site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लोकलयका गीत चलेका छन्
Sarbottam CementSarbottam Cement

राजनराज सिवाकोटी अहिलेका रुचाइएका गीतकार/संगीतकार/गायक हुन् । नेपाली रजतपटमा  पछिल्लो समय धेरै चलचित्रमा उनका गीत समावेश हुन्छन् । डेढ दशक लामो सांगीतिक यात्रामा उनले पपदेखि लोक तेहेरीसम्म र पप आधुनिकदेखि लोकलयसम्मका गीत तयार पारे । लोकलयमा टेकेर उनले तयार पारेका गीत अहिले नेपाली सांगीतिक क्षेत्रमा रुचाइएकामात्रै  छैनन्, नयाँ रेकर्ड पनि राखिरहेका छन् । केही दिनअगाडिसम्म युट्युब च्यानलमा सर्वाधिक हेरिएका गीतको सूचीमा एकदेखि तीन नम्बरसम्म उनकै गीत थिए । ‘कुटुमा कुटु...’ ५ करोडभन्दा धेरैपटक हेरेर एक नम्बरमा रहँदा २ करोड ६० लाखभन्दा धेरैपटक हेरिएको ‘सुर्केथैली खै...’ दोस्रो स्थानमा थियो । अढाई करोडभन्दा धेरैपटक हेरिएको ‘पूर्व पश्चिम रेल...’ तेस्रो स्थानमा थियो । यस्ता लोकप्रिय गीत कसरी लेख्छन् उनी ?गीत लेख्छु भनेर बस्दैमा लेखिन्छ कि आफंै फुरेर त्यसलाई उतार्नेमात्रै हो ? यी र यस्तै जिज्ञासा  राजनराजसँग बाह्रखरीका नरेश फुयाँलले राखेका छन् । 

केही वर्षयता तपाईँले फलाम छोए पनि सुन हुन्छ भने जस्तो जुन गीत गायो त्यही हिट भैरहेका छन्, हैन ?
जे होस्, दर्शक तथा स्रोताले मन पराइदिनु भएको छ । 

कस्ता गीत दर्शक तथा स्रोताले मन पराउनु हुँदोरहेछ ?
विशेषगरी मनोरञ्जन र सन्देश मिसाएर तयार पारिएको गीत मन पराइएको पाएँ मैले । मनोरञ्जन र सन्देश मिलाएर तयार पारिएको गीतको शब्द शक्तिशाली हुन्छ, त्यस्ता गीत नै दर्शक तथा स्रोताको रोजाइमा परेका छन् जस्तो लाग्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यहाँभन्दा अगाडि यस्ता गीत कम गाइएका थिए र वा गाइएकै थिएन ?
त्यस्तो होइन । अहिले युट्युब आएको अवस्थामा भ्युअर्सको कुरा आयो । त्योभन्दा अगाडि एल्बम तथा सीडीको बिक्रीको कुरा आउँथ्यो । पीआरबीटी र सीआरबीटीको चलन थियो । समय अनुसार प्रविधिको विकास हुँदै आयो, त्यसको प्रयोग हामीले गर्दै आएका मात्रै त हो । 

तपाईँ यो क्षेत्रमा प्रवेश गर्नुभएको धेरै भयो । सुरुका वर्ष र अहिले तपाईंका गीत जति मन पराइए, बीचका गीतले दर्शक स्रोताको मन जित्न सकेनन्, किन ?
पहिला पनि मेरा गीत नचलेका होइनन् । मैले जुन बेला सुरु गरेँ ०५९ सालमा । पहिलोपटक गाएको गीत नै हिट भएको थियो– मायालु आउने जाने बाटोमा...। त्यसपछि ०६० सालमा ‘गैदिन्छु माइती अनि...’ भन्ने दोहोरी गीत गरेँ त्यो पनि चल्यो तर त्यसले मलाई अहिले जस्तो चिनाएको भने थिएन । ०६२ मा अनिल सिंहले गाउनुभएको ‘म माया गर्छु मेरो उनीलाई...’ लोकप्रिय भएको गीत हो । ०६३ मा ‘सम्धीज्यू सम्धीज्यू वार्ता गराइदेऊ...’ लोकतेहेरी बजारमा ल्याएँ, त्यो पनि निकै धेरै चल्यो । 

Global Ime bank

पपपछि पप आधुनिक गीतको समय आयो । मैले त्यस्तै गीत तयार गरेँ, ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ..., तिम्रै हातको सिन्दुर लाउँछु...,मान्छे रैछे खली..., डाँफे झैँ नाच्ने हिमाल झँैं हास्ने..., लगायतका गीत राम्रो चलेका गीत हुन् । 

बजारमा गीत चले तर त्यसले तपाईंलाई चिनाएनन्, अहिलेका गीतले भने पनि चिनाए । कारण के रहेछ ?
अहिलेका चलचित्रका गीतले जसरी मलाई चिनाए, त्यसरी पहिलाका गीतले भने मलाई चिनाएका थिएनन् । त्योचाहिँ सत्य हो ।  

चलचित्र तपाईँलाई फाप्योभन्दा हुन्छ ?
चलचित्रमा आइसकेपछि मैले जुन उद्देश्य लिएर यो क्षेत्रमा प्रवेश गरेको थिएँ, यस्ता खालका गीत दर्शक तथा स्रोतामा पुर्याउनुपर्छ भन्ने सोचेको थिएँ । जुन कुरा पहिला हामीले केही मात्रामा दिइसक्यौं तर अझै केही बाँकी छ । त्यसलाई मैले पनि दिनुपर्छ भनेर म यो क्षेत्रमा प्रवेश गरेको थिएँ । जब म चलचित्र क्षेत्रमा आएँ, मेरा सिर्जना आम स्रोता तथा दर्शकमा पुगे । एल्बमका गीत चल्दा चलचित्रका गीतले जस्तो हाइप भने लिएको थिएन । 

प्रविधिको विकास भयो । एकै पटक संसारभरका दर्शक था स्रोताले गीत सुन्न तथा हेर्न पाउने भए । रेडियो टेलिभिजनमा हुँदा सिन्डिकेट जस्तै हुन्थ्यो । कहिले रेडियोमा गीत बज्छ र सुन्न पाइन्छ भनेर बस्नु पथ्र्यो तर अहिले त्यो अवस्था छैन । चाहेको बेलामा चाहेको गीत सुन्न तथा हेर्न सकिने भयो । यसले गर्दा मेरोमात्रै होइन, जसले राम्रो गर्छ उसको गीत सबैले सुन्छ ।

चलचित्रका गीत गाउनलाई सजिलो छ, पब्लिसिटी अरुले नै गरिदिन्छ । आफूले आर्थिक लगानी गर्नु पर्दैन, हैन ?
चलचित्रका गीतको कुरा गर्दा त पहिलादेखि नै यस्तै हो  । चलचित्रको कथा अनुसार गीत तयार भएपछि चलचित्रले आफ्नो पब्लिसिटीका लागि गीत बजारमा ल्याउँछ । त्यसले सर्जकलाई फाइदा हुन्छ । 

गीतको युट्युब भ्युअर्स ५ करोडभन्दा माथि पुगेपनि चलचित्रले दिएको सीमित पारिश्रमिकमा सर्जकले चित्त बुझाउनु परिहेको छ । के भन्नुहुन्छ यसमा ?
चलचित्रकर्मीले प्याकेजमै हामीसँग सम्झौता गरेको हुन्छ । उनीहरुले पनि डिजिटल राइट्स अरुलाई दिएका हुन्छन् । व्यवसाय हो । कहिले कसलाई घाटा हुन्छ कहिले कसलाई नाफा हुन्छ । चलचित्रले हामीलाई सम्झौताअनुसार पैसा दिइसकेपछि त्यसबाट हामी अलग भैसक्छौं । 

चलचित्रका गीत लेखन र अन्य गीत लेखनमा केही फरक हुन्छ ?
चलचित्रको गीत चलचित्रको स्टोरी अनुसार लेखिन्छ । मचाहिँ लोक बेसबाट उठेका गीत तयार गरिरहेको छु । सामाजिक सञ्जालका कारण अहिले हरेक खालका गीत सुन्छन् दर्शक तथा स्रोता । लोक तथा आधुनिक र लोकतथा पपको फ्युजन गरेर मैले गीत तयार पारिरहेको छु । यो खालका गीत मैले पहिलोपटक तयार गरेको होइन, पहिला पनि यस्ता गीत थिए र त्यो बेला पनि रुचाइएका थिए । 

चलचिको स्टोरीमा गीत मिलेपछि चलचित्रको निर्माण युनिटले त्यही अनुसारको कोरियोग्राफीसहितको म्युजिक भिडियो तयार पार्नुहुन्छ । 

गीत कसरी लेख्नुहुन्छ ? अब यस्तो गीत लेख्छु भनेर लेखिँदोरहेछ कि अचानक आफैं आउने हो ?
अरुकाबारे म भन्न सक्तिन । मलाईचाहिँ प्रकृतिले सुन्दर प्याकेज दिएर पठाएको छ सायद । कम्पोजिसन र लिरिक्स दिमागमा सेट भएर आउँछ । सुरुमै त आउँदैन पहिला फ्रेम आउँछ, त्यसलाई विस्तार गर्दै जान्छु । कसरी र कतिखेर आउँछ त्यो मलाई पनि थाहा छैन, त्यो प्रकृतिले दिने हो उसलाई मन लागेका बेला सायद दिन्छ । मैले मागेर दिने होइन मेरो प्यासन हेरेर दिन्छ । म आफू अञ्जान छु अज्ञात छु प्रकृतिले नै मलाई चलाइरहेको छ । 

चलचित्रकर्मीले दिएको थिमभित्र बसेर गीत लेख्न कत्तिको सजिलो हुन्छ ?
सहज छैन । सबैभन्दा धेरै कठिन पक्ष नै त्यही हो । स्टोरी पूर्ण हुनुपर्छ । मनोरञ्जन र सन्देश पनि दिनुपर्छ, यसलाई न्याय गरेर अगाडि बढ्न निकै गाह्रो छ । 

एउटा गीत तयार पार्न कति समय लगाउनु हुन्छ ?
मैले सबैभन्दा छोटोसमयमा तयार पारेको गीत ‘टाटुक टुकन टक्क...’ हो । करिब १५ दिनमा लेखेर कम्पोज गरेर रेडर्क पनि भैसकेको गीत हो । सबैभन्दा लामोसमय लागेको गीत ‘पूर्वपश्चिम रेल हो...’ हो । यसलाई निकै लामोसमय लागेको थियो । पहिला तयार पारेको थिममा लेख्दै सच्याउँदै गर्दा लामो समय लाग्छ । त्यो समय मलाई हतार पनि थिएन । 

अहिले त संधै हतारमा हुनुहुन्छ, भ्याइनभ्याइ छ है ?
त्यति धेरै त छैन । पहिलाको स्टक छ । त्यसमा काम गरिरहेको छु । अहिले पनि धेरै कन्सेप्ट छ । डेढ दुई सय मेलोडी र शब्दको कन्सेप्ट बाँकी होला । 

सुरुमा गायक बन्ने रहरले गायन क्षेत्रमा प्रवेश गर्नुभयो, पछि संगीतकार पो रहेँछु भन्ने अनुभूत गर्नुभयो, फेरि गीत गाउँदै हुनुहुन्छ । खासमा गायक, संगीतकार र गीतकार के हो तपाईं ?
खै के हो, के हो ! म आफै दुविधामा छु । बीचमा एकपटक मलाई म गीतकारमात्रै हुँ कि जस्तो लाग्थ्यो । कम्पोजिसन पनि मन पराइयो,जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन धेरैले मन पराउनु भयो । अहिले पनि गाउँदा पनि धेरैले मन पराइदिनु भएको छ । त्यसैले यो वा ऊ मध्ये यो हो भन्ने लाग्दैन । 

गायक, संगीतकार र गीतकारमध्ये कुनमा बढी अब्बल छु जस्तो लाग्छ ?
अहिले मलाई प्रकृतिले दिएको उपहार बाँड्दै हिँड्ने कार्यकर्ता जस्तो लाग्छ । तीनमध्ये यहीमात्रै मेरा लागि उपयुक्तछ भन्ने लाग्दैन । 

यसको मतलब तीनवटैमा ‘फिट’ छु भन्न खोज्दै हुनुहुन्छ ?
दर्शक स्रोताले ‘फिट’ छस् है भनेर भन्नुभएको हो कि जस्तोचाहिँ लाग्छ । प्रकृतिले दिएको अमृत छर्ने कार्यकर्ता हुँ जस्तो लाग्छ । 

पछिल्लो समय आएका तपाईंका गीत एकै खालका भए जस्तो लाग्दैन ?
लाग्दैन । हरेक गीतको कन्सेप्ट र मेलोडी फरक छ । हरेक गीतको अरेञ्जमेन्ट र गायन फरक छ । तर पनि माटोको सुगन्ध त एउटै हुन्छ । त्यसैले लोकलय मेरा गीतका आधार हुन् । माटोको सुगन्ध मैले फेरेर फेरिँदैन । लोक लयका गीत चलेका छन् यही नै हाम्रा लागि खुसीको कुरा हो । यसमै हामी रमाउन सक्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC