे पनि विद्यालयको ध्येय ज्ञान बाँड्ने नै हो । विद्यालयपिच्छे शुल्कको भिन्नता होला तर उद्देश्यको दृष्टिबाट सबै विद्यालय एकै हुन् ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)का अनुसार विद्यालय शैक्षिक सेवा प्रदान गर्ने केन्द्र हो जसले ज्ञान, सीप, आचरण, मूल्य, मान्यता हासिल गर्न र सिक्नमा सहज बनाउँछ । यसैले विद्यालयमा विद्यार्थीलाई स्वःस्फूर्त आनन्द महसुस गर्ने, ज्ञान प्राप्त गर्ने, समानुभूति अनुभव गर्ने वातावरण हुनुपर्छ ।
विद्यालयहरू सुविधासम्पन्न महँगो, कडा, फितलो, सस्तो, अतिरिक्त क्रियाकलापमा जोड दिने, सबै क्षेत्र समेट्ने तर विशिष्टता नभएको, भौतिकरूपमा विपन्न आदि प्रकारका हुन्छन् । धार्मिक आस्था जोडिएका विद्यालयहरू केही फरक किसिमका हुन्छन् ।
अभिभावक
बालबालिकाको पालनपोषण, संरक्षण, हित गर्ने बाबु, आमा वा अन्य कोही नातेदार वा अरू जो भए पनि बालबालिकाकाका लागि सबैथोक अभिभावक हो । कानुनी तथा सामाजिकरूपमा बालबालिकाको लागि अभिभावक जिम्मेवार हुन्छन् ।
अभिभावक धेरै प्रकारका छन् - बेफुर्सदिला, कामकाजी, शिक्षित, अशिक्षित, बुज्रुक, समझदार र प्रतिबद्ध । समयको दबाबले बालबालिकालाई समय दिन नसक्नेले बालबालिकालाई छात्रवासमा भर्ना गर्छन् । उनीहरूको सोच विद्यालयलाई शुल्क बुझाएपछि आफ्नो जिम्मेवारी पूरा हुन्छ भन्ने देखिन्छ । अर्काथरी समझदार अभिभावक विद्यालय शिक्षक, बालबालिका र अभिभावक मिलेर बालबालिकालाई राम्रो शिक्षा दिन सकिन्छ भन्ने सोच राख्छन् । कोही अभिभावक अनपढ, अशिक्षित हुन्छन् र पनि बालबालिकाले धेरै सिकुन्, जानुन् बुझुन्, ठूलो मानिस बननुन् भन्ने चाहान्छन् । यद्यपि, उनीहरू असल सोच हुँदाहुँदै पनि हरेक ठाउँमा चुकेका हुन्छन् । सही विद्यालय चयन, समयानुकूल बालबालिकालाई सुझाव सल्लाह दिन आदि।
कोलोनीमा बस्ने, डिपार्टमेन्ट स्टोरबाट किन्ने, अनलाइनबाट पैसा तिर्ने, पिजा बर्गर खाने, एकल परिवारमा बस्ने, धर्म, परम्परा मूल्यमान्यता, समुदायप्रति खासै चासो नदिने अभिभावकलाई विद्यालयको पनि पर्वाह हुँदैन । उनीहरू पैसा तिरेपछि कर्तव्य र दायित्व सकिएको ठान्छन् ।
विद्यार्थी
'कागजस्तो चतुर, बकुल्लोजस्तो एकाग्र, कुकुरकोजसतो निद्रा, थोरै खाने र घर छाड्ने लक्षण भएका विद्यार्थी आजको युगमा बिरलै भेटिन्छन् । तर, अहिले पनि अब्बल विद्यार्थीले नै विश्व हाँकेका छन् । युग कालसँगै शिक्षक तथा विद्यार्थीको भूमिकामा परिवर्तन भएको छ ।
आजकलका विद्यार्थिहरू कम समय, कम लगाव र साधनामा बढी सिकाइ चाहन्छन् । सहज सिकाइ उनीहरूको रोजाइमा पर्छ । विद्यालयले यो कुरा मनन गर्नुपर्छ ।
शिक्षक
शिक्षक विद्यार्थीलाई शिक्षण अभ्यास मार्फत् ज्ञान, योग्यता, सद्गुण हासिल गर्न मद्दत गर्ने व्यक्ति हो । आजका शिक्षकमा भने यो गुण छैन । सबै क्षेत्र मुद्रा केन्द्रित रहेपछि शिक्षण पनि अछुतो रहने कुरै भएन । कोचिङ, ट्युसन, गेस पेपर, गाइड जस्ता अभ्यासहरू आए ।
शिक्षण र सिकाइ
मरिया मन्टेसरीको भनाइमा शिक्षाको उद्देश्य सबै बालबालिकाको क्षमता विकास हुनुपर्छ । शिक्षण विधि एउटा कला हो र यसको प्रयोग गर्न प्रतिभा चाहिन्छ । बालबालिका फूल रोप्ने गमला होइनन् बरु निरन्तर बग्ने झरना हुन् । बालबालिकालाई वयस्कजस्तो व्यवहार नगरी सधै सपष्ट र सरल भाषामा बुझाउनुपर्छ ।
शिक्षण र सिकाइ दुवै कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ । झट्ट हेर्दा विद्यालय सबैथोक जस्तो लागे पनि विद्यार्थी नै प्रमुख हो । तसर्थ सिकाइमा विद्यार्थी तयार गरेपछि मात्र शिक्षण सुरु हुन्छ । विद्यार्थी तयार गर्न अभिभावकको मुख्य भूमिका हुन्छ । विद्यार्थी तयार भएपछि मात्र विद्यालय शिक्षण सिकाइको कुरा आउँछ । यसकारण पनि विद्यालय प्रमुख हो तर महँगो विद्यालय नै 'रामवाण' भने होइन । कमजोर तथा मध्यम बच्चाहरूका हकमा भने विद्यालयको पनि खास भूमिका हुन्छ ।
विद्यालय छनोट कसरी गर्ने ?
हामीमध्ये केही राम्रो विद्यालय खोज्न घरदेखि टाढा पुग्छौँ । कसैले महँगो विद्यालय छान्छौँ । कोही छिमेकीको बच्चा पढ्ने ठाउँमा जान्छौँ । मानव मनोविज्ञान न हो अच्चमको हुन्छ । विद्यालय छनोटका आधार के के हुन् ? कस्तो विद्यालय किन राम्रो ? राम्रो हुनुका आधार के के हुन् ?
सर्वप्रथम हाम्रो बच्चा कस्तो छ ? हाम्रो पारिवारिक स्थिति कस्तो छ ? हाम्रो आर्थिक कस्तो छ ? हाम्रो घर कुन स्थानमा छ ? यि सबै कुरा विचार गरेरमात्र विद्यालय छनोट गर्नुपर्छ ।
विद्यालय छनोटमा मननीय पक्षमा विद्यालय शुल्क, घरदेखि विद्यालयसम्मको दूरी, नयाँ विद्यालय, पुरानो विद्यालय, शिक्षकशिक्षिकाको संख्या, खेल मैदान, भौतिक पूर्वाधार, कक्षा कोठा, पुस्तकालय, शौचालय, अतिरिक्त क्रियापलाप आदि हुन् ।
विद्यालय छनोटमा देखिएका समस्या
विद्यालय छनोटमा आफन्तको सुझाव, साथीभाइको संगत, महँगोलाई गुणस्तरीय सोच्नु, विद्यालयको भौतिक पूर्वाधारमा लोभिनु, विज्ञापनको प्रभाव, सम्पत्तिको रवाफ, छिमेकीलाई देखाउन, विद्यालय छनोटमा समय नदिनु, ज्ञानको कमी, अङ्ग्रेजी मोह र झुकाव आदि समस्या देखिएका छन ।
उपसंहार
विद्यालय छनोट गर्दा शैक्षिक विषय अर्थात् सिकाइ, अध्ययन, अध्यापनलाई मूल आधार बनाउनुपर्छ । साथै जीवनोपयोगी ज्ञान, अतिरिक्त क्रियाकलाप यसको अर्को गहन पक्ष हो । आजको युगमा सबैले पढेर जागिर खानै पर्छ भन्ने छैन । तसर्थ अन्य सीप, कलातर्फ पनि ढल्किनुपर्छ ।
ज्ञान, अनुशासन, मूल्य, मान्यता, धर्म, परम्परा, संस्कृति, शिष्टता, नम्रता, आचरणजस्ता नैतिक मूल्य पनि विद्यालयले दिन सक्नुपर्छ । यस्ता विद्यालय छनोट गरेमा अभिभावकहरूले पछुताउन पर्दैन ।