site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रारब्ध
Sarbottam CementSarbottam Cement

 सानु शर्मा


एकैछिन त जिल्लिएँ म ।

राघे र पाटे धुलाम्ये बाटोमा यति शानदार बस ? हुन त बस जस्तोसुकै भए पनि प्लेनमा जाने मेरो विचार छँदै थिएन । १८–२० घण्टा लगाएर हिजो एयरपोर्टमा ओर्लिएपछि किरिया खाएको थिएँ— अब प्लेन चढ्न पुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसै मलाई उड्न मन नपर्ने, त्यसमाथि त्यत्रो लामो ट्रान्जिट । राति ढिलो एयरपोर्टमा ओर्लेर कतै नहेरी त्यही बाटोछेउको एउटा होटलमा छिरेर ननुहाएरै डंग्रङ्ग लडेको म अर्को दिन दिउँसो १२ बजेपछि मात्रै ब्युँझिएको थिएँ । त्यहीँबाट धनकुटाको नाइट बसको टिकट बुक गरेर एकैपटक बस चढ्न आएको थिएँ । मेरो कल्पनामा जस्तो बस थियो, यो त्यस्तो पटक्कै थिएन । तर, बस जस्तोसुकै भए पनि मलाई जानैपर्ने थियो ।

खलासीले सामान राम्ररी मिलाएर डिक्कीमा राखिदिएपछि म सानो ब्याकप्याक लिई बस चढें । मेरो सिट एकदम पछाडि थियो तर बसको कन्डिसन यति राम्रो थियो— मलाई कुनै चिन्ता लागेन । म गएर आफ्नो सिटमा बसें र मनमनै होटलको त्यो दाइलाई धन्यवाद दिएँ, जसले यो बसको टिकट मिलाइदिएका थिए ।

Global Ime bank

चुरोटको तलतल लागिरहेको थियो । तर, बसमा ‘धुम्रपान निषेध’ लेखिएको देखेर चुरोट झिक्ने इच्छा भएन । तल ओर्लिन पनि खासै समय थिएन । बस लगभग भरिसकेको थियो तर मेरो छेउको सिट भने खाली थियो । बस अघि बढ्यो । आफ्नो छेउको सिट अझै खाली देखेर मनमनै सोचें—  खुट्टा पसारेर सफर कट्ने भो ।

१२ वर्षपछि मुलुक फर्केको थिएँ । घर छोड्दा १८ वर्ष भर्खर टेकेको थिएँ । अहिले पनि शायद आउँथिनँ होला— मीरासँग ब्रेकअप नभएको भए । पाँच वर्षको सम्बन्ध उसले पाँच मिनेटमा तोडेर हिँडिदिएकी थिई— त्यो पनि आधारहीन कुरालाई लिएर । पहिले–पहिले झगडा हुँदा या ऊ या म— एकअर्कालाई मनाउँथ्यौं तर यसपटक त मेरो रिसको पारो यसरी चढेको थियो— म घर र सहरमात्रै होइन, देशै छोडेर हिँडेको थिएँ ।

परिवारसँग एकदमै घुलमिल हुनेखालको मान्छे म कहिल्यै थिइनँ । दुई दिदी र तीन दाइपछि जन्मेको मेरो स्वभाव अन्तरमुखी थियो । आमालाई औधी माया गर्थें तर नजिक कसैसँग पनि थिइनँ । अँ, सान्दाइसँग अलि खुल्थें । सान्दाइ पनि भाइजस्तो नगरेर साथीजस्तो व्यवहार गथ्र्यो । यदाकदा फोन गरेर हालखबर सोध्थ्यो । शायद त्यसैले होला— म पनि उसलाई आक्कल–झुक्कल फोन गर्थें । दुईपटक त पैसा पनि पठाइदिएको थिएँ उसको आग्रहमा— उसको व्यक्तिगत खर्चको लागि ।

हाम्रो परिवार राम्रै हुनेखानेमा गनिन्थ्यो । १२ वर्षमा मेरो परिवारले मसँग १२ पाउन्डको पनि माग राखेनन् । आश राखेका भए उनीहरू नै जानून् ।

अरुको मनको कुरा बुझेर व्यवहार गर्नेजस्तो म कहिले हुन सकिनँ । सान्दाइले आफ्नो व्यक्तिगत खर्चका लागि मुख फोडेर मागेको थियो र मैले पठाइदिएको थिएँ । नत्र त आउने–जानेको हातमा केटाकेटीहरूलाई चकलेट पठाउनेजति सोमत पनि थिएन मेरो । शायद त्यसैले पनि होला— सबै एक मुखले भन्थे, “कान्छु अलि बेग्लै छ ।”

बिदेसिएपछि पनि उस्तै रहें म । फोन त महिनौंमा गर्ने म भिडियो कल त झन् के गर्थें ! आमासँग आक्कल–झुक्कल कुरा गर्थें । अरुको हालखबर सोधेको भरमा टार्थें । बुवासँग वर्षभरिमा दुईफेर फोनमा कुरा हुन्थ्यो । बस् ।

यो १२ वर्षमा धेरै कुरा भए मेरो घरमा । दिदीहरूको त पहिल्यै बिहेवारी भइसकेको थियो, दाइहरू पनि घरबारे भइसकेका थिए । उडन्दास सान्दाइ राम्रो पढेलेखेको थियो तर एकठाउँमा टिक्थेन । बुवा चिन्तित स्वरमा भनिरहनुहुन्थ्यो, “गरिखाने भएन यसले !”

घर—परिवारको कडा दबाबमा परेर उसले तीन–चार महिनाअघि मात्रै बुवाको एकजना मिल्ने साथीको छोरीसँग मागीबिहे गरेको थियो । अब घरकाहरू ऊ टिकेर एकठाउँमा बस्ने आशा गरिरहेका थिए ।

मलाई सान्दाइको बिहेमा घर आउन सबैले जोड दिएका थिए । तर, त्यो ताका म आफ्नै बिहेको प्लान बनाउँदै थिएँ, त्यसैले आइहाल्न सकिनँ । सबैले चित्त दुखाए । खासगरी आमाले ।

अरुले त उहिल्यैदेखि भन्थे, यसपटक आमाले पनि रुँघिएको कण्ठले भन्नुभयो, “कत्ति स्वार्थी भएको तँ कान्छु ?”

० ० ० 

“यो ब्याग हटाउनुस् त प्लिज ! यो मेरो सिट हो,” एउटा स्त्रीस्वरले मेरो ध्यान बिथोल्यो ।

“सरी...,” मैले ब्याकप्याक सिटबाट उठाएर आफ्नो खुट्टाछेउ राखें । क्या झुर ! सिट त भरियो, मेरो खुट्टा पसारेर घर पुग्ने कल्पना दोस्रो स्टपमै तुहियो ।

ब्याग व्यवस्थित गरेर ऊ मेरो छेउको सिटमा बसी । यौटा अनौठो महक फिँजियो वरिपरि । नचाहँदा–नचाहँदै पनि मेरो आँखा त्यो महकको स्रोत खोज्न उठे र उसको आँखासँग अल्झिए । ऊ मलाई नै हेर्दै थिई । मीराभन्दा धेरै राम्रीथिई ऊ । मेरो मनले तुरुन्तै तुलना गरिहाल्यो । रंग हिस्सी भए पनि आँखा ठुल्ठूला थिए— मोटो गाजलको घेरामा कैद । सुन्दर ओठमा गुलावी ग्लस । कुहिनासम्म गाढा न गाढा मेहन्दी, अटाईनअटाई राता, हरिया र सुनौला झल्कने चुराहरू । रातोमा हरियो र सुनौलो कढाइ गरेको कुर्था सुरुवाल र बाक्लो कढाइ गरेको सल । समग्रमा दुलहीजस्तै देखिएकी थिई ऊ । उसले निधार खुम्चाएपछि मैले जबर्जस्ती आफ्नो आँखा उसबाट हटाएँ ।

यसरी दुलहीजस्तै सिँगारिएकी ऊ एक्लै कहाँ जान लागेकी होली ? मेरो मनमा उकुसमुकस भयो । कतै बिहे छोडेर भोगेकी त होइन ? मलाई केटाकेटी बेलामा हेरेका केही हिन्दी सिनेमाका त्यस्ता सिन याद आए, जसमा मन नपरेको केटासँग परिवारले जबर्जस्ती बिहे गराइदिन लाग्दा दुलही घर छोडेर भाग्थे । मेरा आँखा फेरि उतैतिर उठे । यसपटक शतर्क भएर ! घर छोडेर भागेकी भए त डराएकी देखिनुपर्ने ! अपसेट देखिनुपर्ने ! यो त सामान्य देखिन्छे !

त्यसपछि मैले फर्कीफर्की ऊतिर हेरिरहें । उसले फोन झिकेर कसैलाई डायल गर्ने कोसिस गरी । सिग्नल थिएन शायद, निकै बेर कोसिस गरेपछि पनि फोन लागेन । मुख बिगार्दै फोन ब्यागमा राखी ।

कसलाई फोन गरेकी होली ? मेरो मनको खुलदुली उस्तै थियो—ब्वाइफ्रेन्डलाई गरेकी हुनुपर्छ । भागेर ब्वाइफ्रेन्डकैमा जान लागेकी हुनुपर्छ ! मेरो मनले तर्क गरिरह्यो ।

शिट ! म यो के सोच्न थालें ? आफैंलाई हप्काएँ । १२ वर्ष लन्डन बसेर आए पनि यस्तो दुईपैसे फिल्मी सोच ? जेसुकै गरोस्, नन अफ योर बिजनेस ! मैले मुन्टो झ्यालतिर फर्काएँ ।

खासमै अलग थिएँ शायद म । मलाई कसैको चासो लाग्दैनथ्यो । आफैंमा मग्न, पढाइमा सधैं राम्रो । लन्डनको सुविख्यात कलेजबाट स्कलरशिप पाएको मैले सीए सकेर राम्रै कम्पनीमा राम्रै पैसा कमाउने जागिर गर्थें । मीराभन्दा पहिले मेरो जिन्दगीमा अरु कोही आएको थिएन । म आफ्ना अरु–अरु सोख पूरा गर्नमै यति व्यस्त थिएँ कि मलाई कसैको साथ आवश्यकतै महसुस भएन । एक्लै खुशी थिएँ । तर, फेरि मेरो खुशीमा मीराको नजर लाग्यो । ऊ मेरो जिन्दगीमा आएपछि म चंगाबाट मान्छे बनें । घरबार जोडें । र, बिहेको बन्धनमा बाँधिन तयार भएँ ।

“एक्सक्युज मी !” मेरी सहयात्री मेरो काँध कोट्याउँदै थिई ।

“एस !” मैले ऊतिर हेरें ।

“मलाई भमिट होला जस्तै भयो, प्लिज तपाईं यता सरिदिनुस् न,” उसले मुखमा हात राख्दै भनी ।

भमिट शब्द सुन्नेबित्तिकै म सिटबाट उठिसकेको थिएँ । ऊ हतारिँदै झ्यालतिर सरी, म उसको सिटमा । उसको शरीरबाट आइरहेको मादक सुगन्धले विचलित भएर म ऊभन्दा पर सरेर बसें । उसले झ्यालबाट टाउको निकालेर बान्ता गरी ।

“प्लास्टिक ब्याग बोक्नुपर्छ नि...,” खलासी करायो, “ह्या ऽऽऽ लास्टै बोर गर्ने भन्या...!”

वान्ता गरेपछि उसले ब्याग खोतलेर टिस्यु पेपर झिकी । मैले आफ्नो ब्यागबाट पानीको बोतल झिकेर ऊतिर बढाएँ । ऊ एकैछिन हिच्किचाई तर फेरि बोतल थामेर झ्यालतिर फर्की ।

हातमुख पखालेर, पुछेर सकेपछि उसले पानीको बोतल मतिर बढाएर भनी, “धन्यवाद !”

“राख्नुस् । मसँग अर्को छ,” मैले भनें ।

ऊ एकैछिन के गरौं, के गरौं जस्तो अन्यमनस्क भई । त्यसपछि पानीको बोतल आफ्नो काखमा राखेर फेरि भनी, “धन्यवाद !”

“इट्स अलराइट ।”

“युजुअली मलाई कहिल्यै भमिट हुँदैन । तर, आज खाना खानेबित्तिकै बस चढेकोले हो कि केले हो..., आ’म सरी ! तपाईंलाई डिस्टर्ब भयो है ?” उसले याचनापूर्ण स्वरमा भनी ।

“होइन । केही छैन । म...,” मैले बोलेर नसक्दै ऊ झ्यालतिर फर्केर भमिट गर्न थालिसकेकी थिई ।

निकैबेर चल्यो उसको त्यो क्रम ।

अब घाम डुब्न थालेको थियो । पश्चिमतिर आकाश रातो धुम्टो ओढेर दुलही बनेको थियो, मेरी सहयात्रीजस्तै ।

बसको वातानुकूलित वातावरणमा सबै आ–आफ्नै धूनमा मग्न थिए । म चिन्तित थिएँ– आफ्नो छेउमा भमिट गर्दागर्दा निढाल भएकी सुन्दरीको क्लान्त अनुहार हेरेर । यतिखेर उसका आँखा बन्द थिए । अनुहारको ताजगी ओइलिएको थियो । अचानक बस रोकियो ।

“ल ल चिया, कफी, नास्ता खानुस् । ट्वाइलेट जानुस् । यसपछि मुग्लिन नपुगी बस रोकिन्न,” खलासी भाइ करायो । मैले ऊतिर हेरें । उसले हलचल नगरेपछि म ब्याग बोकेर तल ओर्लिएँ ।

ट्वाइलेटबाट फर्किएर चुरोट सल्काएँ । मन बसमा भएकी युवतीतिर दौडियो । कतै बेहोस भएकी त होइन ?

मैले चुरोट फ्याँकें । दुइटा कालो चियाको कप लिएर म बसमा उक्लिएँ ।

उसका आँखा अझै बन्द थिए ।

“एक्सक्युज मी,” बोलाएर नउठेपछि मैले उसको कुममा कोट्याएँ । उसले आँखा खोली ।

“यो कालो चिया पिउनुस् । बेटर फिल हुन्छ ।”

ऊ सजग भएर बसी । यताउता हेरी अनि हिच्किचाउँदै कप थामेर कृतज्ञतापूर्वक भनी, “धन्यवाद !”

हामी दुबैले चुपचाप कालो चिया पियौं ।

बस हिँडेपछि मैले बिस्तारै सोधें, “फिलिङ बेटर ?”

“एस ! थ्यांक्स,” ऊ मुस्कुराऊँ कि नमुस्कुराऊँ भावले हल्का मुस्काई ।

मेरो मन उसको नाकको पिनमा गएर बस्यो । के भन्छन् त्यसलाई ? फुली ? होइन, होइन । नत्थी ? या शायद अरु नै केही । तर, के विधि सुहाएको यसलाई ?

हैट ! के भएको यो मेरो मनलाई ? २० वर्षमा नमात्तिएको यो पाजी मन अब ३० वर्षको उमेरमा लज्जित बनाउन लागिपरेको छ । मैले ऊसँग नबोल्ने, उसलाई नहेर्ने निधो गरेर आँखा बन्द गरें र टाउको सिटमा अड्याएँ । मन मीरातिर दौडियो । कहाँ होली ? म हिँडेको खबर त पाई होली । खोजखबर राखेकी भए त पाइहोला तर ढुंगाजस्तो मन भएकी उसलाई के फरक परेको होला र ?

तर, फेरि मेरो मनले मलाई लोप्पा खुवायो । म कसरी उसलाई ढुंगाको मन भनी आरोप लगाउँदै थिएँ ? जबकि यत्रा वर्ष जन्म दिने आमाको आँसुले नभिजेको मन बोकेर म बसेको थिएँ !

छ्या ! यो के वाहियात सोच्न थालें म ? मैले आँखा खोलें । मैले त्यसरी अचानक आँखा खोलेपछि मलाई ध्यानपूर्वक हेरिरहेकी सहयात्रीले हतारिँदै झ्यालतिर हेरी ।

ऊ मलाई हेर्दै थिई ! मेरो मनमा हलचल मच्चियो । के भएको हो यो मलाई ? यस्तो त पहिले कहिल्यै भएको थिएन ।

हेर्दा राम्रो छु । राम्रोको मापदण्ड मानिने टल, ह्यान्सम । एट प्याक नभए पनि सिक्स प्याकवाला बलिस्ट बडी पनि बनाएकै छु । गोरो चिट्टो । पहिले पनि केटीहरूले फर्केर हेर्थे तर त्यतिबेला मेरो मन यसरी मच्चिन्थेन । आज के भएको छ यसलाई कुन्नि ?

“चियाको लागि धन्यवाद,” ऊ भन्दै थिई । म ऊतिर फर्किएँ । यसपटक मेरो मन उसको भरिलो, गुलावी ओठमा गएर बस्यो । मलाई उठ्नु कि बस्नु भयो ।

“तपाईंलाई जाडो भएको छैन ?”

“के भन्नुभो ?” मेरो ध्यानै थिएन, ऊ के भनिरहेकी थिई । अचानक ऊ हाँसी । ह्विस्कीको ग्लासमा आईस क्युब हल्लदा हुने मखमली आवाजजस्तै हाँसो ।

म पक्कै बहुलाउँदै थिएँ । शरीरको आकर्षण पनि यति दह्रो हुन्छ, म सोच्नै सकिरहेको थिइनँ । शरीरको त हो नि ! माया त म मीरासँग गर्छु । तर, ऊसँग त ब्रेकअप भइसकेको छ मेरो । शायद त्यसैले पनि यो मन यति मात्तिएको । मलाई मन लागिरहेको थियो— म उसलाई कसेर आफ्नो अँगालोमा बेरौं र उसको ग्लसविहीन ओठमा आफ्नो ओठ यसरी टासौं— यी कहिल्यै अलग नहोऊन् ।

“जाडो भा’छैन भन्या ?” उसले फेरि सोधी ।

“जाडो ? यहाँ त आगो सल्केको छ,” मलाई भन्न मन थियो तर सकिनँ ।

“अलि अलि !” मैले उसको आँखामा नहेरी भनें ।

अब बाहिर सर्वत्र अँध्यारोको साम्राज्य थियो ।

“ओ भाइ ! यो बत्ती निभाऊ त,” कसैले दर्खरिएको स्वरमा भन्यो । तत्काल बसभित्र पनि अँध्यारो भयो ।

आनन्दै भयो ! सिटमा टाउको टेकाएर सुत्ने कोसिस गरें ।

मीरा र मेरो सम्बन्धमा मायाभन्दा पनि कमिटमेन्ट र समझदारी ज्यादा थियो । हामी हरेक कुरा प्लान गरेर, सरसल्लाहअनुसार गथ्र्यौं । लगभग मेरो बराबर कमाइ भएकी मीरा माया–प्रेमजस्ता कुरामा पटक्कै विश्वास गर्दिनथी । उसको लागि जे थियो— विशुद्ध कमिटमेन्ट, समझदारी र शरीरको आवश्यकता थियो । म अझै सोची–सोची हैरान भइरा’थें— त्यति समझदार मीराले मसँग ब्रेकअप गर्न त्यति असमझदार आरोप कसरी चुनी ?

अचानक मेरो काँधमा हलुका बोझ र नाकमा मीठो महक ठोक्कियो । आँखा खोलें । मुटु बसजत्तिकै वेगले कुद्यो । उसको टाउको मेरो काँधमा थियो ! के गरौं ? उसको टाउको झ्यालतिर धकेलूँ ? बोलाऊँ उसलाई ? निदाएकी होली ? या...या यत्तिकै...? मैले अगाडि सोच्न सकिनँ । निकै बेर प्रयत्न गरेर पनि मन थाम्न नसकेपछि मैले बिस्तारै आफ्नो चिउँडो उसको टाउकोमा अड्याएर लामो सास तानें । उफ ! यो कस्तो महक ?

उसले कुनै प्रतिक्रिया नदेखाएपछि मैले सुस्तरी उसलाई आफ्नो देब्रे छातीमा अड्याएर उसको गर्धनपछाडि हात राखें । एकैछिन मुटु बेतोडले दौडियो । चोरी गर्दागर्दै पक्राउ भएको आभासले शरीरमा अनौठो रोमाञ्चकता छायो । उसले फेरि पनि कुनै प्रतिक्रिया देखाइन । मैले एउटा हातले बिस्तारै उसको चुराले भरिएको नाडी थामें । मेहन्दीको सुन्दर बुट्टाले भरिएको उसको हत्केला सुम्सुम्याएँ । मेरो सारा शरीर अर्रो भयो । के गरूँ ? किस गरूँ ? उठेर थप्पड दन्काइदिई भने ? २० को उमेरमा नभएको बेइज्जती ३० मा हुने थियो । के गरूँ ? औडाहा मच्चियो । मैले बिस्तारै उसको टाउकोमा चुमें । कैयौं पटक । आधा मन आत्मग्लानिले भरियो— यो के गर्दै थिएँ म ? तर, अर्को आधा मन उसको त्यो मगमग बासना आइरहेको शरीरलाई अँगालोबाट पर धकेल्न राजी थिएन ।

यो पनि अब्युज हो ! मेरो अन्तरआत्माले भन्यो— सहमतिबिना कसैको शरीर छुनु अब्युज हो । मैले बिस्तारै उसलाई आफ्नो अँगालोबाट झ्यालतिर धकेल्न खोजें । तर, ऊ मसँग अझै बेस्सरी टाँस्सिई । माई गड ! यो त जागै पो छे ! मेरो मुटु झन् वेगले मच्चियो ।

“आर यु अवेक ?” म उसको कानमा सासले बोलें । उसले जवाफ दिइन ।

“जवाफ देऊ ! अदरवाइज आ’म गोइङ टु किस यु,” मैले थर्थराउँदै भनें ।

“यत्तिकै बस । चुपचाप । जाडो भा’छ,” उसले मेरो छातीमा टाँसिएरै भनी ।

मैले आफूलाई रोक्न सकिनँ । जर्बजस्ती उसको चिउँडो माथि उठाएँ । अनि उसको ओठमा आफ्नो ओठ राखें । एकैक्षण उसले मलाई आफूभन्दा पर धकेल्ने कमजोर कोसिस गरी । मैले उसलाई अझै कसेर थामें । त्यसपछि ऊ अमरबेलझैं मसँग यसरी बेरिई— म निस्सास्सिएँ । त्यसपछि त के— एकअर्काको अँगालोमा हामी यसरी हरायौं, हामीलाई वरपरको कुनै होस रहेन ।

मुग्लिन पुग्दासम्म हामी पसिनाले सरोवर थियौँ । हामीलाई न बत्ती बलेको पर्वाह थियो, न निभेको । उसको सलभित्र गुटमुटिएर हामीले त्यो सब ग¥यौं, जुन सद्धे मानसिक अवस्थामा बसभित्र कसैले गर्दैन । तर, मेरो त विवेकसँग नाता टुटेको थियो । शायद उसको पनि ।

मुग्लिनमा बस रोकिएपछि हामी अलग भयौँ । ऊ झ्यालतिर फर्किई । मैले आफ्नो छरपस्ट कपाल व्यवस्थित गरें । सर्टको माथितिरका दुइटा टाँक गायब थिए । मैले मुस्कुराएर उसलाई हेरें । ऊ झ्यालबाहिर हेर्दै थिई । मैले उसलाई कोट्याएँ । उसले गाह्रो मान्दै फर्केर मतिर हेरी । मैले टाँक छिनेको सर्टतिर देखाएँ । ऊ भुतुक्क भएर फेरि झ्यालतिर फर्किई । उसको रगत चुहिएलाजस्तो रातो अनुहारको कल्पना गरेर मेरो मुटु फेरि हल्लियो । उसलाई फेरि अँगालोमा बेर्ने तीब्र इच्छालाई दबाउँदै मैले भनें, “ओर्लिने होइन ?”

“तिमी जाऊ,” उसले मतिर नहेरी भनी ।

“यता हेर !”

“नो ! लिभ मी अलोन !”

“प्लिज ! हेर न !”

“नो ! नो,” ऊ फर्किइन । म मन मारेर बसबाट ओर्लिएँ ।

ट्वाइलेटबाट निस्केर चुरोट सल्काएँ । पाँच वर्ष मीरासँगको शारीरिक सम्बन्ध यति तृप्तिपूर्ण थिएन, जति यो अपरिचित युवतीसँग केही घण्टाको साथ । उसको जलाएर कोइला बनाउने उन्माद । जोश । उफ् ! म सोचेरै उम्लिएँ ।

कफीका दुइटा कप लिएर बसमा उक्लिँदा ऊ बसमा थिइन । कहाँ गई ? म अत्तालिएर बसबाट ओर्लिन खोजें । तर, बसतिरै आइरहेकी उसलाई देखेर अडिएँ । ऊ बसमा उक्लिई । नजिकै आएपछि मैले देखें— उसले मुख धोएकी थिई । आँखामा गाजल थपेकी थिई, ओठमा ग्लस । म उसलाई फेरि अँगाल्न, चुम्न छट्पटाएँ । ऊ मतिर नहेर्ने कोसिस गर्दै आफ्नो सिटमा गएर बसी र चुपचाप मतिर हात बढाई । मैले कफीको एउटा कप हातमा राखिदिएँ अनि आफ्नो सिटमा गएर बसें । हामीले चुपचाप आ–आफ्नो कफी सकेपछि मैले उसको हात थामेर भनें, “कुन पफ्र्युम लगाउँछौ ? कस्तो उकुसमुकुस बनाउने फ्लेवर !”

उसले मेरो हातबाट आफ्नो हात छुटाउन खोजी तर मैले झनै दह्रोसँग थामेर आफ्नो ओठमा जोडें । ऊ लजाई । उफ् ! उसको हातबाट अनौठो महक आइरहेको थियो ।

“के लगाएको हातमा ? कस्तो मदहोस बनाउने बासना ?”

“के छ र ?” उसले जबर्जस्ती हात तानेर आफ्नो नाकछेउ लगी अनि भनी, “ए ! यो त मेहन्दीको बास्ना हो !” अनि ऊ हाँसी ।

पहिलोपटक मैले उसको दाहिनेतिर उछिट्टिएको दाँत देखें । जिब्रोले त पहिल्यै फिल गरिसकेको थिएँ ।

“म फिदा यो मेहेन्दीसँग,” म मुस्कुराएँ, “अनि तिमीसँग !” मैले उसको नाकमा भएको कोठीमा चुमिदिएँ ।

“छ्या ! तिमी त कति छिल्लिएको बाई,” उसले मलाई पर धकेलेझैं गरी, “बसभरि मान्छे छन् ।”

“अघि तिमीले मेरो छातीमा, ओठमा टोक्दा बसभरि मान्छे थिएनन् ?” मैले ऊतिर आँखा झिम्काउँदै भनें ।

“छ्या,” ऊ झ्यालतिर फर्किई ।

म केही बोलिनँ । मनले मीरालाई सम्झियो ।

“मीरा राजभण्डारी ! तिमीले झुटो आरोप लगाएर ब्रेकअप गरेको तीन हप्ता नबित्दै मैले तिम्रो त्यो झुटो आरोपलाई साँचोमा परिणत गरिदिएँ । एउटी यस्ती युवतीसँग गाँसिएँ, जसको मलाई नाउँसमेत थाहा छैन । मजस्तो तटस्थ मान्छेको मन डगाउन सक्ने यो युवतीको सेक्स अपिल दह्रो या तिमीले दिएको आघात दह्रो— यही सोचिरहेको छु म यतिबेला ।”

बस गुडेपछि मेरो तन्द्रा टुट्यो । मेरी सहयात्री आफ्नो सिटमा समेटिएर बसेकी थिई । उसका आँखा बन्द थिए । म फेरि आफ्नै चिन्तनमा हराएँ ।

“तिमी कहाँसम्म जाने ?” ऊ मलाई कोट्याएर सोध्दै थिई ।

जान त मलाई धनकुटा थियो तर सँगै काम गर्ने साथीले परिवारको लागि ब्यागभरि सामान पठाएको थियो । त्यसैले पहिले धरान ओर्लिएर सामान बुझाउनु थियो । त्यसपछि बल्ल घर जाने योजना थियो ।

“धरानसम्म,” मैले भनें ।

उसले टाउको हल्लाई । मैले हात बढाएर उसको अनुहारमा झरेको कालो, चिल्लो, रेशमजस्तो केश पन्छाएँ अनि भनें, “बाई द वे... मेरो नाम...”

उसले मेरो ओठमा आफ्नो हात राखी अनि आग्रहपूर्वक भनी, “नभन प्लिज !”

“किन ?” मैले उसको हात थामें ।

“फाइदा के छ ?” उसको स्वरमा कुनै भाव थिएन ।

“मायामा फाइदा—बेफाईदा कसले हेर्छ ?”

“मायामा ?” उसले यसपटक सीधै मेरो आँखामा हेरी, “केवल केही घण्टाको यात्रामा माया बस्छ ?”

“शरीरको आकर्षणमा मात्रै यति धेरै बहुलट्टीपना नहुनुपर्ने । म यतिबेला जे फिल गरिरा’छु, त्यो यदि माया होइन भने अर्को कुनै माया भन्ने चिज छैन दुनियामा,” मैले गम्भीर स्वरमा भनें ।

उसले त्यो हलुका अँध्यारोमा निकै बेर आँखा जुधाइरही मसँग अनि सानो स्वरमा भनी, “म यतिका समयदेखि कोसिस गरिरा’छु तर माया बसाउन सकेकी छैन । मन जोड्न सकेकी छैन । तिमीचाहिँ भन्छौ केही घण्टामै...”

“रिलेसनमा छौ ?” मैले व्यग्रतापूर्वक सोधें । मुटु ढक्क फुल्यो । कुन्नि किन !

उसको गहिरो, कालो, ठूला–ठूला आँखा निकै बेर ममा स्थिर भए ।

“छु पनि र छैन पनि !” अलि बेर रोकिएर उसले भनी ।

“त्यसैले घरबाट भागेकी ?”

“भागेकी ?” ऊ कन्फ्युज देखिई ।

“घर छोडेर । बिहे छोडेर,” मैले भनें ।

“कसको बिहे ?” ऊ अझै उल्झनमा थिई ।

“तिम्रो बिहे । तिम्रो घर । लुगासमेत नफेरी । दुलहीको ड्रेस र मेकअपमा,” मैले खरर भनें ।

एकैछिन उसले मलाई जिल्ल परेर हेरी अनि अचानक खित्का छोडेर हाँसी । उसको त्यो बिन्दास हाँसो मेरो मनमा उत्रियो ।

“आ’म डेफिनेट्ली इन लभ विथ हर !” मेरो मनले साउती ग¥यो ।

“ओह, माई गड ! यति फिल्मी छौ तिमी ?” उसले पेट समातेर हाँस्दै भनी, “हेर्दा त लाग्दैनौ !”

अब जिल्लिने पालो मेरो थियो । पक्क परेर उसलाई हेरिरहें ।

“बेस्ट फ्रेन्डको बिहे थियो काठमान्डूमा । त्यही अटेन्ड गर्न आएकी थिएँ साथीहरूसँग । आउँदा साथीहरू थिए, त्यसैले रमाइलै भएको थियो,” उसले हाँसो रोक्दै भनी, “सँगै आएका साथीहरू दुई–चार दिन यतै बस्ने भए तर मलाई कसै गरी आजै घर फर्किने उर्दी थियो । खोजेको बेलामा प्लेनको टिकट मिलेन । पार्टी छोडेर सीधै बस चढ्न आएँ । घर जान भ्याइनँ, त्यसैले लुगा फेर्ने मौकै मिलेन । यत्तिकै आएँ ।”

ऊ फेरि हाँसी, “तिमीले मलाई आफ्नो बिहे छोडेर भागेकी बेहुली सम्झियौ ?”

उसले मेरो छातीमा हात राखी र भनी, “त्यति ओभरड्रेस्ड र ओभर मेकअप देखिएकी छु म ? भन त !” अचानकै उसको हाँसो पुछियो ।

उसको स्वर दयनीय सुनियो, “आफ्नो बिहे छोडेर भाग्नेजति बहादुर देखिन्छु र म ? भएकी भए त क्या काइदा हुन्थ्यो !”

मैले मेरो छातीमा टिकेको उसको हात थामेर चुम्दै भनें, “होइन होइन । एकदमै राम्रो ग¥यौ नत्र मलाई कसरी थाहा हुन्थ्यो— मलाई मेहन्दी यति मनपर्छ, चुरा र यसबाट गुञ्जिने आवाज यति मनपर्छ, दुलही यति मनपर्छ !” मेरो स्वर भावनाले भिज्यो । म आफैं छक्क थिएँ आफ्नो यो रूप देखेर ।

उसले मेरो हातबाट आफ्नो हात तानी र हाँस्न खोज्दै भनी, “त्यसो भए म होइन, दुलही मनपरेको तिमीलाई ?”

मैले यो भनेको भए— मलाई उसको आँखा, उसको ओठ, उसको केश, उसको अग्लो र पातलो बान्की परेको शरीर, कस्सिएको छाती, उसको आक्रामक माया मनपरेको हो— सायद मेरो अभद्रता मान्ने थिई ऊ । त्यसैले त्यो भन्ने साहस गरिनँ । बरु उसलाई तानेर आफ्नो छातीमा टाँसें र भनें, “अनेस्टली, स्वास्नीमान्छेसँगको संसर्ग नयाँ होइन मेरो लागि तर तिमीसँगको जस्तो अनुभव एकदमै नयाँ हो । यो बहुलाउने, दिमाग खल्बल्याउने अनुभव एकदमै नयाँ हो !”

ऊ जबर्जस्ती मबाट अलग भई र मेरो अनुहारमा आँखा गाड्दै सोधी, “त्यसो भए सफरमा यस्ता थुप्रै अनुभव बटुलेका छौ, हैन ?”

“बाई गड ! यो नै पहिलो र अन्तिम हो,” मैले दुबै हातले आफ्नो कान समातें, “म त्यस्तो खालको मान्छे नै होइन । आज मेरो साथमा जे भै’राछ नि, त्यो मेरो लागि पनि अनौठो छ ।”

एकैछिन अडिएर मैले बिस्तारै सोधें, “तिम्रो नि ? तिम्रा छन् अरु यस्ता अनुभव, सफरमा हुँदाको ?”

ऊ मुस्कुराई अनि मतिर सर्दै भनी, “साँच्चै भनूँ ?”

मेरो मनले चाह्यो— मसँगबाहेक उसले अरु कसैसँग यस्तो यात्रा नगरेकी होस् !

“उक्साउने धेरै भेटिए । मन परेका पनि भेटिए । नपरेकाहरू पनि भेटिए तर आगो सल्काउने तिमीमात्रै भेटियौ ! त्यसैले जुन डढेलो तिमीसँग मिलेर सल्काएँ, त्यो अरु कसैसँग सल्कन सकिनँ र सक्दिनँ,” ऊ मुख छोपेर हाँसी । म हुरुक्कै भएँ ।

यसपटक मैले अँगाल्दा उसले मलाई पर धकालिन, बरु मसँग लपक्क टाँसिई । त्यसपछि हामी दुवै केही बोलेनौं । हाम्रा हात, ओठ र शरीर व्यस्त रहे पूरै यात्राभरि । न उसलाई भोक र प्यास लाग्यो, न मलाई । यो क्रम त्यसबेला मात्र रोकियो, जब सूर्य बसभित्रै छि¥यो । हामी अलग भयौँ । उसले लजाएर मलाई हेरी । ठ्याक्कै नयाँ बेहुलीजस्ती देखिई ऊ । मेरी बेहुली ।

बिहान चिया खाने ठाउँमा हामी दुवै हात समातेर बसबाट ओर्लियौं । उसले त हात तानेको तान्यै गरिरहेकी थिई, मैले नै छोडिनँ ।

हात मुख धोएर हामीले सँगै चिया नास्ता खायौं ।

“तिम्रो नाम...”

“नसोध प्लिज,” उसले मेरो कुरा पूरा नहुँदै पुरानै अडान दोहो¥याई ।

“तर म त जीवनभरिको साथ चाहन्छु तिमीसँग । आई थिंक आ’म इन लभ विद यु,” मैले अधीरतापूर्वक भनें ।

उसले मलाई हेरी एकैछिन । उसको अनुहार रोइहाल्ली जस्तो देखियो । उसले घुटुक्क थुक निली र मुन्टो झुकाएर, चियाको कपमा आँखा गाड्दै मधुरो स्वरमा भनी, “अलि ढिला भयो !”

“ह्वाट ?” मैले बुझिनँ ।

उसले टाउको उठाई, मेरो आँखामा हेरी अनि भनी, “अलि चाँडै भएन र ? हाम्रो भेट भएको २४ घण्टा पनि भा’छैन ।”

“यो मेरो डिसिजन होइन । ट्रस्ट मी ! जब मैले पहिलोपटक तिमीलाई अँगालें, चुमें, मेरो मनले भन्यो— यही केटी हो, जोसँग म खुशी–खुशी सारा जीवन बिताउन चाहन्छु ।”

“यो त अलि फिल्मी भएन र ?” ऊ फेरि हाँसी तर उसको हाँसोमा जीवन थिएन ।

“तिमीलाई लागेन भने भन !” मैले भनें ।

निकै बेर लगाएर उसले भनी, “लागेन !”

त्यसपछिको बाटोभरि मैले अनेक पटक जिद्दी गर्दा पनि उसले आफ्नो नाम भनिन । न मेरो जान्न चाही । मैले किचकिच गरिरहेपछि उसले भनी, “ओके, लेट्स मेक अ डिल । तिमी आफ्नै बुताले मेरो नाम, घर, ठेगाना पत्ता लगाएर आउन सक्यौ भने तिमी जे भन्छौ, म त्यो मान्छु ।”

मलाई थाहा थियो— ऊ मलाई आफ्नो ठेगाना भन्न चाहन्नथी । तर, मेरो मनले यत्तिकै हार नमान्न अड्डी कसिसकेको थियो, “योचाहिँ फिल्मी भएन ?” मैले उसको हात थाम्दै सोधें ।

“भयो ! तर फेरि हेर त, हिजोदेखि हाम्रो बीचमा जे भइरहेको छ, त्यो कम फिल्मी छ ?” उसले मेरो हातमाथि आफ्नो अर्को हात राखी, “खोज्न सक्यौ, भेट्यौ भने त कुरै के भयो र ! होइन भने पनि तिमी मलाई राम्रो मनले याद राख है जीवनभर !”

उसको स्वर रुँघिएजस्तो भयो, “केही घण्टाको यात्रामा भेटिएकी छाडा केटी मानेर होइन, बरु जिन्दगीसँग सधैं हारेर क्षुब्ध भएकी यस्ती यौटी युवती, जो परिवारको मन राख्ने कोसिसमा आफ्नो मन मार्न बाध्य छे । पढेलेखेकी यस्ती युवती, जो गलत भन्ने जान्दाजान्दै गलत गर्न यसकारण बाध्य छे कि ऊ अरु केही गर्न सक्दिन । कपोकल्पित आरोपमा जे भेटी, त्यही वास्तविकतामा गरेर बदला चुकाउने यौटी यस्ती कायर युवती, जो न मनले चाहेको गर्न सक्छे, न नचाहेको छोड्न सक्छे ।”

उसले निकै बेर मुन्टो उठाइन तर मैले उसको आँखाबाट चुपचाप गुल्टेर चियाको कपमा बिलाएको आँशुको ढिक्का प्रस्ट देखें । शायद मजस्तै चोट उसले पनि खाएकी थिई । उसले मेरो हातमाथि भएको आफ्नो हात झिकी । तर, मैले थामेको उसको अर्को हात कसैगरी उम्किन दिइनँ ।

“म खुशी हुनेछु— कमसेकम यौटा अञ्जान मान्छेको मनमा नै सही, मीठो याद बनेर रहन सकें भने । किनकि चिनजानकाहरूको जीवनमा हुनु मेरो बाध्यता भए पनि उनीहरूको मनमा म हुनै सकिनँ । तिमी मलाई, मसँगको यो यात्रालाई सजाएर मनमा राखिराख है । प्लिज,” उसको स्वरमा अनौठो याचना थियो ।

मैले दृढ अठोट गरें— म जहाँबाट, जसरी भए पनि उसलाई खोज्नेछु र आफ्नो जीवनमा सम्मिलित गराउनेछु । उसलाई अँगालेर बिताउनेछु म बाँकी जीवन ।

“कमसेकम जान लागेको ठाउँ त भन,” मैले भनें ।

एकैछिन उसले भनूँ कि नभनूँ भन्ने भावले मलाई हेरी अनि बिस्तारै भनी, “अन्तिम स्टेसन ! जहाँ पुगेपछि सबै बाटो टुंगिन्छ । कुनै विकल्प बाँकी रहन्न !”

किन यति निराशा यसको स्वरमा ? म छट्पटाएँ ।

धरानमा मैले ओर्लिने सुरसार गरेपछि उसले आफैं अघि बढेर मलाई दह्रोसँग अँगाली । मेरो निधारमा चुमी । आँखामा चुमी । अनि निन्याउरो स्वरमा भनी, “मलाई याद राख है ।”

मैले उसलाई छातीमा टाँसें । कैयौँ पटक चुमें । उसले विरोध गरिन । उसको अनुहार दुई हातले थामेर मैले भनें, “एक–एक गल्ली चहार्नेछु, एक–एक घरको ढोका ढक्ढकाउनेछु तर तिम्रो ठेगाना पत्ता लगाएरै छोड्नेछु । यसै फिल्मी, उसै फिल्मी । सुन, म हाम्रो भेटलाई यादगार बनाएर छोड्नेछु, पर्खेर बस् ।”

म बसबाट ओर्लिएँ । खलासी भाइले डिक्कीबाट सामान झिकुन्जेल म उसैलाई हेरिरहें । मलाई लाग्यो— ऊ रोइरहेकी थिई । मेरो मन त्यसै–त्यसै कल्पियो । म फेरि बसमा उक्लेर उसलाई अँगाल्ने आफ्नो तीब्र इच्छालाई दबाएर बस हेरिरहें । उसलाई, जसलाई केवल केही घण्टाको साथको भरमा मैले आफ्नो जिन्दगी बनाएको थिएँ । मूर्खताको यो हदसम्म भावुक म जीवनमा पहिले कहिल्यै भएको थिइनँ ।

साथीको घरमा सामान छाडें, खाना खाएँ र ढिलोे बस समातेर ढिलो घर पुगें ।

घरमा परिचय नै गराउनुप¥यो आफ्नो । १२ वर्ष यति लामो हुँदो रहेछ—आफ्नै बाउ–आमाका धमिला आँखाले चिन्न छोड्दा रहेछन् । मलाई बडो नमज्जा लाग्यो । यसै खल्बलिएको मेरो मन झन् एकतमासको भयो । आमा, दाइहरूले अँगालेर रुँदा कतिखेर मेरो पनि आँखा भरिएर पोखियो, पत्तै पाइनँ । त्यो केही घण्टाको यात्राले मलाई ढुंगाबाट मान्छे बनाइदिएको थियो । त्यो यात्राको सहयात्रीका कारण मेरो मुटुले पनि धड्किन जानेको थियो । जीवनका यत्रा वर्ष ढुंगा भएरै बिताएँ । अब बाँकी जीवन मान्छे भएर रहन चाहन्थें म— उसैको साथमा । मेरो निर्णय झन् दृढ भयो— पातालबाट पनि खोजेर निकाल्छु म तिमीलाई ! तिमीबिना अब मेरो जिन्दगीको रथ अगाडि बढ्दैन ।

“सान्दाइ खै त ?” सबैजनाको माझमा दाइलाई नदेखेर मैले सोधें । मैले विदेशमा उसलाई जति सम्झिएँ, त्यति आमालाई पनि सम्झिएको थिइनँ ।
“लौ, त्यो त कोरियामा छ,” ठुल्दाइले भन्नुभो, “त्यत्रो पढेर यहाँ केही गर्न सकेन । कुण्ठित भएर यहाँ र वहाँ भौतारिइरहेको थियो, अचानक के सुर चल्यो कुन्नि, कोरियाको तयारी ग¥यो र हिँड्यो ।”

“भाउजू पनि साथै जानुभो ?” सोधें ।

“कहाँ जानू ! ऐले त एक्लै गा’छ,” आमाले भन्नुभयो, “मिल्यो भने बोलाउँछ रे !”

“ए प्रतीक ! जा, जा काकीलाई बोलाएर ले,” ठुल्दाइले आफ्नो छोरोलाई अह्रायो ।

“बूढो भएछस् कान्छु,” आमाले मेरो छुस्स दाह्री भएको अनुहार मुसार्दै स्नेही स्वरमा भन्नुभो, “कहिले बे गर्छस् ? कहिले घरबार जोड्छस् ?”

“अब गर्छु आमा म...,” म बोल्दाबोल्दै अडिएँ ।

आमाले मेरो आँखाको अनुसरण गर्नुभयो ।

“साहिँलाकी स्वास्नी । श्रद्धा,” आमाले भन्नुभयो ।

मलाई रिंगटा छुट्यो । मेरो सामुन्ने नीलो, कालो अनुहार लिएर उही उभिएकी थिई— मेरो सहयात्री ! साक्षात् !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०७४  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !