काठमाडौं, रासस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् ।
गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला कांग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए । अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे ।
उनले भने, ‘‘गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा बोलाउनु होला ।’’
मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरलाई सुन्दर बनाउनका लागि विद्यार्थी पनि लाग्नुपर्ने बताउँदै फोहर फाल्नेलाई नयाँ कानून बनाई कडा कारबाही गर्न थालिएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँले सामुदायिक कलेज आफ्नो प्राथमिकता रहेको बताए। व्यवस्थापिका–संसद्ले आफूखुशी त्रिविलाई नै नसोधी नीतिनियम बनाउन थालेको भन्दै उनले त्रिविका बारेमा जथाभावी राजनीतिक निर्णय नगर्न आग्रह गरे ।
कलेजका संस्थापक अध्यक्ष भीमसेनदास प्रधानले शिक्षा सबैको पहुँचमा पुर्याउनु पर्ने गिरिजाप्रसादको सपनालाई साकार पार्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउँदै गिरिजाप्रसादले भनेजस्तो सहमति, सहकार्य र एकतामा सबै दलले जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
क्याम्पस प्रमुख खिलानाथ सापकोटाले कलेजले गरिबी असहायलाई निःशुल्क पढाउने गरेको बताउँदै कलेजमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययन गरिरहेको बताए ।