बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ–उनबीच हुने भेटघाटको क्षणलाई विश्व समुदाय प्रतिक्षामा छ । दुवै नेताबीच जुन महिनाको १२ तारिख सिंगापुरको सेनटोसा द्वीपमा अवस्थित लग्जरी कपेले होटलमा भेटघाट हुँदैछ ।
ह्वाइट हाउसले दुवै नेताहरुबीच सेनटोसा द्वीपमा भेटघाट हुने पुष्टि गरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार भेटघाटको तयारी योजनाअनुसार नै भइरहेको बताएका थिए । अमेरिकाले उत्तर कोरिया परमाणु हतियार समाप्त गरोस् भन्ने चाहँदै आएको छ ।
यद्यपि सिंगापुरमा हुन गइरहेको भेटघाटमा छलफल हुने एजेण्डाका बारेमा अहिलेसम्म केही स्पष्ट हुन सकेको छैन । ट्रम्पले पहिलो चरणको भेटघाट लम्बिन सक्ने र त्यसपछि पनि कयौं पटक भेटघाट हुन सक्ने बताइसकेका छन् । अहिलेसम्म उत्तर कोरियाका कुनै पनि नेताले अमेरिकाका कुनै पनि राष्ट्रपतिसँग भेटघाट गरेका छैनन् ।
ह्वाइट हाउसकी प्रेस सचिव सारा सैंडर्सले ट्विट गरेर ट्रम्प र किमबीच पाँच तारे कपेले होटलमा भेटवार्ता हुने उल्लेख गरेकी छिन् । उनका अनुसार दुवै नेताहरुका लागि रात्रीकालिन बसाई भने अर्कै होटलमा बस्ने छन् । प्राप्त जानकारी अनुसार ट्रम्प सांग्रिला होटलमा बस्न सक्नेछन् । उनी उक्त होटलमा यस अघि पनि बसी सकेका छन् । त्यस्तै किम जोङ–उन सेन्ट रेगिस सिंगापुर होटलमा बस्न सक्ने अनुमान गरिएको छ ।
सेनटोसा द्वीप सिंगापुरका ६३ द्वीपहरु मध्येको एक द्वीप हो । मुख्य आइल्याण्डबाट केही दूरीमा रहेको सेनटोसा द्वीप ५ सय हेक्टरमा फैलिएको छ । त्यहाँ कयौं लक्जरी रिसोर्ट, प्राइभेट मरिना र आलिशान गल्फ क्लबहरु छन् । यो द्वीपको समुन्द्री डकैती, हत्या–हिंसा र युद्धको कालो इतिहास पनि छ ।
https://www.bbc.com/hindi/international-44383009