site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक कला, दुई मूर्ति
Sarbottam CementSarbottam Cement

– श्रीमती कल्पना प्रधान


अहिलेको इरानलाई कुनैबेला पर्सिया भनिन्थ्यो । पर्सियाका सम्राटको ख्याति टाढा–टाढासम्म फैलिएको थियो । उनको शक्ति र सामथ्र्यको चर्चा संसारका कुना–कुनासम्म गरिन्थ्यो । हरेक दिन संसारभरिका विद्वान मानिसलाई जम्मा गरेर राजा देश–विदेशका कुरा सुन्थे । यस्तै सभामा एकदिन कसैले पर्सियाका सम्राटलाई एक कलाकारको विषयमा सुनायो । ती कलाकारमा जादुगरी क्षमता भएको विषयमा पनि राजालाई सुनाइयो । ती कलाकार नेपालका विख्यात कलाकार अरनिकोका चेला थिए । अरनिको चीन पुगेपछि उनकै पछि लागेर चीन पुगेका ती कलाकार कालान्तरमा गएर संसारभर नामुद भएका थिए । अरनिकोका चेला भएका कारण उनलाई सबैले अरनि भनेर बोलाउँथे । अरनिले आफ्ना गुरु अरनिकोभन्दा अलि फरक कलामा आफ्नो क्षमता बढाएका थिए । उनी मान्छेका मूर्ति ढुंगामा कुँद्ने काम गर्थे । उनले कुँदेका मूर्ति देख्ने मान्छे कसैले पनि साँच्चैको मान्छे र उनको कलामा विभेद गर्न सक्दैनथ्यो । ढुंगाको मूर्तिमा पनि उनी हाँसो, खुशी र मनका कुरालाई उतार्न सक्थे । उनको मूर्ति हेरेर कतिपय मान्छे मूर्तिसँगै बोल्न शुरुसमेत गर्थे ।

यस्ता कलाकारका विषयमा सुनेपछि पर्सियाका सम्राटलाई उनीसँग भेट्ने इच्छा लागेर आयो । उनले चीनका सम्राटसँग चिठ्ठीपत्र आदानप्रदान गरे । केही समयपछि चिनियाँ दरबारबाट अरनिलाई पर्सिया गइदिन आग्रह गरियो । उनलाई आफ्नी श्रीमती, छोरा, छोरी र केही सहयोगीसहित पर्सिया जानका लागि चीनका सम्राटले सबै बन्दोबस्त गरिदिए । चीनमा बसेका एक नेपाली कलाकारलाई पर्सिया जाने कुरा त्यति सहज थिएन । तर, चीनका सम्राटले आग्रह गरेको र पर्सियाका सम्राटले निम्तो गरेको हुँदा आफ्नो देश नेपालको पनि नाम हुन्छ भनेर अरनि तयार भए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबेलाको समयमा मोटर, रेल वा प्लेन थिएनन् । चीनबाट सिल्करुट भनिने व्यापारिक बाटोबाट जानु पथ्र्यो । त्यसबेला सबैजसो व्यक्ति हिँडेरै यात्रा गर्थे । तर, अरनिको परिवारलाई भने पर्सियाको सिमानासम्म छाड्नका लागि घोडाको व्यवस्था गरियो । उनकी श्रीमती तथा छोरालाई बोक्न धेरै मान्छेसहित डोलीको बन्दोबस्त पनि गरियो । बाटोमा सुरक्षा दिन एक सुरक्षा टुकडी पनि तयार भयो ।

चीनको संघाईबाट हिँडेको सो टोली धेरै दिन लगाएर अफगानिस्तानको सिमानासम्म पुग्यो । त्यसबेला अफगानिस्तानसम्म पनि पर्सियाको राज्य फैलिएको थियो । त्यसैले अफगानिस्तानबाट पर्सियाका सिपाहीले अरनि र परिवारको जिम्मेवारी लियो । पर्सियाको सिमानाबाट राजधानी तेहरानसम्म पुग्न पनि अरु दुई महिना समय लाग्यो । 

Global Ime bank

तेहरान पुगेपछि सबैभन्दा पहिले अरनिको परिवारलाई अत्यन्त ठूलो घर, सुरक्षा र सहयोगी दिइयो । उनलाई अत्यन्तै सुख र सुविधामा राखियो । उनको लामो यात्राको थकाइ मेटिएपछि एकदिन उनलाई पर्सियाका महान् सम्राटसामु उपस्थित गराइयो । सम्राट उनलाई देखेर अत्यन्त खुशी भए । संसारका कलाकार र विद्वानको सम्मान गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लाग्ने कुरा पनि सम्राटले उनलाई बताए । सम्राटले आफूकहाँ भएका अन्य कलाकार, विद्वान, कवि सबैलाई बोलाएर अरनिको सम्मानमा भोज आयोजना गरे । त्यतिन्जेलसम्म पनि आफूलाई पर्सियाका सम्राटले किन बोलाए भन्ने कुरा अरनिलाई थाहा थिएन । तर, आफूप्रति देखाएको सद्भावका कारण भने उनी निकै प्रशन्न थिए । चीन छाडेर आउँदा के होला भन्ने अलि–अलि डर उनको मनमा थियो तर त्यसको विपरीत उनलाई साह्रै ठूलो सम्मान दिइएको थियो । 

एकदिन राजाले अरनिलाई बोलाएर कारण बताए । उनले अरनिलाई आफू, आफ्नी श्रीमती र छोरा–छोरी एउटा बगैंचामा रमाइलो गरेर बसिरहेको ढुंगाको मूर्ति बनाउन मन लागेको बताए । अरनिले सम्राटको कुरा सहर्ष स्वीकार गरे । तर, सम्राटलाई केही दिनका लागि सपरिवार बगैंचामा गएर रमाइलो गर्न अनुरोध पनि गरे । अरनिले भनेअनुसार एक महिनासम्म हरेक एक–दुई दिनमा सम्राट, साम्राज्ञी तथा राजकुमार र राजकुमारी दरबारको सबैभन्दा राम्रो बगैंचामा गएर सयर गर्ने, कुराकानी गर्ने गर्न थाले । अरनिले भने टाढै बसेर सम्राटको परिवारका सबै सदस्यको रूप, रंग, मनोभाव र स्वभाव नियाले । एक महिनापछि उनले आफू अब ढुंगामा सबै परिवारको मूर्ति बनाउन तयार भएको कुरा सम्राटलाई बताए ।

उनले सम्राटको परिवार घुमेको बगैंचामै आफूले चाहेअनुसारको ढुंगा मगाएर बिस्तारै मूर्ति खोप्न थाले । केही दिनसम्म उनको काम निरन्तर चल्यो । केही दिनपछि बिस्तारै ढुंगाको मूर्तिमा अनुहार देखिन थाल्यो । यो कुरा सुनेर सम्राट पनि बारम्बार बगैंचामा आउन थाले । अरनिले सबैभन्दा पहिले सम्राज्ञीको अनुहार र उनको जिउको स्वरूप ढुंगामा उतार्न थाले । जसो–जसो उनी ढुंगामा मूर्ति उतार्थे, उसो–उसो सम्राट यस्तो गर्न र उस्तो गर्न अह्राउन थाले । सम्राज्ञीको आँखा यस्तो बनाउने, आँखीभौं यस्तो बनाउने, ओठ यस्तो बनाउने भन्दै सम्राटले निर्देशन दिन शुरु गरे । अरनिलाई आफ्नो काममा कसैले यसरी हस्तक्षेप गरेको मन पर्दैनथ्यो । उनी पहिले आफू काम सकेपछि मात्र अरुले हेरून् भन्ने चाहना राख्थे । त्यो बगैंचामा अरु कोही त आउन पाउँदैनथे तर सम्राटलाई रोक्न सक्ने सामथ्र्य कसैमा भएन ।

हरेक दिन काम सकेर अरनि घर पुग्दा उनकी प्रिय श्रीमती सजनी प्रेमपूर्वक प्रतीक्षा गरेर बसेकी हुन्थिन् । अरनिलाई विभिन्न फलफूल र पेयपदार्थ पिउन आग्रह गर्दै काममा के–के भयो भन्ने कुरा पनि चाख लिएर सुन्थिन् । तर, बिस्तारै अरनिले काममा चाख नलिएको सजनीको मनमा लाग्यो । श्रीमानलाई पीर परेको सजनी सहजै चाल पाउँथिन् । उनले अरनिको मन जितेर के–के भयो सोध्न थालिन् । बिस्तारै एकपछि अर्को गर्दै अरनिले पनि आफूलाई चित्त नबुझेको कुरा बताउँदै गए । सबै कुरा सुनेपछि सजनीले एउटा जुक्ति निकालिन् । उनले आफ्नो जुक्तिको कुरा अरनिलाई सुनाइन् । दुवैजना श्रीमान्–श्रीमती यो जुक्तिको विषयमा कुरा गर्दै खुशी भएर निदाए ।

भोलिपल्ट अरनि पर्सियाका सम्राटकोमा सधैंझैं समयमा पुगे । त्यस दिन पनि उनले काम गरेको स्थानमा दिउँसोतिर सम्राट हेर्न आए । अरु दिनभन्दा अरनि त्यस दिन निकै प्रशन्न थिए । उनले सम्राटलाई एउटा बिन्ती बिसाए । अरनिले भने, “महाराज, ढुंगाको काम गर्दा हरेक दिन एकोहोरो गर्न गाह्रो हुन्छ । अलि समय त लाग्ला तर मलाई हप्ताको तीन दिन काम गर्ने सुविधा प्राप्त होस् ।” उनको यो बिन्ती सुनेर सम्राटले नाइनास्ती गरेनन् । मुन्टो हल्लाएर स्वीकृति दिए ।

त्यसपछि हरेक दिन अरनि एकदमै खुशी भएर काम गर्न थाले । सजनी पनि आफ्नो जीवनसाथी खुशी भएकोमा एकदमै खुसी भइन् । तिनका छोरा–छोरी पनि निकै रमाएर पढ्ने र खेल्ने गर्न थाले । केही महिना लगाएर अरनिले आफ्नो काम सिध्याए । सम्राटले पनि आफूले हरेक कुरामा ध्यान दिएर मूर्ति बनाउन लगाएको हुँदा धेरै खुशी थिए । एकदिन निकै ठूलो समारोह आयोजना गरेर देशभरिका ठूला कलाकार तथा कलापारखीलाई बोलाइयो । सबै कलाकारले अरनिको कला हेरे । धेरैले राम्रो भने, केहीले ठिकै भने तर पर्सियन सम्राटका मुख्य कला समीक्षकले भने अरिनले बनाएको मूर्तिककला सोचेजस्तो नभएको भनेर सबैको अगाडि भनिदिए । उनको कुराले सबैलाई अचम्भित तुल्यायो । सबैजना चुपचाप भए ।

आफ्नो देशको सबैभन्दा ठूलो कला समीक्षकको कुरा सुनेर सम्राट पनि अचम्म परे । उनलाई पनि आफूले यत्रो रकम खर्च गरेर ल्याएका नेपाली कलाकार गलत परेजस्तो लाग्यो । उनको अनुहारमा बिस्तारै क्रोधको लाली छाउन थाल्यो । त्यहाँ भएका सबैजना एकदमै डराउन थाले । अब अरनिको सर्वस्वहरण र जेलमा बास हुने कुरा सबैले सोच्न थाले । तर, अरनि भने नडराइकन ढुक्कसँग बसेका थिए ।

केही छिनपछि सम्राटले भने, “अरनि ! मैले तिमीलाई यत्रो खर्च गरेर र सम्मान गरेर ल्याएको केही काम भएन । यस्तो कलाको कुनै मूल्य हुँदैन भनेको सुनिहाल्यौ । अब तिमीलाई आफ्नो कामको विषयमा के भन्नु छ, भन ।”

अरनिले नडराइकन भने, “सम्राट यदि हजुरको कला समीक्षकलाई साँच्चिकै कलाको परख छ र उनी धर्मसत्य कुरा गर्छन् भने सबैजना केही समयका लागि मसँगै जाऊँ, अनि सबै कुरा त्यहीँ गरौंला ।”

अरनिले भनेअनुसार सबैजना रथमा बसेर अरनिको घर पुगे । अरनिको घरमा पनि ठूलो बगैंचा थियो । त्यही बगैंचामा केही मूर्तिहरू कपडाले छोपेर राखिएको थियो । अरनिले ती कला समीक्षकलाई लगेर एकपछि अर्को मूर्तिको कपडा खोल्दै गए । उनले दरबारमा जस्तो मूर्ति बनाएका थिए, यहाँ पनि तिनै मूर्ति थिए— सम्राट, साम्राज्ञी, युवराज र युवराज्ञीको । तर, ती मूर्तिमा साँच्चिकै भाव थियो । सम्राटमा एक प्रकारको घमण्डी भाव थियो, साम्राज्ञी अलि दुष्ट देखिएकी थिइन्, युवराजको अनुहारमा बदमासीको झलक देखिन्थ्यो भने युवराज्ञी सोझी, सरल र अत्यन्त सुन्दर देखिन्थिन् ।

यी मूर्ति देख्नेबित्तिकै कला समीक्षक अत्यन्त खुशी भए । उनले भने, “कला भनेको यो हो सम्राट ! ढुंगामा हेर्दा पनि व्यक्तिको चरित्र प्रष्ट हुन्छ ।”

त्यसपछि सम्राटले सोधे, “किन यस्तो ग¥यौ त अरनि तिमीले ? किन एउटै मूर्तिमा पनि यहाँ र त्यहाँ फरक पर्‍यो ?”

त्यसपछि अरनिले भने, “सम्राट रिसानी माफ होस् । यहाँ बनाइएका मूर्ति मैले राजपरिवारलाई जस्तो देखें, त्यस्तो बनाएँ । दरबारमा सम्राटले आफ्नो परिवारलाई जस्तो देखिबक्सन्थ्यो, त्यस्तो बन्यो । मैले सम्राटको कुरा काट्न सकिनँ तर आफ्नो कला पनि लुकाउन सकिनँ, त्यसैले दुइटा काम गर्नुपर्‍यो ।”

पर्सियाका सम्राट आफैंमा विद्वान थिए । उनले कुरा तुरुन्तै बुझे । “ठीक छ अरनि, मैले बुझें । कुनै पनि कलाकारको स्वतन्त्रता खोस्नु हुँदैन भन्ने कुरा मलाई थाहा थियो तर आफ्नै मूर्ति भएको हुँदा मेरो विवेकले काम गरेन । म पनि सबैसँग माफी चाहन्छु । र, तिम्रो बुद्धिलाई सलाम गर्दै म पुरस्कार दिन चाहन्छु ।”

अरनिले भने, “सम्राट, यो पुरस्कारको असली हकदार मेरी श्रीमती सजनी हुन् । उनले मलाई दरबारमा एकदिन र यहाँ एकदिन काम गर्ने बुद्धि दिएर आफ्नो मनको काम गर्ने बाटो देखाएकी हुन् ।”

सजनी पनि यो सबै हेरेर बसेकी थिइन् । उनको आँखाबाट खुशीका आँशु खसे ।

यो सुनेर सम्राट पनि अत्यन्त खुशी भए । उनले अरनिलाई देशको सबैभन्दा ठूलो प्राज्ञ बन्नका लागि आग्रह गरे । तर, अरनिले विनम्रतापूर्वक भने, “सम्राटबाट आज्ञा भए अब म बाँकी जीवन आफ्नो देश नेपालमा बिताउन चाहन्छु ।”

सम्राटले उनलाई जबर्जस्ती गरेनन् । त्यसपछि धेरै सम्पत्ति र सुरक्षाकर्मी दिएर अरनि, सजनी र परिवारलाई सम्मानपूर्वक नेपालसम्म पुर्‍याउन पठाइदिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC