– राजन केसी ‘प्रमोद’
‘इरान’ शब्द सुन्नेबित्तिकै प्रायः हामी सबैको मानसपटलमा एउटै कोलाज बन्छ— अशान्ति, बम–बारुदको वर्षा र अनन्त आतंकको शृंखला । विभिन्न समयकाल र चक्रमा चलेका युद्ध र द्वन्द्वले थिलोथिलो बनेको इरानमा के साँच्चै जिन्दगीहरू हामीले सोचेजस्तै बितिरहेका छन् होला ? म बबुरो निकै खुल्दुलीमा थिएँ । म चाहन्थें– म इरानका केही यस्ता सुमधुर, मानवीय र हृदयस्पर्शी कथाहरूको रसपान गर्न पाऊँ, ताकि इरानप्रतिको मेरो दृष्टिकोणको संकुचनमा थोरै नै सही— बदलावचाहिँ आओस् । यही चाहनाले मलाई पुर्याइदियो— इरानका गाउँबस्ती हुँदै चिसा र अँध्यारा गल्लीमा ।
अधिकांश फिल्म समीक्षक तथा पारखीहरूले इरानी सिनेमालाई विश्वका केही उत्कृष्ट ‘कलात्मक फिल्म उद्योग’को रूपमा लिने गर्छन् । कतिपयले त यसलाई ‘इटालियन नवयथार्थवाद’सँग समेत तुलना गर्ने गरेका छन् । अब्बास किरुस्तामी, माजिद माजिदी, बहराम बेइजाई, असगर फर्हादीजस्ता ‘मास्टरमाइन्ड’ जन्माएको इरान कलात्मक फिल्मी सुगन्धको उर्बर भूमिका रूपमा रहँदै आएको छ ।
व्यक्तिपिच्छे सिनेमा रोजाइका आ–आफ्नै शैली र मान्यता अवश्य हुन्छन् नै । एकजनाको रुचिमा पर्ने सिनेमा अरु कसैका लागि झुर पनि लाग्न सक्छन् । यो स्वाभाविक हो ।
खैर, यो फुच्चे मस्तिष्कको स्वाद र सुगन्धसँग मेल खाँदै, सारा मनमस्तिष्क नै हल्लाउन सफल १० गज्जबका इरानी सिनेमाहरूको तल चर्चा गरिएको छ ।
(पुनश्चः मैले यो सूची र विवरण फिल्मज्ञाता नभई केवल फिल्म पारखीको बुझाइका रूपमा मात्र तयार गरेको हुँ)
१. द काउ (१९६९— डारिश मार्जुई)
सन् १९६९ को वर्ष इरानी सिनेमा जगतका लागि आश्चर्यजनक हुन पुग्यो । कारण— २८ वर्षे निर्देशक डारिश मार्जुईले बनाएको फिल्म ‘द काउ’ले पहिलोपटक सारा पश्चिमेली समीक्षकको ध्यान इरानतिर खिचिदियो । धेरैले यसलाई इरानी सिनेमा जगतको ‘नव तरंग’को रूपमा समेत विश्लेषण गरे । फिल्ममा, इरानको एउटा ग्रामीण गाउँको किसान हसन र उसको गाईबीचको अलौकिक सम्बन्धलाई बहुतै सरल, सुन्दर एवं भावनात्मक ढंगबाट देखाइएको छ । आफ्नो प्रिय प्यारो गाई हराएकै कारण हसन कसरी अन्ततः पागल बन्न पुग्छ— फिल्म यसै सेरोफेरोमा घुमेको छ । इटालियन नवयथार्थवादको प्रयोगमार्फत मार्जुईले ‘द काउ’लाई विश्व सिनेमाका केही महान् क्लासिकल फिल्महरूको सूचीमा दर्ज गर्न सफल भएका छन् ।
२. ह्वेर इज द फ्रेन्ड्स होम ? (१९८७— अब्बास किरुस्तामी)
स्कुलको गृहकार्य गर्ने क्रममा ८ वर्षे अहमदले एक्कासि थाहा पाउँछ— अञ्जानवश उसले त साथीको नोटबुक ल्याएको रहेछ । उसलाई यो पनि राम्ररी जानकारी हुन्छ कि यदि साथीले त्यो नोटबुक पाएन भने कक्षाबाट निष्कासनसमेत हुन सक्छ । अब के गर्ने ? अहमद संकटमा पर्छ । अन्ततः ऊ नोटबुक पुर्याउन साथीको गाउँ जान तयार हुन्छ, बिना कुनै ठेगाना । के ऊ सफल होला त ? ‘ह्वेर इज द फ्रेन्ड्स होम ?’को कथा यही वरिपरि घुमेको छ । सन् १९९० का महान् निर्देशक अब्बास किरुस्तामीलाई यही फिल्मले नै विश्व सिनेमा जगतमा चिनाएको हो । फिल्ममार्फत किरुस्तामीले नागरिक कर्तव्य, दायित्व र सच्चा हिरोइज्मबारे प्रष्ट पार्न खोजेका छन् । दृश्यहरूको सजीवता र कथाको कारुणिकताले फिल्मलाई निकै सुन्दर बनाएका छन् । यससँगै किरुस्तामीकै ‘द विन्ड विल क्यारी अस’ र ‘क्लोजअप’ पनि सुन्दर फिल्म हुन् ।
३. बासुः द लिटल स्ट्रेन्जर (१९८९— बहराम बेइजाई)
इरान–इराक युद्धका बेला दक्षिण–पश्चिमी इरानको खुजिकिस्तान राज्यमा बम वर्षा भइरहँदा आगोको रापमा मर्दै गरेकी आफ्नी आमा हेरिरहेर बस्न नसकेपछि १० वर्षे बासु ट्रकको पछाडि लुक्दै क्यास्पियन सागरको नजिकै आइपुग्छ । नयाँ ठाउँ, नयाँ भाषा, परिवेश । बासु असमञ्जसमा पर्छ । धन्न ! नाईले उसलाई संरक्षण दिन्छे । उनीहरू बिस्तारै एकले अर्काको भाषा सिक्न थाल्छन् । नाई, उसकी आमा र ऊ । सबै ठीकठाक नै चलिरहेको हुन्छ । यस्तैमा एकदिन नाईको श्रीमान् गाउँ आइपुग्छ । अब के उसले यो चरम अभावमा बासुलाई स्वीकार्ला त ! फिल्ममार्फत बेइजाईले इरानमा युद्धको प्रभावलाई सरल, हृदयस्पर्शी ढंगबाट प्रस्तुत गरेका छन् ।
४. चिल्ड्रेन अफ हेवन (१९९७— माजिद माजिदी)
महान् इरानी लेखक तथा निर्देशक माजिद माजिदीका लागि ‘थोरै’ भन्ने शब्दले पनि ‘धेरै’ अर्थ राख्छ । सानाभन्दा ‘साना’ चिजले पनि निकै ‘ठूलो’ अर्थ राख्छन् । अक्सर मानिसहरूले साना र चानचुने ठानेका कथावस्तुबाटै उनले फिल्म बनाउँछन् । सरल, सहज तर एकदमै रहरलाग्दो गरी कुद्छन उनी, सिनेमाका दृश्यमा ।
विदेशी भाषातर्फ इरानबाट पहिलोपटक ओस्कार नोमिनेसनमा पर्न सफल ‘चिल्ड्रेन अफ हेवन’मा माजिदीले साना, सुन्दर अनि मायालु दाइ–बहिनीबीचको अलौकिक सम्बन्धलाई निकै हृदयस्पर्शी ढंगबाट प्रस्तुत गरेका छन् । मीठो कथा, आकर्षक शैली र जीवन्त अभिनयले फिल्म झनै गजबको लाग्छ ।
५. टेस्ट अफ चेरी (१९९७— अब्बास किरुस्तामी)
इरानी नागरिक मिस्टर बादी लगातार आफ्नो गाडी गुडाइरहेको हुन्छ । ऊ त्यस्तो मान्छेको खोजीमा हुन्छ, जसले उसको मृत्युपछि उसको शवलाई चेरीको रुखमुनि सुरक्षितसाथ गाडिदेओस् । के उसले भेटाउला त ? फिल्मको अन्त्य निकै आकर्षक ढंगबाट गरिएको छ । सन् १९९७ को ‘क्यान्स फिल्म फेस्टिबल’बाट ‘पाल्मेडियोर अवार्ड’ प्राप्त गरेसँगै ‘टेस्ट अफ चेरी’ र अब्बास किरुस्तामीको फिल्मी जादूबारे समग्र सिनेमा जगतमै निकै ठूलो चर्चा चलेको थियो । लामा–लामा शट, सुस्त गतिका संवाद अनि गज्जबको अन्त्यले फिल्मलाई नयाँपन दिलाएका छन् ।
६. द कलर अफ प्याराडाइज (१९९९— माजिद माजिदी)
शहरको दृष्टिविहीन स्कुलमा पढिरहेको मोहमद गर्मी बिदाको क्रममा आफ्नो बाबुसँग गाउँ जान्छ, जहाँ उसकी हजुरआमा र दुई बहिनीहरू बसिरहेका हुन्छन् । मोहमद प्रकृतिप्रेमी हुन्छ, गाउँमा खुबै रमाइरहेको हुन्छ । तर, उसको बाबुलाई आफ्नो दृष्टिविहीन छोरो देखेर लाज लाग्न थाल्छ । त्यसैले मोहमदलाई ऊजस्तै दृष्टिविहीन कार्पेन्टरकोमा लगेर छोडिदिन्छ र आफूले दोस्रो बिहे गर्छ । के बाबु–छोराको फेरि कहिल्यै मिलन होला त ? माजिद माजिदीको फिल्मी जादू र कथाको सुमधुरताले फिल्म निकै कारुणिक लाग्छ । यससँगै माजिदीका ‘बारान’ र ‘द सङ् अफ स्प्यारोज’ पनि सुन्दर फिल्म हुन् ।
७. ब्ल्याकबोर्ड्स (२०००— समिरा मख्मलबाफ)
फिल्मबारे बोल्ने क्रममा निर्देशक समिरा मख्मलबाफले भनेकी छन्, “फिल्म मूलतः यथार्थ र केही थोरै फिक्सनको सम्मिश्रणबाट बनेको छ । युद्धकै कारण भएका चोरी, डकैती, घरबारविहीनको स्थिति, बाँच्नका लागि मान्छेहरूको संघर्ष सबै वास्तविक हुन् ।” फिल्मको शुरुवातमै केही थान कुर्दिस शिक्षकहरू ढाडमा ब्ल्याकबोर्ड (कालोपाटी) बोकेर पढाउने विद्यार्थी खोज्दै गाउँ–गाउँ हिँडेको दृश्य देख्न सकिन्छ । अनि सँगै देखिन्छन्, पढाइको वास्तै नगरी श्रममा मस्त बालबालिकाहरू र ज्यान जोगाउने आशमा सुरक्षित बसोबास खोज्दै हिँडेका सयौं मान्छेहरू । इरान–इराक युद्धको चपेटामा परेका कुर्दिस शरणार्थीको दयनीय कथामा आधारित फिल्म ‘ब्ल्याकबोर्ड्स’ निकै कारुणिक र दर्दनाक लाग्न सक्छ ।
८. टर्टल्स क्यान फ्लाई (२००४— बमन गोबडी)
सद्दाम हुसेनको अन्त्यपछि इराकमा पहिलोपटक बनेको चलचित्र हो ‘टर्टल्स क्यान फ्लाई’ । फिल्ममा मूलतः कुर्दिस शरणार्थी बालबालिका (जसले जमिनमा जथाभावी बिच्छ्याइएका बम संकलन गर्दै यूएनलाई बेचिरहेका छन्)को कहालीलाग्दो जिन्दगीबारे देखाउन खोजिएको छ । यसैबीचमा टोली क्याप्टेन केटो स्याटेलाइट टुहुरी केटी अग्रिनसँग प्रेममा पर्छ । के उनीहरूको प्रेम सफल होला ? के बम–बारुदको जोखिममा कटिरहेको जिन्दगीमा पनि प्रेमको आश गर्न सकिन्छ ? यही कथावरपर घुमेको फिल्म हृदयस्पर्शी छ । झनै त्यसमाथि ‘स्याटेलाइट’को गजबको अभिनयले फिल्म अझै रहरलाग्दो बनेको छ ।
९. अफसाइड (२००६— जफर पनाही)
विवादास्पद फिल्ममेकरको रूपमा चिनिएका जफर पनाहीका ‘अफसाइड’ जस्तै अधिकांश फिल्म इरानमा अक्सर त चल्नै पाउँदैनन् । तर, उनी इरानले पाएका थोरै केही प्रभावशाली व्यक्तित्वमा पर्छन् । ‘अफसाइड’ फिल्मले ती महिलाहरूको कथा भन्छ, जो विश्वकप फुटबलको क्वालिफाइङ खेल स्टेडियमभित्रै गएर लाइभ हेर्न चाहन्छन् । तर, अफशोच ! महिला भएकै कारण कानुनी रूपले उनीहरूलाई भित्र जान बन्देज लगाइन्छ । रस, विषयवस्तु र प्रस्तुतिकरणको जादूले फिल्म हेरुन्जेल र हेरिसकेपछि पनि निकै बाँधिरहन्छ । इरानी महिलाहरूका भावना, भोगाइ र चाहनालाई पनाहीले निकै रसिलो स्वादमा पस्किएका छन् ।
१०. अ सेपरेसन (२०११— असगर फर्हादी)
विदेशी भाषातर्फ इरानबाट पहिलोपटक ओस्कार अवार्ड जित्न सफल ‘अ सेपरेसन’मार्फत निर्देशक अस्गर फर्हादीले सम्बन्ध, बिछोड, निराशा, तिक्तताजस्ता भावहरूलाई बहुतै मिहीन एवं आकर्षक तवरले पेश गरेका छन् । फिल्म निकै रोमाञ्चक लाग्छ । साथै केही जटिल पनि ।