ad

विचार

मोदी र एर्दोआनको तुलना 

शशि थरुर

मोदी र एर्दोआनको तुलना 

बेग्लाबेग्लै मुलुकका राजनीतिक नेताहरूबीच तुलना गर्नु सामान्यतः रुचिकर हुँदैन । तर भारतका प्रभानमन्त्री नरेन्द्र मोदीभन्दा ११ वर्ष पहिले सत्तामा पुगेका टर्कीका राष्ट्रपति रेजेव तैयप एर्दोआनको व्यक्तिगत र राजनीतिक उत्थान क्रम हेर्दा तुलना नगरी रहन सकिँदैन । 

एर्दोआन र मोदी दुवै साना सहरमा सामान्य पृष्ठभूमिबाट आएका हुन् । एर्दोआनले रिजको सडकमा कागती सोडा र पेस्ट्री बेच्थे । मोदीले बन्दनगरको रेलवे स्टेसनमा आफ्ना बाबु र दाजुलाई चिया पसलमा मद्दत गर्थे । यी दुवै आफ्नै परिश्रमले उठेका व्यक्ति हुन् । दुवै जाँगरिला र शारीरिक दृष्टिमा तन्दुरुस्त छन् । राजनीतिमा होमिनुभन्दा अगाडि एर्दोआन व्यावसायिक फुटबल खेलाडी थियो । मोदी प्रभावकारी वक्ता त हुँदैहुन् आफ्नो ५६ इन्चको छातीको बखान गरेर थाक्तैनन् । 

एर्दोआन र मोदी दुवै जना धार्मिक आस्था लिएर हुर्किए । त्यही धार्मिक आस्थाअनुरूप उनीहरूको राजनीतिक जीवनको निर्माण भयो । एर्दोआनको जस्टिस एन्ड डेभेलोपमेन्ट पार्टी (एकेपी) र मोदीको भारतीय जनता पार्टी (भाजपा) दुवैले धर्म सापेक्ष राष्ट्रवादी विचार फैलाएका छन् । उनीहरू यस्तो विचारलाई तिनको मुलुकको विकासमा महत्त्वपूर्ण योगदान गर्ने पश्चिमी शैलीको धर्म निरपेक्ष विचारभन्दा उपयुक्त ठान्छन् । 

पक्कै पनि चुनाव जित्नका लागि एर्दोआन र मोदी दुवैले धर्मवादी मतदातामा मात्रै निर्भर छैनन् । दुवैले आधुनिक मञ्चहरूमा अभियान चलाएका छन् र व्यवसायमैत्री नीति तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषय पनि अगाडि सारेका छन् । आफूले स्थापना गर्न खोजेको विचारधाराभन्दा आर्थिक समृद्धिप्रति उनीहरूले बढी जोड दिने गरेका छन् । 

एर्दोआन र मोदी दुवैले भूत र भविष्य दुवैलाई देखाउने गरेका छन् । एर्दोआन अटोमन साम्राज्यको गौरव गाथा गाउँछन् र मतदातालाई भन्छन् –  ”तिनले (मतादाताले) राष्ट्रपति र सांसदहरूमा चुन्दै छैनन् बरु मुलुकको भविष्यको निर्धारण पनि गर्दैछन् । ” यसैगरी मोदी पनि निरन्तर प्राचीन भारतको महान उपलिब्धहरूको बखान गर्दै उन्नत भविष्य निर्माण गरेर पुरानो गौरव पुनः हासिल गर्ने दाबी गर्छन् ।

संक्षेपमा एर्दोआन र मोदी दुवैले विगतको गौरवलाई बढाइचढाइ गरेर शक्ति केन्द्रित गरेका छन् भने तिनले आफूलाई आफ्नो मुलुकलाई बाँधेर राख्ने सिक्री चुडाँउन सेतो घोडामा चडेर हालमा तरबार लहराउँदै पहाड उक्लिन लागेका (दन्त्यकथाका) वीरका रूपमा चित्रित गर्दै भविष्यमुखी परिवर्तनका गतिशील संवाहकका रूपमा प्रस्तुत गरेका गर्छन् । 

यस्तै, एर्दोआन र मोदीले आफूलाई लामो समयदेखि महानगरीय धर्मनिरपेक्ष समुदायबाट पन्छाइएको वास्तविक तुर्क वा भारतीयलाई प्रतिनिधित्व गर्ने राजनीतिबाहिरको पात्रका रूपमा चित्रित गरेका छन् । तिनीहरू सत्तामा पुग्ने बेलामा विद्यमान चर्को राजनीतिक असन्तुष्टिका कारण यस प्रकारको राजनीतिक सन्देशले व्यापक स्थान पायो । राज्यमा संस्थापनका रूपमा रहेका धर्मनिरपेक्ष सम्भ्रान्तहरू विरुद्धको धारणालाई धार्मिक प्रभुत्ववाद र इतिहासको पुनरुत्थानसँग मिसाएर प्रस्तुत गर्दा उनीहरूको उदय मोफसलका साना सहरहरूका मध्यमवर्गको आवाजका रूपमा प्रकट हुनपुग्यो । 

सन् २००३ मा एर्दोआन पहिलोपटक प्रधानमन्त्री बन्दा विश्वव्यापी वृद्धिले उनलाई टर्कीको राजनीति बदल्नसक्ने गरी बलियो अवस्थामा पु¥यायो । धार्मिक पहिचान, बहुमतवाद, उग्रराष्ट्रवाद, संस्थाहरूमाथिको प्रभुत्वलगायतको अधिनायकवादी शैली, सञ्चार माध्यममा नियन्त्रण, सुदृढ आर्थिक वृद्धि र प्रखर व्यक्तिगत छवि मिसिएको उनको राजनीतिक सूत्रले उनलाई दुई पटक प्रधानमन्त्रीका र २०१४ पछि राष्ट्रपतिमा निर्वाचित गरायो । 

जानी वा नजानी मोदीले पनि भारतको पुनर्संरचनाका लागि एर्दोआनको सूत्र अपनाएका छन् । उनले मुसmमानहरूलाई पन्छाएर हिन्दु प्रभुत्व स्थापित गर्न खोजेका छन् । मोदीको राष्ट्रवादमा उनीहरूलाई पन्छाइनेमात्र हैन देशद्रोहीका रूपमा समेत चित्रित गरिएकाले  अल्पसंख्यहरूले समग्रमा पाखा लगाइएको अनुभव गरेका छन् ।  

यसबाहेक मोदीको भारतमा संकीर्ण साम्प्रदायिक कार्यसूची पूरा गर्न राजनीतिक समर्थकहरू खरिद गरिन्छन् र संस्थाहरू ध्वस्त पारिएका छन् । सञ्चार माधयम र विश्वविद्यालयमा विद्रोहीहरूलाई धम्क्याइन्छ । सरकारको कुव्यवस्थापनका कारण कुल गार्हस्थ्य वृद्धि अपेक्षित हुन नसक्नुमात्रै मोदीको मार्गमा तगारो बनेको छ ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एर्दोआन र मोदीको व्यवहारमा दुईवटा समानता पाइन्छन् । दुवैले आआफ्नो आन्तरिक छविलाई चम्काउने गरी सक्रिय विदेश नीति अपनाएका छन् र प्रवासीहरूको समर्थन हासिल गरेका छन् । बाल्कानमा एर्दोआनको भाषणले अमेरिका र युरोपलाई मात्र हैन सर्ब र क्रोयटसलाई समेत चिडाएको हुनसक्छ तर तुर्कहरूबीच उनको समर्थन बढाएको छ । मोदीले विदेशमा त्यहाँ बस्ने भारतीयहरूको समूहलाई सम्बोधन गर्दा उनले देशभित्रका स्रोतालाई लक्षित गरिरहेका हुन्छन् । 

एर्दोआनका सम्बन्धमा पुस्तक लेखेका टर्कीका एकजना विश्लेषक सोनर चापटागेले हालै टिप्पणी गरेका छन् – ‘‘मुलुकको आधार जनसंख्याले उनलाई घृणा गर्छ र उनले केही पनि राम्रो गर्न सक्तैनन् भन्ने ठान्छ । तर, अर्कातिर बाँकी आधा जनसंख्या उनको कट्टर समर्थक छ र उनले कुनै गल्ती गर्नै नसक्ने ठान्छ ।’’ भारतमा मोदीका हकमा पनि सत्य यही हो ।

टर्की र भारतका बीचमा उल्लेख्य भिन्नता पनि छन् । पहिलो त टर्कीको ८ करोड १० लाख जनसंख्या भारतको एउटा राज्य उत्तरप्रदेशको २१ करोडको आधा पनि छैन । टर्की ९८ प्रतिशत मुसलमान मुलुक हो भने भारतमा हिन्दुहरूको जनसंख्या ८० प्रतिशतमात्र छ । इस्लामीकरण हिन्दु प्रभुत्ववादीले सधैँ भन्ने गरेजस्तो विश्वव्यापी कार्यसूची भएको छ भने हिन्दुत्व कहिल्यै भएन । टर्कीमा अहिंसा र सहअस्तित्वको सन्देश प्रत्येक भारतीयको मस्तिष्कमा पु¥याउने महात्मा गान्धीजस्तो कुनै व्यक्तित्व पनि छैन । 

त्यसमाथि टर्की लगभग विकसित मुलुक हो भने भारतलाई विकसित कहलिन लामो यात्रा तय गर्नुपर्छ । टर्की न भारतजस्तो कहिल्यै उपनिवेश बनेको थियो भने न धर्मका आधारमा भारतमा पाकिस्तान बनेजस्तो कुनै विभाजन नै भएको थियो । यद्यपि, ग्रिकबाट टर्की छुट्टिँदा जनसंख्या सरेको घटना लगभग उस्तै देखिन्छ । 

टर्कीले भोगेको तर भारतले अनुभव नगरेको अर्को पक्ष सैनिक शासन पनि हो । यथार्थमा भारतीय लोकतन्त्रले कुनै एउटा शासकले कब्जा गर्न नसक्ने गरी गहिरो जरा गाडेको छ । यसले कतिपय भारतीयहरूलाई भारत टर्कीकै मार्गमा एक जना अधिनायकको नेतृत्वमा बहुमतवादी अनुदार लोकतन्त्रतर्फ उन्मुख छ भन्ने विश्वास लाग्दैन । 

पक्कै पनि अझै मोदी र भाजपाले एर्दोआन र एकेपीका तुलनामा ‘राज्य कब्जा‘ गर्न सकेका छैनन् । तर एर्दोआनले मोदीले भन्दा ११ वर्ष पहिले सत्ता हात पारेका पनि त थिए । परन्तु, मोदी र भाजपाले लिएको बाटोमा एर्दोआनसँग तुलना गर्न र चासो राख्नका लागि पर्याप्त समानता भेटिन्छ । खतराको घन्टी पनि बज्न थालेको छ । उदाहरणका लागि टर्कीको लिरा र भारतीय रुपियाँको मूल्य गत महिना ५ प्रतिशतभन्दा बढी घटेको छ । टर्कीमा यही महिनामा र भारतमा २०१९ को सुरुमा निर्वाचन हुँदैछ । के मतदाताहरूले खतराको घन्टीको आवाज सुन्लान् त? 

(भारतका पूर्व विदेश राज्यमन्त्री)  
Copyright: Project Syndicate, 2018.

तपाईंको मत