Skip Advt.

साहित्य र कला

ह्विलचेयर लेखक

ह्विलचेयर लेखक

– अक्षर काका


१७ वर्षका थिए कृष्णप्रसाद भण्डारी । भर्खर प्रवेशिका परीक्षा दिएको, किशोरे चञ्चलता थियो । अचानक खुट्टा लुला हुँदै गए । अन्न–पानीको शरीर सुरूमा त खासै वास्ता भएन । तर, जब टेक्नै कठिन हुँदै गयो र खुट्टा घिच्याउनुपर्ने भयो, परिवार अत्तालियो ।

दुख्ने, चिलाउने, पोल्ने छैन, खुट्टा टेक्न खोज्दा लर्बराउँथ्यो, अचम्मको थियो रोग पनि ।

“कसैले केही लगाइदियो कि क्या हो,” अनेक अड्कल काटिए ।

नजिकको अस्पताल, धामी, झाँक्री, वैद्यकहाँ लैजाँदा पनि रोग पत्ता नलागेपछि हैरान भयो परिवार । र, उपचार गर्न सिक्किम, सिलगुढी पुर्‍याए ।

नेपालभन्दा दक्ष चिकित्सक । आधुनिक उपचार पद्धतिले समयमै निको होला भन्ने आश थियो । तर, रोग पत्ता लगाउन त्यहाँ पनि विलम्ब भयो । पटनामा पुगेपछिमात्रै पूरापूर पत्ता लाग्यो– स्पाइनलमा बोनटीभी भएको रहेछ ।

पटनाका चिकित्सकले अनेक यत्न गरेर निको पारे रोग । जिउ पूरै प्लास्टर गरिएको थियो । हुर्कंदो उमेर, तन्नेरी तन्तु भएकाले बेल्ट लगाएपछि पूर्ववत् लयमा हिँड्न सक्ने भए ।

“हिँड्न सक्ने दिन जुनी फेरिएको होइन, पुनर्जन्म नै पाएको आभास भएको थियो मलाई, परिवारैको अनुहारमा अनौठो आभा छाएको थियो,” अहिले सम्झन्छन् उनी, “चाँडो उपचार नपाएको भए जीवन अँध्यारोतिर सन्निवेश पो हुँदो रहेछ ।”

० ० ० 

उनको अनुभूति छ– जीवनको बाटो क्षितिजीय हुन्छ । जिन्दगीको यात्रा सपाट त कहाँ हुन्छ र ! यो क्रम बाल्यकालबाटै शुरू भएको हो उनको ।

कञ्चनपुर बेलौरीमा जन्मिए उनी । तर, पिता–पुर्खा पाँचथरका थिए उनका । पहाड होइन, दुःखको पर्वत थियो पुख्र्यौली थलो । त्यसैले सुख खोज्दै छेउको नाकाबाट अन्तिम कुनामा स्थानान्तरण भएका थिए उनीहरू ।

पूर्वेली समाजमा हुर्किएका, पश्चिमी परिवेशमा धेरै रमाउन सकेनन् । ०३७ सालतिर बसाइँ सरेर झापातिरै लागे उनीहरू । र, कृष्णको बाल्यकाल पनि त्यहीँ बित्यो ।

यौवनको पूर्वाद्र्धमा जीवन दुर्घटित भएपछि भने विशृंखलित भयो जीवन । पढाइ एक वर्ष पछि धकेलियो । परिवारमा त्रासको सन्नाटा छायो । आफैंमा पनि के होला, के होला भन्ने भय मडारियो ।

खुट्टा निको भएपछि भने पढाइलाई क्रमभंग हुन दिएनन् । मेची क्याम्पसबाट बीए र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट नेपाली विषयमा स्नातकोत्तर तह पूरा गरे ।

औपचारिक पढाइलाई एउटा बिसौनीमा अड्याएपछि कामको खोजी शुरू गरे । विभिन्न हाँगाबिँगामा फिँजिएको, कुन बाटो हिँड्ने ? मस्तिष्कमा प्रश्न मडारिँदै थियो, मास्टरी पेशा नै रोजे । धनगढीको जनकल्याण माविमा पुगेर केही वर्ष अध्यापन गरे, अस्थायी रूपमै ।

शरीर धनगढी थियो । परिवार काठमाडौँ भएकाले मन हुर्रिएर यतै आइहाल्थ्यो । त्यसैले दुई वर्षमात्रै बसे त्यहाँ । काठमाडौँ आएपछि केही समय ‘बाल सिर्जनालय’, त्यसपछि ‘राइजिङ रेज’मा अनुबन्धित हुँदै शैक्षिक क्षेत्रमा लामो समय व्यतीत गरे ।

लेखन यात्रा

जीवनको उल्लेख्य समय अध्यापनमा खर्चिए । बाल अनुभूतिसँग अन्तर्घुलन भए । त्यसपछि मनोसामाजिक परामर्शदातासमेत बने । लामो समय बालबालिकासँग व्यतीत गरेका होला— बालमनोविज्ञान, बाल मनोदशा, बालबालिका–अभिभावक र शिक्षकसँगको सम्बन्धका केस्रा केलाउने, अध्ययन गर्ने मौका पाए ।

त्यही अनुभवलाई पछ्याउँदै ‘बालबालिकालाई कसरी पढाउने’ पुस्तक प्रकाशन गरे ।

“१२ वर्षे शिक्षण जीवनको अनुभवको उत्पादन थियो त्यो,” किताबबारे प्रष्ट्याउँछन् उनी । ०६७ सालमा प्रकाशित त्यो पुस्तकको छैटौं संस्करण बजारमा आइसकेको छ । र, हजारौं प्रति बिक्री भएको छ ।

बालसिकाइका विविध आयाम थिए त्यसमा । शुरूमा त खासै चर्चा भएन । स्कुलका अभिभावक÷शिक्षकका हातमा पुगेपछि भने प्रशंसा पाउन थाले ।

बालबालिकालाई भविष्यका सहारा बनाउने तर वर्तमानमा बोझ ठान्ने अभिभावकीय चेतबाट विरक्तिएर किताबमार्फत समाधान निकालेका थिए उनले ।

बालबच्चा आफ्ना सपनाको सिपाही होइनन्, अभिभावकको आकांक्षाको भरिया बनेका छन् । शिक्षक/अभिभावकले दिने सजाय, पढाइको बोझ, आफ्नै दुःख छन् बालबालिका ।

विज्ञानको विकासमा समयले मारेको फड्कोसँगै प्रविधिमा आएको उलटपुलटयुक्त परिवर्तनको असर तिनमा पनि परेको छ । ‘ग्याजेट्स’को लती बनेका छन् ती ।

“अभिभावकको आकाङ्क्षा एकातिर, बालबालिकाको लगाव एकातिर हुँदा परिवारको सपनाको दुर्घटना भएको धेरै पाएको छु मैले, त्यसैलाई न्यूनीकरण गर्न पुस्तक नै जन्माउने प्रयत्न गरेको हुँ,” किताब प्रकाशन गर्नुको कारण पनि खुलाउँछन् उनी ।

बालबालिकाका समस्याबाट प्रताडित भएर ‘बालबालिकालाई कसरी पढाउने’ पुस्तक लेखेका थिए उनले तर त्यसले ‘घर बस्न’ दिएन उनलाई ।

“वास्तवमा त्यस पुस्तकमा बालबालिकालाई पढाउने तवरतरिकामात्रै उजागर गरिएको थिएन, मेलो लेखन क्षमतासमेत प्रदर्शन भएको रहेछ, धेरैजसो पाठकले फोनै गरेर अर्को किताब लेख्न हौस्याउनुभयो,” सम्झन्छन् उनी ।

त्यसबाहेक ‘बालबालिकालाई कसरी असल बनाउने’ पुस्तक लेखन परामर्शक पेशाकै उपलब्धि भएको उनको ठहर छ ।

एउटा दृष्टान्त सुनाउँछन् उनी–

केही समयअघि उनीकहाँ पंकज साह आए, कक्षा ४ मा पढ्ने । बाबुआमाको सम्पूर्ण भरोसा उनैमाथि छ, पैसा खर्चिएका पनि छन् । तर, परीक्षामा सधैं ‘डी’ मात्रै ल्याउँदा रहेछन् । कसैगरी सुधार्न नसकेपछि काउन्सिलिङको जिम्मा पाएका थिए कृष्णप्रसादले ।

बालकको व्यवहार असामान्य थिएन । यत्ति     हो– पढाइमा एकाग्र थिएनन् । सबैजसोमा अनुत्तीर्ण भएपछि अभिभावकमात्रै होइन, शिक्षकहरूले पनि हैरानी बेहोरेका रहेछन् । दिनहुँ पिटाइ खाएपछि पढाइप्रति नै मोहभंग भइसकेको रहेछ बालकको ।

आफ्नो सान्निध्यमा आएपछि कृष्णप्रसादले ती बालकलाई शून्यबाट उकासे र ‘बी’ ग्रेडमा ल्याए ।

कसरी ‘ट्रिट’ गर्नुभयो त ?

प्रश्न सुन्नेबित्तिकै उनी मुसुक्क हाँसे र भने, “प्रेरणाको अस्त्र लगाएँ । राम्रो ग¥यौ भन्दै हौस्याइरहेँ ।”

‘तँ सक्छस् !’ भन्नुमा ठूलो ताकत हुन्छ । यही ब्रह्मास्त्रको आधारमा उनले बालबालिकलाई पढाइमा अभिप्रेरित गरिरहेका छन् ।

त्यसपछिको लेखनमा भने उनी अपाङ्गता क्षेत्रतिर डोहोरिए । ‘ह्विलचेयरको जिन्दगी– २०७४’ र  दृष्टिविहीनहरूको सङ्घर्ष गाथा समेटिएको ‘मनको आँखा– २०७४’ गरी तीन वटा पुस्तक प्र्रकाशन छन् उनका ।

जीवनको अर्को दुस्वप्न

जीवन ठीकै चल्दै थियो । तर, २०७३ सालमा आएपछि भने जीवनको लय बिथोलियो । पूरापूर ठीक भएको खुट्टा अचानक साग ओइलाएझैं ओइलाउँदै गयो । दिनानुदिन नाजुक हुन थाल्यो खुट्टाको अवस्था । एक पाइला हिँड्न पनि गाह्रो भयो उनलाई ।

“हिँड्दाहिँड्दै कतिबेला पछारिन्छुझैं हुन्थ्यो । सेन्स हराउँदै गएपछि हतारहतार अस्पताल भर्ना भएँ,” त्यो क्षण ताजै छ उनको दिमागमा ।

अस्पताल पुर्‍याइएपछि सुरूमा बेहोस बनाइएको थियो । होसमा आएपछि खुट्टा छामे उनले । विडम्बना आफ्नो हो कि अर्काको, छुट्याउनै सकेनन् उनले । शीताङ्ग थियो गोडा तर संवेदना शून्य !

अचानक आँखा बन्द भएझैं लाग्यो । अन्धकारले छोप्यो । दृश्यपटलमा तामामा मुनाजस्ता दुई छोरी र पत्नी आए । “म होइन, यिनीहरूको जिन्दगी पो अपाङ्ग हुने भयो,” अन्तर्तलमा आँसुको मूल फुट्यो र आँखाबाट बर्सिन थाल्यो ।

विद्यार्थीलाई परामर्श दिन्थे । जीवनसीपका अनेक काइदा सिकाउँथे । तर, आफैं डिप्रेसनको शिकार भए ।

खुट्टा निको भएर हिँड्ने आशाको उपजीव्य मनमा पैदा त हुन्थ्यो । जब चिकित्सकले मेरुदण्डका नशाहरू ७५ प्रतिशत काम नलाग्ने हालतमा पुगिसकेको बताउँथे, पलभरमै निस्प्राण भन्थ्यो त्यो आशा ।

२२ दिन अस्पतालमा बसे कृष्णप्रसाद । अधिकांश चिकित्सकले शल्यक्रिया गर्न मानेका थिएनन् । आधाभन्दा बढी काम नलाग्ने बनिसकेका नशालाई सक्रिय तुल्याएर खुट्टालाई चलायमान बनाउनु बडो जोखिम थियो । तर, धुलिखेल अस्पतालका डा. दीपक श्रेष्ठले त्यो चुनौती मोले ।

“अप्रेशन नगर्ने हो भने ह्विलचेयमा हिँड्नसमेत मुस्किल हुन्छ, अझ काइफोसिस (हड्डी बांगिने) भएर फोक्सोलाई समेत असर पुर्‍याउन सक्छ,” चिकित्सकले यसो भनेपछि मनमा चिसो पस्यो ।

१२ घण्टाको अप्रेसनपछि रड लगाएका थिए डा. दीपकले । स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र, साँगामा तीन महिना थेरापी गरेपछि मानसिक रूपमा सहज हुँदै आए उनी ।

पुनर्स्थापना केन्द्रमा आफूभन्दा अझै अशक्तहरूले ह्विलचेयरमै बसेर गरेको काम, जीवनप्रतिको जीजीविषा आदिले उनलाई समायोजित हुन मद्दत पुर्‍यायो ।

‘ह्विलचेयरमा जिन्दगी’ लेखन त्यसैको प्रेरणा हो भन्छन् उनी । २०७४ सालमा गोदावरी प्रकाशनबाट प्रकाशित त्यस पुस्तकमा १५ जना ह्विलचेयर प्रयोगकर्ताका प्रेरणादायी कथा छापिएका छन् । यसो भन्दा फरक पर्दैन– ह्विलचेयरमा बसेर ह्विलचेयर युजर्सकै प्रेरणाको पर्याय बनेका छन् उनी ।

विकलाङ्गबाट हठात् अपाङ्गतामा सङ्क्रमित भए उनी तीन महिना थेरापीमा बसेर बाहिर आएपछि ह्विलचेयरसँग समायोजित हुन खासै समय लागेन ।

तर, दृष्टिविहीनका समस्या अनेक थिए । उनीहरूको संसार वास्तवमै उज्यालोरहित लाग्यो उनलाई । तथापि उनले भेटेका अधिकांश दृष्टिविहीन अद्वितीय थिए । बाह्य आँखा ठप्प भए पनि भित्री चक्षु असाधारण, अब्बल थियो उनीहरूको ।

“जीवनको उज्यालो बाह्य ज्योति कहाँ हो र ? भित्री दीपक पो हो त,” उनी भन्छन् ।

प्रा.डा. कमल लामिछानेदेखि मोटेभिटेर सृष्टि केसीसम्मको सङ्घर्ष समेटेर सिर्जना गरेका हुन् उनले, ‘मनका आँखा’ ।

“मानिस शारीरिक रूपले अपाङ्ग भए पनि आफ्नो जीवनअस्तित्वको लडाइँमा जुन सफलता पाए, त्यसैले पुस्तक लेख्न झक्झक्यायो मलाई,” बताउँछन् उनी ।

हिजोका दिनमा संरचना होइन, सरकारसमेत अपाङ्गताअनुकूल थिएन । बैंक गयो, मूल सडकमै रोकिनुपर्छ । विकलाङ्ग होइन, सवलाङ्गसमेत ओहोरदोहोर गर्न नसक्ने छन् बाटा । स्कुल, कलेज, विश्वविद्यालय अधिकांश अपाङ्गताअनुकूल छैनन् । “तथापि सबैले अनुभूत गरेका छन्, सोच त अपाङ्गताअनुकूल बन्दै छ,” विश्वस्त हुँदै कुराकानी बिट मारे उनले ।
 

तपाईंको मत