site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गहिराइमा मोती टिप्दै नीर
Sarbottam CementSarbottam Cement

– राजेश खनाल


यतिखेर ०५३ वैशाख १ गतेको त्यो दिन सम्झिरहेको छु । सम्झिनै पनि पर्छ ।

रेडियो नेपालको एफएम १०० मेगाहर्जबाट दुई घण्टा समय लिएर शुरु हुँदै थियो ‘गुड नाइट एफएम’ । नेशनल स्टुडियोको प्रस्तुति । राति १० देखि १२ बजेसम्म । त्यसैको एउटा दैनिक कार्यक्रम थियो, ‘सांग्रिला काठमाडौं काठमाडौं’ । समाचारमूलक प्रस्तुति । उद्घोषक थिएँ म ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्घोषकका रूपमा मलाई मौका दिएका थिए— नेशनल स्टुडियोका अध्यक्ष नीर शाहले । यहीँबाट शुरु भएको थियो मेरो उद्घोषण पेशा ।

यसको १८ वर्षपछि एउटा रेडियो कार्यक्रमका लागि वरिष्ठ चलचित्रकर्मी, गीतकार र प्रशासक नीर शाहसँग कुराकानी गर्दै थिएँ । मेरो कर्मक्षेत्रमा एउटा थप मार्ग देखाइदिने शाहसँग उनको संघर्षका कुरा उप्काउँदै थिएँ ।

Global Ime bank

० ० ०

नीर शाहको रुझान सानैदेखि संगीत, नाट्यतर्फ रह्यो । पिताजी र दाजुहरू उनले यस क्षेत्रमा आफ्नो कदम नबढाए हुन्थ्यो भन्ने सोच्थे । यो सोचाइ ५०–५५ वर्षअघिको समयमा स्वाभाविक थियो । किनभने त्यसबेलाको अवस्था त्यस्तै थियो । घर, समाजले के भन्छ भन्ने मानसिकताले बढी काम गथ्र्यो ।

जसले जे भने पनि नीर नाट्यकर्ममा संलग्न भइरहे । यसका निम्ति उनको आमाको साथ, सहयोग र आशीर्वाद अथाह थियो । आमाको आशीर्वादकै कारण उनले नाट्यविधामा आफ्नो सक्रियता कायम राख्दै गए ।

नीर आमाको आशीर्वाद संस्मरण गर्छन् र भन्छन्, “कलाको कुनै पनि साधनाप्रति समर्पित हुनु स्वयंमा नराम्रो कुरो होइन भन्ने एक किसिमको दृढ विश्वास थियो मेरी आमामा । वास्तवमा मैले आमाबाटै प्रेरणा प्राप्त गरें । आमाले म लाग्न चाहेको क्षेत्रमा कुनै पनि रुकावट आउन दिनुभएन । आएका अवरोधलाई पनि पन्छाउने काममा सक्रिय भूमिका निर्वाह गर्नुभयो ।”

आमा एकजनालाई छोडेर उनका पिताजी र दाजुहरू भने अर्को कुनै क्षेत्रमा लाग्नुपर्छ भन्ने मान्यता राख्थे । यो तत्कालीन परिस्थितिले उत्पन्न गरेको मान्यता थियो शायद । यति हुँदाहुँदै पनि उनी आमाको आशीर्वादका साथ नाट्यकर्ममा होम्मिदै गए ।

बढ्दो उमेरसँगै उनी पढ्नका लागि दार्जिलिङ पुगे । नर्थ प्वाइन्ट कलेजमा पढ्न थाले । त्यसबेला दार्जिलिङ कला, संस्कृति र साहित्यका हिसाबले समृद्ध थियो । संगीत, नाटक र साहित्यका क्षेत्रमा दार्जिलिङ शिखर उक्लँदै थियो । त्यसैबेला नीर दार्जिलिङ पुगेका थिए ।

दार्जिलिङको त्यो कला, संस्कृति मिश्रित वातावरणले उनको सोच र कार्यलाई माझ्ने काम गर्‍यो । उनमा ऊर्जा थपिँदै गयो । उनको मष्तिष्कलाई यसले चम्काउने काम ग¥यो ।

५० वर्षअघि दार्जिलिङमा पढ्दै गर्दा उनले कलेजमा हुने केही नाटकमा अभिनय गरे । प्राकृतिक छटाका साथै रंग, प्रकृतिको सुन्दर रंगले रंगिएको त्यो नगरीको कलात्मक वातावरणमा उनी रमाउँदै गए ।

त्यसै बेला नाटकमा गरेको अभिनय मन पराए निर्देशक प्रताप सुब्बाले । उनले नीरलाई भेटे । आफ्नो बन्दै गरेको सिनेमा ‘पोनी ब्वाय’ (सइस केटो)मा अभिनय गर्न अफर गरे ।

नीर भन्छन्, “भानु जयन्तीका अवसरमा आयोजित एउटा कार्यक्रममा मैले नाटक खेलेको थिएँ । हृदयचन्द्रसिंह प्रधानको ‘ऊ मरेकी छैन’ भन्ने नाटक हो शायद । त्यो नाटकपछि प्रताप सुब्बाजी मलाई खोज्दै आइपुग्नुभयो । त्यहीँ नजिकैको बगैंचामा लगेर उहाँले केही तस्बिर खिच्नुभयो । उहाँले केही दिनमा खबर गरूँला, एउटा चलचित्रमा खेल्ने सन्दर्भमा हो भन्नुभयो । अर्को चलचित्रमा खेल्न पाउनु भनेको उत्सुकताकै विषय हुने नै भयो ।”

त्यही बेला सञ्चार मन्त्रालय, प्रचार विभागले चलचित्र ‘परिवर्तन’ बनाउँदै थियो । निर्देशक थिए हीरासिंह खत्री । त्यसमा अभिनय गर्न नीरले पनि अडिसन दिए । ‘परिवर्तन’का लागि छानिए । यसको श्रेय उनी पत्रकार नेपालभूषण न्यौपानेलाई दिन बिर्संदैनन् । यसरी उनी हीरासिंह खत्रीनिर्देशित ‘परिवर्तन’सँग जोडिए ।

यो चलचित्रको छायाँकनका लागि उनी कलकत्ता गएका थिए । कलकत्ता र काठमाडौंमा भएको छायाँकन सिध्याएर मात्रै उनी दार्जिलिङ फर्किए ।

त्यसैपछि हो उनी ‘पोनी ब्याय’मा अनुबन्धित भएको । उनी भन्छन्, “रतन मोथे नाम गरेका एक व्यक्ति आउनुभयो मलाई भेट्न । उहाँले आएर मलाई ‘पोनी ब्वाय’मा खेल्नका लागि अनुबन्धित गर्नुभयो ।”

सिनेमामा यसरी काम गर्दै गइएला भनेर नीरले सोचेका थिएनन् । उनी त गीत लेखन र नाट्य अभिनयमै रमाएका थिए । यो नै उनका लागि सबथोक थियो । त्यसबेला सिनेमा बन्थेनन् । सिनेमा नबनेपछि सिनेमामा काम गर्ने कुरै भएन । यतातिर सोचेनन् पनि । कालान्तरमा यसरी सिनेमा बन्दै जाला, सिनेमा खेल्दै गइएला, खेल्नुका साथै निर्देशन पनि गरिएला भनेर उनले सोचेका थिएनन् ।

नीर भन्छन्, “कुनै न कुनै रूपमा गीत–संगीत र नाटकको क्षेत्रमा संलग्न रहन्छु भन्ने आभास हुन्थ्यो मलाई । म दार्जिलिङ पढ्न जानासाथ त्यस्तै माहोल फेला पारें । त्यसले मेरो सोचलाई झनै बलियो जग प्रदान गर्‍यो ।”

यो जग फेला पारे पनि उनले पढाइलाई विशेष महत्व दिए । त्यसपछि मात्रै नाटक र सिनेमातर्फ ध्यान केन्द्रित गरे । बिस्तारै नेपाली सिनेमा बन्दै गए । फलतः सिनेमाको आकर्षणले नीरलाई दह्रिलो अँगालोमा बेर्‍यो । त्यसपछि गीत–संगीत र नाटकसँगै सिनेमा पनि उनको प्राथमिकतामा पर्दै गयो ।

भन्छन्, “सारा विकल्पलाई पन्छाएर मैले चलचित्र, नाट्यकला तथा संगीतकलामा नै लाग्न रुचाएँ । मेरो यो क्रियाकलापका विरुद्धमा जति आवाज बाहिर आए, लामो समय टिक्न सकेनन् ।”

आमाको आशीर्वादको श्रीपेच पहिरिएका नीरले आफ्नो अभिष्टलाई पूर्णता दिँदै गए ।

तथापि कतिपय अवस्थाबाट उनले जुझ्दै हिँड्नु पर्‍यो । उनले पनि प्रशस्तै संघर्ष गर्नुपर्‍यो । नीरका अनुसार संघर्षको बाटो जुन किसिमबाट अरु कलाकारले तय गरे, जुन रूपमा तिनले संघर्ष गर्नु प¥यो, झन्डैझन्डै त्यस्तै किसिमको संघर्ष उनले पनि गर्नु पर्‍यो ।

भन्छन्, “किनभने म एकैचोटि ठूलो रोल पाएर चलचित्रको पर्दामा आएको होइन । मैले पनि ‘एक्स्ट्रा’ कलाकार जस्तो सानोसानो भूमिका निर्वाह गर्दै आएको हुँ । म पनि बिस्तारै बिस्तारै माथि उक्लिएको हुँ ।”

यसरी उनलाई एउटा भूमिकाले अर्कोका लागि, अर्को भूमिकाले अर्कोका लागि सहयोग गर्दै गए । एउटा काम अर्को कामका लागि सहायक बन्दै गए । र, मेजर बे्रक पाए, चलचित्र ‘सिन्दुर’मा ।

‘परिवर्तन’देखि ‘सिन्दुर’सम्मको उनको सिनेयात्रा संघर्षमय नै रह्यो । आज जहाँ उनी उभिएका छन्, यो त्यही संघर्षको नतिजा हो । नीर भन्छन्, “त्यसबेला नाट्य, संगीत, चलचित्रमा लाग्नेहरूलाई सकारात्मक रूपले हेरिँदैनथ्यो । तसर्थ सामाजिक परिवेशसित लड्नुपर्ने संघर्ष त आफ्नो ठाउँमा छँदै छ । अर्को कुरो, चलचित्र वा नाटकको क्षेत्र परिस्कृत थिएन । हुर्किनसकेको यो क्षेत्र, त्यसलाई हुर्काउनका लागि गर्नुपर्ने संघर्ष आफ्नै ठाउँमा थियो ।”

यी यावत चुनौतीसित सिङ्गौरी खेल्दै नीरलगायत त्यसबेलाका चलचित्रकर्मी, रंगकर्मी यहाँसम्म आइपुगेका हुन् । नीर निरन्तर आफ्नो कर्मप्रति लगनशील भएर लागे । क्रमशः परिस्कृत हुँदै गए । ०२४ सालदेखि प्रारम्भ भएको संघर्षको यो यात्रा जसरी शुरु भएको थियो, अहिले पनि उस्तै रहेको उनको ठम्याइ छ ।

नीर यतिबेला पनि प्रकाश थापाको स्मरण गर्छन् । किनभने थापा निर्देशित ‘सिन्दुर’ले उनलाई चरित्र कलाकारका रूपमा स्थापित गरेको थियो । यसलाई उनी आफ्नो सौभाग्य ठान्छन् । त्यसभन्दा अघि चार–पाँच वटा फिल्म खेलिसकेको भए पनि दर्शकको नजरमा पर्ने खालको भूमिका पाउन भने सकेका थिएनन् ।

प्रकाशकै निर्देशनमा बनेको ‘मनको बाँध’मा पनि उनले सानो भूमिका पाएका थिए । तर, सानो भए पनि उनको अभिनयलाई प्रकाशले ‘नोटिस’ गरेका रहेछन् । त्यसैले उनले ‘सिन्दुर’मा नीरलाई चरित्र भूमिकामा प्रस्तुत गरे ।

त्यसउप्रान्त उनले पछाडि फर्केर हेरिरहनु परेन । निरन्तर सिनेमामा सक्रिय हुँदै गए । उनी आफैं पनि ‘सिन्दुर’मा प्राप्त भूमिकालाई आफ्नो  करिअरको ‘मेजर ब्रेक’ मान्छन् । यहीँबाट उनको अभिनय यात्राले खुला आकाशमा प्रवेश पायो ।

नीर भन्दै थिए, “यदि ‘मनको बाँध’मा मैले त्यो सानो भूमिका निर्वाह नगरेको भए शायद ‘सिन्दुर’मा त्यो महत्वपूर्ण भूमिका पाउने थिइनँ । यथार्थमा, धेरै लामो होमवर्क, धेरै जाँचपश्चात् प्रकाश थापाजीले मलाई ‘सिन्दुर’मा लिनुभएको हो । उहाँले दिएको त्यो अवसरलाई मैले इमानदारीसाथ निर्वाह गरें । म मेरो चरित्रलाई जीवन्त तुल्याउनमा तल्लीन भएँ ।”

चरित्र भूमिकामा स्थापित हुनुअघि उनी नायकका लागि छानिएका थिए । पहिलो नेपाली रंगीन सिनेमा ‘कुमारी’भन्दा अगाडि नै पहिलो रंगीन चलचित्रका रूपमा प्रसिद्ध नाटककार बालकृष्ण समको नाटक ‘म’ निर्माण हुने भएको थियो । ‘म’को शुभसाइत शंकर होटलमा भएको उनी सम्झिन्छन् । ‘म’को मुहूर्त शटमा प्रसिद्ध नाटककार बालकृष्ण समले ‘क्ल्याप’ दिए । कवि केदारमान व्यथितले क्यामेराको स्विच दबाए । यसरी पहिलो रंगीन चलचित्र ‘म’को मुहूर्त शट लिइयो । त्यसमा तीनजना प्रमुख पात्र थिए । प्रमुख पुरुष पात्रका रूपमा नीरले अभिनय गर्दै थिए । अन्य प्रमुख कलाकारमा गोपीनाथ अर्याल र भुवन चन्द थिए ।

प्रेम बस्नेतले निर्देशन गर्ने चलचित्र ‘म’को छायाँकन शुरु भएर पनि त्यो सिनेमा बन्न सकेन । डिब्बा बन्द भयो । झन्डैझन्डै हिरो बनेका नीर चरित्र पात्रमै अल्झिए ।

उनी भन्छन्, “त्यसलाई चलचित्र संस्थानले बनाउँदै थियो । ‘म’ र ‘कुमारी’को काम लगभग उही गतिमा भइरहेको थियो । दुबैका निर्देशक प्रेम बस्नेत थिए । तर, ‘म’ रोकियो, ‘कुमारी’ बन्यो र पहिलो नेपाली रंगीन चलचित्रका रूपमा दरियो ।”

संगीत, कला, नाटक, सिनेमा र साहित्यमा सरोबरी समाहित नीरले अभिनयमात्रै गरेनन्, गीतमात्रै लेखेनन्, एउटा प्रशासकका रूपमा पनि आफूलाई उभ्याए । उनी चालीस दशकको प्रारम्भमा नेपाल टेलिभिजन परियोजनाको प्रमुख भए ।

नेपालमा टेलिभिजनको शुरुआत हुँदै थियो । चर्चाले बजार तातेको थियो । नेपालमा नितान्त नौलो प्रविधि भित्रिँदै थियो, जसलाई भित्र्याउने जिम्मेवारी पाएका थिए नीरले । तर, सजिलो थिएन यो काम ।

श्रीमद्भागवत् गीतामा भनिएको छ— कर्ममा तिम्रो अधिकार छ, फलमा छैन । फल पाउन पनि सकिन्छ, नपाउन पनि सकिन्छ ।

कर्मशील नीरले पनि कर्ममा मात्रै ध्यान दिए । कर्म गरेपछि फल प्राप्ति निश्चित छ । यसमा अथाह विश्वास गर्थे उनी । त्यसैले फलमा ध्यान दिएनन् । बस् ! कर्म गर्दै गए ।

त्यही कर्मशीलताको परिणति हो नेपाल टेलिभिजनको आजको विशाल स्वरूप । त्यसबेला यो जिम्मा लिनु पनि चुनौतीको पहाड उक्लनुभन्दा कम थिएन । तर, पनि कर्ममा विश्वास गर्ने र कामलाई कुनै पनि हालतमा टुंगोमा पुर्‍याउने भावना बोकेका नीरले काम गर्दै गए ।

त्यो चुनौती स्वीकार गर्नु आफैंमा कठिन कर्म थियो । नीर भन्छन्, “यसको पछाडि रहेको एकमात्र कारण हो, आफूले जिम्मा लिएको कामलाई जसरी भए पनि सफल बनाउनै पर्छ भन्ने दृढ अठोट र काम गर्ने भावना । मानिसले जति पनि काममा हात हाल्छन्, त्यसको पछाडि यस किसिमको भावना जागृत भएन भने त्यो काम सफल हुँदैन । यदि यो भावनालाई तपाईंले आफूभित्र बलियोसँग स्थापित गर्न सक्नुभएको छ भने झन्डैझन्डै ५० प्रतिशत काम फत्ते भएको तपाईंले महसुस गर्न सक्नुहुन्छ ।”

आफूले उपयुक्त किसिममा काममा हात हालेको छु भन्ने भावना उनमा थियो । अनि यो काम आफू र आफ्ना केही साथीहरूको सहयोगमा निर्वाह गर्न सक्छु र कामलाई पूर्णता दिन सक्छु भन्ने अठोठ पनि थियो । भन्छन्, “नेपाल टेलिभिजनको स्थापना गरिँदा म र मेरा केही साथीभाइहरूमा भएको मुख्य औजार नै यही भावना थियो, जसले हामीलाई सफलताको मार्गतर्फ उन्मुख गर्‍यो ।”

त्यसबेला उनीहरूसित परियोजनाको नाममात्रै थियो । पैसाको नाममा जम्माजम्मी ३३ हजार रुपैयाँ थियो । अनि जनशक्तिका रूपमा परियोजना प्रमुख नीर, लेखा र प्रशासन हेर्ने एक जना सुब्बा र परियोजना प्रमुखको गाडी चलाउने एक चालक ।

शाह अतीतमा घोत्लिन्छन् केहीबेर अनि भन्छन्, “बस्, यत्ति तीन जना र ३३ हजार रुपैयाँले नेपाल टेलिभिजन प्रारम्भ भएको थियो । तथापि, हामीसँग त्यही अठोट थियो । अथाह ऊर्जा थियो । सफलताको शिखर चुम्छौं भन्ने भावना थियो । जे थियो, यही थियो ।”

सही भन्ने हो भने नीरको त्यो आँटले नै टेलिभिजनको जग खडा भएको थियो । शिखर चुम्ने भावना, अठोट, आँट र ऊर्जा नभएको भए त्यसैबेला घरघरै भित्रिएको काँचको पर्दा शायद अझै केही वर्षपछि मात्रै भित्रिने थियो होला ।

त्यो बेला जे–जति जनशक्ति थिए, सबै मेहनेती थिए । ऊर्जावान थिए । एक रुपैयाँ नभए पनि कामलाई लक्ष्यमा पुर्‍याउँछु भन्ने भावना बोकेका थिए । यो नै नीरको बलियो औजार भएको थियोे । यही औजारको मद्दतले नीर र उनका सहयोगीहरू शिखर आरोहण गर्दै थिए ।

नीरले थपे, “त्यसबेला प्राविधिक जनशक्ति ठ्याम्मै थिएनन् । त्यस किसिमको वातावरण पनि थिएन । क्यामेरा थिएन, लाइट्स थिएन, स्टुडियो थिएन, घर थिएन, केही पनि थिएन । थिएनदेखिबाहेक थियो भन्ने कुरा केही पनि थिएन । हामी शून्य प्रतिशतमा थियौं ।”

यति भनिसकेपछि उनी गम्भीर भए । केहीबेर मौन रहे । अनि आफ्नो ओजपूर्ण र बाक्लो आवाजमा बोले, “यसरी जिरोबाट आरम्भ भएको थियो नेपाल टेलिभिजन । आज त्यहाँ दसौं हजार मानिस प्रत्यक्ष र परोक्ष रूपमा संलग्न छन् । कैयन् मानिस यही विधामा शिक्षित र दीक्षित छन्, अध्ययनशील छन् । लागिपरेका छन् । यस किसिमको माहोलमा टेलिभिजन पुग्नु खुशीको कुरो हो । परन्तु, आज टेलिभिजनकर्मीमा त्यतिबेलाको जस्तो अठोट र भावना छैन । शिखर चुम्ने उत्साह देखिँदैन । आज नेपाल टेलिभिजन धेरै माथि पुगिसक्नु पर्ने हो तर त्यो भएको छैन । यसो भन्नुपर्दा दुःख लाग्छ तर भन्नै पर्छ ।”

अठोट, आँट र ऊर्जाले नीरलाई यो उचाइ दिएको हो । यही जीवनदर्शनबाट प्रेरित पनि छन् उनी । जुनै भूमिकामा भए पनि उनी त्यसको गन्तव्यमा पुग्न प्रयासरत रहन्छन् । शिखरमा उक्लँदा होस् अथवा गहिराइमा पुगेर मोतीको खोजी कार्य होस्, उनी तन्मयताका साथ त्यसमा भिज्छन् । त्यसैमा लिप्त रहन्छन् ।

उनको जीवनदर्शन उनका गीतहरूमा पनि भेटिन्छन् । मानिसको जीवनसँग जोडिएको कथा उनले आफ्नो गीतमा पोख्छन् । यसैकारण पनि उनका गीत आजसम्म उत्तिकै कर्णप्रिय छन् ।

नीर लेख्न रुचाउने व्यक्ति हुन् । एक्लो भएको स्थितिमा कागजमा केही कोर्न रुचाउँछन् उनी । मूलतः उनी गीत आफ्नै लागि लेख्छन् । कतिपय गीतले उनलाई सन्तुष्टि दिन्छन् । सन्तुष्टि नदिएका गीतलाई उनी किनारा लगाउँछन् । तर, उनको काम हो लेख्नु । बस् लेखिरहन्छन् । यसरी उनले धेरै गीत लेखे । धेरै गीत आज पनि स्रोता गुन्गुनाएर हिँड्छन् ।

यसरी लेख्दा लेख्दै जन्मिएको हो, ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क...।’

यो गीतका विषयमा नीर भन्छन्, “मेरो जीवनको फिलोसोफीसँग ज्यादै नजिक भएकोले होला— यो गीत मेरो जीवनको नजिक पाउँछु म ।”

चलचित्र ‘बासुदेव’को निर्देशन गरेर नेपाली चलचित्रलाई नीरले फरक मार्गमा डोर्‍याउने प्रयास गरे । आज पनि पृथकधारको चलचित्रलाई नेपाल भित्र्याउने श्रेय उनलाई नै दिइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC