पत्रकारका गुरु

पत्रकारका गुरु

– नरेश फुयाँल


‘गोरखापत्र’ले सिङ्गो पत्रकारिताको युग धानिरहेका बेला ध्रुवहरि अधिकारी पत्रकारितामा प्रवेश गरे । प्रविधिले नयाँ–नयाँ सञ्चार संस्था जन्माउँदै गयो । त्यसको प्रयोग ध्रुवहरिले पनि गर्दै गए । छापादेखि अनलाइनसम्मको अनुभव सँगालेका ध्रुवहरिले रेडियो र टेलिभिजन पत्रकारितामा पनि आफूलाई अभ्यस्त गराए । उनले पत्रकारितामा जति कलम चलाए, त्यति नै पत्रकारिताको कखरा पनि सिकाए । उनले सिकाएका अनेकौं व्यक्तिले पत्रकारिताको राम्रो अभ्यासमात्रै गरेनन्, सञ्चार संस्थामा नेतृत्वसमेत गरे ।

० ० ०

नन्दनहरि ओखलढुङ्गे ‘गोरखापत्र’मा सम्पादकलाई चिठी लेखिरहन्थे । उनलाई चिठी लेख्ने लत लागेको थियो । वि.सं. २००४ देखि सम्पादकलाई चिठी लेख्न शुरु गरेका नन्दनहरिले आफू स्वर्गारोहण भएको ०५३ सालसम्म ‘गोरखापत्र’मा चिठी लेखिरहे । तिनै नन्दनहरिका छोरा हुन् पत्रकार ध्रुवहरि अधिकारी, जसले बुवाको एक वर्षको वार्षिकीमा केही ‘सेलेक्टेड’ चिठीको १२९ पेज मोटो संग्रह नै निकाले— ‘सम्पादकलाई चिठी’ नाम दिएर ।

कहिले हुलाकबाट त कहिले आफैं ‘गोरखापत्र’मा नन्दनहरि सम्पादकलाई चिठी पुर्‍याउन जान्थे । नभ्याउँदा ध्रुवहरिलाई पठाउँथे । बुवाले लेखेका चिठी बोकेर उनी गोरखापत्र संस्थान पुग्थे । कहिलेकाहीँ उनका भाइ दिनेश अधिकारी (गीतकार तथा कवि) पनि जान्थे । नन्दनहरि कविता पनि लेख्थे । कविता प्रसारणका लागि रेडियो नेपालमा पठाउँथे । कयौंपटक ध्रुवहरि बुुवाका कविता बोकेर रेडियो नेपाल पनि पुगे । बुवाको कवितामोहकै कारण छोरा दिनेश कालान्तरमा वरिष्ठ गीतकार तथा कवि भए । ध्रुवहरिमा पनि त्यो छाप पर्‍यो । तर, कविताको होइन, सम्पादकलाई पठाएको चिठीको ।

बुवाले लेखका चिठी पुर्‍याउँदा पुर्याउँदै र पढ्दापढ्दै उनलाई पनि त्यस्तै चिठी लेख्ने रहर पलायो । थाले लेख्न । शुरु भयो  छापिन । ०२७ सालमा पहिलोपटक उनले सम्पादकलाई लेखेको चिठी ‘गोरखापत्र’मा छापियो । त्यो बेला ‘ब्रोडसिट’मा नियमित रूपमा प्रकाशन हुने र ठूलो सर्कुलेसन भएको पत्रिका ‘गोरखापत्र’मात्रै थियो । त्यसमा सम्पादकलाई चिठी छापिनु भनेको चानचुने कुरा थिएन । उनले ‘राइजिङ नेपाल’मा पनि त्यस्तै चिठी छपाउन थालेका थिए । शुरुमा त साथीभाइबीच सुनाउन पनि लाज माने उनले । तर, नियमित छापिन थालेपछि भने सुनाए । साथीसंगतीमा उनको बेग्लै पहिचान बन्यो ।

“चिठी नियमित रूपमा छापिन थालेपछि मैले शब्द चयनका लागि समाचार तथा लेख पनि पढ्न थालें । त्यसले मलाई वाक्य संरचना र शब्द चयनमा ठूलो सहयोग गर्‍यो । तर, त्यो मैले मेरो भाषामा निखार आओस् भनेर गरेको भने थिइनँ,” उनी भन्छन्, “म मेरो नामबाट त लेख्थें नै, अर्को काल्पनिक नामबाट पनि लेख्थें । यसैले मलाई लेखनमा तान्यो भन्ने लाग्छ ।”

० ० ०

०३४ सालमा ध्रुवहरि पत्रकारिता पढ्न ‘लन्डन स्कुल अफ जर्नालिजम’ पुगे । त्यहाँ रहँदा उनले बीबीसी नेपाली सेवामा ‘आउट–साइड कन्टिब्युटर’को रूपमा काम गर्ने अवसर पाए । हप्तामा तीन दिन प्रसारण हुने नेपाली सेवाका लागि उनी त्यहाँ काम गर्थे ।

बीबीसी नेपाली सेवामा पनि ध्रुवहरि प्रतिक्रिया लेख्थे । सम्पादक मणि राणा थिए । लन्डन गएपछि ध्रुवहरिले आफ्नो नाम भन्नेबित्तिकै राणाले उनलाई चिनेको स्मरण सुनाउँछन् ।

०३५ मा उनी नेपाल फर्किए । बीबीसीमा काम गरेको अनुभव सँगालेर नेपाल फर्किएका ध्रुवहरिलाई पत्रकारिता गर्न मन लाग्यो । भारतदत्त कोइराला ‘गोरखापत्र’मा महाप्रबन्धक थिए, गोकुलप्रसाद पोखरेल सम्पादक । ध्रुवहरि महाप्रबन्धक कोइरालालाई भेट्न गए । आफूले लन्डन गएर पत्रकारितामा डिप्लोमा गरेको र बीबीसीमा काम पनि गरेको बताउँदै उनले ‘गोरखापत्र’मा काम दिन आग्रह गरे । त्यति भन्दासम्म पनि खासै वास्ता नगरेका कोइरालाको ध्यान त्यतिखेर ध्रुवहरितिर सोझियो, जतिबेला उनले ‘गोरखापत्र’मा आफूले सम्पादकलाई चिठी लेख्ने गरेको सुनाए ।

“...ओहो ! तपाईं त्यही व्यक्ति पो हो ? ल भोलिदेखि आउनुस्,” कोइरालाले उत्तिखेरै भने ।

सम्पादकलाई आफ्नो कोठामा बोलाएर भोलिबाटै काम लगाउन अह्राए । अर्को दिनदेखि नै ध्रुवहरि ‘गोरखापत्र’को जागिरे भए । 

“बेलायतको डिप्लोमाले होइन, सम्पादकलाई लेखेको चिठीले गोरखापत्रमा मलाई जागिर खुवायो,” उनी हाँस्छन् ।

उप–सम्पादकबाट सुरु भएको उनको जागिर सह–सम्पादकसम्म पुग्यो । १२ वर्ष काम गर्दा ध्रुवहरिले खेलकुददेखि राजनीतिसम्मको रिपोर्टिङ गरे । विकट गाउँदेखि अमेरिकाबाटसम्म रिपोर्टिङ गरे ।

०३८ सालमा राष्ट्रसंघ (यूएन)बाट आएको फेलोसिपमा उनले नाम निकाले । संसारका विकासशील देशबाट चार जना छानिए,  जसमा ध्रुवहरि पनि परे । फेलोसिपका लागि उनी न्युयोर्क पुगे । त्यहीँबाट पठाएको समाचारमा उनको पहिलोपटक बाइलाइन छापियो । त्यो समय अक्सर सम्पादकले समाचार लेखे वा राजाको भ्रमणमा जिल्ला वा विदेशबाट पठाएका समाचारमा मात्रै बाइलाइन छापिन्थ्यो । उनले ‘गोरखापत्र’मा सम्पादकीयसम्म लेखे ।

‘गोरखापत्र’मा रहँदै उनी जापान पुगे । दोस्रो सार्क शिखर सम्मेलन ब्याङ्लोरमा भयो, त्यहाँ पनि पुगे । त्यो समय पनि उनको बाइलाइन छापियो । त्यसले पनि उनको थप ‘हाइप’ बढायो ।

०४६ सालमा जनआन्दोलन सफल भयो । खुला व्यवस्था आयो । त्यसपछि उनलाई ‘गोरखापत्र’ छोडेर खुला हावामा विचरण गर्न मन लाग्यो । संयोग, त्यतिबेला उनले ‘रोयटर्स’लाई समाचार पठाउन थालिसकेका थिए । बीबीसीले आवश्यक पर्दा उनीसँग कमेन्ट माग्थ्यो । त्यसबाट उनलाई परिवार धान्न पुग्ने पैसा आउँथ्यो । बीबीसीले उनलाई जनआन्दोलनको समाचार हिन्दी, उर्दू र अंग्रेजी भाषामा पठाउन भन्थ्यो । उनी जानीनजानी उर्दू भाषामा समेत कमेन्ट गर्थे ।

गोकुलप्रसाद पाेखरेलले ०४१ मा नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) स्थापना गरे । त्यसको संस्थापक सस्दय ध्रुवहरि पनि हुन् । उनले एनपीआईमा प्रशिक्षक भएर त काम गरे नै, त्यसको नेतृत्वसमेत गरे । यो संस्थामा २२ वर्ष उनले सक्रिय रूपमा काम गरे ।

प्रशिक्षक प्रशिक्षण तालिमकै क्रममा ध्रुवहरि सन् १९८९ पश्चिम जर्मनीको बर्लिन पुगेका थिए । त्यसबेला पश्चिम जर्मनी र पूर्वी जर्मनी थिए । संयोगले त्यहीबेला १९६१ मा लगाइएको पर्खाल भत्काइयो । त्यो ऐतिहासिक क्षणको भाग्यमानी प्रत्यक्षदर्शी हुन् उनी ।

० ० ०

नेपालमा पञ्चायतकालसम्म सरकारी कार्यालयमा प्रवक्ता राख्ने चलन थिएन । बहुदल आएपछि बनेको अन्तरिम सरकार (०४७)मा योगप्रसाद उपाध्याय सञ्चारमन्त्री थिए । उनले प्रवक्ता राख्ने निर्णय गरे । प्रवक्ताको जिम्मेवारी के भन्नेमा सरकारी अधिकारीहरू नै अनभिज्ञ थिए । उपसचिव र सहसचिवहरूलाई एनपीआईले पहिलोपटक होटल एभरेस्टमा ‘ओरियन्टेसन’ तालिम दियो । तालिम दिनेमा ध्रुवहरि पनि थिए । प्रवक्ताको तालिम लिनेमा नारायण शमशेर थापा, श्रीकान्त रेग्मी, मदनकुमार भट्टराई, उषा नेपाललगायत थिए । सञ्चारमाध्यमको फेस कसरी गर्ने, विज्ञप्ति कसरी लेख्ने, कस्ता सूचना होल्ड गर्ने र कुन सूचना दिने भन्नेबारे एनपीआईले प्रशिक्षण दिएको थियो । आफैंले तालिम दिएका व्यक्तिसँग उनी रोयटर्स र बीबीसीका लागि सूचना लिन्थे ।

२२ वर्ष उनले एनपीआईमा बसेर नयाँ पत्रकार उत्पादन गर्ने र भएका पत्रकारको क्षमता विस्तारका लागि काम गरे । उनले पत्रकारिताको कखरा सिकाएका कति पत्रकार अहिले सञ्चारमाध्यमको उपल्लो तहमा बसेर लगाम समाइरहेका छन् । कति उनीभन्दा पहिला विस्थापित भइसकेका छन् ।

आफूले पत्रकारिताको बाह्रखरी सिकाएका व्यक्ति अहिले ठूलो सञ्चार गृहका उपल्लो पदमा पुग्दा उनलाई घमण्डभन्दा पनि सन्तोष लाग्दो रहेछ । रवीन्द्र मीश्र, श्रीरामसिंह बस्नेत, डा. कुन्दन अर्याल, तीर्थ कोइराला, राजेन्द्र दाहाल, दुर्गाप्रसाद भट्टराई, रमेश खनाल, गिरीश पोखरेल, लक्ष्मण हुमागाईं, अमृता लम्साललगायतका पत्रकारलाई ध्रुवहरिले एनपीआईमा तालिम दिएका हुन् ।

० ० ०

दरबारको बोलाबाला थियो । राम्रो अवसर पाउन दरबारको आँखामा पर्नु पथ्र्यो अथवा दरबारियाको आशीर्वाद चाहिन्थ्यो । त्यसैले दरबारसँग नजिकिन जो पनि चाहन्थ्यो । भलै त्यो अवसर सबैलाई मिल्दैनथ्यो । हरेकजसो कार्यालयका हाकिमहरू दरबारलाई रिझाउन मरिहत्ते गर्थे । पत्रकारहरू पनि त्यसबाट अछुतो थिएनन् ।

तर, ध्रुवहरिको सन्दर्भमा दरबार अलि फरक थियो । चिरन शमशेर थापा राजा वीरेन्द्रकाे सचिवालयका संवाद सचिव थिए । उनले शायद ‘गोरखापत्र’का सम्पादकलाई राम्रो लेख्ने पत्रकार लिएर आउन अथवा पठाउन भन्थे । त्यसैले त्यो बेला जुनिएर नै भए पनि सम्पादकले ध्रुवहरिलाई लिएर दरबार तथा दरबारका कार्यक्रममा जान्थे । भलै वीरेन्द्रसँग उनको कहिल्यै दोहोरो संवाद भएन ।

दरबारमा कुनै भाषण वा पुस्तक अनुवाद गर्नु परे ध्रुवहरिलाई बेला–बेला बोलाहट हुन्थ्यो ।

०४५ मा भारतले नेपालमा नाकाबन्दी लगायो । नाकाबन्दीको विरोधमा थिए राजा वीरेन्द्र । त्यसैले सरकार आफ्ना कुरा विश्वसामु पुर्‍याउन चाहन्थ्यो । त्यसका लागि सरकारले नेपालको इतिहासमा पहिलोपटक मुख्य प्रवक्ता भनेर तोक्यो— राधेश्याम विष्टलाई । नेपालमा प्रवक्ता भनेर पहिलोपटक राखिएका व्यक्ति नै उनी थिए ।

“शायद अप्ठ्यारो अवस्थामा सल्लाहकार आवश्यक पर्दो रहेछ भन्ने सरकारले महसुस गर्‍यो होला, त्यही भएर सरकारले सञ्चार कार्यटोली गठन गर्‍योे,” उनी भन्छन्, “त्यसमा पाँच जना थियौं— बरुण शमशेर राणा, पी खरेल, रामकृष्ण रेग्मी, गोविन्दमान श्रेष्ठ र म । त्यो कार्यटोलीले सरकारलाई सल्लाह दिन्थ्यो ।”

० ० ०

पञ्चायतकालमा दरबारबारको प्रभाव राज्यका हरेक अङ्गमा पथ्र्यो । पत्रकारिता त्यसबाट अछुत रहने कुरै थिएन । राजपरिवारका सदस्यका भनाइलाई वाणीकै रूपमा छापिन्थ्यो । सम्पादकीय पेजमा सम्पादकीयमाथि ‘महान’ वाणी छापिन्थे । त्यही वाणी छापिने ठाउँमा राजदरबारका सदस्यका भनाइ तथा उनीहरूका कामबारे (राजदरबार परिपत्र) छाप्ने चलन थियो । राजदरबारको सचिवालयले फोन गरेर त्यस्ता परिपत्र टिपाउँथे । 

त्यस्तै परिपत्रको रोचक कहानी छ ध्रुवहरिसँग— 

फागुन ६ गतेको दिन थियो । मुमाबडामहारानी रत्नसम्बन्धी परिपत्र थियो । तर, त्यो परिपत्र ‘गोरखापत्र’मा टिपाउन ढिलो भएपछि सचिवालयले सञ्चार मन्त्रालयका सचिव जितबहादुर मानन्धरलाई राति टिपाएछ । उनी राति २ बजे ‘गोरखापत्र’ आए । ‘गोरखापत्र’ले राति स्टोन एडिटर भनेर एक जना कर्मचारी राख्थ्यो, जसले राति कुनै ठूलो घटना भए त्यसलाई समाचार बनाएर छाप्ने र छापिन लागेको पत्रिकाको पेजमा केही गल्ती भए सच्याउँथ्यो ।

सचिव जितबहादुर आउँदा त्यस दिन स्टोन एडिटर  कार्यालयमा भेटिएनन् । सचिवले त्यहीँँबाट सम्पादक बालमुकुन्ददेव पाण्डेलाई फोन गरेर भने, “दरबारको परिपत्र लिएर आएको, कोही पनि छैन त । के हो यस्तो ?”

बालमुकुन्ददेवले केही समयमै अर्को कोही व्यक्तिलाई पठाइदिन्छु भन्दै पर्खिन आग्रह गरे । सम्पादकले राति २ बजे फोन गरेर ध्रुवहरिलाई भने, “गाडी पठाइदिन्छु, सचिवले परिपत्र लिएर आएका छन्, त्यो छाप्नू ।”

साढे २ बजे ध्रुवहरि ‘गोरखापत्र’ पुगेर परिपत्र टिपे र छाप्ने व्यवस्था मिलाए । त्यही दिनको अर्को संयोग ध्रुवहरिलाई आज पनि ताजै छ ।

फागुन ७ गते थियो । ‘राष्ट्रपिता त्रिभुवन’ भनेर छापिनुपर्ने समाचारमा ‘राष्ट्रपति त्रिभुवन’ भनेर लेखिएछ । त्यो धु्रवहरीले देखे र प्रेसमा जानुअघि नै सच्याए ।

त्यस्तै घटना ०२९ मा पनि भएको थियो । ०२८ माघमा राजा महेन्द्रको मृत्यु भएपछि वीरेन्द्र राजा भए । ०२९ मा श्रीप्रसाद गौतमले लेख लेखे । राजाको विदेश भ्रमण हुन लागेको थियो । उनले लेखमा झुक्किएर ‘श्री ५ महाराजधिराज वीरेन्द्र तथा महारानी रत्न’ लेखेछन् । ‘ऐश्वर्य’ हुनुपर्नेमा झुक्किएर ‘रत्न’ लेखियो तर त्यो सम्पादक, प्रुफरिडर, कम्पोजर, स्टोन एडिटर कसैले पनि याद गरेन । त्यस्तै छापियो ।

दरबारमा छानबिन समिति गठन भयो । गोपालप्रसाद भट्टराई सम्पादक थिए । (गोपालप्रसाद किसुनजीका दाइ हुन् ।) उनलाई राजा महेन्द्रले सम्पादक बनाएका थिए । गल्ती गर्नेलाई कारबाही गर्ने निष्कर्षमा पुग्यो दरबार । सोधखोज हुँदा सम्पादक भट्टराईले भने, “गल्ती जसले गरे पनि सम्पादकका हैसियतले त्यसको नैतिक जिम्मेवारी म आफैं लिन्छु ।”

केही दिनमा ‘...केही पंक्तिमा अक्षम्य गल्ती गरेको हुँदा सम्पादक गोपालप्रसाद भट्टराईलाई सम्पादकको जिम्मेवारीबाट हटाइएको छ’ भन्ने पत्र आयो । यसपटक भने ध्रुवहरिले त्यो खतरा टारिदिएका थिए ।

० ० ०     

०३४ मा लन्डनस्थित बीबीसी नेपाली सेवामा काम गरेको अनुभव लिएर फर्किएपछि उनले बीबीसीको ‘कमेन्टेटर’ भएर आवश्यकताअनुसार काम गरे पनि कर्मचारीका रूपमा भने त्यसमा काम गरेनन् । तर, बीबीसीकै ‘साझा सवाल’मा भने उनी सम्पादकको रूपमा छिरे । एक वर्ष काम गर्दा उनी जसरी सहजै ‘साझा सवाल’मा प्रवेश गरेका थिए, बहिर्गमन भने त्यति सहज भएन । ‘साझा सावाल’ नीतिगत रूपमा विचलित हुन थाल्यो । राष्ट्रिय प्राथमिकताका एजेन्डाहरू आँखैअघि बग्रेल्ती हुँदा पनि फरक विषय अगाडि सारेपछि ध्रुवहरिलाई चित्त बुझेन । राजीनामा दिएर जिम्मेवारीमुक्त भए ।

पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताका सबै माध्यममा उनले काम गरे । प्रविधिको विकास, विस्तार र त्यसको प्रयोगले जन्माएका सञ्चार माध्यमका सबै विधामा उनले आफ्नो अनुभव साट्ने मौका पाए ।

अहिलेको पत्रकारिता

ध्रुवहरि अहिले प्रविधिको परिवर्तनसँगै जन्मिएको ‘न्यु मिडिया’मा छन् । ‘लोकान्तर डटकम’मा अध्यक्षका रूपमा उनी आबद्ध छन् ।

कुनै समय थियो— रेडियोले भनेको र ‘गोरखापत्र’मा छापिएको भनेपछि त्यो ढुङ्गाको अक्षरसरह हुन्थ्यो । पूरै देशले पत्याउँथ्यो । तर, समय परिवर्तन भयो । अहिले सञ्चारमाध्यमले प्रसारण÷प्रकाशन गरेका विषयलाई पाठक, दर्शक या स्रोताले विश्वास गर्न छाडेको अनुभव ध्रुवहरिको छ ।

“मिडिया बग्रेल्ती भए । ठेकेदारले मिडियामा लगानी गर्न थाले । कसले कुन प्रयोजनका लागि सञ्चारमाध्यममार्फत के प्रक्षेपण गर्दैछ, त्यसतर्फ सचेत हुने बेला आएको छ,” ध्रुवहरि भन्छन्, “भौतिक संरचनामा करोडौं लगानी गर्ने मिडिया मालिक दक्ष जनशक्तिमा लगानी तयार छैनन् । भर्खर पत्रकारिता पढ्दै गरेका विद्यार्थीको भरमा सञ्चारमाध्यम चलाएको मैले देखेको छु । विज्ञापनदाताको इशारामा मिडियाहरू चल्ने गरेको मैले पढाएका पत्रकारहरु नै मलाई सुनाउँछन् ।”

सूचना आफैंमा समाचार होइन । सूचनालाई अंग पुर्‍याएर लेखेपछि त्यो समाचार बन्छ । समाचार भनेको कला पनि हो । समाचार लेख्ने कला नै नभएका व्यक्तिको हालीमुहाली देखेर दिक्क मान्ने ध्रुवहरि समाचारको गुणस्तर घट्दै तथ्यले चिन्तित छन् ।

पत्रकारितामा राजनीति र व्यवसाय मिसिन थालेकाले पाठकको दिमागमा नै नकारात्मक असर पार्ने गरेको र पत्रकारितालाई नै दूषित बनाइरहेको ध्रुवहरिको बुझाइ छ । अन्य क्षेत्रमा लगानी गर्नेले मिडियामा लगानी गरेसम्म पत्रकारिता व्यावसायिक नहुने ठान्छन् उनी । उनी रोष प्रकट गर्छन्, “समाचारमा न्युजभन्दा भ्युज बढी देखिन थालेको छ, सञ्चारमाध्यमले पाठकलाई दूषित सामग्री दिइरहेका छन् ।”

छिटो हुने होडमा ‘न्यु मिडिया’ले सत्य–तथ्यमा ध्यान नदिएको गुनासो गर्ने ध्रुवहरि थप्छन्, “गलत सूचना दिएर पहिलो हुने होइन, तथ्य सूचना दिएर पहिलो हुने प्रतिस्पर्धा गर्नुपर्छ । पाठकलाई भ्रममा राख्नु हुँदैन । मेरो लागि जहिले पनि तथ्य पहिलो प्राथमिकता हो ।”

सुधारका लागि पनि उनको उपाय छ, “विकसित राष्ट्रमा सञ्चारमाध्यम एउटा बिट नै हुन्छ । उसले सञ्चारमाध्यमबारे मात्रै रिपोर्टिङ गर्छ । आफूले गरेका कमी–कमजोरी औंल्याउँदै त्यसमा सच्चिएर जानका लागि पब्लिक एडिटर राखेर आफूलाई सुधार्दै लगेका छन् । त्यो अभ्यास अब हामीले पनि थाल्नुपर्छ ।”
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

‘प्रुफ रिडर’बाट सम्पादकसम्म

– नरेश फुयाँल ०३६ सालमा बीए पास गरेपछि श्री आचार्यले शाखा अधिकृतको जागिर खान थाले । शिक्षा मन्त्रालयको परियोजना थियो ।

सधैं बन्दुकको डर

– नरेश फुयाँल तत्कालीन जहानियाँ राणा शासनले घुँडा टेकेपछि वि.सं. २००७ सालमा प्रजातन्त्रको उदय भयो । दलहरू स्वतन्त्र भए । राजनीति

नेपथ्यका हिरो 

— नरेश फुयाँल हतियारको छायामुनि समाचार राजा ज्ञानेन्द्रमा राजनीतिक महत्त्वाकांक्षा बढेपछि शासन सत्ता हातमा लिए । ०६१ माघ १९ गते राजाले त्यसको

भूकम्पपछिका ती १२ दिन

नरेश फुयाँल निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भएर प्रजातन्त्रको पुनः प्रादुर्भाव भइसकेको थियो । सरकार नियन्त्रित सञ्चारमाध्यममा रेडियो नेपाल, गोरखापत्र, राइजिङ नेपाल,